गीता केसी हत्या प्रकरण : श्रीमानलाई अस्पताल जान्छु भनेर भतिजसँग घुम्न जंगलतिर !
ललितपुर । भैंसेपाटी बस्दै आएकी ३९ वर्षीया गीता केसीको हत्या अरोपमा भतिजा निर्मल केसीलाई प्रहरीले पक्राउ गरेको छ । निर्मल शनिबार बिहान भैंसेपाटीस्थित घरबाट पक्राउ परेका हुन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा गीताको घाँटी थिचेर हत्या गरिएको हो । केसीको परिवारले उनी हराएको भन्दै तीन दिनअघि महानगरीय प्रहरी परिसर, ललितपुरमा उजुरी दिएको थियो ।
केसीको शव शुक्रबार साँझ ललितपुरको गोदावरी नगरपालिका–१० मुलडोलस्थित सामुदायिक वनमा हत्या गरेको अवस्थामा सडकबाट दुई सय मिटरभित्र लेलेको जंगलमा फेला परेको थियो ।
हत्या आरोपी केसीविरुद्ध ज्यान सम्बन्धी कसुरमा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तीन वर्षदेखि अफेयरमा
निर्मल र गीता विगत ३ वर्षदेखि अफेयरमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्या आरोपी निर्मलले गीतासँग अफेयरमा रहेको स्वीकारेको प्रहरीले जनाएको छ ।
शव फेला परेलगत्तै प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धान सुई निर्मलतिर सोझिएपछि प्रहरीले भैंसेपाटीस्थित घरबाट निर्मललाई पक्राउ गरेको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेक प्रसाद राईले जानकारी दिए ।
मृतकको श्रीमान घरमा नभएको बेला निर्मल जाने आउने समेत गरेको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए । ‘सहयोग गर्ने बहानामा मृतक केसी र निर्मलबीच नजिकको सम्बन्ध रहेको खुलेको छ,’ ती अधिकृतले रातोपाटीसँग भने ।
अल्का अस्पतालको कर्मचारी
मृतक गीता केसी पुल्चोकस्थित अल्का अस्पतालको कर्मचारी रहेको खुलेको छ । अस्पतालमा ‘हाउस किपिङ’ को रुपमा कार्यरत थिइन् मृतक केसी ।
निर्मलले नै मृतक केसीलाई अस्पताल लगिदिने र ल्याइदिने गर्थे । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार सोही दिनपछि मृतक केसीले श्रीमानलाई ढाँटेर अस्पताल जानुपर्ने भयो भन्दै घरबाट निस्केकी थिइन् ।
निर्मलले अस्पताल नगई घुम्न जाउँ भनेपछि उनीहरु लेलेको जंगल गएको प्रहरी अनुसन्धानबाट खुलेको छ । जंगल पुगेपछि केही समय उनीहरु एकान्तमा गएर बसेको खुलेको छ ।
‘त्यहिँ उनीहरुबीच झगडा हुन्छ,’ अनुसन्धानमा खटिएका प्रहरी भन्छन्, ‘सामान्य झगडाले हत्याको रुप लिएको देखिन्छ ।’ यद्यपी झगडाको कारण आर्थिक लेनदेन हुनसक्ने आशंका गरिएको छ ।
घाँटी थिचेर गीताको हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । मृतक केसीको शरीरमा केही चोटपटक समेत देखिएको छैन । यद्यपी पोष्टमार्टम रिपोर्टपछि मात्रै हत्याको कारण भन्न सकिने एसएसपी राई बताउँछन् ।
आर्थिक लेनदेन हुनसक्ने
मृतक केसीको श्रीमानले रक्सी खाएर सधैं गीतासँग झगडा गर्ने गरेको प्रहरीले बताएका छन् । सो कुरा निर्मलले राम्रोसँग नियालिरहेका हुन्थे ।
श्रीमानबाट अपहेलित भएपछि गीतालाई निर्मलले हरेक कुरामा सहयोग गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । मृतक केसीले निर्मललाई पैसा पनि राख्न दिएकी थिइन् ।
‘राख्न दिएको पैसा मागेपछि हत्या गरेको हुनसक्छ,’ अनुसन्धानमा खटिएका प्रहरी भन्छन्, ‘आर्थिक मामिलाको विषयलाई लिएर नै केसीको हत्या भएको हो । आरोपीले समेत घटना स्वीकारेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनमत नेतृत्वको मधेस सरकार ढल्न लागेको हो ?
-
स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेसँग ८ करोड ८ लाख मागदाबी, अन्यको हकमा कति ? (सूचीसहित)
-
एमाले नेताहरूले भने– भीम रावललाई पार्टीबाट निष्कासन गर्नु औपचारिक र सामान्य प्रक्रिया
-
६९० जना जाहेरवालाको रकम फिर्ता गर्न माग (सूचीसहित)
-
कांग्रेस–एमाले गठबन्धनको सरकारले मुलुकलाई अप्ठ्यारो तिर धकेलिरहेको छ : सन्तोष परियार
-
स्वर्णलक्ष्मी सहकारीमा रवि लामिछानेलगायतविरुद्ध मुद्दा दायर