शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रम ओलीले स्थायी समितिको म्यान्डेटलाई बेवास्ता गर्दा मन्त्रिपरिषद् पुनर्गठनमा अलमल

ओलीलाई मनाउने प्रयासमा प्रचण्ड
मङ्गलबार, १३ असोज २०७७, १८ : ५७
मङ्गलबार, १३ असोज २०७७

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच दैनिकजसो भेटवार्ता भएपनि ठोस नतिजा आउन सकेको छैन । 
लगातारका छलफलमा दुई नेताबीच ठोस सहमति बन्न नसक्दा परिणाम आउन नसकेको र मन्त्रिपरिषद् पुनर्गठनमा पनि ढिलाइ भइरहेको नेताहरुले बताएका छन् ।

अर्कोतिर मन्त्रिपरिषद् पुनर्गठनमा भएको ढिलाइ र नेताहरुको औपचारिक धारणा सार्वजनिक नहुँदा विभिन्न आशंका र अड्कलबाजीहरु भइरहेका छन् । जसले परिस्थिति प्रतिकुल हुने त होइन भन्ने चिन्ता नेकपा नेता कार्यकर्ताहरुमा बढ्न थालेको छ । 

‘गत बिहीबारयता दैनिकजसो छलफलमा जुटेका दुई नेताबीच मंगलबार पनि झण्डै तीन घण्टा छलफल भयो । तर कुनै सहमति भएन । यसले चिन्ता थपिनु स्वभाविक हो’, ओली निकट एक स्थायी समिति सदस्यले भने, ‘मंगलबार पनि सवा १२ बजेदेखि झण्डै ३ बजेसम्म दुई अध्यक्षबीच भेटवार्ता भयो तर कुनै सहमति भएजस्तो लागेन ।’


किन भएन ओली प्रचण्ड सहमति ?
नेकपाका अर्का स्थायी समिति सदस्यका अनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने मापदण्डका विषयमा नै दुई अध्यक्षबीच छलफल जारी छ । स्थायी कमिटी बैठकको म्यान्डेट र सचिवालय बैठकको सुझावका आधारमा मापदण्ड बनाउने विषयमा दुई नेताबीच छलफल भइरहेपनि स्थायी समितिको म्याण्डेटलाई ओलीले बेवास्ता गर्न खोज्दा समस्या देखिएको छ ।

स्रोतका अनुसार ओलीसँगको भेटवार्तामा अध्यक्ष प्रचण्डले स्थायी समितिको म्याण्डेटविपरित गएर मन्त्रिपरिषद् पुनर्गठन गर्न नहुने भन्दै आफ्नो अडान राखेका छन् ।  सोही अनुसार प्रचण्डले ओलीलाई मनाउने प्रयास पनि गरिरहेका छन् । तर ओलीले स्थायी समितिको म्याण्डेटलाई मान्न तयार नहुँदा समस्या भएको हो । 


‘मन्त्रिपरिषद् पुनर्गठन गर्ने वा नगर्ने प्रधानमन्त्रीको अधिकार हो । तर पार्टी म्याण्डेट भन्दैमा सवै कुरा मान्नुपर्छ भन्ने हुँदैन । त्यसमा प्रधानमन्त्रीको स्वविवेकको पनि कुरा होला’ प्रधानमन्त्री ओली निकट स्रोतले भन्यो, ‘सबै कुरामा सहमत हुनुपर्छ भन्ने छैन मन्त्रिमण्डल पुनर्गठन गरौँ भनेर प्रमले नै भन्नुभएको हो ।’ स्रोतका अनुसार धेरैजसो पुराना मन्त्रीहरुलाई पनि पुनर्गठनमा पार्नुपर्छ भन्ने पक्षमा ओली छन् । तर, त्यसमा अपवादबाहेक पुरानालाई निरन्तरता दिनेबारेमा प्रचण्ड तयार भइसकेका छैनन् । उनको नयाँलाई नै निरन्तरता दिनुपर्नेमै अडान छ ।

‘अपवाद बाहेक सवै मन्त्रीहरुलाई बोलाएर स्थायी समितिको स्प्रिटअनुसार नयाँ मन्त्रिपरिषद् पुनगर्ठन गर्ने भन्नेमा प्रचण्ड सहमत हुनुहुन्छ । त्यो कुरा हामीसँगको कुराकानीमा पनि उहाँले  भन्नुभएको छ । बरु ओलीले मानिरहनुभएको छैन जस्तो छ’, एक मन्त्रीले रातोपाटीसँग भने, ‘प्रधानमन्त्रीजी किन हो स्थायी समितिको म्याण्डेटबाट पछि हटेजस्तो बुझिन्छ ।’
ती मन्त्री भन्छन्, ‘मन्त्रिपरिषद् पुनर्गठनबारे एक पक्षीय समाचारहरु बाहिर आइरहेका छन् । वास्तविकता त्यस्तो पनि होइन ।’ 

स्थायी समिति बैठकले मन्त्रिपरिषद् पुनर्गठनमा अपबादबाहेक पुराना मन्त्रीहरुलाई फिर्ता बोलाउने र नयाँलाई अवसर दिने भन्ने रहेको थियो । 
रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेललगायतलाई मन्त्री बनाउन प्रचण्डले नचाहेको भनेर नियोजित रुपमा समाचारहरु आइरहेको भन्दै मंगलबार ओलीसँगको भेटमा प्रचण्डले आपत्ति जनाएका थिए । 
स्थायी समिति सदस्य समेत रहेका नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले दुई अध्यक्षबीचको वार्ता राम्रो भएको तर परिणाममात्रै नदेखिएको प्रतिक्रिया दिए । 

उनले परिणाम नदेखिनुको कारण के हो भन्ने रातोपाटीको प्रश्नमा भने,‘कारण त्यही हो, दुइजना अध्यक्ष निष्कर्षमा पुग्नुभएन ।’ उनले दुई अध्यक्षबीचको भेटवार्ता बुधबार पनि जारी रहने आफूले बुझेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप