शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन आयोगसँग छलफलपछि सुवास नेम्वाङले भने, ‘आयोगले आधिकारिकता टुङ्गो लगाइसक्यो’

‘अब दल दर्ताको प्रक्रियामा जानुपर्छ’
शुक्रबार, १६ माघ २०७७, १३ : ११
शुक्रबार, १६ माघ २०७७

काठमाडौं । नेकपाका केपी शर्मा ओली पक्षीय नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन आयोगले आधिकारिकता टुङ्गो लगाइसकेको बताएका छन् ।

शुक्रबार आयोगले बोलाएको छलफलमा सहभागी हुन कान्तिपथस्थित कार्यालय पुगेका नेम्वाङले बाहिरिने क्रममा नेकपा विवादमा आयोगले आधिकारिकता टुङ्गो लगाइसकेको भन्दै ओली नेतृत्वको नेकपा नै आधिकारिक भएको दावी गरेका हुन् ।

‘आधिकारिकताको सम्वन्धमा निर्वाचन आयोगले निर्णय गरिसकेको छ । त्यो कुरा हामी सबैलाई सम्झना हुनुपर्छ । त्यही आधिकारिकताको निर्णयको जगमा उभिएर यो सम्पूर्ण प्रकृया अगाडी बढिरहेको छ र बढ्छ’, नेम्वाङको भनाइ छ ।

उनले निर्वाचन आयोगको भनाइअनुसार निर्वाचन गर्न पर्याप्त समय समेत रहेको भन्दै ८४ दिन भए पुग्नेमा त्यो भन्दा धेरै दिन रहेकाले तोकिएकै मितिमा निर्वाचन हुने बताए ।


‘त्यही अनुसार दल दर्ता प्रक्रिया अघि बढ्छ । जहाँसम्म यहाँहरुले को कसरी जाने भन्नेमा उपयुक्त समयमा निर्णय गरेर जान्छौँ,’ नेम्वाङको भनाइ छ । 

नेम्वाङले निर्वाचन अहिले महत्त्वपूर्ण भएको भन्दै आफुहरु लागिरहेको र यही कुरालाई अगाडि सार्दै निर्वाचन तोकिएको समय र मिति वैशाख १७ र २७ गते हुनेमा आशंका नगर्न आग्रह गरे । ‘प्रधानमन्त्री केपी ओलीको पनि यही भनाइ छ । हामीले सोही कुरा आयोगमा पनि राख्यौँ । अदालतमा मुद्दा परेकाले स्टे अर्डर जारिगरेको छैन । यो परिपेक्षमा हामी सबैको बुझाइ कुनै स्टे अर्डर जारी नभएको बेलामा निर्वाचनसम्बन्धी कार्यक्रम तदारुकताका साथ अघि बढाउनुपर्छ । अदालतले अन्यथा आदेश दिए बेग्लै कुरा हो,’ नेम्वाङले भने  ।

आधिकारिकताबारे थप प्रष्ट पार्दै उनले भने, ‘हाम्रो बुझाइमा हामी आधिकारिक हौ भन्नेमा हामीलाई विश्वास छ । केही साथीहरुलाई हामी आधिकारिक हौँ भन्ने उहाँहरुको बुझाइ छ । यो प्रक्रियाबाट टुंगिसकेको विषय भएकाले त्यही जगमा उभिएर हामी अगाडि बढ्दैछौँ । अब दल दर्ताको प्रक्रियामा जानुपर्छ, निर्वाचनबाट सबै कुरा टुंगो लाग्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप