शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भागरथी हत्याकाण्डमा ‘खोचलेक’ कनेक्सन : कुकुरले देखाएको त्यो सङ्केत...

शनिबार, ०१ फागुन २०७७, १३ : ३६
शनिबार, ०१ फागुन २०७७

बैतडीको दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको शनिवार ११ दिन पुग्यो । तर ११ दिन बित्दासमेत प्रहरीले अपराधी यही हो भनेर यकिन गर्न सकेको छैन । घटनास्थलको प्रकृति, घटनाको भोलिपल्ट परेको पानी र अपराधीले गरेको केही चलाखीका कारण पनि यो घटना झन्–झन् पेचिलो बन्दै आएको छ ।

भागरथीको शव भेटिएको भोलिपल्ट अर्थात् माघ २३ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट लगिएको तालिमप्राप्त कुकुरले अपराधी गएको बाटो देखाएपनि अपराधीको घरसम्म पुग्न सकेन । यद्यपि प्रहरीलाई भने कुकुरले देखाइदिएको बाटोले केही सङ्केत गर्न भने मद्दत गरेको छ ।

प्रदेश प्रहरी कार्यालयबाट लगिएको तालिमप्राप्त कुकुरले घटनास्थलदेखि अपराधी गएको बाटोबारे केही महत्त्वपूर्ण सङ्केत र सुराक दिएको छ ।

घटना भएको स्थान अर्थात् स्थानीय लवलेक जंगलको कच्ची सडकबाट कुकुरले बाटो देखायो । सडकबाट आरोलो बाटो हुँदै कुकुर केही समय घटनास्थलको वरिपरी घुमिरह्यो । भागरथीको शव भेटिएको स्थानमा केही समय रुमलिएको कुकुर त्यसपछि बिस्तारै जंगलको बाटो पूर्वतर्फ अगाडि बढ्यो । कुकरले जुन बाटो पछ्याएको थियो, त्यो बाटोमा मानिस हिँडेको पदचाप देख्न सकिन्थ्यो । ती बाटोमा ससाना बुट्यानहरु कुल्चिएका थिए ।

करिब ८ सय मिटर जंगलको बाटो पछ्याएपछि तालिमप्राप्त कुकुर कच्ची सडकमा आइपुग्यो । त्याृे कच्ची सडक अर्थात् कुकुर आइपुगेको स्थान घटनास्थलबाट पूर्वतर्फ अर्थात् खोचलेक बजारतर्फ पर्छ । तर कुकुरले त्यसपछि कुनै सङ्केत गर्न सकेन । यसको मतलब अपराधी त्यही बाटो भएर कच्ची सडकसम्म आएको त कुकुरले सङ्केत गर्यो, त्यसपछि त्यो अपराधी कुन बाटो भएर के मा कसरी गर्यो त्यो सङ्केत कुकुरले गर्न सकेन, पाएन ।

तालिमप्राप्त कुकुरले अपराधीको पदचाप पछ्याउने भएको कारण उक्त स्थानसम्म अपराधी हिँडेर आएको सङ्केत कुकुरले गरेको थियो । तर त्यसपछि पदचाप नपछ्याउनुको कारण अपराधी मोटरसाइकल वा अन्य कुनै सवारीसाधन चढेर गएको हुनसक्ने प्रहरीको बुझाइ छ ।

आफ्नो घरबाट करिब १ घण्टाको पैदल दुरीमा पर्ने स्थानीय सनातम धर्म माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् भागरथी । विद्यालयबाट घर फर्किँदा ५ मिनेटको पैदल दुरीमा खोचलेक बजार पर्छ । गाउँपालिकाको केन्द्र पनि भएको कारण खोचलेक बजार अहिले केही व्यस्त बजार बनेको छ । बैंकसमेत रहेको कारण पनि त्यहाँ मानिसहरुको आवतजावत बाक्लै रहने गर्छ ।

बजारबाट केही उकालो जङ्गलको बाटो हिँडेपछि माथि डाँडामा पुगिन्छ र केही वर्ष अघिमात्रै खनिएको हल्का उकालो कच्ची सडक पार गर्दै भागरथीको घर पुगिन्छ ।

घर जाने बाटोमै पर्छ लवलेक जङ्गल, जुन स्थानमा भागरथीका शव माघ २२ गते साँझ फेला परेको थियो ।

विद्यालयबाट करिब आधा घण्टाको पैदल दुरीमा पर्ने घटनास्थल र कुकुरले गरेको सङ्केतको एउटा तथ्य के हो भने कुनै न कुनै रुपमा अपराधी बजारबाटै गएको वा अपराध गरेपछि पुनः बजारतर्फ नै फर्किएको छ । मानिसहरुको बाक्लो उपस्थिति रहने बजारतर्फ नै सङ्केत गर्नुको अर्थ अपराधी र बजारबीच केही न केही सम्बन्ध छ, त्यो पनि अपराध गरेकै दिन र अपराधसँग सम्बन्धित ।

अपराध हुनुभन्दा अगाडिको घटनाक्रमलाई हेर्ने हो भने भागरथी उक्त दिन पौने २ बजे पढाई सकेर विद्यालयबाट घरतर्फ फर्किएकी छिन् । बाटोमा पर्ने खोचलेक बजारसम्म सहपाठी तथा गाउँकै भाइ भानदेव भट्टसँगै गएकी थिएन् । तर भानदेवले स्थानीय सैलुनमा कपाल काट्ने भनेपछि भागरथीले बजारको पसलबाट एक प्याकेट चाउचाउ किनेर घरतर्फ एक्लै अगाडि बढेकी थिइन् ।

 


यो घटनाक्रमलाई अपराधीले सायद नजिकबाट चिहाएको थियो । त्यसपछि अपराधीले तत्कालै वा बिस्तारै भागरथीको पिछा गर्न सुरु गर्यो । पिछा गर्दा अपराधीले कुनै मोटरसाइकलमा गएर कुकुरले पछ्याएको स्थान अर्थात् घटनास्थलभन्दा करिब ८ सय मिटर पूर्व बजारतर्फ नै मोटरसाइल राखी त्यहाँबाट हिँडेरै भागरथीको पिछा गरेको हुनसक्छ । करिब आधा घण्टाको पैदल दुरीमा पर्ने लवलेक जङ्गलमा पुगेपछि एकान्त स्थान पाएर अपराधीले भागरथीमाथि बलात्कार गरेको हुनसक्ने प्रहरीको बुझाई छ । भागरथीले प्रतिकार गर्दै पोल खोल्ने बताएपछि उनको हत्या भएको हुनसक्ने प्रहरीको विश्लेषण छ ।

घटनाक्रमलाई हेर्दा खोचलेक बजारबाट भागरथी एक्लै आफ्नो घरतर्फ लाग्नु, बाटोमा कोही नहुनु र अपराध गरेपछि अपराधी पुनः खोचलेक बजारतर्फ फर्कनुले अपराधमा खोचलेक कनेक्सन कुनै न कुनै तबरले जोडिएकै छ । अपराधी खोचलेक बजारमै हुनु, अपराधी खोचलेक बजारतर्फ नै फर्कनु वा अपराधी कुनै मोटरसाइकल वा कुनै पनि प्रकारको सवारीमा चढेर पुनः बजारतर्फ नै आएको हुन सक्ने सङ्केत कुकुरले गरेको छ । र, अपराधीको खोचलेक बजार कनेक्सन कुनै न कुनै तबरले पुष्टी गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप