शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भागरथी हत्या प्रकरण : यसकारण बन्दैछ पेचिलो

करियर दाउमा राखेर डिआईजी आफै फिल्डमा
शुक्रबार, ३० माघ २०७७, १३ : २४
शुक्रबार, ३० माघ २०७७

बैतडीको दोगडाकेदार गाउँपालिका-७* कि १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको शुक्रबार ९ दिन पूरा भयो । माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा स्थानीय लवलेक जंगलमा भागरथीको हत्या भएको थियो ।

२१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन् । माघ २१ गते साँझसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भागरथीको शव लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फेला पारेका थिए ।

भागरथी हराएको भोलिपल्ट अर्थात् माघ २२ गते उनकै सहपाठीहरुले घर फर्कने क्रममा भागरथीको शव देखेपछि अभिभावकलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले माघ २२ गते रातभर शव कुरेर अपराध अनुसन्धान टोली आएपछि मात्रै भागरथीको शव उठाइएको थियो ।

घटनास्थलमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी), सोका चिकित्सक आदि सबै टोली पुगेपछि मात्रै घटनास्थलबाट सम्पूर्ण सबुत तथा प्रमाणहरु संकलन गरी पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल बैतडी पठाइएको थियो ।

पोष्टमार्टम रिपोर्टमा भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । पीडित परिवारले अपराधी पत्ता नलागेसम्म शव नबुझ्ने बताएका छन् । जिल्लाभर भागरथीको हत्यारा पत्ता लगाउन आन्दोलन भइरहेका छन् ।

यता घटनास्थल लवलेक जंगलको नजिकै रहेको खोचलेक बजारमा १ सय भन्दा बढी प्रहरी खटिएका छन् । सुदूरपश्चिम प्रहरी प्रमुख उत्तम सुवेदी आफै माघ २३ गतेदेखि घटनास्थलमै बसेर अनुसन्धान गरिरहेका छन् । तर पनि अपराधी पत्ता लाग्न सकेको छैन ।

घटनामा स्थानीय व्यक्तिकै संलग्नताको आशंका

किशोरीको घर वरिपरी भारतीय सिमकार्डले समेत काम गर्ने भएपनि सीमापारीबाट आएर अपराध गर्न सक्ने सम्भावना ज्यादै न्यून छ । किनभने घटनास्थलबाट यदि हिँडेरै सिमा पार गर्ने हो भने झुलाघाट र पिथौरागढ पुग्न झण्डै ७ घण्टा लाग्छ । त्यसकारण सिमापारीबाट अपराध गर्ने सम्भावना ज्यादै न्यून रहेको प्रहरीको अनुमान छ ।

घटनास्थलको भूगोल र प्रकृति हेर्दा घटना स्थानीय व्यक्तिबाटै भएको आशंका आम सर्वसाधरण र प्रहरीको छ । जुन स्थानमा भागरथीको शव भेटिएको छ, सो स्थान भागरथी पढ्ने स्थानीय सनातम धर्म मावि, खोचलेकबाट करिब आधा घण्टाको पैदल दूरीमा रहेको छ । बजारबाट केही उकालो बाटो हुँदै भर्खर खनिएको कच्ची सडक हुँदै घटनास्थल पुग्न सकिन्छ । पातलो तर अग्ला अग्ला सल्लाका रुखमुनि बनमाराका ससाना बुट्यानहरु घटनास्थलको वरिपरी छ ।

केही खोल्सो परेको स्थानमा भागरथीको शव भेटिएकाले झण्डै १ दशमलब ५ मिटर उचाइका बनमाराका बुट्यानहरु घटनास्थलमा छ । र, मुख्य सडकबाट करिब ७० मिटरको दुरीमा भागरथीको शव शरीरमा लगाएको एउटा सर्टमात्रै रहेर अन्य सबै कपडाहरु खोलिएको अवस्थामा फेला परेको थियो ।

भागरथीको भित्री बस्त्रमा रगत समेत लतपतिएको अवस्थामा उनलाई फेला पारिएको थियो ।

घटनास्थलको प्रकृति हेर्दा भागरथीलाई कसैले जबरजस्ती गर्न खोजेपछि ओरालो बाटो भाग्न खोजेको देखिन्छ । किनभने उनको कपालको केही अंश बाटोबाट करिब १५ मिटरकै दुरीमा भेटिएको थियो । कपालसँगै उनले प्रयोग गर्दै गरेको कपाल बाँध्ने रबर ब्याण्ड पनि फेला परेको थियो ।

यसको सोझो अर्थ भागरथी सडकबाट ओरालो बाटो भाग्ने प्रयत्न गरेका थिए तर उनी सफल भइनन् । अपराधीले उनलाई त्यहाँबाट घिसार्दै करिब ७० मिटर तल पुराएर बलात्कारपछि हत्या गरेको छ ।

घटनास्थल हेर्दा कुनै नयाँ अपराधी आएर घटना गराउन सक्ने सम्भावना ज्यादै न्युन छ । त्यसकारण घटनामा संलग्न अपराधी पहिलेदेखि नै बाटो ढुकेर बसेको हुनसक्ने प्रहरीको दाबी छ । जब भागरथीलाई अपराधीले एक्लै देख्यो, त्यसपछि भागरथीसँगै केही समय हिँडेर एकान्त स्थान पुगेपछि आक्रमण गरेको प्रहरीको अनुमान छ । त्यसकारण घटनामा संलग्न अपराधी भागरथीलाई नजिकबाटै चिन्ने व्यक्ति रहेको हुन सक्ने अनुमान प्रहरीको छ ।

अपराधीसँग भागरथीको कुराकानीको सम्भावना न्युन

अपराधीलाई भागरथी र भागरथीले अपराधीलाई चिनेकै हुन सक्ने निस्कर्षमा प्रहरी पुगेको भएपनि अपराधीसँग भागरथीको कुराकानी भइरहेको सम्भावना भने ज्यादै न्युन छ । किनभने भागरथीको कल डिटेल्स रिपोर्ट (सिडिआर)मा भागरथी र अपराधीबीच पछिल्लो समय कुराकानी भएको देखिएको छैन । भागरथीले प्रयोग गर्ने एनसेल र एनटीसीको मोबाइलमा घटना भएको दिन कोही पनि व्यक्तिसँग कुराकानी भएको पाइएको छैन । यद्यपि भागरथीले प्रयोग गर्ने भारतीय सिम कार्डको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अपराधीले गर्यो चलाखी

अपराधीले भागरथीको बलात्कारपछि हत्या गर्यो । त्यसपछि भागरथीको मोबाइलको सम्पूर्ण डाटा डिलिट गरेको पाइएको छ । किनभने भागरथीको सामान्य किप्याड भएको फोन घटनास्थलमै भेटिएको थियो । तर उक्त फोनको ब्याट्री झिकेर फ्याँकिएको छ । त्यतिमात्रै होइन, अपराधीले भागरथीको मोबाइलको सम्पूर्ण कल लग डिलिट गरिएको अवस्थामा फेला परेको थियो ।

अपराधीको यो हर्कत हेर्दा अपराधी प्रविधिसँग जानकार र चलाख रहेको बुझिन्छ । यो सँगै कल लग सबै डिलिट गर्नुको कारण भागरथी र अपराधीबीच कुनै न कुनै समयमा मोबाइलमा कुराकानी वा म्यासेज आदनप्रदान थियो कि भन्ने आशंका पनि गरिएको छ ।

अपहरण गरी साँझ हत्याको आशंका

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार घटना माघ २१ गते अपरान्ह २ देखि ३ बजेको समयमै भएको थियो । किनभने उक्त समयमै भागरथीको मोबाइलको स्वीच अफ भएको थियो । त्यसकारण अपराधीले भागरथीको बलात्कारपछि हत्या गरेलगत्तै मोबाइलको ब्याट्री निकालेर फालिदिएको प्रहरीको दाबी छ ।

तर घटनास्थल हेर्दा पातलो सल्लाको रुख भएको जंगलमा बनमाराको झाडी पारेर दिउँसै बलात्कार र हत्या गर्न सक्ने सम्भावना ज्यादै न्युन छ । त्यसकारण कतै कुनै व्यक्तिले फकाएर वा अपहरण गरेर दिनभर कतै राखेको र साँझ वा रातिको समयमा घर पुराइदिन्छु भन्दै बाटोमै पुनः बलात्कार गरी प्रमाण खुल्ने डरले हत्या त गरिएको होइन आशंका पनि गरिएको छ ।

पीडित भागरथीका काका शिवराज भट्ट पनि अपराधीले अपहरण गरी दिनभर कतै राखेर बलात्कार गरेको र साँझ घर पुर्‍याइदिन्छु भन्दै पुनः बलात्कार गरी हत्या गरेको हुनसक्ने शंका गर्छन् । शिवराजका अनुसार घटनास्थल मानिसहरुको आवतजावत भइरहने स्थान भएकाले अपरान्हकै समयमा त्यहाँ दिउँसै बलात्कार र हत्या गर्ने सम्भावना कम नै देखिन्छ ।

अपराधमा कति जना संलग्न थिए भन्ने अझै खुलेन

घटनाका सम्बन्धमा नजिकबाट अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरु घटनामा एकै जनाको संलग्नता हो अथवा दुई वा दुईभन्दा बढी व्यक्तिको संलग्नता छ भनेर अझै छुट्याउन नसकिएको बताउँछन् । हाल फरेन्सिक रिपोर्टको पर्खाइमा रहेको प्रहरी त्यसपछि मात्रै घटनामा एकै व्यक्तिको संलग्नता वा धेरै थिए भन्ने यकिन हुने बताउँछन् । प्रहरी अनुसन्धानको महत्त्वपूर्ण कडीका रुपमा ब्यग्र प्रतीक्षा गरिएको भेजाइनल स्वाबको रिपोर्ट हेरेपछि मात्रै घटनामा एकै व्यक्ति वा अन्यको पनि संलग्नता थियो भन्ने यकिन हुने प्रहरीको भनाइ छ ।

करियर दाउमा राखेर डिआईजी आफै फिल्डमा

सुदूरपश्चिम प्रहरी प्रमुख डिआईजी उत्तम सुवेदी घटनाको पर्सीपल्टदेखि घटनास्थलमै बसेर अनुसन्धान गरिरहेका छन् । प्रदेश प्रहरी प्रमुख आँफै यति लामो समय फिल्डमै बसेर अनुसन्धान गरिरहेको सायद यो पहिलो घटना होला । सुरुमै एसपीलाई घटनास्थलमा पठाएका डिआइजी सुवेदी भोलिपल्ट आँफै फिल्डमा उत्रिएका छन् । सामान्य अवस्थामा डिएसपी वा एसपीसम्मलाई यस्ता घटनाको अनुसन्धानमा पठाउने गरिएकामा यसपटक डिआइजी आफै फिल्डमा उत्रनुलाई प्रहरीको शाखका रुपमा समेत हेरिएको छ । किनभने अब यसको जस वा अपजस डिआइजी आफैले लिनुपर्ने हुन्छ । र, कञ्चनपुरको निर्मला पन्त हत्याकाण्ड र अनुसन्धानको पुनरावृत्ति नहोस् भनेर भने डिआइजी आफै फिल्डमा खटिएका छन् र प्रमाणका सा–साना अंशलाई पनि यतिबेला सुक्ष्म अध्ययन गरिरहेको छ प्रहरीले ।

अनुसन्धानको घेरा साँघुरियो, निर्मला प्रकरण दोहोरिँदैन : प्रहरी

माघ २९ गते बिहीबार कुराकानी गर्दै सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीले अनुसन्धानको घेरा साँघुरिएको र आफूहरु अपराधीको नजिकै पुगिसकेको बताएका छन् । प्रहरीले ज्यादै सुक्ष्म ढंगले घटनाको अनुसन्धान गरिरहेको बताएका छन् । घटनास्थल सुरक्षादेखि प्रमाण संकलनमा कहीँ कुनै त्रुटी हुन नदिई सुरक्षा दिएर डाक्टर, वकिल, सोको टिम सबै राखेर स्थानीयकै रोहवरमा घटनास्थल प्रकृति मुचुल्का तयार पारिएको उनको भनाइ छ ।

उनका अनुसार अनुसन्धानको घेरा सुरुमा धेरै ठूलो भएकामा अहिले सानो घेरामा आइपुगेको बताएका छन् । सुवेदीका अनुसार सबुत प्रमाणसहित दोषीलाई चाँडो भन्दा चाँडो पक्राउ गरी सार्वजनिक गरिनेछ ।

कञ्चनपुर घटनासँगै दाँजेर हेरिएको यो घटनालाई कञ्चनपुर प्रकरण दोहोरिन नदिने सुवेदीको जिकिर छ । मानिसहरुले कञ्चनपुर घटनालाई दाँजेर हेर्नु र उक्त घटनाको अपराधीबारे अहिलेसम्म कुनै प्रमाण नजुट्नुले त्यही घटनासँग दाँजेर हेरिरहेको बारे डिआइजी सुवेदी जानकार छन् । त्यसकारण पनि उक्त घटना दोहोरिन नदिने गरी त्यस घटनामा सबै पक्षबाट भएको कमजोरीलाई पनि बुझेर त्यस्तो कुनै कमजोरी नदोहोरिएको सुवेदी बताउँछन् ।

सुरुका दिनमा अपराधी वा शंकित व्यक्तिबारे कुनै सूचना वा जानकारी नआएको भएपनि अहिले पनि स्थानीयले शंकित व्यक्तिहरु बारे जानकारी दिइरहेको डिआइजी सुवेदीले बताए । अपराध समाजमै घट्छन् र अपराधी पनि समाजमै हुन्छन् भन्दै अपराध र अपराधीबारे जानकारी आउन थालेको भन्दै अब चाँडै नै अपराधी कानुनी कठघरामा आउने उनले दाबी गरे ।

यद्यपि घटनाको सुरुवातमा स्थानीयले कुनै सूचना नदिएको र अनुसन्धान अधिकारीसँग कुराकानी गर्नै नखोजेको बुझिएको थियो । स्थानीय स्तरमा डर, त्रास र पहिलेका केही घटनाका कारण पनि स्थानीयहरु अपराधीका बारेमा केही बोल्ने नगरेको पाइएको छ । किनभने करिब १० वर्ष पहिले भएका एउटा हत्याकाण्ड लुकाउन स्थानीय व्यक्तिहरुले डर, त्रास र धम्की दिएको अहिलेको अनुसन्धानपछि खुलेको छ । त्यसकारण डरले पनि उनीहरुले केही बोलेका थिएनन् । तर पछिल्लो समय भने स्थानीयले सूचना दिन थालेको सुवेदीको भनाइ छ ।

झण्डै २ दर्जनमाथि प्रारम्भिक सोधपुछ

स्थानीयका माग शंकित व्यक्तिहरुलाई तत्कालै पक्रिएर अनुसन्धान सुरु गरोस् भन्ने छ । तर प्रहरी भने ठोस् आधार र शंका नभएसम्म कुनै पनि व्यक्तिलाई पक्रने पक्षमा छैन । पक्राउ गरिएको व्यक्ति निर्दोष पाइयो भने त्यसले भीड भड्कने खतरा पनि उत्तिकै छ, जसका कारण अपराधीले खेल्ने मौका पाउँछन् ।

यद्यपि प्रहरीले झण्डै दुई दर्जन व्यक्तिहरुमाथि प्रारम्भिक सोधपुछ गरिरहेको र अनुसन्धानका लागि गर्नुपर्ने काम गरिरहेको सुवेदीले बताएका छन् । अनुसन्धान चमत्कार नभएको भन्दै चाँडोभन्दा चाँडो अनुसन्धान टुङ्ग्याउने र निष्कर्ष निकाल्ने गरी काम गरिरहेको सुवेदीको भनाइ छ । प्रहरी घटना भएलगत्तै दबावमा आएको र धेरै मिहेनत गरेर काम गरिरहेको भन्दै अपराधी स्थानीय व्यक्ति नै हुनसक्ने आधार बलियो भएको भन्दै आफूहरु अपराधीको धेरै नजिक पुगिसकेको सुवेदीले बताए ।

*बैतडीको दोगडाकेदार गाउँपालिका–७ हुनुपर्नेमा यसअघि अन्यथा भएकोमा क्षमायाचनासहित सच्याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप