मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

एयरलाइन्सको टुर प्याकेजदेखि ट्राभल एजेन्सी र होटल व्यवसायी ‘त्रसित’

पर्यटक एउटै होटलमा थुप्रिए भने हामीले सर्भाइभ कसरी गर्ने ? : होटल व्यवसायी
मङ्गलबार, ०६ असोज २०७७, १४ : २५
मङ्गलबार, ०६ असोज २०७७

काठमाडौं । शुक्रबार निजी क्षेत्रको विमान कम्पनी बुद्ध एयरले ‘होलिडे’ नामको टुर प्याकेज सार्वजनिक गर्यो । सो प्याकेजमा नेपालका प्रमुख गन्तव्यहरु पोखरा र चितवनको सौराहाका लागि हवाई टिकट, होटल पिक एण्ड ड्रपदेखि होटलको सबै खर्चहरु समेत समावेश गरिएको छ । 

त्योभन्दा अझै एक कदम अघि बढेर अर्को निजी विमान कम्पनी यति एयरलाइन्सले विभिन्न गन्तव्यका १६ वटा टुर प्याकेज सार्वजनिक गर्यो । यतिले ट्रंक रुटहरु मात्रै नभएर माउन्टेन फ्लाइटदेखि रारा, मुक्तिनाथ, तुम्लिङटार लगायत हिमाली पर्यटकीय गन्तव्यलाई समेत लक्षित गरेर त्यस्तो प्याकेज ल्याएको हो ।

बुद्ध र यति दुवैले ल्याएका प्याकेज तुलनात्मक रुपमा आकर्षक छन् । बुद्धले ल्याएको प्याकेजमा थप विविधिकरण गर्दै यतिले एउै प्याकेजभित्र पनि विभिन्न स्कीमको छनौट सुविधा दिएको छ । त्यसबाहेक हिमाली गन्तव्यहरुको प्याकेजले आन्तरिक पर्यटकहरुमा एउटा नयाँ उत्साह समेत थपेको छ । 

तर, यो प्याकेजहरुप्रति ट्राभल एजेन्सी र होटल व्यवसायी आफैं भने सन्तुष्ट छैनन् । उनीहरुले कोरोना महामारीको आडमा एयरलाइन्स कम्पनीहरुले होटल, ट्राभल एजेन्सीदेखि सबै क्षेत्रमा सिन्डिकेट गर्न खोजेको आशंका समेत गरेका छन् । 


नेपाल एशोसिएसन फर टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागाइँले एयरलाइन्सहरुले ल्याएको प्याकेज प्राविधिक रुपमा गलत अभ्यास भएको बताउँछन् । यति एयरलाइन्सको नयाँ प्याकेज घोषणा कार्यक्रममै अध्यक्ष गुरागाइँले विमान कम्पनीले प्रतिस्पर्धा गरेर आएको प्याकेज ल्याउन लागेको भन्दै ‘सबै कुरा एयरलाइन्सले गर्ने हो भने हामीले के गर्ने’ भन्दै प्रश्न समेत गरेका थिए । 

गुरागाइँले एयरलाइन्सले ल्याएको ‘प्रत्यक्ष छुट’को अफरले ट्राभल एजेन्सीको अस्तित्व नै संकटमा पार्ने समेत बताए । एयरलाइन्समा आएर टिकट काट्दा सीधै १० प्रतिशत छुट पाइन्छ भने कुन मान्छे ट्राभल एजेन्सीमा जान्छ ? यदि यस्तै अफर रहने हो भने हामी एयरलाइन्सहरुको काट्न बन्द गर्छौं । यद्यपि आफूहरुले यो आन्तरिक पर्यटनलाई व्युँझाउने रणनीतिको रुपमा लिएकोले अहिले नै नकारात्मक रुपमा नलिएको बताए । उनले एयरलाइन्स कम्पनीहरुले ट्राभल एजेन्सीलाई दिने कमिसन तोक्दा हचुवाको आधारमा नभएर अन्तराष्ट्रिय मापदण्ड अनुसार प्रतिशतमा तोक्नुपर्ने माग समेत गरे । 

त्यसो त, पोखरा तथा चितवनका व्यवसायी होटल व्यवसायीहरुले पनि एयरलाइन्सहरुले ल्याएको टुर प्याकेजका कारण यात्रुहरु सीमित होटलमा मात्रै बस्न जाने अवस्था हुने भएकोले यसले प्रतिस्पर्धी वातावरण गुम्ने र एयरलाइन्ससँग सम्पर्कमा नरहेको होटलहरु सर्भाइभ हुनै नसक्ने अवस्था आउनसक्ने बताउँछन् । 


व्यवसायीले त्यसो भने पनि होटल व्यवसायीहरुको संस्था होटल एशोसिएसन अफ नेपाल (हान) ले भने यसबारे अहिलेसम्म समीक्षा गरिसकेको छैन । हानका महासचिव साजन शाक्य अहिले कोभिडपछिको आन्तरिक उडान खुल्न भर्खरै सुरु गरेको अवस्थामा एयरलाइन्स कम्पनीहरुले ल्याएको टुर प्याकेजलाई अन्यथा लिन नहुने भन्दै व्यवसायीले भनेको जस्तो अवस्था आएमा सबै व्यवसायीले समान रुपमा बिजिनेस पाउनेगरी व्यवस्था गर्न संघ तयार रहेको समेत बताए । 

‘अहिले यो क्षेत्र भर्खरै खुलेको छ । विमान कम्पनीहरुले पनि ट्रायल गर्दैछन् । त्यसैले अहिले यसलाई अन्यथा नलिऔं’ महासचिव शाक्यले भने, ‘भोलिका दिनमा कसैले धेरै बिजिनेस पाउने, कसैले पाउँदै नपाउने भयो भने हामी एयरलाइन्स कम्पनीलाई प्याकेजमा होटलको स्ट्यान्डर्ड मात्रै तोक्न लगाएर र सबैलाई समान रुपमा बिजिनेस बाँड्न पनि सकिन्छ ।’

के भन्छन् एयरलाइन्स कम्पनी ? 
एयरलाइन्स कम्पनीहरुले पनि यो योजना अल्पकालीन र प्रवर्द्धनात्मक भएको जनाएको छ । कोभिड–१९ का कारण मात्रै आफूहरुले यस्तो टुर प्याकेज बनाउन सकेको भन्दै यात्रुको संख्या बढ्दै गएपछि यस्तो प्याकेज ट्राभल एजेन्सीकै जिम्मामा दिने समेत उनीहरुको भनाइ छ । 

वायुसेवा सञ्चालक संघका प्रथम उपाध्यक्ष समेत रहेका यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमाल भन्छन्, ‘लकडाउनमा प्लेन चलेन र हामीले यो प्याकेज बनाउन पाएका हौं । भोलिका दिनमा प्यासेन्जर धेरै भए भने हामीलाई टिकट बेच्न च फुर्सद हुँदैन, हामीले प्याकेज कसरी बेच्न सक्छौं ? त्योबेला यो सबै जिम्मा उहाँहरुकहाँ नै जाने हो ।’ उनले अहिलेको प्याकेजहरु आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने हिसाबले ल्याइएको समेत बताए । ‘कम्तीमा पनि अबको एक डेढ वर्ष विदेशी पर्यटक आउँदैनन् । त्यो बेलासम्म हामीले आन्तरिक पर्यटनलाई पनि प्रवद्र्धन गर्दै जानुपर्छ । त्यही भएर अहिले प्याकेज नै बनाएर ल्याएका हौं’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप