शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘ब्याटलग्राउण्ड’मा ओलीको प्रवेश : कोर्ष करेक्सन कि माछा बजारको कचिङ्गल ?

प्रचण्डको प्रस्तावलाई ‘आरोपपत्र’को संज्ञा, ‘काउन्टर’ प्रस्ताव १० दिनपछि !
बुधबार, ०३ मङ्सिर २०७७, १९ : २५
बुधबार, ०३ मङ्सिर २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादलाई बुधबार बसेको सचिवालय बैठकले केही दिन थाती राखेको छ । कार्यकारी अध्यक्ष प्रचण्डले अघिल्लो बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न बसेको बैठकमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समेत छुट्टै प्रतिवेदन पेश गर्ने मनसाय राखेपछि विवादका विषयमा थप छलफल नभएको हो । 

यसअघि मौखिक रुपमा दन्तबझान गर्ने नेताहरु अब दुई फरक दस्तावेज नै हातमा राखेर प्रस्तुत हुने भएका छन् । यो हिसावले हेर्दा नेकपाको कचिङ्गल पहिलेको भन्दा फरक ढंगले थप लम्बिने भए पनि कोर्ष करेक्सनको दिशामा भने तत्कालै नजाने देखिन्छ । 

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मंसिर १३ गते बस्ने सचिवालय बैठकमा आफ्नो बचाउका लागि छुट्टै दस्तावेजलाई हतियारका रुपमा प्रयोग गर्ने भएका छन् । यसले नेकपाभित्रको कचिङ्गल घोषित रुपमै र छुट्टाछुट्टै दस्तावेजका साथ लम्बिने भएको हो । 

पार्टीभित्र विधि, पद्धतिको पालनालाई अनिवार्य शर्त बनाएर सचिवालयका बहुमत सदस्यले प्रधानमन्त्री ओलीलाई त्यसतर्फ हिँडाउन दबाब दिँदै आए पनि यो कचिङ्गल वैचारिक राजनीतिक नभइ पद र शक्ति आर्जनका हिसावले मात्रै भइरहेको नेकपाकै नेताहरुको भनाइ छ । 

तर नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ भने दुवै अध्यक्षको छुट्टाछुट्टै दस्तावेज आउनुलाई पार्टीभित्र वैचारिक बहस व्यवस्थित दिशातर्फ अघि बढेको भनेर बुझ्नुपर्ने सुझाउँछन् ।

सतहमा हेर्दा बहुमत सदस्यहरुको आवाजलाई नजरअन्दाज गर्दै आएका ओली तत्कालका लागि एक कदम पछि हटेजस्तो देखिए पनि आगामी दिनमा थप तयारीका साथ अघि बढ्ने रणनीति लिएको जानकारहरु बताउँछन् । उनको यो कदमले समाजवाद भन्दा पनि पुँजीवादलाई नै सघाउ पुग्ने उनीहरुको भनाइ छ ।

ओलीले आन्तरिक तयारीका लागि १० दिनको समय माग गरेका छन् । बुधबारको सचिवालय बैठकले उनलाई सो समय उपलब्ध गराउने निर्णयसमेत गरेको छ । 

गत वैशाखबाटै सुरु भएको नेकपाको झगडामा प्रधानमन्त्री ओलीले पार्टी कमिटीका निर्णय पालनामा चासो नदेखाउने तथा सचिवालय बैठकसमेत बोलाउन अस्वीकार गर्दै आएपछि ध्रुवीकरण थप चुलिँदै गएको थियो । तर बुधबारको बैठकमा ओली सहभागी हुनु र कार्यकारी अध्यक्ष प्रचण्डसहितका बहुमत सदस्यहरुले ओलीलाई ब्याटलग्राउण्डमा ओर्लन बाध्य बनाउनुलाई सचिवालयका बहुमत सदस्यहरुले एक किसिमको सफलता ठानेका छन् । 


‘बैठकमै बस्दिनँ, बैठक बसेर निर्णय गरे त्यसको विरुद्ध कडा कदम चाल्ने चुनौती दिएका ओली कमसे कम बैठकमा बस्ने र बैठकमै छलफल गर्नेगरी ब्याटलग्राउण्डमा ओर्लन बाध्य भएका छन् । यो नै अहिलेको एउटा उपलब्धी हो,’ प्रचण्ड–माधव समूहका एक नेता भन्छन्, ‘आगामी दिनमा उनी कसरी प्रस्तुत हुन्छन्, त्यसमा धेरै कुराको भर पर्छ ।’

कार्तिक २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावलाई ‘आरोपपत्र’को संज्ञा दिएका ओलीले आगामी १३ गते बस्ने बैठकमा कस्तो दस्तावेज पेश गर्ने हुन्, त्यसले नै नेकपाभित्रको विवादलाई कुन मोडमा लैजान्छ भन्ने तय हुने ती सदस्यको भनाइ छ । 

प्रधानमन्त्री ओलीले पार्टीका निर्णयहरु लगातार अवज्ञा गर्दै आएको, आफ्नो आलोचना हुने भएपछि बैठकहरु बोलाउन आनाकानी गर्दै आएको, सरकारका कतिपय महत्वपूर्ण निर्णयका बारेमा पार्टीसँग परामर्श वा जानकारी गराउन आवश्यक नदेख्ने गरेको भन्दै सचिवालयका बहुमत सदस्य ओलीप्रति असन्तुष्ट बन्दै उनको जवाफको खोजीमा थिए ।

ओलीले आफूविरुद्ध लाग्दै आएको आरोपको मौखिक खण्डन गर्दै आए पनि अघिल्लो बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रस्तावलाई पार्टी विभाजन गर्ने आरोपपत्र भन्दै उक्त प्रस्ताव फिर्ता नगरेसम्म बैठक नै नबस्ने अडान लिएका थिए ।

उनले आफ्नो सहमतिविना बस्ने बैठकको औचित्य समेत नरहने भन्दै पार्टी विभाजन हुनसक्नेसम्मको चेतावनीका बाबजुद मंसिर ३ को सचिवालय बैठकमा सहभागिता त जनाए तर आफुमा रहेको दम्भ अझै नसकिएको संकेत पनि गरेका छन् । अर्को बैठकमा दस्तावेज ल्याउने भनेर उनले आफूले अझै हार नमानेको संकेत देखाएको कतिपयको बुझाइ छ ।

कसरी आए ओली ब्याटलग्राउण्डमा ? 
कार्यकारी अध्यक्ष प्रचण्डले आलोचनासहितको दस्तावेज पेश गरेपछि आक्रोशित बनेका ओलीले यसबीचमा आफ्नो पक्षमा बहुमत पुर्याउने अनेक प्रयास गरेका थिए । तर, उक्त प्रयासमा असफल भएपछि र राष्ट्रपति विद्यादेवी भण्डारी एवं तथा चिनियाँ राजदुत होउ यान्छीको समेत सक्रियता बढेपछि ओली रणनीति परिवर्तन गर्दै पार्टी कमिटीमै दस्तावेजसहित लड्नभिड्न तयार भएका हुन् । त्यसका लागि महासचिव विष्णु पौडेल लगायतका नेताहरुले समेत भूमिका खेलेका थिए । महासचिव पौडेललगायत दोस्रो तहका दुवै पक्षका नेताहरुका साथै राष्ट्रपतिको समेत पार्टी विभाजनप्रतिको अरुचीले ओली तत्काल पार्टी विभाजनको दिशामा नगई वैधानिक ढंगले नै मुकाबिला गर्न तयार बनेका हुन् । 

यद्यपि, ओलीले यो १० दिनको अवधिमा पर्याप्त गृहकार्य गर्ने अवसर पाएका छन् । सचिवालय, स्थायी, केन्द्रीय कमिटीका साथै संसदीय दलमा समेत अल्पमतमा रहेका भनिएका उनले यो अवधिमा तत् तत् निकायमा आफ्नो पकड जमाउन मेहनत गर्नेछन् । उनको यो प्रयास जबसम्म सफल हुँदैन, तबसम्म अलमल लम्ब्याउने सम्भावना पनि त्यतिकै रहेको ओली इतरपक्षको बुझाइ छ । वरिष्ठ नेता माधवकुमार नेपालले त ओलीको सोही मनोभाव बुझेर नै हुनसक्छ, बुधबारको बैठकमै भने, ‘ढिलाढाला गर्ने र समय कटाउने काम पटक्कै नर्गनुस् । कमजोरी सच्यानुकोे सट्टा पुनः गल्ती दोहोर्याउँदै अघि बढ्ने प्रयास नगर्नुस् ।’

नैतिक तागतको संकट 
नेकपाका नेता राम कार्कीको बुझाइमा नेकपाभित्रको क्राइसिस नैतिक तागतको संकट हो । उनका अनुसार नेकपा र काँग्रेस सरकारको भिन्नता नै हुन सकेन । ‘नेपाल र आफ्नो पार्टी वा आन्दोलनलाई समाजवादको दिशातिर लैजान के गर्नुभयो भनेर प्रश्न गर्दा जवाफ नै छैन’, नेकपाका वैचारिक बहस गर्ने नेताका रुपमा चिनिएका कार्की भन्छन्, ‘त्यो चिजले ओली कामरेडलाई बढ्ता तागत दियो ।’ उनका अनुसार अहिले पनि नेकपा विघटनकै दिशातर्फ गइरहेको छ । त्यसलाई रोक्न नेताहरुलाई वैचारिक राजनीतिक तहमा उठाउनुपर्छ ।

‘वैचारिक राजनीतिक तहमा उठ्यो भने त्यसले राजनीतिक धु्रवीकरण ल्याइदिन्छ । अहिलेको धु्रवीकरण भनेको भोलि चुनाव कसले जित्ने, टिकट कसले दिने र मन्त्री कसले बनाउने भन्नेमै केन्द्रित छ’, कार्कीको भनाइ छ ।
उनले अध्यक्ष प्रचण्डको प्रस्तावमा अलिकति वैचारिक बनाउने संकेत गरिए पनि समाजवादी हुन यो यो गर्नुपर्छ र हामी यो गर्छौँ भन्ने अभाव रहेको बताए । 

अध्यक्ष प्रचण्डको प्रस्तावको काउन्टरमा प्रधानमन्त्री तथा अर्का अध्यक्ष ओलीले ल्याउने भनिएको प्रस्तावपछि नेकपाको आन्तरिक विवाद कसरी अघि बढ्ला त भन्ने प्रश्नमा कार्कीले भने, ‘जबसम्म कोर्ष करेक्सनको बाटोमा गइन्न अर्थात् पुँजीवादी बाटोमा हिँडेको पार्टीलाई समाजवादी दिशातर्फ मोड्ने प्रयास नगर्दासम्म यो लडाइँ वैचारिक राजनीतिक बन्दैन ।’ 

उनले प्रचण्डले पेश गरेको प्रस्तावलाई इलाब्रेट गर्न सक्नुपर्ने बताए । ‘ओली समाजवादी होइनन् भने समाजवादी के हो त ? त्यो कुरा ल्याउनुपर्छ । पार्टी र आन्दोलनलाई समाजवादको दिशातर्फ मोड्ने कोशिस नहुँदासम्म यो विवाद माछा बजारकै कचिङ्गल भइरहन्छ’, कार्कीको विश्लेषण छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप