राष्ट्रिय ब्रान्ड बन्दै स्थानीय महिलाहरूको उत्पादन ‘नमुना अचार’
पूर्वी झापाको गौरादह नगरपालिका–५ स्थित साझा सुविधा केन्द्रको मुखैमा एउटा नमुना अचार लघु उद्योग रहेको छ । त्यहाँ छ जना स्थानीय महिलाको सामूहिक प्रयासमा स्थानीय उत्पादनको प्रयोग गरी नमुना अचार उत्पादन भइरहेको छ ।
स्थानीय उत्पादन, श्रम र सामूहिक लगानीमा उद्यमी बन्ने सपना पालेका स्थानीय महिलाहरूले २०७२ साल असारदेखि यो सामूहिक अचार उत्पादनको थालनी गरेका हुन् ।
सुरुमा ५ जना महिलाले प्रतिव्यक्ति २०-२० हजारका दरले जम्मा गरेर एक लाख रूपैयाँको पुँजीबाट सुरु गरेको त्यो व्यवसायबाट अहिले उद्यमी महिलाहरूको मनग्य आम्दानीको बाटो बनेको छ ।
करिब एक बिघा जमिनमा सञ्चालित उक्त उद्योगबाट अहिले वार्षिक करिब १० लाख रूपैयाँ बराबरको अचार उत्पादन भइरहेको छ भने उक्त अचार मुलुकका मुख्य मुख्य बजारमा उपलब्ध छन् । कतिसम्म भने देशकै प्रतिष्ठित मार्ट भाटभटेनी सुपर मार्केटमा पनि बिक्रीवितरण हुनेको गरेको उद्यमी खिमा नेपाल बताउँछिन् ।
“यति ठूलो सफलता मिल्ला भनेर कहीँकतै सोचेका थिएनौं । काम गर्दै जाउँ आत्मनिर्भर त कसो नभइएला भन्ने थियो । तर काम गर्दै जाँदा नसोचेको सफलता मिलेको छ । सानो लगानीमा स्थानीय ५ दिदीबहिनी मिलेर थालनी गरेको व्यवसायले अहिले राष्ट्रिय स्तरको ब्रान्ड पाएको छ । बहुप्रतिष्ठित मार्ट भाटभटेनीमा समेत हाम्रो उत्पादन ‘नमुना अचार’ बिक्रीवितरण भइरहेको छ’ नेपालले भनिन्, ‘व्यापार प्रवद्र्धनका लागि अझ थप मार्केटिङका लागि हामी बजार खोज्दैछौँ ।
त्यसो त उक्त लघु उद्योगबाट उत्पादित नमुना अचार अहिले राजधानीका बिग मार्ट लगायतमा समेत बिक्रीवितरणका लागि सहकार्य हुन लागेको उद्यमी खिमाको भनाइ छ ।
हाल नमुना अचार लघु उद्योगबाट ६ प्रकारका मौसमी अचारको उत्पादन हुँदै आएको छ । अकबरे दाना, मेथी, तामा, आँप, मिक्स र कागती गरी ६ प्रकारका अचार उत्पादन हुँदैआएको छ । यी अचार मौसमअनुसार स्थानीय उत्पादन कच्च पदार्थकै प्रयोग गरी उत्पादन गर्ने गरेको उद्यमीको भनाइ छ ।
‘हामी मौसमअनुसारको अचार उत्पादन गर्छौं । जुन समयमा जुन खालको कच्चा पदार्थ स्थानीय रूपमा उपलब्ध हुन्छ सोहीअनुसारको अचार उत्पादन गर्छौं । तर अचारका लागि न्यूनतम एक वर्षको समय आवश्यक पर्ने हुँदा मौसम अनुसारका कच्चा पदार्थ सङ्कल, भण्डारण र प्रोसेसिङ गरेर राख्छौँ’ लघु उद्योगकी उपाध्यक्षसमेत रहेकी महिला उद्यमी अम्बिका खतिवडा भन्छिन्, ‘त्यसपछि क्रमशः अचार बनाउँदै बजार पठाउँछौँ ।’
खतिवडाका अनुसार अचारको छोपका लागि न्यूनतम ६ महिनादेखि १ वर्षसम्म नुन–पानीको घोललाई राख्नुपर्छ । त्यसपछि मात्र आवश्यक अचारमा प्रयोग गर्न सकिन्छ । यसका लागि उद्योगमा आवश्यक मात्रामा नुन–पानीको घोल राख्ने प्लास्टिकका ड्रमहरूको व्यवस्था गरिएको छ । त्यस्तै अचारमा प्रयोग हुने कच्चा पदार्थको भण्डारण गर्ने, सुकाउने, भिजाउने थिच्ने सबै काम उद्योगमै हुन्छ । त्यसका लागि नियमित रूपमै ६ जना नै उद्यमी महिला उद्योगमा खट्ने गरेका छन् ।
यसका अतिरिक्त मौसम अनुसारका कच्चा पदार्थ सङ्कलनको समयमा चाहिँ अरू ४०, ५० जना कामदार समेत लगाउने गरेको उनको भनाइ छ ।
त्यसो त सुरुवाती चरणमा ५ जनाले मात्र व्यवसाय सुरु गरे पनि पछि मात्र अर्का एक जना उद्यमी थपिएका हुन् । प्रारम्भिक चरणमा एक लाख पुँजीबाट सुरु भएको व्यवसायमा अहिले करिब १५ लाख बराबरको पुँजी पुगिसकेको छ । भने, थप १० प्रतिशतको सेयर होल्डरको रूपमा अर्को एक महिला उद्यमीलाई समेत व्यवसायमा समाहित गरिएको उद्यमी खिमा नेपालले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेश पुन पनि प्रतिवादी
-
के हुन्छ रवि लामिछानेको सांसद पद ?
-
सूर्यदर्शन सहकारी प्रकरण : क–कसलाई बनाइयो प्रतिवादी ?
-
अमेरिकाले झुक्किएर आफ्नै नेभी पाइलटलाई हान्यो गोली
-
जाडोमा बढ्छ रुघाखोकीको प्रकोप : के-के कुरा ध्यानमा राख्नुपर्छ ?
-
दुई किशोरीका हत्या मामिलामा अमेरिकी पुरुषलाई १३० वर्षको जेल सजाय