अर्थमन्त्रीबाट डा. खतिवडाको वहिर्गमन निजी क्षेत्रलाई ‘हर्ष न विस्मत’
काठमाडौं । यतिखेर बजारमा सरकारबाट डा.युवराज खतिवडाको बहिर्गमनको विषयले निकै चर्चा पाइरहेको छ । गत शुक्रबार मात्र संघीय सरकारको अर्थमन्त्रीबाट बिदा भएका डा. खतिवडाको सबल र दुर्बल पक्षलाई लिएर विभिन्न कोणबाट टिप्पणी गर्न थालिएको छ ।
त्यसो त वर्तमान सरकारमा अर्थ मन्त्रालयको जिम्मेवारीसहित सामेल भएलगत्तै उनलाई अर्थतन्त्रकै विज्ञ र अनुभवी अर्थमन्त्रीको रुपमा चित्रित गरिएको थियो । राष्ट्रिय योजना आयोगको सदस्य हुँदै उपाध्यक्ष र राष्ट्र बैंकको गभर्नरको जिम्मेवारी समेत सम्हालिसकेका व्यक्तिलाई अर्थमन्त्रीको रुपमा पाउनु मुलुककै लागि सौभाग्यको कुरा थियो । र उनीप्रति देश–जनताले स्वाभाविक रुपमा त्यही स्तरमा आशा र भरोसा राखेका थिए ।
२०७४ फागुन १४ देखि २०७७ भदौ १९ गतेसम्म अढाई वर्ष मुलुकको अर्थतन्त्र सम्हालेका अर्थमन्त्री डा. खतिवडाको बहिर्गमनलगत्तै उनका उपलब्धी र कमजोरी केलाउन थालिएको हो ।
अर्थतन्त्रका ज्ञाता, लामो अनुभव भएका भनेर देश र जनताले निकै भरोसा गरेका अर्थमन्त्रीको बहिर्गमनमा निजी व्यावसायिक क्षेत्रको प्रतिक्रिया कस्तो छ भन्नेबारे रातोपाटीले चासो राखेको छ । अर्थमन्त्रालयबाट डा.युवराज खतिवडाको वहिर्गमनका साथै नयाँ आउने अर्थमन्त्रीबारे निजी क्षेत्रको प्रतिक्रिया उनीहरुकै शब्दमा –
अपेक्षा पूरा भएन
सीएनआई अध्यक्ष सतिष कुमार मोर
निवर्तमान अर्थमन्त्री डा.युवराज खतिवडाको विषयमा अहिले यसो उसो भनेर अहिले धारणा बनाउनु उचित छैन । किनकि उहाँ गइसक्नु भएको छ । अब त आउनेवाला अर्थमन्त्रीको विषयमा चासो दिनुपर्छ । तर अब अर्थमन्त्रीमा को आउँदैछन्, कसले मुलुकको अर्थतन्त्र सम्हाल्ने हो, अहिले नै यकिन भइसकेको छैन । यस्तो अवस्थामा भावी अर्थमन्त्रीको विषयमा पनि धारणा बनाउनु उचित हुँदैन ।
यत्ति हो कि सीएनआई कुनै व्यक्तिको विषयमा भन्दा पनि सिस्टम (प्रणाली) र मुलुकको अर्थतन्त्रको सुधारको पक्षमा छ । यसमा हाम्रो लाइन क्लियर छ । जो आएपनि राम्रो आओस्, मुलुकको अर्थतन्त्र बुझेको आओस् भन्ने नै हो ।
जहाँसम्म अर्थमन्त्रीको सफलता÷असफलताको विषय छ, उहाँ जत्तिको अर्थमन्त्रीबाट मुलुकले अपेक्षित उपलब्धि नपाएकै हो । उहाँबाट हामी निजी क्षेत्रले पनि त्यति धेरै खुशी हुने ठाउँ पाएनौँ । हुन त डा.खतिवडा विज्ञ नै हो । तर उहाँबाट जुन अपेक्षा थियो, त्यो पाउन सकेनौँ ।
अरु त कुरै छाडौँ, कोभिड–१९ को यस्तो महामारीमा निजी क्षेत्रसँग मिलेर सरकार अघि बढ्नु पथ्र्यो तर उहाँले त्यसो गर्नुभएन । आफु एक्लै दौडन खोज्नु भयो । निजी क्षेत्रको समस्याको महशुस पनि भएन । जसले गर्दा अहिले निजी क्षेत्र समस्यामा छ । हेरौं, अब आउने अर्थमन्त्रीले हाम्रो समस्या कत्तिको सम्बोधन गर्नुहुन्छ ।
उहाँको बारेमा धारणा बनाउनु उचित नहोला
चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठ
भर्खरमात्र अर्थमन्त्रीज्यू बाहिरिनु भएको छ । उहाँको ठाउँमा अर्को व्यक्ति आएको पनि छैन । नआएको व्यक्तिको बारेमा धारणा बनाउने कुरो पनि आएन ।
कस्तो आउने हो, कसरी अघि बढ्ने हो, आएपछि नै बोलौँला । तर यस्तो अवस्थामा उहाँ (डा.खतिवडा)को बारेमा धारणा बनाउनु उचित नहोला । यस बारेमा मेरो कुनै धारणा नै छैन । नबोलौं होला ।
अब आउने अर्थमन्त्रीलाई चुनौती नै चुनौती छ
एफएनसीसीआई वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा
गइसकेको व्यक्तिको बारेमा धारणा बनाउनुभन्दा पनि आउनेको बारेमा सोच्नु राम्रो होला । व्यक्तिको बारेमा त सबैका आ–आफ्नै धारणाहरु हुन्छन् नि । कसैले राम्रो भन्लान्, कसैले नराम्रो । तर मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने, डा.युवराज खतिवडा माई डियर मान्छे हुनुहुन्छ । जति समय उहाँसँग नजिक भएर काम गर्न पाएँँ, उहाँ एकदम सरल, सहज र स्पष्ट पाएँ । उहाँजस्तो अर्थमन्त्री मुलुकका लागि सौभाग्यको कुरा हो ।
पोल्टिसियन र व्युरोक्रेट्समा भिन्नता हुन्छ, पोल्टिसियनले सस्तो लोकप्रियताका लागि झुटो आश्वासन दिन्छन् तर पुरा गर्दैनन् । हामी सो परिपाटीबाट धेरै पटक दुःखी भएका छौं । तर, व्युरोक्रेट्सले त्यसो गर्दैन । जे कुरा हो त्यो यर्थात् भन्छ र गर्छ । डा. खतिवडा व्युरोक्रेसीबाट आएकाले अर्थमन्त्रीका रुपमा जे सत्य हो त्यही बोल्ने गर्नुहुन्थ्यो । यही कारण कतिपयलाई उहाँ मन नपर्न सक्छ । तर सबैलाई मन पर्नुपर्छ भन्ने पनि छैन ।
अब आउने अर्थमन्त्रीको अगाडि चुनौती नै चुनौतीको पहाड छ । कोभिड–१९ को प्रभावले मुलुकको अर्थतन्त्रको स्थिति अत्यन्त नाजुक अवस्थामा छ । निजी क्षेत्र ठूलो समस्यबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा आउने अर्थमन्त्रीले पक्कै पनि मुलुकको अर्थतन्त्रलाई सही दिशा दिन सक्नुपर्छ ।
समस्यामा परेका निजी क्षेत्रको गुमेको मनोबल उठाउनु नै आउने अर्थमन्त्रीको पहिलो चुनौती हुनेछ । किनकि निजी क्षेत्रको गिरेको मनोबल उठ्यो भने मुलुकको अर्थतन्त्र पनि उठ्न समय लाग्दैन । त्यो आशा हामीमा जीवितै छ ।
तर, मुलुकको अर्थतन्त्र करमुखी भएकाले करबाटै अर्थतन्त्र मजबुद हुने हुँदा निजी क्षेत्रको सुधार अपरिहार्य छ । कर उठाउन निजी क्षेत्रको सुधार हुन आवश्यक छ र निजी क्षेत्रको उत्थानमा राज्यको दायित्व हुन्छ । यसमा सबै पक्षलाई ट्याकल गर्न सक्ने व्यक्तिको खाँचो छ । त्यस्तो व्यक्ति मुलुकले पाउनेछ भन्नेमा आशावादी छौं ।
विशेषतः मुलुकको फण्डामेन्टल इकोनोमी कन्जम्सन(उपभोग)सँग सम्बधित छ । फेरि त्यो सिधै रेमिट्यान्ससँग जोखिएको छ । कोभिड–१९ कै समस्याबीच अहिले पनि रेमिट्यान्सको दर खासै घटेको छैन । यसले मुलुकको अर्थतन्त्र छिट्टै सुध्रनेमा हामी विश्वस्त छौं ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसले उत्तर कोरियालाई दियो १० लाख ब्यारेल तेल
-
सम्बन्ध विच्छेद पछिको पहिलो पोष्ट, के कारण खुसी छन् एआर रहमान ?
-
काठमाडौँको मध्यभागका सम्पदा संरक्षण गर्न सुवर्णपुर सम्पदा संरक्षण समिति
-
डा. बाबुराम भट्टराईको ‘समृद्ध समाजवाद’ अवधारणा : सम्भावना र सीमाहरू
-
सरकारले मधेसको ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको विकासमा ध्यान नदिएको प्रभु साहको आरोप
-
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ : अर्थमन्त्री पौडेल