बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

भुक्तानी नपाइ सम्झौता भएको खबर सुनेर हृदयघातका कारण एक उखु किसानको मृत्यु

बिचौलियाले जानकारी नै नदिइ सरकारसँग सम्झौता गरेको किसानको आरोप
मङ्गलबार, १४ पुस २०७७, ११ : १९
मङ्गलबार, १४ पुस २०७७

काठमाडौं पुस १४–बक्यौता रकम भुक्तानीको माग गर्दै काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका किसान र सरकारबीच सम्झौता भएको सुनेर आन्दोलनमा आएका एक किसानलाई हृदयघात भएर मृत्यु भएको छ ।

सर्लाहीका नारायणराय यादव (भगत) काठमाडौँको आन्दोलनमा सहभागी थिए । उनले यसपाली पूरै भुक्तानी नलिइ काठमाडौँबाट नफर्किने भन्दै आन्दोलनमा सक्रिय थिए । तर भुक्तानी नै नलिइकन सरकार र आन्दोलनकारी बीच सम्झौता भयो भन्ने सुनेर उनलाई हृदयघात भएको जनता समाजवादी पार्टी नेपालका नेता केदारनन्दन चौधरीले बताए ।

सम्झौता हुने बित्तिकै भगतले आफूलाई फोन गरेर ‘भुक्तानी नलिइकन सम्झौता किन गरेको ? काठमाडौँबाट खाली हात फर्किन मनै छैन । घरमा यसपाली पैसा लिएर आउने भनेर आएको तर यहाँबाट पैसा नलिइ आन्दोलन स्थगित गरेको भन्दै’ चित्त दुखाएको नेता चौधरीले बताए ।

विगत ३ वर्षदेखि उनले अन्नपूर्ण सुगर मिलबाट २४ लाख ६५ हजार रुपियाँ लिन बाँकी थियो । त्यही पैसाका कारण उनी निकै तनावमा थिए । ‘राति नै फोन गर्दा उहाँलाई निकै चिन्तित भएको पाएको थिएँ । चिन्ता नगर्नुस् तपाईसँग म भोलि भेट्छु जसरी पनि भुक्तानी लिएर मात्र घर जाने हो भनेर सन्तवना दिएको थिएँ,’ नेता चौधरीले भने, ‘तर विहान अचानक फोन आयो कि भगतजी ट्वाइलेटमा लडेर बेहोस हुनुभयो रे । म गंगालाल अस्पतालमा पुगेको छु । डाक्टरले पनि तनावका कारण यो एट्याक भएको भन्नुभएको छ ।’

 


आन्दोलनमा भगतका साथ आएका मुकेश ठाकुरले भने, ‘यो भुक्तानीको विषयलाई लिएर वहाँ पहिलेदेखि नै तनावमा हुनुहुन्थ्यो । भुक्तानी नै नलिइकन सम्झौता भयो भनेर रातिदेखि नै चिन्तित हुनुहुन्थ्यो । विहान अचानक उहाँको छाती दुख्यो भनेर ट्वाइलेट जानु भएको वहाँ त्यहीँ बेहोस भएर ढल्नुभयो । हामीले तत्कालै हेल्पिङ ह्याण्ड अस्पतालमा भर्ना गर्यौँ । त्यहाँ डाक्टरले छाती थिचेर प्रेसरहरु दिएर हेर्नुभयो अवस्था नाजुक छ भन्दै थप उपचारका लागि उहाँलाई गंगालाल हृदय रोग केन्द्रमा रिफर गर्नुभयो । त्यहाँ नै उपचारको क्रममा उहाँको मृत्यु भयो ।’

चार–पाँच वर्षदेखि करिब २५ लाख रुपैयाँ भुक्तानी लिन बाँकी रहेको ठाकुरले बताए । उनको व्यवसाय नै उखु खेती हो । उखु खेतीबाट नै उनको परिवार चल्छ । भुक्तानी नपाउँदा सबै लथालिङ अवस्थामा पुगेको छ । खेती र घरपरिवार चलाउनका लागि उनले साहु महाजनबाट ऋण पनि लिएका छन् । उद्योगीले भुक्तानी नदिँदा न ऋण तिर्न सकिरहेका थिए न घरपरिवार ठीकसँग चलाउन सकिरहेका थिए । त्यसले गर्दा उनी तनावमा थिए ।

यसपाली उनी ठूलो आशा लिएर काठमाडौं आएका थिए । भुक्तानी लिएरै नै घर फर्किने मनस्थिति थियो । तर अचानक यस्तो सम्झौता भएपछि उनी दुःखी भएका थिए । ‘सरकारले २१ दिनभित्र भुक्तानी गराउने भनेको छ । २१ दिनभित्र भुक्तानी हुने नहुने निश्चित पनि छैन,’ ठाकुर भन्छन् ।

अन्य किसानहरु पनि यो सम्झौताबाट खुसी छैनन् । आन्दोलनका अगुवाहरुले किसानलाई यसपाली भुक्तानी लिएरै काठमाडौँबाट फर्किने गरि आन्दोलनमा सहभागी गराउन जिल्ला जिल्लाबाट मगाएका थिए । उनीहरु पनि त्यही तयारीका साथमा काठमाडौं आएका थिए । आन्दोलन शुरु गरेपछि अलिअलि भुक्तानी दिन शुरु पनि भएको थियो । तैपनि माइतीघरमा धर्ना दिने कार्य जारी नै थियो ।

यसअघि पुस ५ गते पनि सरकार र आन्दोलनकारीबीच वार्ता भएको थियो तर त्यो वार्तामा आन्दोलनकारीले पुरै भुक्तानी नभएसम्म आफूहरु काठमाडौँ नछाड्ने र आन्दोलन जारी राख्ने अडान लिएर फर्केका थिए । त्यसदिन पनि सरकारले २१ दिनभित्र किसानको सम्पूर्ण बक्यौता रकम उपलब्ध गराउने र त्यो अवधिमा भुक्तानी दिएन भने कानुनअनुसार कारवाही गर्ने प्रतिबद्धता जनाएका थिए ।

तर किसान आन्दोलनका अगुवा नेता राकेश मिश्रले बरु आफूहरु २१ दिनसम्म सडकमै बस्ने, शान्तिपूर्ण आन्दोलन गर्ने, मौन बस्ने तर भुक्तानी नलिइ काठमाडौं नछाड्ने भन्दै त्यहाँबाट निस्केका थिए । माइतीघरमा आन्दोलन जारी रहँदा सरकारले वार्ताका लागि दवाव दिइरहेको थियो । अहिले धेरै किसानलाई जानकारी नै नदिइ राकेश मिश्रले अचानक सरकारसँग सम्झौता गरेको किसानहरुले आरोप लगाएका छन् । राकेश मिश्र पनि जसपा नेपालकै नेता हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप