शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकामा ६९६, देशभर १,४५४ जनामा संक्रमण पुष्टि

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय २२ पुग्यो
शुक्रबार, २६ भदौ २०७७, १६ : ५९
शुक्रबार, २६ भदौ २०७७

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमित तीव्र गतिमा फैलिन थालेको तथ्यांकले देखाएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार बितेको २४ घण्टामा मात्रै ६९६ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन यतिधेरै संक्रमित पुष्टि भएको यो नयाँ रेकर्ड हो ।  

यसअघि बिहीबार उपत्यकामा ५७२ जनामा संक्रमण पुष्टि भएको थियो । शुक्रबार थप बढेर ६९६ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार आज काठमाडौंमा मात्रै ६२० जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुर र भक्तपुरमा ३८–३८ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३ सातायता निषेधाज्ञा जारी रहेपनि संक्रमितको संख्या भने झन् झन् बढ्दो क्रममै रहेको हो । बिहीबारदेखि काठमाडौंमा निषेधाज्ञा खुकुलो बनाइएको थियो । उपत्यकामा कोरोना संक्रमितको संख्या साढे १० हजार नाघेको छ । 

यसैबीच आज नेपालमा कोरोना भाइरसका १ हजार ४ सय ५४ जना संक्रमित थपिएका छन् । १० हजार ७ सय १ पीसीआर परीक्षण भएकोमा ४ सय ६३ महिला र ९ सय ९१ जना पुरुषमा संक्रमण देखिएको हो ।  यस्तै कोरोनाबाट आज थप ५ जनाको मृत्यु भएको छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र ४ जना महिलाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङमा ४० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै महोत्तरीमा ६५ वर्षीय, धनुषामा ४५ वर्षिय, काठमाडौंमा ७० वर्षीय र नवलपरासीमा ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय २२ पुगेको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या १४ हजार ९ सय २५ जना रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ४ सय १९, प्रदेश नम्बर २ मा ४ सय १, बागमती प्रदेशमा ४ हजार ८ सय १० र गण्डकी प्रदेशमा ७ सय ६२ जना संक्रमित रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार १ सय २, कर्णाली प्रदेशमा २ सय ५३ र सुदूरपश्चिम प्रदेशमा ५ सय ४४ गरी देशभरी ८ हजार २ सय ९१ संस्थागत आइसोलेसनमा रहेका छन् । 

यसैगरी होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ९ सय ३७, प्रदेश नम्बर २ मा २ हजार १ सय ४५, बागमती प्रदेशमा २ हजार ५ सय १ र गण्डकी प्रदेशमा १ सय संक्रमित होम आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ६ सय ७८, कर्णाली प्रदेशमा ९० र सुदूरपश्चिम प्रदेशमा १ सय ८३ गरी देशभरी ६ हजार ६ सय ३४ संक्रमित होम आइसोलेसनमा रहेका छन । आज देशका विभिन्न अस्पतालका आइसियुमा १ सय ७० जना र भेन्टिलेटरमा २५ जना जना संक्रमित उपचाररत रहेका छन् । 

आज ९ सय ७२ जना संक्रमित निको भएर घर फर्किएका छन् । आजसम्म प्रदेश नम्बर १ मा ३ हजार ३ सय २४, प्रदेश नम्बर २ मा १० हजार २ सय ४२, बागमती प्रदेशमा ६ हजार ५ सय ३५ र गण्डकी प्रदेशमा २ हजार १ सय ४३ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार २ सय ४८, कर्णाली प्रदेशमा २ हजार ४ सय ७० र सुदूरपश्चिम प्रदेशमा ५ हजार ४ सय १० गरी देशभरी आजसम्म ३६ हजार ६ सय ७२ जना संक्रमित निको भएर घर फर्किएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप