शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भुक्तानी नपाइ सम्झौता भएको खबर सुनेर हृदयघातका कारण एक उखु किसानको मृत्यु

बिचौलियाले जानकारी नै नदिइ सरकारसँग सम्झौता गरेको किसानको आरोप
मङ्गलबार, १४ पुस २०७७, ११ : १९
मङ्गलबार, १४ पुस २०७७

काठमाडौं पुस १४–बक्यौता रकम भुक्तानीको माग गर्दै काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका किसान र सरकारबीच सम्झौता भएको सुनेर आन्दोलनमा आएका एक किसानलाई हृदयघात भएर मृत्यु भएको छ ।

सर्लाहीका नारायणराय यादव (भगत) काठमाडौँको आन्दोलनमा सहभागी थिए । उनले यसपाली पूरै भुक्तानी नलिइ काठमाडौँबाट नफर्किने भन्दै आन्दोलनमा सक्रिय थिए । तर भुक्तानी नै नलिइकन सरकार र आन्दोलनकारी बीच सम्झौता भयो भन्ने सुनेर उनलाई हृदयघात भएको जनता समाजवादी पार्टी नेपालका नेता केदारनन्दन चौधरीले बताए ।

सम्झौता हुने बित्तिकै भगतले आफूलाई फोन गरेर ‘भुक्तानी नलिइकन सम्झौता किन गरेको ? काठमाडौँबाट खाली हात फर्किन मनै छैन । घरमा यसपाली पैसा लिएर आउने भनेर आएको तर यहाँबाट पैसा नलिइ आन्दोलन स्थगित गरेको भन्दै’ चित्त दुखाएको नेता चौधरीले बताए ।

विगत ३ वर्षदेखि उनले अन्नपूर्ण सुगर मिलबाट २४ लाख ६५ हजार रुपियाँ लिन बाँकी थियो । त्यही पैसाका कारण उनी निकै तनावमा थिए । ‘राति नै फोन गर्दा उहाँलाई निकै चिन्तित भएको पाएको थिएँ । चिन्ता नगर्नुस् तपाईसँग म भोलि भेट्छु जसरी पनि भुक्तानी लिएर मात्र घर जाने हो भनेर सन्तवना दिएको थिएँ,’ नेता चौधरीले भने, ‘तर विहान अचानक फोन आयो कि भगतजी ट्वाइलेटमा लडेर बेहोस हुनुभयो रे । म गंगालाल अस्पतालमा पुगेको छु । डाक्टरले पनि तनावका कारण यो एट्याक भएको भन्नुभएको छ ।’

 


आन्दोलनमा भगतका साथ आएका मुकेश ठाकुरले भने, ‘यो भुक्तानीको विषयलाई लिएर वहाँ पहिलेदेखि नै तनावमा हुनुहुन्थ्यो । भुक्तानी नै नलिइकन सम्झौता भयो भनेर रातिदेखि नै चिन्तित हुनुहुन्थ्यो । विहान अचानक उहाँको छाती दुख्यो भनेर ट्वाइलेट जानु भएको वहाँ त्यहीँ बेहोस भएर ढल्नुभयो । हामीले तत्कालै हेल्पिङ ह्याण्ड अस्पतालमा भर्ना गर्यौँ । त्यहाँ डाक्टरले छाती थिचेर प्रेसरहरु दिएर हेर्नुभयो अवस्था नाजुक छ भन्दै थप उपचारका लागि उहाँलाई गंगालाल हृदय रोग केन्द्रमा रिफर गर्नुभयो । त्यहाँ नै उपचारको क्रममा उहाँको मृत्यु भयो ।’

चार–पाँच वर्षदेखि करिब २५ लाख रुपैयाँ भुक्तानी लिन बाँकी रहेको ठाकुरले बताए । उनको व्यवसाय नै उखु खेती हो । उखु खेतीबाट नै उनको परिवार चल्छ । भुक्तानी नपाउँदा सबै लथालिङ अवस्थामा पुगेको छ । खेती र घरपरिवार चलाउनका लागि उनले साहु महाजनबाट ऋण पनि लिएका छन् । उद्योगीले भुक्तानी नदिँदा न ऋण तिर्न सकिरहेका थिए न घरपरिवार ठीकसँग चलाउन सकिरहेका थिए । त्यसले गर्दा उनी तनावमा थिए ।

यसपाली उनी ठूलो आशा लिएर काठमाडौं आएका थिए । भुक्तानी लिएरै नै घर फर्किने मनस्थिति थियो । तर अचानक यस्तो सम्झौता भएपछि उनी दुःखी भएका थिए । ‘सरकारले २१ दिनभित्र भुक्तानी गराउने भनेको छ । २१ दिनभित्र भुक्तानी हुने नहुने निश्चित पनि छैन,’ ठाकुर भन्छन् ।

अन्य किसानहरु पनि यो सम्झौताबाट खुसी छैनन् । आन्दोलनका अगुवाहरुले किसानलाई यसपाली भुक्तानी लिएरै काठमाडौँबाट फर्किने गरि आन्दोलनमा सहभागी गराउन जिल्ला जिल्लाबाट मगाएका थिए । उनीहरु पनि त्यही तयारीका साथमा काठमाडौं आएका थिए । आन्दोलन शुरु गरेपछि अलिअलि भुक्तानी दिन शुरु पनि भएको थियो । तैपनि माइतीघरमा धर्ना दिने कार्य जारी नै थियो ।

यसअघि पुस ५ गते पनि सरकार र आन्दोलनकारीबीच वार्ता भएको थियो तर त्यो वार्तामा आन्दोलनकारीले पुरै भुक्तानी नभएसम्म आफूहरु काठमाडौँ नछाड्ने र आन्दोलन जारी राख्ने अडान लिएर फर्केका थिए । त्यसदिन पनि सरकारले २१ दिनभित्र किसानको सम्पूर्ण बक्यौता रकम उपलब्ध गराउने र त्यो अवधिमा भुक्तानी दिएन भने कानुनअनुसार कारवाही गर्ने प्रतिबद्धता जनाएका थिए ।

तर किसान आन्दोलनका अगुवा नेता राकेश मिश्रले बरु आफूहरु २१ दिनसम्म सडकमै बस्ने, शान्तिपूर्ण आन्दोलन गर्ने, मौन बस्ने तर भुक्तानी नलिइ काठमाडौं नछाड्ने भन्दै त्यहाँबाट निस्केका थिए । माइतीघरमा आन्दोलन जारी रहँदा सरकारले वार्ताका लागि दवाव दिइरहेको थियो । अहिले धेरै किसानलाई जानकारी नै नदिइ राकेश मिश्रले अचानक सरकारसँग सम्झौता गरेको किसानहरुले आरोप लगाएका छन् । राकेश मिश्र पनि जसपा नेपालकै नेता हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप