केन्द्रीय संस्करण
अन्तरवार्ता

‘कुनै दिन आत्महत्या गर्न बेर छैन’

भुक्तानी नपाएसम्म काठमाडौँ छाड्दैनौँ : विन्देश्वर राय, उखु किसान

person explore access_timeपुस २२, २०७६ chat_bubble_outline0

आन्दोलनरत उखु किसान र सरकारबीच पुस १८ गते पाँच बुँदे सम्झौता भयो । आन्दोलनरत किसानले आन्दोलन स्थगित गरे तर अझै घर फर्केका छैनन् । सबै आन्दोलनकारी उखु किसान काठमाडौँमै छन् । सरकारले माघ ७ गतेभित्र सम्पूर्ण बक्यौता रकम भुक्तानी गराइदिने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । तर किसान अझै विश्वस्त छैनन्, त्यही भएर उनीहरु काठमाडौँ नछाडेका हुन् । माघ ७ गतेसम्म काठमाडौँमै बस्ने, भुक्तानी प्राप्त भए घर फर्किने नत्र ८ गतेदेखि पुनः आन्दोलन गर्ने तयारीमा छन् उनीहरु । यता मिल सञ्चालकहरुले भने थोरै–थोरै गरेर भए पनि भुक्तानी दिन सुरु गरेका छन् । जिल्लामा सरकारी अनुदान पनि वितरण सुरु भएको छ । प्रस्तुत छ, आन्दोलनपछि उखु किसानको अवस्था र अगामी कदमको बारेमा रातोपाटीले उखु किसान विन्देश्वर रायसँग गरेको कुराकानीः

आन्दोलनका लागि काठमाडौँ कहिले आउनुभयो ?

–काठमाडौँ आएको झण्डै एक महिना हुन लागेको छ । जिल्लामा पटक पटक आन्दोलन गर्दा पनि केही सुनुवाइ नभएपछि थप दबाबका लागि काठमाडौँ आएका थियौँ ।

केका लागि आन्दोलन गर्दै हुनुहुन्छ ?

–हामीले चिनीमिल मालिकलाई दिएको उखुको बक्यौता रकम नपाएका कारण आन्दोलनमा थियौँ । त्यसैको निरन्तरताका लागि हामी काठमाडौँसम्म आएका हौँ । मिल मालिकले पैसा नदिँदा निकै समस्या भयो । बाध्य भएर आन्दोलन गर्नुपर्यो ।

अहिले सरकारसँग पाँच बुँदे सम्झौता भएको छ । यो सम्झौतालाई तपाईंले कसरी बुझ्नुभएको छ, सम्झौता ठीक छ कि बेठीक छ ?

– जब सम्झौता कार्यान्वयन हुन्छन् अनि मात्र त्यसको असली महत्त्व थाहा हुन्छ । कागजमा जस्तोसुकै सम्झौता भए पनि त्यो कार्यान्वयन भएन भने त्यसको कुनै अर्थ रहँदैन । अहिलेको सम्झौता पनि त्यस्तै हो । सम्झौतमा लेखिएको कुरा सबै कार्यान्वयन भइदियो भने मात्र किसानको हितमा हुन्छ ।

यसको मतलब तपाईंलाई यो सम्झौताबाट चित्त बुझेको छैन, होइन ?

–चित्त बुझ्नुभन्दा पनि शङ्का निवारण भएको छैन । विगतमा पनि यस्ता थुप्रै सम्झौताहरु भएका थिए, भएका छन् तर ती अक्षरस पालन भएको छैन । सम्झौताका क्रममा ठूलाठूला कुरा हुन्छन् तर अन्त्यमा हात लाग्यो शून्य हुन्छ । अहिलेको सम्झौता पनि त्यस्तै हुन्छ कि भन्ने हामी उखु किसानलाई आशङ्का छ । किनभने विगतमा हामीले यस्तै नियति भोग्दै आएका छौँ  ।


माघ ७ गतेसम्म हामी काठमाडौँमै हुन्छौँ । सरकारले माघ ७ गतेसम्म सम्पूर्ण बक्यौता रकम भुक्तानी गराइदिने हामीसँग सम्झौता गरेको छ । सबै भुक्तानी नभएसम्म हामी काठमाडौँबाट जाँदैनौँ । बैङ्क स्टेटमेन्ट हेर्छौं, हामीले पाउनुपर्ने रकम बैङ्कमा आइसकेको पुष्टि भए मात्र फर्किन्छौँ । सम्पूर्ण रकम आएन भने माघ ८ गतेदेखि फेरि आन्दोलन गर्छौं ।


सम्झौता के भएको छ, तपाईंलाई थाह छ ?

–थाह छ । माघ ७ गतेभित्र सम्पूर्ण बक्यौता रकम दिने र त्यसपछि हुने कारोबारहरुमा नियमित भुक्तानी गर्ने कुरा भएको छ । एउटा के समिति बनाउने पनि कुरा भएको छ ।

सम्झौता भएपछि पनि तपाईंहरु काठमाडौँमै हुनुहुन्छ त किन ?

–माघ ७ गतेसम्म हामी काठमाडौँमै हुन्छौँ । सरकारले माघ ७ गतेसम्म सम्पूर्ण बक्यौता रकम भुक्तानी गराइदिने हामीसँग सम्झौता गरेको छ । सबै भुक्तानी नभएसम्म हामी काठमाडौँबाट जाँदैनौँ । बैङ्क स्टेटमेन्ट हेर्छौं, हामीले पाउनुपर्ने रकम बैङ्कमा आइसकेको पुष्टि भए मात्र फर्किन्छौँ । सम्पूर्ण रकम आएन भने माघ ८ गतेदेखि फेरि आन्दोलन गर्छौं । हामीले आन्दोलन स्थगित गरेका हौँ, फिर्ता लिएका हैनौँ । केही साथीहरु अस्वस्थ्य भएर घर फर्किनुभएको हो । बाँकी सबै काठमाडौँमै छौँ । परेको बेला हामी तुरुन्त सडकमा आउँछौँ । यसअघि सर्लाहीका किसान मात्र आन्दोलनमा आएका थिए, अबको आन्दोलनमा देशैभरिका उखु किसान आउनेछन् ।

किसानलाई भुक्तानी दिनुपर्ने एक अर्बभन्दा बढी रकम बाँकी छ, तपाईंलाई के लाग्छ माघ ७ गतेभित्र सबै रकम भुक्तानी हुन्छ ?

–सबभन्दा बढी बक्यौता रकम राकेश अग्रवालको छ । आन्दोलनको विशेष टार्गेट उहाँमाथि नै थियो । यद्यपि अन्य उद्योगीले पनि किसानको बक्यौता रकम दिनुपर्ने हाम्रो माग रहेको छ । पुस २५ गतेभित्र १२ करोड र माघ ७ सम्म ५ करोड भुक्तानी गर्ने सरकारसमक्ष अग्रवालले प्रतिबद्धता जनाउनुभएको छ । अरू उद्योगीहरुले माघ ७ गतेसम्म सबै भुक्तानी गर्नुपर्ने हुन्छ । राकेश अग्रवालमाथि २१ करोड रुपियाँ बाँकी छ । माघ ७ पछि उहाँले बक्यौता रकम नियमित रूपमा भुक्तानी गर्ने भन्नुभएको छ । यदि नियमित रूपमा गर्नुभएन भने सरकारले उहाँलाई कारबाही गर्ने प्रतिबद्धता उद्योग मन्त्री लेखराज भट्टले जनाउनु भएको छ ।

तपाईंको कति रकम बाँकी छ ?

–मेरो पाँच लाख जति बाँकी छ ।

यो पाँच लाख रुपियाँ कहिलेदेखिको बाँकी हो ?

–यो रकम तीन वर्षदेखिको बाँकी हो । बीचबीचमा केही दिइरहेको थियो तर धेरै बक्यौता नै रहन्थ्यो । यसमा थपिँदै गइरहेको छ ।


उखु उब्जाउनका लागि निकै मिहिनेत र खर्च गर्नुपर्छ । खेती निकै खर्चिलो छ । म तीन चार बिघामा उखु खेती गर्छु । एक बिघा उखु खेतीका लागि रु. एक लाखभन्दा बढी खर्च हुन्छ । एक कठ्ठामा अढाई क्विन्टल उखुको बीउ लाग्छ । एक कठ्ठामा १० केजी मल हाल्नुपर्छ । दुई तीन किसिमका औषधि छर्किनुपर्छ । रोप्नका लागि एउटा मजदुरले दिनको एक हजार रुपियाँ लिन्छ । ट्याक्टरलाई जोताउँदा एक घण्टाको १२ सय रुपियाँ लिन्छन् ।


यतिका रकम बाँकी हुँदा तपाईंको घर व्यवहार कसरी चलेको छ त ?

–हाम्रो घरव्यवहार उखुखेतीले नै चल्ने हो । उखुखेतीमा लगानी गथ्र्यौं तर मिल मालिकले पैसा नदिएपछि समस्या थपिँदै गइरहेको छ । लाखौँ रुपियाँ बाँकी भएपछि घरमा खानलाई समस्या हुने नै भयो । छोराछोरीलाई पढाउन समस्या छ । छोराछोरीलाई खुवाउन, पढाउन साहु महाजनबाट ऋण लिनुपथ्र्यो । यहाँसम्म कि खेती गर्नका लागि पनि साहु महाजनबाट ३६ प्रतिशत व्याजमा ऋण लिएका छौँ ।

उखु लगाएदेखि मिलसम्म पुर्‍याउँदासम्म कति खर्च लाग्छ ?

–उखु उब्जाउनका लागि निकै मिहिनेत र खर्च गर्नुपर्छ । खेती निकै खर्चिलो छ । म तीन चार बिघामा उखु खेती गर्छु । एक बिघा उखु खेतीका लागि रु. एक लाखभन्दा बढी खर्च हुन्छ । एक कठ्ठामा अढाई क्विन्टल उखुको बीउ लाग्छ । एक कठ्ठामा १० केजी मल हाल्नुपर्छ । दुई तीन किसिमका औषधि छर्किनुपर्छ । रोप्नका लागि एउटा मजदुरले दिनको एक हजार रुपियाँ लिन्छ । ट्याक्टरलाई जोताउँदा एक घण्टाको १२ सय रुपियाँ लिन्छन् । एक पटक उखुका लागि पाँच छ पटक खेत जोताउनुपर्छ । ढुवानीदेखि लिएर अरू पनि थुप्रै खर्च छन् । यी सबै खर्च नगदमै हो, एउटा पनि उधारो हुँदैन । त्यसमा लाग्ने सबै खर्च ऋण लिएर नै गरेको छु । यता मिल मालिकले बक्यौता रकम दिइरहेका छैनन् भने उता साहुबाट लिएको रकम बढ्दै गएको छ ।


सर्लाहीमा राकेश अग्रवालले चिनी मिल स्थापना गर्दा हामी किसानलाई ठूलाठूला सपना देखाउनुभएको थियो । ठूलाठूला आश्वासन दिनुभएको थियो । उहाँले किसानलाई सबै सुविधा दिने प्रतिबद्धता जनाउनुभएको थियो । बीउ, मल लगायत हरेक कुरामा सुविधा दिने भन्नुभएको थियो । खेती गर्नका लागि अग्रिम पैसा पनि दिने भन्नुभएको थियो । प्रत्येक हप्तामा भुक्तानी गर्ने भन्नुभएको थियो । यति कुरा भनेपछि हामी खेतीतर्फ लाग्यौँ । तर राकेश अग्रवालबाट कुनै सुविधा पाइएन ।


यति धेरै समस्या देख्दादेख्दै फेरि उखु खेती नै चाहिँ किन गर्नुहुन्छ ? विकल्प खोज्दा पनि हुन्छ नि, कि के हो ?

–हो, तपाईं ठीक कुरा गर्नुभयो । अब हाम्रो सोच पनि त्यतातिर गइरहेको छ । उखुबाहेक बाली लगाउन र त्यसबाट फाइदा लिन सकिन्छ । तर सर्लाहीमा राकेश अग्रवालले चिनी मिल स्थापना गर्दा हामी किसानलाई ठूलाठूला सपना देखाउनुभएको थियो । ठूलाठूला आश्वासन दिनुभएको थियो । उहाँले किसानलाई सबै सुविधा दिने प्रतिबद्धता जनाउनुभएको थियो । बीउ, मल लगायत हरेक कुरामा सुविधा दिने भन्नुभएको थियो । खेती गर्नका लागि अग्रिम पैसा पनि दिने भन्नुभएको थियो । प्रत्येक हप्तामा भुक्तानी गर्ने भन्नुभएको थियो । यति कुरा भनेपछि हामी खेतीतर्फ लाग्यौँ । तर राकेश अग्रवालबाट कुनै सुविधा पाइएन । हामीले आफ्नै लगानीबाट सबै कुरा गर्‍यौँ । यत्रो लगानी भइसकेको छ । मिलमा पनि रकम बक्यौता छ । यदि खेती गर्न छाडिदियौँ भने त्यो रकम पनि डुब्ने डर हुन्छ । त्यही भएर दुःखसुख गरी उखु खेती गर्दै आइरह्यौँ । तर अब विस्तारै छाड्दै जाने सोच बनाएको छु । साह्रै पीडा छ यसमा । एकचोटि उखु लगाएपछि तीनवटा अन्य बाली लगाउने समय त्यसैमा जान्छ । धान लगाएँ भने प्रति कठ्ठा चार पाँच मन प्रत्येक साल उब्जाउ हुन्छ । त्यसपछि गहुँ हुन्छ, दाल पनि हुन्छ । दुईवटा बाली मज्जाले उब्जाउन सकिन्छ । अहिले पनि धान प्रतिक्विन्टल दुई तीन हजारका दरले बिक्छ । गहुँ पनि प्रतिक्विन्टल रु चार पाँच हजारको दरले बिक्छ । हिसाब गर्नुस्, तीन चार बिघा जमिनमा सालको कति आम्दानी हुन्छ । उखुभन्दा बढी आम्दानी हुन्छ । त्योभन्दा कम मिहिनेत पनि पर्छ । तर हामी राकेश अग्रवालका कारण फस्यौँ । उखु खेतीले उल्टै ऋण लागेको छ ।

तपाईंको कति ऋण छ ?

–मेरो पाँच लाखभन्दा बढी ऋण छ । तीन वर्ष भइसक्यो । ३६ प्रतिशत व्याजले जोड्नुस् कति पुगेको होला ? एक चोटि केही खेत बेचेर थोरै तिरेको छु । खेत बेचेर साहुको पैसा कसरी तिर्नु भनेर दुईवटा छोरा कमाउनका लागि विदेश गएका छन् । उसले कमाएर पठाएको पैसाबाट घर खर्च चलेको छ । महाजनको अलिअलि ऋण पनि तिर्छु । यदि उखुको भुक्तानी समयमा पाएको भए यी समस्या आउने थिएनन् । पैसाको अभावले नै छोरालाई पढाउन सकिएन । एउटा छोरा १० कक्षामा पढ्दैछ अनि दुई छोराले पढाइ छाडेर विदेश गएका छन् । मसँग जमिन छ, छोरा कमाउनेवाला छन् । अनि हिम्मत गरिरहेको छु । जसको जमिन छैन उसले बटैया (अधिया) मा जमिन लिएर उखु खेती गरेका छन् भने त्यसको हालत के भएको होला, एकचोटि विचार गर्नुस् । उसले पनि ऋण गरेर नै उखु खेती गरेका छन् । तर मिल मालिकले समयमा भुक्तानी नगर्दा उनीहरुको हालत खराब भएको छ । कुनै दिन आत्महत्या गर्न बेर लगाउँदैन ।

आन्दोलनमा धोका भयो, कसैले रकम खाएर आन्दोलन तुहाएको भन्ने चर्चा भइरहेको छ । तपाईंको विचारमा के भएको हो ?

–अहिलेसम्म हामी धोका नै खाइरहेका छौँ । अझै एक पटक धोका खाँदैमा केही बिगिँ्रदैन । उद्योग मन्त्रीले यति दिन तपाईंहरु सहेर बस्नुभयो, अझै केही दिन सहेर बस्नुस्, तपाईंहरुको बक्यौता रकम भुक्तानी दिलाउँछु भन्नुभएको छ । मन्त्रीज्यूले भनेको कुरालाई पनि हामीले विश्वास गरेका छौँ । धोका भयो भने फेरि आन्दोलनको विकल्प छँदैछ ।


आन्दोलनमा राजनीति छिर्‍यो भन्छन् नि ?

–मलाई पनि त्यस्तो लाग्दैछ । हामी सोझा किसान आफ्नो अधिकारका लागि काठमाडौँसम्म लड्न आयौँ । यसको आडमा कसले के गरे थाह छैन । हामी आन्दोलन गरिरहँदा घुसपैठियाहरु पनि आएको पछि थाह पायौँ । आन्दोलनलाई अर्कैतिर मोड्ने प्रयत्न पनि भयो । कतिपयले भित्रैभित्रै चलेखेल पनि गरे ।

तपाईंहरुको आन्दोलनको अगुवा राकेश मिश्र नै हो ?

–होइन, हाम्रा कोही अगुवा छैनन् । आफ्नो बलबुँतामा आन्दोलन गर्दैछौँ । यसमा सबभन्दा बढी सहयोग पत्रकार, नागरिक समाजको रहेको छ । जसले हामीलाई खुलेर सहयोग गर्नुभयो । होला, यसमा कसैले बढी सहयोग गरे, कसैले कम तर हाम्रा अगुवा कोही छैनन् । यो आन्दोलन हामीले आफ्नै बल र खर्चमा गरेका हौँ । गाउँमा ऋण लिएर काठमाडौँ आएका हौँ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.