आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
कर्मकाण्ड

परिमार्जित ‘आमा र यमदूतहरु’

मङ्गलबार, ०६ असोज २०७७, ०३ : ०६
मङ्गलबार, ०६ असोज २०७७

एक

राजनीतिक परिस्थिति प्रतिकूल छ । र, यस प्रतिकूलताको पाइदा उठाएर मृत्युले यतिखेर हाम्रो घरमा सङ्कटकालको घोषणा गरेको छ ।

डाँडाको जूनजस्ती हुनुहन्छ त्रियासी हिउँद काटी चौरासियौं हिउँद टेक्ने सपना साँचेर बाचिरहेकी हाम्री आमा । भौतिक लोकको तानाशाह होस् वा उसको हित्तचित्त मिलेको मीत भन्दा सुहाउने कल्पनालोकको यमराज, जो निम्छरो छ, त्यसले आफ्ना सिकारी पन्जा फैलाउने आखिर उसैमाथि त हो । हो, अहिले यसराजले हामी शुष्क र फुकिठल आमालाई अपरहण गरेको छ । भुइँतले घरको सानो कोठाको पूर्वतिरको झ्यालमा खाट जोडिएको ओछ्यान छ, जहाँ आमा लमतन्न पल्टिरहुनभएको छ । कोठा उदास छ, चकमन्न छ र त्यो स्तव्ध छ,, जहाँ मृत्युको घना छायाको मात्र टड्कारो आभास हुन्छ । अहिले म आमाको सिरानीनेर छु । आमा र मृत्युको बीचमा मूक दर्शक भई इतिहासको निरीह साक्षी बसेको छु म ।

पाँचै दिनअघिसम्म त हो, हाम्री आमाभित्र जीवनका जीवन्त स्पन्दनहरू निरन्तर सलवलाइरहेका थिए । यता दुख्यो, उता दुख्यो । यो कोल्टो फर्काइदे, उ कोल्टो फर्काइदे । पानी खान्छु, सुची गर्न जान्छु । यसरी आमाको चेतनामा वेदनाको अनभूति प्रखर थियो र त्यस वेदनाप्रति उग्र प्रतिक्रिया गर्दै आमाको शरीरका अङ्ग–अवयवहरू क्रियाशील थिए । पाँचै दिनमा मानौँ अप्रत्याशित प्रलय भयो, र अहिले हाम्री आमा इन्तु न चिन्तु भई थला पर्नुभएको छ । अडीअडीकन चल्ने थोत्रो खलाँतीको हावाको मुस्लोझैँ गतिमान् श्वास–प्रश्वासबाहेक आमाको शरीर चेष्टाशुन्य छ । वाक्य बसेको चौवीस घण्टा भइसक्यो । आमाका मृत्युले गाँजेका वडा–वडा आँखा सिलिङमा स्थिर भएका छन्, र विषादले व्याकुल मेरा आँखामा स्थिर भएका छन् ।

हो, तिनताका सरकार आसीन हुने गद्दामा चमाले सरकार ढसमस्स बसेको थियो । टाउको राप्रपा–चन्दको गिँड नेकपा एकालेको । टाउकामाथिको टुप्पी लोकेन्द्रबहादुर चन्द,, गिँडमुनिको घुँडो बामदेव गौतम । उनी शिरपोस, यिनी पाउपोस । उनी सिँहासनमा, यिनी उनका चरणमा । सरकारको चन्दरूपी टाउकोमुनिको गिँडरूपी गृहमन्त्री हुनुहन्थ्यो एमालेका तत्कालीन नम्वर दुई नेता वामदेव गौतम ।

पाँचै दिनमा कसरी यत्रो प्रलय भयो ?

यी हरफहरू लेखिरहँदा समसामयिक राजनीतिको एउटा विम्ब अहिले मेरा आँखा अगाडि झुन्डिन्छ जसको नाम उच्चारण गर्दा मात्र पनि राजनीतिका नैतिक मूल्यप्रति संवेदनशील मानिसको मुख गनाउँछ र जसको नाम सुन्दा मात्र पनि उसका कानमा दिगमिग पैदा हुन्छ । त्यसको राजनीतिक शरीरको बान्की र त्यसको मनोग्रन्थिको प्रकृति हेरेर डा. मथुराप्रसाद श्रेष्ठले त्यसलाई जुराइदिनुभएको नाम हो– चमाले । हो, तिनताका सरकार आसीन हुने गद्दामा चमाले सरकार ढसमस्स बसेको थियो । टाउको राप्रपा–चन्दको गिँड नेकपा एकालेको । टाउकामाथिको टुप्पी लोकेन्द्रबहादुर चन्द,, गिँडमुनिको घुँडो बामदेव गौतम । उनी शिरपोस, यिनी पाउपोस । उनी सिँहासनमा, यिनी उनका चरणमा । सरकारको चन्दरूपी टाउकोमुनिको गिँडरूपी गृहमन्त्री हुनुहन्थ्यो एमालेका तत्कालीन नम्वर दुई नेता वामदेव गौतम ।

सिंहदरबारमा तुफानी वेगमा निर्माण भइरहेको भ्रष्टाचारको पहाडले सगरमाथिको उचाइलाई माथ गर्न लागेको थियो त्यसवेला । र, नक्कली प्रजातन्त्रको आवरणभित्र समाजमा गरिखाने श्रमिकहरू र ठगिखाने ठालुहरूका बीचको खाडलले सुरसाले झैँ ह्वाङ्ग मुख बाइरहेको थियो । यो विषम परिस्थितिप्रतिको उग्र प्रतिक्रियास्वरूप देशका शोषित पाखा–पखेरा र उत्पीडित कुना कन्दरामा वनवासीका भरुवा बन्दुकहरू पड्किरहेका थिए । र, हतियार विसाउँदै र हात उठाउँदै भकाभक ढलिरहेका थिए प्रहरीको बर्दी लगायतका अभागी र निर्धा नेपाली जवानहरू ।

जोडा नमिल्नेहरूको एउटा असमान भिडन्त थियो त्यो । त्यो समकालीन सामाजिक यथार्थसँग सुहाउँदिलो होस् वा नहोस्, वनवासीसँग लड्नलाई उउटा उदात्त उद्देश्य छ, मर्नलाई एउटा दुर्दान्त आकाङ्क्षा छ । जिते हस्तिनापुरको राज, हारे चपरीमुनिको बास भनेर आँधैवेरीझैँ आँधो हुँदै आक्रामक अभियानमा उत्रेको छ ऊ । उसका दृष्टिमा जीवनको बाटो सोझो छ । वाटामा पहरो आओस्, म उफ्रेर त्यसलाई नाघिदिन्छु । कतै असमेल भेलमा पुगियोस्, म विप्लवी बाँकटे हानेर त्यसमाथि विजय प्राप्त गर्छु । वाटामा आइलाग्ने जलप्रवाहमा गोहीले झम्टा मारोस्, म कुइनाले घँचेटेर त्यसलाई परास्त गरिदिन्छु । अरु त के, झम्टिन बाघै आइलागेछ भने पनि त्यसका जुँगा नउखेलीकन म त्यसै छाड्दिनँ । मरे अमरत्व, बाँचे इतिहासनिर्माता विरलाकोटी वीर । रुमानी जोस र उमङ्ग, आँट र उत्सर्ग, उत्तेजना र उन्मादको भावनाले वनबासी घनीभूत छ । आर्जन र पहिचानको अवसरबाट बञ्चित भई हृदय कुण्ठित भएका युवा युवतीहरूलाई सम्माहित तुल्याउने दुस्साहसिक सपनाहरू कति छन कति !

विचरा लाटो प्रहरी ! कसैसँग कहिल्यै लड्नुपर्ला भनेर ऊ प्रहरीमा भर्ती भएकै होइन । औकातले नदिएर उसले पढ्ने मौका पाएन । ऊसँग गतिलो जागिर खानलाई न प्रमाणपत्रको खोस्टो छ, न अरु केही धन्दा गर्नलाई पैसाको डोको छ । माटो खनीखोस्री गुजारा चलाऊँ, पुग्दो माटो पनि छैन । जीवन छ, जसरी होस् जीवन र जिउनै पर्‍यो । काँधमाथि गहुङ्गो पारिवारिक दायित्व छ, जति सकिन्छ त्यो दायित्व पनि त निर्वाह गर्नै पर्‍यो । मजवुरीका नाम महात्मा गान्धी । बस्, गरिब, अपठित र बेसहारा नेपाली भाई वुट ठटाएर “जय नेपाल साप्” भन्न प्रहरीमा भर्ती भएथ्यो ।

विचरा लाटो प्रहरी ! कसैसँग कहिल्यै लड्नुपर्ला भनेर ऊ प्रहरीमा भर्ती भएकै होइन । औकातले नदिएर उसले पढ्ने मौका पाएन । ऊसँग गतिलो जागिर खानलाई न प्रमाणपत्रको खोस्टो छ, न अरु केही धन्दा गर्नलाई पैसाको डोको छ । माटो खनीखोस्री गुजारा चलाऊँ, पुग्दो माटो पनि छैन । जीवन छ, जसरी होस् जीवन र जिउनै पर्‍यो ।

उसो त उसका पनि केही कुटिल आकाङ्क्षा नभएका होइनन् । प्रहरीको बर्दीमा बाकाइदा टोप र फुलीमा सजिएर, वेल्ट जखेर, बुट ठोकेर सोझा–सिधा गाउँले–देहातीहरूका बस्तीमा जाँदा वडो शानले हिरो बन्न पाइएला । बाटामा भेटिने कान्छीहरूलाई आँखा झिम्क्याउन र मौका परे तिनलाई पट्याउन पनि पाइएला । जङ्गी जिब्रो फट्कार्दै र हातको लिँडे डन्ठो हल्लाउँदै निमुखाहरूका घरमा कुखुरा कटाएर कहिलेकाही स्वादले झम्के झोल लडाउन पनि कसो नपाइएला ? संयोगको शुभ साइतले अथवा भगवान्का कृपाले यसो भन्सार–सन्सारका नाकातिर परियो भने क्यै न क्यै आनासुकी आयस्ता .... ।

तर त्यो सव उसको मनचिन्ते सपना हो, वीरबल बाजेको खिचडीजस्तै ।

कठोर प्रशिक्षणबाट संस्कारित भएको आफ्नो अशिष्ट मति र ज्यादतीपूर्ण कृत्यका कारण प्रहरीले सामाजिक मानचित्रमा उभिन उसले ठाउँ पाउने त झन कुरै भएन । हाहा, होहोको होहल्लासाथ पाखा पखेरा थर्काउदै जव बनवासी आफूमाथि आइलाग्यो, दुखिया प्रहरी भाइ चिताउँदै नचिताएको भुङ्ग्रोमा पर्‍यो । लड्नलाई ऊसँग कुनै उदात्त उद्देश्य छैन, न त मर्नलाई ऊसँग कुनै रङ्गीन सपना नै छ । अति गोप्य एकान्तमा आफ्नौ कल्पनाबाट भयभीत हुँदै ऊ गम्छ– साला, अरुहरूको सुख–सुविस्ता जोगाइदिनका लागि के मर्नु ? के मार्नु ? विवशताको चेपमा परेर बाध्यात्मक लडाइँ लडिदिऊँ नै भने पनि उसँग न लड्ने शस्त्रास्त्र भरपर्दा छन्, न पेटमा आँतलाग्दो रासनपानीको ऊर्जा परेको छ । न रणकौशल छ ऊसँग, न छ उच्च मनोबल नै । सरी अन्त्यहीन चक्रव्यूहमा फस्यो नेपाली इतिहासको हदअभागी पात्र बबुरो यो प्रहरी !

सरकारी नेता सिंहदरवारको सिंहासनमा आसन जमाउँछ, छलकारी भाषण गर्छ, र राज्यको मीठो र मसिनो, रसिलो र पोषिलो रासनपानीजति स्वयंलाई अर्पण गर्छ । अनि उसले बडो कृपा गरेर रहपहल छोक्राजति उसको भागमा पारिदिन्छ । तसर्थ प्रहरी बन्धु शारीरिक दृष्टिले शुष्क छ, मानसिक दृष्टिले कुण्ठित ।

सरकारी नेता सिंहदरवारको सिंहासनमा आसन जमाउँछ, छलकारी भाषण गर्छ, र राज्यको मीठो र मसिनो, रसिलो र पोषिलो रासनपानीजति स्वयंलाई अर्पण गर्छ । अनि उसले बडो कृपा गरेर रहपहल छोक्राजति उसको भागमा पारिदिन्छ । तसर्थ प्रहरी बन्धु शारीरिक दृष्टिले शुष्क छ, मानसिक दृष्टिले कुण्ठित ।

वनबासी लखेट्दो छ, प्रहरी भाग्दो छ अथवा भाग्दा–भाग्दै ऊ ढल्दो छ । यसरी कुलाकहरूको स्वर्गमा नब्बे सालको भुइँचालो गएको छ । इतिहासको यस कष्टकर घडीमा कमरेड वामदेव गौतम अर्थात् वादेगौले गृहप्रशासनको बागडोर सम्हाल्नुभएको छ । अर्थात् जुद्धशमशेररूपी चमाले सरकारको अमनचैनको ग्यार्‍यान्टी गर्ने गृहप्रशासनको बागडोर । नपाउनेले केरा पाएझैँ बोक्रैसँग खाने गरी पाएको गृहमन्त्री पद । पार्टी–कार्यालयको गजुरमा हँसियाथौडा अङ्कित झन्डा छँदै छ । तर त्यो झन्डा त्यसरी नै परित्यक्त भएको छ जसरी अनिकालको महामारीमा भक्तले भोकले मन्दिरको गजुरलाई विर्सिदिन्छ । झन्डा विर्सिएका एमाले वादेगौको अनुहारमा अतीतका अनेर्कौ आकृतिहरूको झुन्ड सल्बलाउँछ । पञ्चायती गृहमन्त्री हेमबहादुर मल्ल र निरन्जन थापा, आदि र इत्यादि । अर्थात् एक एमाले वादेगौमा नानावली खग्रास पञ्चहरू ।

आफ्नो कृत्यको औचित्य सिद्ध गर्न वादेगौ साहेबका मुखारविन्दबाट दासवत् स्वरमा ब्याट्री डाउन भएको रोबोटझैँ कोही बोल्छ, “म पार्टीको बफादार कार्यकर्ता हुँ । म जे गर्दै छु, यो पार्टी हाइकमान्डको इच्छा हो ।” श्री वादेवाणी सुन्दा लाग्छ, पार्टीमा हाइकमान्ड नामक एउटा मालिक छ, जसका अगाडि त्यसको कार्यकर्ता निरीह दास हो । ऊ आफ्नो विवेकको प्रयोग गर्दैन, माथिको आदेशमुखेन्जी बूढो गोरुझैँ फगत निहुरिएर दासताको जुवामुनि थपक्क नारिन्छ मात्र ।

पार्टी हाइकमान्डको आदेशमा कमरेड वादेगौले एउटा कालो विधेयकको रचना गर्नुभयो । अथवा भनौँ, छयालीस सालको जनआन्दोलनको पवित्र आकाङ्क्षाको बध गर्न रचना गरिएको कालो विधेयकको उत्तरधिकार उहाँले सभक्ति र सहर्ष ग्रहण गर्नुभयो । राप्रपा चन्द र एमालेको खच्चड सन्तान थियो यो कालो विधेयक ! कालो विधेयकको कलुषित गर्जनमुनि नागरिक अधिकारहरूमाथि मडारिन थाल्यो चमाले सरकारको संहारक कालो छाया । र, त्यस विषाक्त छायाको प्रतिकार गर्न जुर्मरायो बाम प्रतिपक्ष र कलिलो नेपाली नागरिक समाज ।

आज “प्रजातान्त्रिक अधिकार जोगाऔंँ आन्दोलन”को बैठकमा जाऊ, भोलि चमाले सरकारलाई विरोधपत्र बुझाउने लाममा सामेल होऊ, पर्सि प्लेकार्ड बोकेर विरोध बोल्न सडकमा कुद । सिकिस्त अवस्थाकी आमाको हेरचार गर्नका लागि घरमा बस्न मलाई अवसरै भएन । आमाको सेवा गर्न घरमै बस्ने कि नागरिक अधिकारको जोगाउ गर्न डट्ने ? मेरो मनमा हर पल, हर घडी चरम् पीडादायी नैतिक द्वन्द्वको आँधीवेरी उठिरह्यो । तैपनि मुुटु गाँठो पारेर दुविधा र द्वन्द्वको बीचमा म बाहिर–बाहिरै कुदिरहेँ ।

आज “प्रजातान्त्रिक अधिकार जोगाऔंँ आन्दोलन”को बैठकमा जाऊ, भोलि चमाले सरकारलाई विरोधपत्र बुझाउने लाममा सामेल होऊ, पर्सि प्लेकार्ड बोकेर विरोध बोल्न सडकमा कुद । सिकिस्त अवस्थाकी आमाको हेरचार गर्नका लागि घरमा बस्न मलाई अवसरै भएन । आमाको सेवा गर्न घरमै बस्ने कि नागरिक अधिकारको जोगाउ गर्न डट्ने ?

उता चमाले कालो विधेयकलाई मायावी कानुनी खोल हालिदिएर नागरिक अधिकारमाथि सङ्कटकालको घोषणा गर्न उद्यत थियो, यता मृत्युले मौका छोपेर हाम्रो घरमा सङ्कटकालको घोषणा गरिहाल्यो ।

भदौ महिना, पिचरोडको भद्रगोल जालो र कङ्क्रिटको जङ्गलमाझ काठमाडौंको प्रदूषित आकाश धपधपी बलिरहेको छ, धरती हपहपी बाफिइरहेको छ । पल्लो कोठामा आमा ऐय्या र आथ्थो गर्दै दारुण चीत्कारमा गुहार मागिरहनुभएको छ, ओल्लो कोठामा कमरेड वादेगौकृत विधेयक अङ्ग्रेजीमा अनुवाद गर्न व्यस्त छौँ हामी– मित्र मेरी डेसेन र म । नैतिक द्वन्द्वको चापले आक्रान्त मेरो मानसिकता त्यसैत्यसै विथोलिएको छ । नाकको टुप्पोबाट पसिनाका थोपा तप्तप् चुहिरहेछन् । उता बृद्ध र शुष्क आमा प्राकृतिक यमराजविरुद्ध लडिरहनुभएको छ, यता मेरी र म राजनीतिक यमराजहरूविरुद्ध लड्ने अस्त्र तयार पारिरहेको छौं ।

आमाको हेरचार गर्ने लाली छ, ओठ निचेरे दूध आउलाजस्ती तराईकी छोरी । एक महिनाअघि ऊ आमासँगै काठमाडौं आएकी थिई । आमा कान्छी बहिनी सुनिताका डेरामा हुनुहुन्थ्यो, उतै विराटनगरमा । छोरी–ज्वाइँको डेरामा आमाको अवसार भयो भने कत्रो गाल पर्ला ! च–चारजना छोरा जिउँदा हुँदाहुँदै आमाले मर्ने बेलामा कुटुम्बका घरमा शरणार्थी हुनुपर्ने ? त्यो कत्रो अपहेलना ! समाजका रुढिग्रस्त आँखाहरू यसरी कटाक्ष गर्न थाले हुनन् । फेरि, पैतृक सम्पत्तिको अंश थाप्ने छोराहरू आमालाई वास्ता नगर्ने, खालीहात अर्काका घरमा लखेटिएकी छोरीले आमालाई कति दिन मात्रै हेर्ने ? बहिनी–ज्वाइँमाझ सके यस्ता तर्कना पनि उठे होलान् । वैभवकी उत्री धनी नभए पनि मनकी धनी कान्छी बहिनीले निकै महिनादेखि सात काम छाडेर बडो प्रेमपूर्वक आमाको स्याहार–सुसार गरेकी थिइन् । तर एक दिन एकाविहानै आमालाई लिएर उनी टुप्लुक्क काठमाडौं आइपुगिन् । त्यो कताबाट कसरी फेला परेकी हो मलाई थाहा छैन, जालमा अल्झिएकी कालो वर्णकी त्यो केटी आमाको पुच्छर भएर पछिपछि काठमाडौं आई ।

आमा आउनभयो र त्यसैताक जन्म भयो चमालेको कालो विधयकको । एकपछि अर्को चुरोट सल्किरहेको छ । धुवाँले आक्रान्त कोठा हिटलरी ग्याँसच्याम्बरझैँ निसासिएको छ । कमरेड वादेगौको प्रिय रचनारूपी कालो विधेयक अनुवाद गर्नमा हामी तल्लीन छौँ । बाह्र हात लामा रकमी वाक्य छन् । पूर्णविराम फेला पार्न सिला खोज्नुपर्छ । काइते शैलीको क्लिष्ट वाक्य–गठन छ । उसमाथि द्धैर्थक कथनहरूको विगविगी । ती कपटयुक्त कथनहरूमा अन्तर्निहित दुराशयलाई अनुवाद गर्नुपर्दा कानुनका नौसिङे पदावलीहरूको अर्थ ठम्याउन घरी–घरी अडी–अडीकन घोत्लिनुपर्ने । म गम्छु, आमालाई अन्तिम घडीमा स्याहार्न छाडेर यस्तो विषाक्त विषय अनुवाद गर्न वाध्य हुनुपर्ने मेरो यो कस्तो नियति ! तीव्रतम पीडादायी प्रश्नले मेरो अन्तस्करणलाई मर्मान्तक रूपले चिमोट्छ ।

उता आमा यमराजरूपी कालसँग जुधिरहनुभएको छ, यता म राजनीतिक यमराजहरूसँग जुधिरहेको छु । जनवादको सङ्घर्षमय यात्राका मेरा आफ्नौ कमरेडहरूले जीवनको अन्तिम घडीमा आमाको सेवा गर्न पाउने मेरो नैसर्गिक अधिकारबाट मलाई वञ्चित गरिदिएका छन् ।

उता आमा यमराजरूपी कालसँग जुधिरहनुभएको छ, यता म राजनीतिक यमराजहरूसँग जुधिरहेको छु । जनवादको सङ्घर्षमय यात्राका मेरा आफ्नौ कमरेडहरूले जीवनको अन्तिम घडीमा आमाको सेवा गर्न पाउने मेरो नैसर्गिक अधिकारबाट मलाई वञ्चित गरिदिएका छन् ।

पल्लो कोठाबाट डङ्ग आवाजसँगै हृदयविदारक चीत्कार आयो । हतप्रभ भएँ म । र, रन्थनिएको मानसिकतामा बत्तिदै पुगेँ म पल्लो कोठामा । मृत्युको घातक आक्रमणलाई झेल्न नसकेर आमा कडा सिमेन्टको कठोर भुइँमा खस्नुभएछ । छिन–छिनमा निन्द्रामा भुसुक्क डुब्नुपर्ने लालीको बाध्यता छ । अहिले ऊ राता, निन्द्रालु आँखा मिच्दै आमालाई उठाउन असफल प्रयास गरिरहेकी रहिछ । दुई जनाले बोकेर आमालाई खाटमा उकाल्यौँ, लालीले र मैले । आमाका निधारका देब्रेतिरको चल्लीमा निकै गहिरो चोट लागेछ । चोटबाट रगत तर्तरी बगिरहेको छ । आमाका आँखामा आँसु टलपल–टलपल भरिएका छन् । तर ऐय्या–आथ्थो केही छैन । मृत्युले गाँजेको आमाको अनुहार सपाट छ । एकदम भावशुन्य छ त्यो ।

कामिरहेका हातले रुईले रगत पुछेर मैले आमाको घाउ डेटोलले सफा गरिदिएँ ।

“मेरी आमा !” आमाको हृदयबाट शुष्क स्वरमा आहत चीत्कार प्रकट भयो, “म त झन्डैले नमरेकी !” यति भनेर आमाले सहारा र सान्त्वना खोज्ने सुरले मेरा हात समात्नुभयो र ममतापूर्वक मुसार्नुभयो ।

“मेरी आमा ! म त झन्डैले नमरेकी !”

राजनीतिका उदात्त आदर्शको त्रासद पराजय र निकृष्ट स्वार्थको निर्लज्ज विजयको अर्को नाम हो– चमाले । यस चमाले राहुले मृत्युशथ्यामा छटपटाइरेकी हाम्री आमालाई जघन्य क्रुरतासाथ खाटबाट कडा भुईमा डङ्रङ्ग खसालिदियो ।

२०५९

(साहित्यकार एवं लेखक संग्रौलाका चर्चित पुस्तक ‘आमा र यमदूत’ का लेखकबाट पुनःपरिमार्जित अंशहरु आगामी दिनहरुमा प्रत्येक शनिवार साप्ताहिक रुपमा प्रकाशित हुनेछ । –रातोपाटी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप