शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
परिमार्जित आमा र यमदूतहरु– २

आमाका लागि सबैभन्दा अप्रिय चिज मुत्यु

पखालाको वितण्डा : सुस्त, शुष्क र जीर्ण भइरहेका आमाका चेष्टा
शनिबार, १० असोज २०७७, ०७ : ४०
शनिबार, १० असोज २०७७

दुई

हो, पाँचै दिनमा प्रलय भयो ।

जनताका गाँस खोसेर सत्ताको ढुकुटीमा सञ्चित गरिएको धन लुछाचुँडी गर्ने लम्पट प्रतिस्पर्धामा चमाले सरकारको जन्म भएको थियो । हिजैसम्म त हो, हँसिया–हथौडाधारी एमाले राप्रपालाई पुनरोत्थावादी आदि इत्यादि भनेर अहोरात्र सत्तोसराप गर्दै थियो, रातारात ऊ बत्तीस लक्षणले युक्त भयो, र अहिले उसैसँग उसको सुमधुर प्रणय गाँसियो । यो नवीन प्रणयको वेदीमा टाउको पुनरोत्थानवादीको भयो, गिँड भयो एमालेको । आत्मा पुनरोत्थानवादीको, देह जबजवादीको । टुप्पी लोकेन्द्रबहादुर चन्द, कन्दनी कमरेड वामदेव गौतम । आफ्नो पतनोन्मुख राजनीतिक अनुहारलाई कूटतर्कको कुटिल आवरणले ढाक्न एउटा काइते सूत्रको आविष्कार गरियो— ‘राजनीतिमा कोही पनि स्थायी शत्रु हुँदैन ।’ र, राजनीतिक कर्मलाई अवसर हेरी भोगवादी दर्शनतिर मोड्न अर्को खाओवादी तोत्रको रचना भयो— ‘राजनीतिमा लागिएको जोगी हुन होइन ।’

बहुदलीय राजनीतिक आदर्शले निर्दलीय आदर्शका पाउमा सभक्ति दण्डवत् गर्‍यो, र सत्ताको शिखरमा “नरो वा कुञ्जरो वा” भनेजस्तो अस्वस्थामारूपी चमालेको उदय भयो । प्रतीकमा भनूँ भने यो एउटा क्वाँटी सरकार थियो । अनेकथरी गेडागुडी खाद्य पदार्थको सम्मिश्रणबाट परिपाक हुने भोजनरूपी क्वाँटी किफायती, सुस्वादु र स्वस्थकर खाद्य परिकार हो । तर राजनीतिमा परिपाक भएको चमालेरूपी यो क्वाँटी राजनीतिक फाँटका दुई स्वार्थी तत्वहरूको सम्मिश्रणबाट बनेको हदै कुहिगन्थे क्वाँटी थियो । र, यस क्वाँटीको घोर अप्रजातान्त्रिक सन्तानको नाउँ थियो— कालो विधेयक !

बहुदलीय राजनीतिक आदर्शले निर्दलीय आदर्शका पाउमा सभक्ति दण्डवत् गर्‍यो, र सत्ताको शिखरमा “नरो वा कुञ्जरो वा” भनेजस्तो अस्वस्थामारूपी चमालेको उदय भयो । प्रतीकमा भनूँ भने यो एउटा क्वाँटी सरकार थियो । अनेकथरी गेडागुडी खाद्य पदार्थको सम्मिश्रणबाट परिपाक हुने भोजनरूपी क्वाँटी किफायती, सुस्वादु र स्वस्थकर खाद्य परिकार हो । तर राजनीतिमा परिपाक भएको चमालेरूपी यो क्वाँटी राजनीतिक फाँटका दुई स्वार्थी तत्वहरूको सम्मिश्रणबाट बनेको हदै कुहिगन्थे क्वाँटी थियो ।

चमाले नामक अस्वस्थकर क्वाँटीले मृत्युशय्यामा छटपटाइरहेकी हाम्री आमालाई ओछ्यानबाट सिमेन्टको कडा भुइँमा डङ्रङ्ग खसालिदियो ।

कालो विधेयक मेरा लागि सन्तापको अजस्र मुहान बन्यो, र हाम्री आमाका लागि साक्षात् काल । अघिल्लो दिन आमा कालदेखि तर्सेर ओछ्यानबाट खस्नुभयो, भोलिपल्टदेखि आमाको क्लान्त मनोदशामा एकतमासको एकोहोरोपना गोचर भयो । खानमा छुद्दे छैन, शरीरमा छट्पटी बढ्यो । आमाको रुग्ण चेतनामा पीडा झन्–झन् घनीभूत हुँदै गयो । व्यवहारमा झर्कोफर्को छ, मुद्रामा विरक्तिको गाढा छाया । यो पनि नाइँ, त्यो पनि नाइँ— आमाको थकित मुखबाट प्रकट भइरहेछ केवल नकारै–नकारहरूको लावालस्कार ।

चमाले माने राजनीतिमा मूल्यको मुत्यु, नागरिक जीवनमा आमाको हैरानी !

कालो विधेयकको कष्टकर अङ्ग्रेजी अनुवाद सकियो । सात समुद्रपारिकी  मित्र मेरी डेशेन आतुरीको मुद्रामा विश्वसाम्राज्यको राजनीतिक केन्द्र अमेरिकातिर उडिन्, थकित र वेचैन मुद्रामा म हाम्री आमाको छेउमा बसेँ । त्यो अपजस पाउने दुर्घटनामात्र थियो कि वास्तविक कारण नै त्यही थियो, म भन्न सक्दिनँ, ओछ्यानबाट लडेको भोलिपल्ट हाम्री आमालाई उल्कासँग पखाला लाग्यो । राजनीतिक क्वाँटीबाट निःसृत भएको थियो हाम्री आमाको त्यो प्रलयङ्कारी पखाला । ओछ्यान तरल विष्टामा डुब्यो, कोठा तरलै विष्टाले छताछुल्ल भयो । सत्तामा चमाले सरकार जसरी दङदङी गनाइरहेको थियो, हाम्रो घर उसैगरी दङ्दङी गनायो । उता राजनीतिक डवलीमा नरकको उदय भएको थियो, यता व्याधीझैँ हुन गएको त्यसको विस्तारले हाम्रो घरलाई नै नरकमा परिणत गरिदियो । हाम्रो घर यति दूषित, यति दिगमिगलाग्दो भयो, मानव मस्तिष्कहरूमध्ये सवैभन्दा विकृत मस्तिष्कले रचना गरेको गरुड पुराणको रौरव नरकको वातावरण पनि त्योभन्दा दूषित र दिगमिगलाग्दो त के हुँदो हो र !

जसरी गरुड पुराण धार्मिक क्षेत्रको यन्त्रणाकारी औजार हो, त्यसैगरी चमालेको कालो विधेयक राजनीतिक क्षेत्रको यन्त्रणाकारी गरुड पुराण बन्न पुग्यो ।

लाली र मैले विष्टामा डुवेका लुगा तह लगायौँ । भुइँ सोहोर्‍यौँ । आमाका लुगा फुकाइदिएर जीउ पुछपाछ पारिदियौँ । तरल विष्टाको असह्य कडा गन्ध तैपनि शमन भएन । बेत्तोडले कुद्दै नजिकैको औषधि पसलमा गएर मैले एक सिसी फिनेल किनेर ल्याएँ, र त्यसलाई पानीमा घोलेर कोठाभरी छम्किएँ । विष्टाको गन्ध फिनेलको आवरणभित्र छोपियो, र अब फिनेलको कडा गन्धले कोठा ढाकियो ।

हेर्दाहेर्दै, मेरा आँखैअगाडि ओइलाएर लल्याक–लुलुक हुनुभयो हाम्री आमा । यसो हेर्छु, गाला र निधारका चाउरीहरू कति चाँडो बढेका ! हाम्री आमाभित्रको तेल निख्रिँदै गएर जीवनको टुकी पल–प्रतिपल निम्जिँदै निभ्नलाई धिपधिप गर्न लागेको चरम् पीडादायी यथार्थको मलाई मर्मान्तक अनुभूति भयो ।

हेर्दाहेर्दै, मेरा आँखैअगाडि ओइलाएर लल्याक–लुलुक हुनुभयो हाम्री आमा । यसो हेर्छु, गाला र निधारका चाउरीहरू कति चाँडो बढेका ! हाम्री आमाभित्रको तेल निख्रिँदै गएर जीवनको टुकी पल–प्रतिपल निम्जिँदै निभ्नलाई धिपधिप गर्न लागेको चरम् पीडादायी यथार्थको मलाई मर्मान्तक अनुभूति भयो । जीवन निभ्दै गएको धमिलो बत्तीमा म वडा–बडा आँखामात्र टलपल–टलपल गरिरहेका देख्छु । आमाका शुष्क आँखा घरी सिलिङतिर टोलाउँछन्, घरी मतिर टोलाउँछन् । अब यता दुःख्यो, उता दुःख्यो भन्नु पनि छैन । यो कोल्टो, त्यो कोल्टो पनि छैन । पानी खान्छु र सुची गर्छु— त्यो त फर्की नआउने अतीतमा कतै छुटेको दुःखद् कथाजस्तो भइसक्यो । एकदम शान्त, एकदम मौन, एकदम निश्चेष्ट— मानौँ आमाको अन्तिम महाविश्रामअघिको यो लघुविश्रामको क्षण हो ।

मैले आमालाई चम्चाले पानी खुवाएँ । खानमा रुचि किञ्चित् थिएन, त्यसैले एक दुई चम्चाभन्दा बढी मरिगए निलिएन । ओठ टम्म बाँधेर आमाले पानी अस्वीकार गर्नुभयो । मैले आग्रह गरेँ,     “आमा ! पानी निख्रिएर शरीर सिट्ठा भएको छ । शरीरलाई रसिलो र शीतल राख्न पानीमा बल गर्नुपर्छ ।”

सिरानीमा ढलेको आमाको थकित मुन्टो नकारको अर्थमा सुस्तरी चल्मलायो । मैले चम्चाले जबर्जस्ती मुख उघारेर आमालाई अर्को एक चम्चा पानी खुवाएँ । पानी ओठका कुनाबाट ग्याल्ल बाहिर पोखियो । मैले दूध ख्वाउन खोजेँ, पूर्ववत् उपक्रम दोहोरियो ।

आमाका घुँडामाथिको सिरक हो कि होइन, हो कि होइन जस्तो गरी कामिरहेको थियो ।

श्रीमतीजी अस्पतालको जागिरबाट साँझपख फर्किइन् । उनले पिँडीमा पाइला के टेकेकी थिइन् हाम्रो घरमा मुत्युले घोषणा गरेको सङ्कटकालबारे मैले उनलाई जानकारी गराएँ ।

 “जीवनजल ख्वाउनु भयो त ?” पेसागत अनुभवको झोली खोल्दै उनले सोधिन् ।

    धत्तेरिका मेरो बुद्धि ! आफ्नो बेहोसीपन सम्झेर म लज्जित भएँ ।

 “खै, सादा पानी र दूध चार–पाँच चम्चाभन्दा धेरै निलिएन । के सकिँदो हो र जीवनजल खुवाउन ?” आफ्नो हुस्सुपनालाई ढाकछोप गर्ने निहुँ बनाउँदै मैले भनेँ ।

श्रीमतीको खटन अनुसार दगुर्दै औषधी पसलमा गएर जीवनजलका पुरिया र सलाइन पानीका सिसी लिएर म हस्याङ–फस्याङ गर्दै फर्किएँ । आमालाई जीवनजल खुवाउने हाम्रो जमर्को पनि व्यर्थ भयो । अनि उभिन्डो परेको सिसीबाट सुस्तसुस्त तप्तप् खस्दै आमाका पाखुराका नसामा सलाइन पानी प्रवाहित हुन थाल्यो ।

चमाले सरकारको यमराजरूपी कालो विधेयकले यसपाला हाम्री आमालाई कसैगरी उठ्न नदिने छाँट देखियो ।

तीन

आमाको अन्तरमा चेतनाका तरङ्गहरू अझै बाँकी छन् । तर मेरा आँखैअगाडि, मैले अपलक हेर्दा–हेर्दै आमाका सवै चेष्टाहरू सुस्त, शुष्क र जीर्ण भइरहेछन् । आमाको जीवन र मृत्युको दोसाँधमा म उभिएको छु । म आमाको छोरो, म आमाको सेवक, जीवनका दुष्कर क्षणहरूमा आमालाई खोले खुवाउने र पानी पियाउने भारा बोकेको म आमाको उत्तराधिकारी । आमाका दस धारा दूधले लगाएको गुनको पैँचो तिर्ने कर्तव्यले बाँधिएको आमाको म सहयोगी । यिनै आमाका गर्भमा दस महिना गुप्तवास बसेर तरलदेखि ठोसमा, असचेतदेखि सचेतमा, अनस्तित्वदेखि अस्तित्वमा, निराकारादेखि ठोस आकारमा रूपान्तरित हुँदै, आमाले खाएको पोषक तत्व खोसेर खाँदै, अङ्ग–अवयवहरू र चेतना ग्रहण गर्र्दै, हातखुट्टा फाल्दै र नानावली क्रीडा गर्दै पूर्ण आकार र अङ्गहरूसहित यस सुन्दर संसारमा जन्मेको म हाम्री आमाको छोरो ।

विचेत हुनुअघि आमासँग भएको संवाद मेरा कानमा भुनभुनाउँदै गुन्जिरहन्छ ।

“आमा, पानी खाने?” स्वर उकासेर म सोध्छु ।

कठोर नकारको भावमा आमाको मुन्टो सुस्तरी चल्मलाउँछ ।

 “आमा, अतिकता दूध खाने?”

अरुचि र अस्वीकृतिसाथ आमाका अनुहारको भाव विकृत बन्छ ।

 “आमा, अस्पताल जाऊँ है ?”

 “भो अब म मर्छु होला ।” आमाको अस्फुट स्वर घनको प्रहार भएर मेरा कानका कोमल जालीमा बज्रिन आइपुग्छ ।

जीवनमा हाम्री आमाका लागि सबैभन्दा अप्रिय चिज मुत्यु थियो । उमेरको बोझ, छुद्देको अल्पता, अनिदोको पीडा, सुत्दा–सुत्दा कुँजिदै गएका अररा हात–गोडा र ओछ्यानमा मडारिँदा–मडारिँदा घावैघाउ भइसकेको ढाड, आफू अशक्त भई अरुहरूमाथि पूरापूर आश्रित हुनुपर्ने जीवनको अनिवार्य अभिशाप— यी सारा कुराले पनि आमाको जीवनप्रतिको मोह भङ्ग गर्न सकेका थिएनन् ।

जीवनमा हाम्री आमाका लागि सबैभन्दा अप्रिय चिज मुत्यु थियो । उमेरको बोझ, छुद्देको अल्पता, अनिदोको पीडा, सुत्दा–सुत्दा कुँजिदै गएका अररा हात–गोडा र ओछ्यानमा मडारिँदा–मडारिँदा घावैघाउ भइसकेको ढाड, आफू अशक्त भई अरुहरूमाथि पूरापूर आश्रित हुनुपर्ने जीवनको अनिवार्य अभिशाप— यी सारा कुराले पनि आमाको जीवनप्रतिको मोह भङ्ग गर्न सकेका थिएनन् । खान आनाकानी गर्नुहुँदा म आमालाई दसैँको स्मरण गराउँथे, “आमाले बल गरेर खानुपर्छ, र तङ्रिएर उठ्नुपर्छ । नसा तन्काउनलाई बाहिर पिँडीसम्म हिँड्न सक्ने हुनुपर्छ । अनि कसैका हातको सहारा लिएर बाहिर बगैँचामा यसो घुम्नुपर्छ । अनि विस्तारै विस्तारै आफैँ उठ्न, लौरो टेकेर आफैँ भित्र–बाहिर गर्न, आफैँ बगैचामा घुम्न सक्ने हुनुपर्छ । अनि तगडा भएर दसैँमा छोरा–छोरी र नाति–नातिनालाई टीका लगाएर आसिक दिनुपर्छ । थाहा छ आमा, यसपालाको दसैँमा हामी बाँचीबर्ती रहेका सबै छोरा–छोरी यहीँ भेला हुन्छौँ । आमाको हातको टीका थाप्न, आसिक माग्न ।”

 “सप्पै आउलान् र ?” अप्रत्याशित रूपले आमाका आँखामा जीवनको धमिलो ज्योति नाच्यो र अस्पष्ट स्वरमा आमाको कण्ठ खुल्यो ।

 “निको मात्रै हुनोस्न ढामा, यसपाला सप्पै आउँछन् ।”

 “आए हुन्थ्यो । आँगु त्यत्तिकै होला ।”


दसैँको प्रसङ्ग उठ्दा आमाका आसिक भरिएका आँखामा हठात् आशा र उमङ्गको चमक भरियो । अनुहार भावमय भयो । अनि बल गरेर अरु केही गाँस खानुभयो ।

 “यो के महिना हो ?” एक हप्ताअघि आमाले सोध्नुभएको थियो ।

 “भदौ ।”

 “दसैँ आउन अव कति बाँकी छ?”

 “त्यस्तै डेढ महिना ।”

    “यसपाला सुती–सुती टीका लाइदिनुपर्ला ।”

 “ढामा, त्यतिन्जेलसम्ममा त तपाईं उठिसक्नुहुन्छ नि !”

 “हँ ! म सकुँला र ?” यसो भन्दा आमाका बडा–बडा आँखामा उही अदम्य आशा र उमङ्गको मधुरो ज्योति बलेको थियो । दिउँसोपख आमाले आधा गिलास चिया खानुभयो । र, आमाको मुखबाट उही अघिको वाक्य दोहोरियो, “यसपाला म मर्छु होला ।”

 “हँ ! म सकुँला र ?” यसो भन्दा आमाका बडा–बडा आँखामा उही अदम्य आशा र उमङ्गको मधुरो ज्योति बलेको थियो । दिउँसोपख आमाले आधा गिलास चिया खानुभयो । र, आमाको मुखबाट उही अघिको वाक्य दोहोरियो, “यसपाला म मर्छु होला ।”

जब आमाको बक् लाटिँदै गयो र शरीर चेष्टाहीन भयो, लाली स्वतन्त्र हुँदै गई । उसको जीवन सहस्र अदृश्य सूत्रहरूले आमाको अशक्त शरीरमा बाँधिएको थियो । बाँधिएको थियो पनि के भनूँ, त्यो त भयानक चक्रव्यूहको कैदी भएको थियो । प्रायः कोठामा वा घरमा अरुहरू नहुँदा हाम्री आमालाई ओर्काइदिने उही थिई, फर्काइदिने उही थिई । आमालाई उठाइदिने उही थिई र गोडा तन्काइदिने उही थिई । आमालाई पानी खुवाउने, दूध खुवाउने, अनारगेडी खुवाउने र सुची गराउने पनि त आखिर उही थिई । आमाको शरीरका तन्तुहरूजस्तै र ती तन्तुहरूसँगै उसका बालसुलभ इच्छाहरू, उसका चञ्चल सपनाहरू कुँजिदै गएका थिए । तर अहिले भने आमाको मानसिक शुष्कता र शारीरिक स्थिरताले उसलाई स्वतन्त्रता दिइरहेको थिए । त्यसैले लाली त्यस दिन ढुक्क भएर मस्तसँग सुतिरही— दिनभरि ।

    घाम डाँडामा पुग्न लाग्दा लाली ब्युँझिई ।

    ”आमा, अतिकता अनार खाऊँ हैँ ?” आमाको निधार छाम्दै मैले भनेँ ।

    अनार भनेपछि आमा हुरुक्क हुनुहुन्थ्यो । ढल्दो शरीरलाई अतिकता त्राण दिएर आमाको प्राण जोगाइराखेको पनि बास्तवमा अनारदानाले नै त थियो । अनारका कुरा उठ्दा आमाको सुषुप्त तिर्सना जागृत भएछ क्यार, आँखामा आशाको हल्का चमक उदायो ।

    ”पहिले मेरा दाँत लाउँछु ।”

नक्कली दाँत आमाका अति प्रिय वस्तु थिए । ठाडो भएर उभिन सकुन्जेल दाँत लगाउँदा आमाको उमेर पाँच–दस वर्ष घटेझैँ लाग्थ्यो । सक्कली दाँतझैँ नक्कली दाँत आमाका गिजामा टम्म मिलेर ख्याल साह्रो शोभायमान हुन्थे र ! टलक्क टल्किने फटिक दाँतले आमाको अनुहारलाई नै उज्यालो र भरिलो पारिदिन्थे । आमा नक्कली दाँतले सक्कली र सद्दे दाँतले जस्तै गरी भुटेका मकै कर्‍याम–कर्‍याम चपाउनुहुन्थ्यो ।

लालीले आमाका नक्कली दाँत लगाइदिन खोजी । आमाका गिजा गिलिए कि, झोलिए कि, बाङ्गिए कि— नक्कली दाँत अडिनै मानेनन् । नक्कली दाँत आमाका अति प्रिय वस्तु थिए । ठाडो भएर उभिन सकुन्जेल दाँत लगाउँदा आमाको उमेर पाँच–दस वर्ष घटेझैँ लाग्थ्यो । सक्कली दाँतझैँ नक्कली दाँत आमाका गिजामा टम्म मिलेर ख्याल साह्रो शोभायमान हुन्थे र ! टलक्क टल्किने फटिक दाँतले आमाको अनुहारलाई नै उज्यालो र भरिलो पारिदिन्थे । आमा नक्कली दाँतले सक्कली र सद्दे दाँतले जस्तै गरी भुटेका मकै कर्‍याम–कर्‍याम चपाउनुहुन्थ्यो । ती दाँत अनुहारको शोभा मात्र थिएन्, भोजनलाई सुस्वादु र सुपाच्य बनाउने असल उपकरण पनि थिए ।

दुर्भाग्यवश, ती दाँतको पनि अब मिति पुगेछ क्यार !

आमाको अनुहार सोहोरिएर कालो–नीलो भयो । अहो, मेरा प्यारा दाँत ! यिनले पनि अब मलाई छाड्ने भए !

 “दाँत निकाल, लाली ।” मैले भनेँ ।

नाइँ, नाइँ भनेजस्तो अस्पष्ट र आहत स्वर आमाको मुखभित्रै मडारियो । दाँत लगाएपछि आमाको स्वर पनि त स्पष्ट हुन्थ्यो !

लालीले दाँत निकाल्न खोजी । अताल्लिँदै र झर्किदै आमाले बल गरेर उसको हात पन्छाउन खोज्नुभयो । लाली पुलुक्क मलाई हेरेर पछि सरी । मुखमा हत्केलाको बार लगाएर आमाले आफ्ना प्रिय दाँत मुखभित्रै लुकाइराख्ने यत्न गर्नुभयो । दाँत कतै किल्किलेतिर पो जाने हुन् कि ! गएर ती सासै अँठ्याउने गरी अड्किए भने ...... । म आशङ्काले बेचैन भएँ । मैले मुखबाट आमाको हात छुटाएँ । लालीले बडो गाह्रोसँग बलजफ्जी आमाका दाँत बाहिर निकाली ।

 “मेरा दाँत !” आमाले क्रोधमिश्रित व्यथित स्वरमा चीत्कार गर्नुभयो । देखेँ, दाँतसँग विछोड हुनुपर्दा आमाका गहभरि सन्तापका आँसु भरिएछन् ।

 “मेरा दाँत !” आमाले क्रोधमिश्रित व्यथित स्वरमा चीत्कार गर्नुभयो । देखेँ, दाँतसँग विछोड हुनुपर्दा आमाका गहभरि सन्तापका आँसु भरिएछन् ।

चमालेको कालो विधेयकले हाम्री आमाका परम् प्रिय दाँत पनि हरण गरिदियो ।

२०५९

(साहित्यकार एवं लेखक संग्रौलाका चर्चित पुस्तक ‘आमा र यमदूत’ का लेखकबाट पुनःपरिमार्जित अंशहरु आगामी दिनहरुमा प्रत्येक शनिवार  र बुधबार अर्धसाप्ताहिक रुपमा प्रकाशित हुनेछ । –रातोपाटी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप