मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

वाणिज्य बैङ्कहरु नाफामा आक्रामक, कुन बैङ्कको स्थान कस्तो ?

मङ्गलबार, १३ माघ २०७७, १६ : ३०
मङ्गलबार, १३ माघ २०७७

 

 

चारवटा वाणिज्य बैङ्कले  चालू आर्थिक वर्ष (२०७७/७८) को दोस्रो त्रैमासकोे वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरण सार्वजनिक गरेका एउटाबाहेक ३ वटा बैङ्कले नाफा बढाएका छन् । कुमारी बैङ्क त नाफामा आक्रामक देखिएको छ । दोस्रो त्रैमासमै अर्बपति क्लबमा उभिन कुमारी बैङ्क सफल भएको छ । यसको नाफा अर्बभन्दा माथि छ ।

यद्यपि दोस्रो त्रैमासको प्रतिवेदन सबैभन्दा पहिला प्रकाशित गरेको नेपाल इन्भेस्टमेन्ट बैङ्कको खुदा नाफा भने घटेको छ । उसका अधिकांश सूचक ओरालो लागेका देखिन्छन् । उसो त सिटिजन्स बैङ्क पनि नाफामा नै देखिएको छ । यता आज मात्र वित्तीय विवरण सार्वजनिक गरेको नेपाल बङ्गलादेश बैङ्कको नाफामा पनि  बढोत्तरी देखिएको छ । दोस्रो त्रैमासमा आइपुग्दा अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गरेका बैङ्कहरु को कस्तो देखिए ?
यस्तो छ वित्तीय विवरण विश्लेषण

कुमारी अर्बपतिमा, इन्भेस्टमेन्टको नाफा खुम्चियो 
सबैभन्दा बढी नाफा कमाउनेमा कुमारी बैङ्क देखिएको छ । पुस मसान्तसम्म बैङ्कको नाफा ५१.४९ प्रतिशतले बढेर १ अर्ब २१ करोड ६५ लाख ५८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ८० करोड ३० लाख ११ हजार रुपैयाँ नाफा कमाएको थियो । बैङ्कको वितरण योग्य नाफा ३.१९ प्रतिशतले घटेको छ । बैङ्कको वित्तरण योग्य नाफा ६३ करोड ७५ लाख ५५ हजार रुपैयाँ छ ।

यता नेपाल बङ्गलादेश बैङ्कको नाफामा पनि बढोत्तरी छ । बैङ्कको खुद नाफा १६.५२ प्रतिशतले बढेको छ । बैङ्कले ९४ करोड १२ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको हो । गत वर्षको यसै अवधिमा बैङ्कले ८० करोड ७७ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको थियो । 


पुस मसान्तसम्म  बैङ्कको वितरण योग्य नाफा पनि ५.१६ प्रतिशतले बढेर ४६ करोड ७ लाख ७३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बैङ्कको वितरणयोग्य नाफा ४३ करोड ८१ लाख ३२ हजार रुपैयाँ थियो ।
यस्तै सिटिजन्स बैङ्कले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८७ करोड ५१ लाख ९३ हजार रुपैयाँ खुद नाफा गरेको छ । बैङ्कले गत वर्षको यसै अवधिको तुलनामा २७.२६ प्रतिशतले खुद नाफा बढाएको हो । गत वर्ष ६८ करोड ७७ लाख १ हजार रुपैयाँ नाफा कमाएको थियो । बैङ्कको वितरण योग्य नाफा ८४ करोड ८० लाख ४२ हजार रुपैयाँ रहेको छ । 

सबैभन्दा पहिले वित्तीय विवरण सार्वजनिक गर्ने नेपाल इन्भेस्टमेन्ट बैङ्को नाफा भने घटेको छ । बैङ्कको खुद नाफा ४.७७ प्रतिशतले घटेको छ ।  बैङ्कको नाफा १ अर्ब ५८ करोड ६६ लाख ९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसै अवधिमा बैङ्कले १ अर्ब ६६ करोड ६१ लाख १२ हजार रुपैयाँ नाफा कमाएको थियो । पुस मसान्तसम्म आइपुग्दा बैङ्कको सञ्चालन नाफा पनि प्रभावित भएको देखिन्छ । बैङ्कले सिटी फाइनान्सलाइ भर्खरै मात्र प्राप्ति गरेर  यही माघ ११ बाट एकीकृत कारोबारसमेत सुरु गरिसकेको छ । 

इन्भेस्टमेन्टको खराब कर्जा सबैभन्दा बढी 
इन्भेस्टमेन्ट बैङ्कको खराब कर्जा सबैभन्दा बढी देखिएको छ । इन्भेस्टमेन्ट बैङ्कको खराब कर्जा २.७५ प्रतिशत छ । गत वर्षको तुलनामा इन्भेस्टमेन्टको खराब कर्जा घटेको हो ।  गत वर्ष २.९० प्रतिशत थियो । 

नेपाल बङ्गलादेश बैङ्कको खराब कर्जा बढेको छ । बैङ्कको खराब कर्जा २.३७ प्रतिशत पुगेको छ । गत वर्ष ०.४५ प्रतिशत खराब कर्जा थियो । प्रथम त्रैमासको तुलनामा भने खराब कर्जा घटेको हो । यसको असोज मसान्तसम्म २.३९ प्रतिशत खराब कर्जा थियो । यता सिटिजन्सको खराब  कर्जा २.४२ प्रतिशत छ । यस्तै कुमारी बैङ्कको खराब कर्जा पुस मसान्तसम्म १.०६ प्रतिशत छ ।  प्रथम त्रैमासमा १.४३ प्रतिशत थियो । गत वर्षको दोस्रो त्रैमासमा भने खराब कर्जा १.०४ प्रतिशत थियो । 

बैङ्कले निश्चित समयका लागि भनेर कुनै ऋणीलाई दिइएको कर्जा समयमा नै उठाउन सकेन भने त्यस्तो कर्जालाई खराब कर्जा भनिन्छ । ५ प्रतिशतभन्दा बढी खराब कर्जा हुनुलाई जोखिम मानिन्छ । 

कुमारी बैङ्कको बेस रेट (आधार दर) सबैभन्दा बढी
बैङ्कले बेस रेट घटाएका छन् । नेपाल बङ्गलादेश बैङ्कको बेस रेट अहिले ८ प्रतिशत छ । गत वर्ष ९.९ प्रतिशत थियो । कुमारी बैङ्कको बेस रेट ७.९२ प्रतिशत छ । गत वर्ष १०.४५ प्रतिशत थियो ।  सिटिजन्स बैङ्कको बेस रेट ८.२५ प्रतिशत छ ।

गत वर्षको यसै अवधिमा १०.३५ प्रतिशत थियो ।  इन्भेस्टमेन्ट बैङ्कको आधारदर ६.५६ प्रतिशत त । गत वर्षको यस अवधिमा ८.५३ प्रतिशत थियो । आधारदर कर्जा प्रवाहका लागि ब्याजदर निर्धारण गर्ने एक आधार हो । आधारदरमै ब्याज तोकेर कर्जा प्रवाह कतिपय बैङ्कले गरिरहेका छन् भने केही बैङ्कहरु आधारदरमा थप व्याजदर जोडेर कर्जा ब्याजदर लिइरहेका हुन्छन् । आधारदर बढी हुनुले कर्जाको ब्याजदर महँगो भएको सङ्केत पनि गर्छ । ऋण लिँदा सबैभन्दा पहिले आधारदरलाई हेर्ने गरिन्छ । 

बङ्गलादेश बैङ्कको प्रतिसेयर आम्दानी अगाडि
बङ्गलादेश बैङ्कको प्रतिसेयर आम्दानी २२.१६ रुपैयाँ छ । गत वर्षको तुलनामा बढेको हो । यद्यपि प्रथम त्रैमासमा २६ रुपैयाँ ८९ रुपैयाँ थियो । कुमारी बैङ्कको प्रतिसेयर आम्दानी १७.५३ रुपैयाँ छ । गत वर्ष  बैङ्कको प्रतिसेयर आम्दानी १६.८३ रुपैयाँ थियो । सिटिजन्स बैङ्कको प्रतिसेयर आम्दानी १७.८३ रुपैयाँ छ । गत वर्ष  १५.९५ रुपैयाँ प्रतिसेयर आम्दानी थियो ।  नेपाल इन्भेस्टमेन्ट बैङ्कको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७२ पैसाले घटेर १९ रुपैयाँ ७१ पैसा कायम भएको छ ।

कम्पनीले आर्जन गरेको खुद नाफालाई कम्पनीको कूल सेयर सङ्ख्याले भाग गर्दा प्रतिसेयर आम्दानी आउँछ । प्रतिसेयर आम्दानी बढ्नु भनेको लगानीकर्ताले पाउने प्रतिफल बढ्नु पनि हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप