जाँदाजाँदै अर्थमन्त्री : निराशामा बदलिएको आशा
‘मिडिया ट्रायल’ले असफल र अक्षम अर्थमन्त्रीको विल्ला भिराएका डा. युवराज खतिवडाको अर्थमन्त्री पद बच्न यसपटक सकेन । उनलाई पुनः राष्ट्रिय सभामा मनोनित गर्दै अर्थमन्त्रीमा निरन्तरन्तरता दिने प्रधानमन्त्री ओलीको अथक प्रयत्न पार्टीभित्रको शक्ति सन्तुलन र समीकरण मिलाउनुपर्ने बाध्यताका कारण ‘सहिद’ बन्यो । परिणामतः राष्ट्रियसभामा वामदेव गौतमको प्रवेशसँगै अर्थतन्त्रका ज्ञाता भनिएका अर्थमन्त्रीको बहिर्गमन भएकाे छ। कानूनत: उनको कार्यावधि भोलि (भदौ २०) सम्म हो । तर उनले शनिबार नै राजीनामा दिइसकेका छन् ।
डा. युवराज खतिवडालाई देशले २०७४ फागन १४ गते अर्थमन्त्रीको रुपमा पाएको हो । ओली सरकारको क्याविनेटमा खतिवडा अटाउनुलाई प्रधानमन्त्री केपी शर्माओलीले ‘हाम्राभन्दा राम्रा’लाई स्थान दिएको भन्दै प्रशंसा गर्नेहरुको बलियो जमात नै देखियो । यद्यपि, पार्टीभित्रै भने गैरराजनीतिक व्यक्तिलाई राजनीतिक सुझबुझ र समझदारीकाे समेत खाँचो पर्ने महत्त्वपूर्ण पदमा ‘टीका लगाएर’ ल्याइएको भन्दै आलोचना पनि भयो ।
विज्ञ अर्थमन्त्री आएपछि अर्थतन्त्रले सही गति लिने भन्दै आम सर्वसाधारणमा उनको नियुक्तिबाट सकारात्मक अपेक्षाा राखिएका थिए । फागुन १४ गते पदभार ग्रहण गर्दै गर्दा मिडियाको ठूलो उपस्थिति देखेपछि ठट्टा गर्दै उनले भनेका थिए, ‘हुन त अर्थतन्त्र बलियो नभई मिडिया चल्न सक्तैन ।’
विज्ञहरु भने विगत ४/५ वटा अर्थमन्त्रीदेखि डा. खतिवडासम्मले जनतालाई सेवा सुविधा हुने उल्लेख्य काम गर्न नसकेको बताउँदै आएका छन् । अर्थविद् प्रा.डा चन्द्रमणि अधिकारी उनको कार्यकाल औसत रहेको बताउँछन् । ‘अन्य अर्थमन्त्रीभन्दा यिनमा अलि बढी आशा थियो त्यसैले अलि बढी निराशा देखिएको मात्र हो,’ उनले भने ।
उनको यो अभिव्यक्तिको अन्तर्य समकालीन आर्थिक अवस्था कमजोर रहेको र आफू अर्थतन्त्र बलियो बनाउनकै लागि आएको भन्ने बुझ्न गाह्रो थिएन । उनी स्वयम् पनि अर्थतन्त्र बलियो बनाउन सक्नेमा विश्वस्त देखिन्थे ।
नेपाल राष्ट्र बैंकका गर्भनर, योजना आयोगका उपाध्यक्षसमेत भइसकेका अर्थमन्त्री खतिवडाबाट अर्थतन्त्र सुधारको आमअपेक्षा स्वाभाविक थियो । खतिवडा स्वयंको जाेश र जाँगर पनि अर्थतन्त्र बलियो बनाउने दिशातिरै रहेको उनका प्रारम्भिक गतिविधिहरुले देखाउँदैथियो । अर्थतन्त्र सुधारको आभाष गराउन उनी पद सम्हाल्नेबित्तिकै ‘देशको अर्थतन्त्रको नकारात्मक चित्रण गरेर’ श्वेतपत्र निकाले ।
उनले बजेट कार्यान्वयनको नकारात्मक परम्परामा ब्रेक गर्न चाहन्थे, पुँजीगत खर्च बढाउन चाहन्थे, वित्तीय अनुशासन कायम गराउन चाहन्थे, अनावश्यक खर्च कटौति गर्न चाहन्थे, भावी पुस्तालाई ऋणको बोझ कम गराउदै लैजान चाहन्थे भन्ने संकेत उनका कामहरुले गर्दैथिए तर यी सबै कुरा पूरा हुन सकेन ।
हुन त उनी एक्लैको निर्णय सर्वस्वीकार्य पनि हुँदैनथ्यो । उनले आफूलाई मन्त्री बनाउने सत्तासीन पार्टीका ठूलाे पंक्तिलाई पनि रिझाउनै पर्थ्यो। नेपथ्यका विविध कारणले उनकाे चाहनाले पूर्णता नपाएको हाे वा उनको विज्ञता व्यवहारमा असफल भयो ? त्यसबारे आगामी दिनमा समीक्षा हुँदै जाला ।
विज्ञहरु भने विगत ४/५ वटा अर्थमन्त्रीदेखि डा. खतिवडासम्मले जनतालाई सेवा सुविधा हुने उल्लेख्य काम गर्न नसकेको बताउँदै आएका छन् । अर्थविद् प्रा.डा चन्द्रमणि अधिकारी उनको कार्यकाल औसत रहेको बताउँछन् । ‘अन्य अर्थमन्त्रीभन्दा यिनमा अलि बढी आशा थियो त्यसैले अलि बढी निराशा देखिएको मात्र हो,’ उनले भने ।
उनको नियुक्तिमा खुसी भएका आमजनता उनको कार्यशैली देखेर आलोचना गर्ने अवस्थासम्म कसरी पुगे ? आमजनतालाई अर्थमन्त्रीको कस्ता–कस्ता कार्यले चिढ्यायो र कस्ता कार्य प्रशंसा गर्न योग्य बने यसबारे जान्न हामी केलाउँदैछौ उनको साढे २ वर्षको कार्यकाल ।
हुनतः देशको आर्थिक सूचकहरुको अवस्थाले नै अर्थमन्त्री कति सफल कति असफल भन्ने मापन गर्छ । उनी आउँदा नै देशको अर्थतन्त्रका सबै सूचक उनकै श्वेतपत्रले नकारात्मक देखाएको थियो । उनी जाँदै गर्दा पनि देशको अर्थतन्त्र त्यो भन्दा बढी नकारात्मक अवस्थामा छ । कोरोना महामारीका कारण विश्व अर्थतन्त्र नै अहिले मन्दीउन्मुख छ । यसलाई नै देखाएर उम्कन मिल्ला, नमिल्ला त्यो विश्लेषणको छुट्नै पाटो हो ।
सुधार नं. १ : भेहिकल ट्रयाकिङ कन्साइन्मेट सिस्टम लागु
अर्थमन्त्री डा.यूवराज खतिवडाकै पालामा भेहिकल कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम लागु भएको छ । गत साउन (२०७६) १ गते देखि यो व्यवस्था लागु भएको हो । यस प्रकृयाको माध्यमबाट झुटा बील प्रयोग गरी हुने गरेको राजश्व चुहावटलाई नियन्त्रण गर्न सघाउँनेछ । राजस्व चुहावट नियन्त्रणका लागि गरिएको यो पहललाई विज्ञहरुले सम्झनयोग्य भनेका छन् ।
सुधार नं. २ : प्यान नम्बर अनिवार्य गरिनु
गत वर्षको बजेटमा एक व्यक्ति एक प्यान नम्बर नीति लिएपछि सो नीति कार्यान्वयनमा आएको छ । राजस्व दाखिला गर्ने समयमा प्यान नम्बर राखियो भने राजस्वको अभिलेख पनि पारदर्शी हुने भएकाले यो कामलाई पनि सकारात्मक मान्नुपर्ने विज्ञको तर्क छ ।
सुधार नं.३ : व्यापार घाटा कम हुनु
व्यापार घाटा बढ्दै गएपछि अर्थमन्त्री खतिवडाले आयातमा कडाइ गर्न थाले । विलासी वस्तुको आयातमा कर बढाएर आयात निरुत्साहित गर्ने नीति अर्थमन्त्रीले लिए । महँगा सवारी साधन, सुनचाँदी, मोवाइल, टेलिभिजन, विस्कुट, चाउचाउ, फर्निचर लगायतलाई आयात निरुत्साहित गर्ने निति लिए । उनले व्यापार घाटा न्युनिकरण गर्न कार्यायोजना नै बनाएर व्यापार घाटा न्युनिकरणको प्रयास गरे । जसको फलस्वरुप विस्तारै व्यापार घाटा साघुरिएको छ । अहिले निर्यात पनि केही बढेको छ । यसलाई अर्थमन्त्रीको सकारात्मक प्रयास नै भनिएको छ ।
अर्थविद आचार्यका अनुसार अर्थमन्त्री खतिवडाले आायोजना प्रमुखको कार्यसम्पादन मूल्यांकन ९० प्रतिशत हुन्जेल सरुवा नगर्ने र सोभन्दा कम हुनेको ठाउँमा अर्कोलाई ल्याएर राखिने भनेका थिए । अर्को तर्फ सरकारभन्दा बाहिरको विज्ञ वा व्यक्तिलाई सरकारी आयोजना व्यवस्थापनको जिम्मा दिन सकिनेछ भनियो तर परिणाम शुन्य भयो ।
सुधार नम्बर ४ : विदेशी मुद्रा सञ्चिति बढ्नु, सोधानान्तर बचतमा हुनु
आयातमा गरिएको कडाइकै कारण पुँजी निर्यात हुन केही हदसम्म रोकिएको छ । अहिले देश सोधानान्तर स्थिती र विदेशी मुद्रा सञ्चितिमा निकै सहज अवस्थामा छ । यसको जस अर्थमन्त्रीलाई दिदा अन्यथा नहुने केही बताउँछन् ।
सुधार नम्बर ५ : अनावश्यक खर्च कटौती
अर्थमन्त्री खतिवडाले यसै बर्षको बजेट मार्फत अनावश्यक खर्च कटौतीको नीति लिएका छन् । अनावश्यक भत्ता, खर्च लगायत विषयमा कैची चलाएर उनले सुधारको संकेत गरेका छन् ।
आलोचित कदम
नेकपाको निर्वाचनको चुनावी घोषणपत्र बनाउँदा त्यसको आर्थिक पक्ष आफैले बनाएको भनेका अर्थमन्त्रीले कतिपय महत्वाकांक्षी विषय कार्यान्वयनमा लैजान नसकेको अर्थविद् केशव आचार्य बताउँछन ।
अर्थविद आचार्यका अनुसार अर्थमन्त्री खतिवडाले आायोजना प्रमुखको कार्यसम्पादन मूल्यांकन ९० प्रतिशत हुन्जेल सरुवा नगर्ने र सोभन्दा कम हुनेको ठाउँमा अर्कोलाई ल्याएर राखिने भनेका थिए । अर्को तर्फ सरकारभन्दा बाहिरको विज्ञ वा व्यक्तिलाई सरकारी आयोजना व्यवस्थापनको जिम्मा दिन सकिनेछ भनियो तर परिणाम शुन्य भयो ।
कतिपय विषयमा प्रधानमन्त्रीलाई विश्वसामा लिन नसक्दा आलोचित कार्यक्रलाई उनले बजेट मार्फत निरन्तरता दिएका छन् । जसका कारण उनको आलोचनाको ग्राफ उकालो लाग्दै गयो ।
आलोचना नम्बर १ : सेयरबजार मैत्री हुन नसक्दा लगानीकर्ताले लगाउन थाले धारे हात
अर्थमन्त्रीकै बोलीका कारण सेयर बजारले अर्बौँ गुमाउनुपरेको थियो । उनले अर्थमन्त्री भएलगत्तै सेयर बजार र घरजग्गालाई अनुत्पादन भन्दै अभिव्यक्ति दिएपछि लगानीकर्ताले उनलाई कहिले पनि रुचाएनन । सेयर बजार र घरजग्गा जस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्नु अर्थतन्त्रका लागि राम्रो नहुने बताएपछि उनी सेयरबजारको नजरमा गतिलो अर्थमन्त्री बन्न सकेनन् । उनको पछिल्लो समय सुधारिएको भाषणले पनि लगानीकर्ता रिझाउन सकेनन् ।
आलोचना नम्बर २ : कर बृद्धिले आक्रोशित बने जनता
उनले राजस्व बढाउने नाममा अनावश्यक करको भार थोपरेर जनतालाई मारमा पारेको भन्दै सामान्य तहबाट समेत उनको आलोचना भइरह्यो । कतिपयले त उनलाई कर मन्त्रीकै संज्ञा दिए । उनले ऋणको भार भावी पुस्तालाई नबोकाउन आन्तरिक स्रोतबाटै खर्च परिचालनका लागि कर बृद्धि गरिएको भनेका थिए । कितावमा कर, यसै वर्षको बजेटमार्फत विद्युतीय गाडीमा कर बढाएपछि उनी आफ्नो करियरकै सबैभन्दा बढी आलोचित बने ।
आलोचना नम्बर ३ : निजी क्षेत्रमैत्री भएनन्
निजी क्षेत्रको निशानामा सधै अर्थमन्त्री परिरहे । उनले निजी क्षेत्रको आवश्यक माग समयमै सम्बोधन गर्न नसक्दा निजी क्षेत्रमैत्री बन्न नसकेको आरोप लाग्न थाल्यो । पछिल्लो चरणमा अर्थमन्त्री आफैले पनि एक कार्यक्रममा स्वीकारेका थिए – आफु निजी क्षेत्रमैत्री बन्न नसकेको भनेर ।
आलोचना ४ : संकटमा साथ नदिएको
खतिवडाले बजेट ल्याउँदा कोरोना माहामारीको चपेटामा परेको बर्गको लागि राम्रो राहत ल्याउन नसकेको भन्दै उनको आलोचना भयो । लामो लकडाउन देशले धान्न सक्तैन भन्ने थाहा भएका अर्थमन्त्रील्े प्रधानमन्त्रीलाई कन्भिन्स गराउन नसक्दा अहिले उद्योग धन्दाहरु चौपट भएको भन्दै व्यवसायीहरु आक्रोशित छन् ।
आलोचना ५ : उपयुक्त मौकामा पनि संसदको नाममा जाने रकमलाई रोक्न सकेनन्
कोरोना माहामारीका कारण स्रोतको अभाव देखाउँदै व्यापक खर्च कटौती गर्ने ठाउँ हुँदा हुँदै पनि पार्टीभित्रको दबाबमा उनले त्यस्ता कार्यक्रमलाई निरन्तरता दिए । उनले पाटीभित्रकालाई विश्वासमा लिन नसक्दा उनैले नचाहेको सांसदका नाममा छुट्टिने रकम रोक्न सकेनन् । कतिपय अर्थविद्ले निर्मम खर्च कटौतीको अवसरलाई अर्थमन्त्रीले प्रयोग गर्न नसकेको भन्दै उनको विज्ञता माथिनै प्रश्न गरेका थिए ।
उनले कतिपय तथ्यांकलाई तोडमोड गरेर आफु अनुकुल बनाइ अर्थव्यवस्था ठीक देखाएको आरोप छ । अर्को तर्फ उनी गैह्रराजनीतिक भएकाले चुनावको भोटको आश नभएपछि मतदाता चिढ्याउने गरी आफ्ना गतिविध अगाडी बढाएको आरोप उनकै पार्टीभित्रकाले लगाँउदै आएका छन् ।
यता अर्थमन्त्रीले आफ्ना कदमले शुरुमा गाली पाएपनि कालान्तारमा ताली पाउने भन्दै विभिन्न कार्यक्रममा भन्दै आएका थिए । तर उनी बाहिरिँदै गर्दा अर्थमन्त्रीको कार्यशैलीमा ताली लगाउनेभन्दा गाली गर्ने बढी छन् । उनको यो गाली योग्य कदम तालीयोग्य बन्ला नबन्ला भविष्यले देखाउने नै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लाभा सहकारीमा मिटरब्याजको धन्दा, ब्याज तिर्दातिर्दै थाके ऋणी
-
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा
-
बेलढुङ्गा–पञ्चकोट साइकल लेन : बजेट अभावले काम रोकियो
-
मृत अवस्थामा फेला परेकी तिनमायाको हत्या ज्वाइँले गरेको खुल्यो
-
न्युयोर्कको सबवेमा सुतिरहेकी महिलालाई आगो लगाइयो
-
व्यावसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी