शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपामा अनौठो संस्कार : अध्यक्ष अनुपस्थित बैठकमा तीन वटा निर्णय

बुधबार, १७ मङ्सिर २०७७, १७ : ०७
बुधबार, १७ मङ्सिर २०७७

काठमाडौैं । पार्टीमा अल्पमतमा परेपछि सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पूर्वनिर्धारित सचिवायल बैठकमै सहभागी भएनन् । पार्टी बैठकमा अध्यक्ष नै उपस्थित नहुने, बैठक बस्ने र निर्णय गर्ने नेपाली राजनीतिमा नेकपाले अनौठो संस्कार सुरु गरेको छ ।

मंगलबारको बैठकमा नेताहरुका पत्र र प्रतिवेदनका बारेमा छलफल गर्ने कि नगर्ने ? भन्नेमा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीचको सम्वाद तिक्ततापूर्ण बनेपछि ओली बुधबारको बैठकमा सहभागी नभएका हुन् । 
बुधबारको बैठकमा आफू उपस्थित नहुने मंगलबारै संकेत गरेका ओलीले बुधबार बैठक सुरु हुनुभन्दा केही घण्टा अघिमात्रै सहभागी हुने बताएका थिए । पूर्व निर्धारित १ बजेका लागि तय भएको बैठक ओली सहभागी हुने भनेपछि १ घण्टा पछि सारिएको थियो । सारिएको समयमा समेत ओली बैठकमा सहभागी नभएपछि उनलाई सोचविचार गर्न तीन दिनको समय दिने बाँकी ८ जना सदस्य सहभागी बैठकले निर्णय गरेको छ । 
प्रधानमन्त्री निवास बालुवाटारमा करिव १५ मिनेट बसेको बैठकले तीनवटा निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको ३८ पेजको जवाफी पत्र, ओलीले नै लेखेको १० पेजको पत्र र कार्यकारी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्तावका साथै नेताहरुबीच आदानप्रदान भएका केही पत्रहरु छलफलका एजेण्डा तय गरिएका थिए । 


‘ती विषयहरुमा छलफल गर्नु भनेको प्रधानमन्त्री  ओलीकै बारेमा छलफल गर्नु हो । सवै दस्तावेजहरु उहाँसँगै सम्बन्धित छन् । त्यसो हुनाले उहाँको अनुपस्थितिमा बैठक गर्दा औचित्यपुर्ण नहुने देखेर हामी आठै जना सचिवालय सदस्यहरुले एकमतले उहाँलाई उपस्थित गराउन अलिकति समय लिएका हौ’, एक सचिवालय सदस्यले रातोपाटीलाई जानकारी दिए । ती सचिवालय सदस्यका अनुसार ओलीलाई आग्रह र अनुरोध गर्दा पनि भएन भने पार्टी निर्णय प्रक्रियाबाटै अघि बढ्ने बहुमत सदस्यको तयारी छ । 

ओली बिनै बुधबार बसेको बैठकले आगामी मंसिर २० गतेको सचिवलय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई बैठकमा उपस्थित हुन आग्रह गर्ने, दोस्रो निर्णय २० गते १ बजे सचिवालय बैठक बस्ने र तेस्रो निर्णय मंसिर १८ गतेलाई तय भएको स्थायी समिति बैठक २१ गते बस्ने निर्णय भएको छ । 

ती बैठकहरु बस्ने स्थानका बारेमा भने कार्यकारी अध्यक्ष प्रचण्डले नेताहरुसँग कुरा गरेर तय गर्ने बुधबारको सचिवालयको निर्णय छ । 
वरिष्ठ नेता झलनाथ खनालले पार्टीले विवेकपुर्ण निर्णय गर्ने भन्दै पार्टीको हृदय र दृष्टिकोण पनि व्यापक हुने भएकाले सवै नेता कार्यकर्तालाई समेट्ने योजनाअनुसार अध्यक्ष ओलीलाई तीन दिनको समय दिइएको जानकारी दिए । 

ओलीले पटक पटक बैठक छल्दै आएको र फेरि पनि त्यही नियत दोहोरिए के गर्नुहुन्छ भन्ने प्रश्नमा नेता खनालले रातोपाटीसँग भने, ‘सवैलाई समेटेर अघि जाने कोशिस गर्दा पनि भएन भने मात्रै पार्टी अगाडि बढ्छ । ओली पनि सचिवालयको महत्वपुर्ण सदस्य तथा अध्यक्ष समेत भएकाले पार्टीले सवैलाइ समेटेर जान नै उपयुक्त हन्छ भन्ने निष्कर्षका साथ यो निर्णय गरिएको हो ।’ 

एक्लिदै ओली 
नौ सदस्यीय नेकपाको सचिवालयमा अध्यक्ष ओली एक्लिदै गएका छन् । कार्यकारी अध्यक्ष प्रचण्डसहित बरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ एकातिर र ओलीसहित महासचिव विष्णु पौडेल, सदस्य इश्वर पोखरेल ओली पक्षमा रहेका थिए ।

 अर्का सदस्य रामबहादुर थापा बादल भने कतैपनि खुलिसकेका छैनन् । तर ओलीको पक्षमा रहेका ईश्वर पोखरेल समेत यो पटक बैठकमा पेस भएका प्रस्सतावहरुमा छलफल गर्नुपर्ने पक्षमा उभिएपछि ओली एक्लिदै गएका हुन् ।
 आफू यसरी एक्लिदै गएपछि ओलीले बिधानअनुसार पार्टी कमिटिको बहुमतको निर्णयसमेत नमान्ने घुर्की लगाउँदै आएका छन् । 

यसअघि ओलीले स्थायी समितिको निर्णय विपरित मन्त्रिहरुको हेरफेर, राजदुत नियुक्तिका लागि सिफारिस र कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्ध अविस्वासको प्रस्ताव ल्याउन उक्साएको भन्दै ओली इतरपक्षले असन्तुष्टि जनाउँदै छलफलका लागि बैठकको माग गर्दै आएको थियो ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप