बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी, किशोर प्रधान पराजित

आइतबार, १४ मङ्सिर २०७७, ०४ : ३७
आइतबार, १४ मङ्सिर २०७७

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल विजयी भएका छन् । आइतबार बिहान आएको मतगणनाको अन्तिम नतिजाअनुसार निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।

महासंघमा जिल्ला नगरतर्फकाे मतकाे ५० प्रतिशत हिस्सा हुन्छ । त्याे समूहमा कुल १०५ मत खसेकाेमा ढकालले ५२ मत र प्रधानले ५३ मत ल्याए । याे २४.७६ प्रतिशत भार हाे । त्यस्तै, ३० प्रतिशत हिस्सा रहेकाे एशाेसियटमा ८९७ सदर मतमध्ये ढकालले ५२२ मत ल्याउँदा प्रधानले ३७५ मत ल्याए । याे १७.४६ प्रतिशत भार हाे । उता, २० प्रतिशत हिस्सा वस्तुगतमा कुल ९८ सदर मतमा ढकालले ५९ र किशाेर प्रधानले ३९ मत ल्याए । कुल २० प्रतिशतकाे भारमा ढकालका लागि याे १२.०४ प्रतिशत मतभार हुन आउँछ । वरिष्ठ उपाध्यक्षमा विजयी हुन ५० प्रतिशत भन्दा बढी मतभार चाहिन्छ । यसमा ढकालले ५४.२६ मतभार प्राप्त गरेका हुन् । उनका प्रतिद्वन्द्वी प्रधानले बाँकी रहेकाे ४५.७४ प्रतिशत मतभार प्राप्त गरे ।

निजी क्षेत्रको छाता सङ्गठन मानिने महासंको नयाँ नेतृत्वका लागि शनिबार मतदान भएको थियो भने साँझदेखि मतगणना सुरु भएको थियो । 

 महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकाले सो पदमा भने मतदान भएन । जसअनुसार शेखर गोल्छा स्वतः अध्यक्ष चयन भएका छन् ।  

वरिष्ठ उपाध्यक्षका लागि  ढकाल र प्रधान प्यानल नै बनाएर निर्वाचनमा उत्रिएका थिए ।  महासङ्घको मतदानका लागि जिल्ला र नगरका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एशोसिएटका लागि कार्की ब्याङ्केट र वस्तुगतका लागि महास्घको केन्द्रीय कार्यालयमा मतदान गरिएको थियो ।

महासङ्घको नयाँ नेतृत्वका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १२७ जनाले उम्मेदवारी दिएका थिए । कार्यकारिणी सदस्यतर्फ यसअघि नै  राजेन्द्र राउत र सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका थिए  भने वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ र दिनेश श्रेष्ठ तथा  एशोसिएटतर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघाई निर्वाचित भएका छन् । 

महासंघमा वस्तुगततर्फ १०१, जिल्ला तथा नगरमा १०५ र एशोसिएटतर्फ ९०३ मतदाता रहेका थिए  ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप