शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्थायी समितिलाई ओलीले दिए ‘रत्यौली’ को संज्ञा, पद खोसिने डर

‘आजको बैठक पनि बल प्रयोग गरेर गर्नुभयो’
शनिबार, २० मङ्सिर २०७७, १९ : ५५
शनिबार, २० मङ्सिर २०७७

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विवाद सचिवालय बैठकबाटै मिलाउनुपर्नेमा पुनः जोड दिएका छन् । उनले पार्टी स्थायी समितिलाई अपमान समेत गरेका छन् । शनिबारको सचिवालय बैठकमा बोल्दै ओलीले अधिकांश सदस्यहरुले सचिवालयबाट निकास ननिस्केपछि दुवै अध्यक्षका प्रतिवेदनमाथि स्थायी कमिटीमा छलफल गरेर निष्कर्ष निकाल्न दिएको सुझावलाई प्रतिवाद गर्दै स्थायी समितिलाई ‘रत्यौली’को संज्ञा दिएका छन् । 

‘स्थायी समितिमा जाने भनेको के हो ? के स्थायी समितिमा रत्यौली खेल्न जाने हो ?’, ओलीको प्रश्न थियो । ‘आजपनि तपाईंहरुले बल प्रयोग गरेर बैठक भएको हो । यो बैठकमा बल प्रयोगकै हो । अव त्यो स्थायी समिति पनि बल प्रयोगकै हुने हो’, ओलीको आक्रोश थियो । 

प्रतिवेदनहरुमाथि स्थायी समितिमा छलफल गर्न नहुने ओलीको आशय बुझेपछि उपाध्यक्ष वामदेव गौतमले ओलीलाई बरु केही तयारी गर्न बाँकी रहे समय दिन सकिने धारणा राखेका थिए । 
‘तपाईंले स्थायी समितिमा राख्ने कुराहरुको तयारी वा गृहकार्य गर्नुपर्ने भए स्थायी समितिमा पनि समय लिनुुस्’, गौतमले ओलीलाई सुझाव दिँदै भनेका थिए । 

गौतमको यस्तो सुझाव सुनेसकेपछि ओलीले आफूलाई स्थायी समितिले बहुमत र अल्पमतका आधारमा हटाउन सक्ने बुझेर ‘त्यस्तो केही हुँदैन’ भन्दै अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछोड्ने बताएका थिए । 
सचिवालय सदस्य तथा गृहमन्त्री रामवहादुर थापा बादलको कार्यदल बनाउने प्रस्तावमा भने विष्णु पौडेल र इश्वर पोखरेलले मात्रै समर्थन गरेका थिए । 
बादलले कार्यदलको प्रस्ताव ल्याउने वित्तिकै वरिष्ठ नेता झलनाथ खनाल बोलेका थिए । उनले सुरुमै कार्यदल बनाउने प्रस्तावको ठाडै विरोध गरेका थिए । 


‘अब कार्यदलको कुनै काम छैन । यो औचित्यहीन कार्यदलको के काम ?’, बैठकमा खनालको भनाइ उदृत गर्दै एक सचिवालय सदस्यले भने, ‘पहिला त्यत्रो कार्यदल बनाएर गरेको सहमति त कार्यान्वयन भएन । अब फेरि किन कार्यदल ?’, नेता खनालको प्रश्न थियो । उनले फेरि कार्यदल बनाएर फरि आम कार्यकर्ता र जनतालाई भुल्याउने काम गर्न नहुनेमा जोड दिएका थिए । 
‘आम कार्यकर्ता र जनतालाई कति दिन बन्दी बनाउने ? यो मिल्दैन । अब पार्टी कमिटीले जे निर्णय गर्छ त्यही कार्यान्वयन हुन्छ’, खनालको भनाइ थियो । 

वरिष्ठ नेता माधवकुमार नेपालले पनि फेरि कार्यदलको कुरा गरेर अल्मलिन नहुने धारणा राखेका थिए । ‘फेरि यस्तो कुरा गर्ने ? किन बनाउने कार्यदल ?’, नेता नेपालले प्रश्न गरेका थिए । 
नेता नेपालले अध्यक्ष ओलीले अहिले पनि आफूलाई सुपरम्यान ठान्ने गरेको भन्दै त्यस्तो प्रवृति त्याग्न सुझाव दिएका थिए । ‘अहिले पनि तपाई अझै आफुलाई सुपर म्यान ठान्नुहुन्छ । यस्तो गर्न छोड्नुस्,’ नेता नेपालको भनाइ थियो ।  

त्यस्तै उपाध्यक्ष बामदेव गौतमले कार्यदलले समस्या समाधान गर्न नसक्ने भन्दै कार्यदलमा बस्न अस्वीकार गरेका थिए ।
अध्यक्ष ओलीले स्थायी समितिमा गएर रत्यौली खेल्ने ? भनेर प्रश्न गरेपछि वामदेवले जवाफ दिँदै त्यस्तो घमण्ड नगर्न चेतावनी दिएका थिए । 

‘तपाईंमा पनि ठुलो घमण्ड छ, तपाईका सल्लाहकारहरु पनि त्यस्तै छन् । तपाईंका सल्लाहकारहरु यस्ता छन् कि उनीहरु जहाँ गए, त्यही सखाप पार्छन् । त्यस्ता सल्लाकारहरु परिवर्तन गर्नुस्’, गौतमले सुझाव दिँदै भनेका थिए, ‘पार्टीमा संकट आएका बेला तपाईंका सल्लाहकारहरु जथाभावी बोल्दै हिडेका छन् । जसले झन् समस्या पैदा गरेको छ ।’

आफ्नो धारणा राख्ने क्रममा प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि कार्यदलको औचित्य नभएको बताएका थिए । 

‘कार्यदल बनाउनुको कुनै औचित्य नै छैन’, प्रवक्ता श्रेष्ठको भनाइ थियो । 


आजको बैठकमा  झण्डै ३ घण्टा गलफती भएपछि आइतबारको स्थायी समिति बैठकमा ओली र प्रचण्ड दुबैको प्रस्तावमाथि छलफल हुने बताइएको छ । 

बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको संकट निवारणका निम्ति अहिलेसम्म प्रस्तुत भएका प्रस्तावहरु स्थायी कमिटीमा पेस गरेर छलफल गर्ने निर्णय भएको बताए । 
उनले भने,  ‘पार्टीको संकट निवारण सम्बन्धमा अहिलेसम्म सचिवालयमा प्रस्तुत प्र्रस्तावहरु स्थायी कमिटीको बैठकमा पेस गरी सार्थक निष्कर्षका निम्ति छलफल अगाडि बढाइने छ ।’

प्रवक्ता श्रेष्ठले सचिवालयको बैठक बस्नुभन्दा अगाडि अध्यक्षद्वय बीच भएको भेटवार्तामा पनि कुनै समझदारी नभएको बताए ।  सचिवालय बैठकमा पार्टीको संकट निवारणका लागि छलफल भएपनि आजै निष्कर्षमा पुग्ने सम्भावना नभएकोले स्थायी कमिटीमा पेस गर्ने निर्णय भएको बताए ।  स्थायी कमिटीको बैठक चलिरहदा आवश्यक परेमा अध्यक्षद्वय बीच र सचिवायलको औपचारिक तथा अनौपचारिक बैठक समेत बसेर छलफललाई अगाडि बढाउन सकिने प्रवक्ता श्रेष्ठले बताए । 


प्रवक्ता श्रेष्ठका अनुसार आइतबार दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा स्थायी कमिटी बैठक बस्ने छ ।

मन्त्रिपरिषद‍्मा हेरफेर, राजदूत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्याकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भई नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलसँग गरेको भेटवार्ता आदिबारे विवाद रहँदै आएकोमा प्रचण्ड र ओलीले छुट्टाछुट्टै प्रस्ताव ल्याएपछि विवाद थप उत्कर्षमा पुगेको हो । 
नेकपाकै नेताहरुले विवाद फुटउन्मुख भएको बताउन थालेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप