शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाका शीर्ष नेता भन्छन्, ‘पार्टी निष्क्रिय, अकर्मण्य, वैचारिक स्खलन र भ्रष्टीकरमा फस्यो

बुधबार, २१ साउन २०७७, १७ : ०४
बुधबार, २१ साउन २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शीर्ष नेताहरुले पार्टीभित्र जारी संघर्ष पद प्राप्तिका लागि नभई खराव प्रवृत्तिकाविरुद्ध रहेको बताएका छन् । बुधबार पार्टी निकटका सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा उनीहरुले अध्यक्ष केपी ओलीको ‘म नै पार्टी हुँ’ भन्ने शैलीले पार्टी सञ्चालन गर्दा समस्या भएको बताए । त्यस्तै उनीहरुले विभिन्न प्रतिक्रियावादी शक्तिहरुले नेकपा फुटाउन नै लागिपरेकाले जस्तोसुकै परिस्थितिको पनि सामना गर्नुपर्ने अवस्था पनि आउनसक्ने भन्दै सतर्क, सजग र तयार रहन पार्टी पंक्तिलाई आह्वान गरेका छन् । 

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले कतिपयले पाटीभित्रको विवादलाई पद प्राप्तिका लागि भनेर प्रचारबाजी गरिरहेपनि मुलत त्यो प्रवृत्तिका विरुद्ध रहेको बताए । 
उनले पदका लागि नेकपामा लडाईँ भइरहेको भनाइ र प्रचारमा कुनै सत्यता नरहेको पनि स्पस्ट पारे । ‘नेककपालाई माक्सवाद, लेनिनवादबाट निर्देशित पार्टी बनाउने वा मार्क्सवादको लेपनमात्रै लगाउने ? अथवा बुर्जुवा मान्यतालाई पक्डेर जाने हो ? मार्क्सवादलाई सैद्धान्तिक मान्यता बनाउने हो भने समाजलाई रुपान्तरण र संगठित गर्दै जानुपर्छ । सवैले सैद्धान्तिक आधार मानेर चल्नुपर्छ’, प्रचण्डले भने,‘अहिलेको मुल प्रश्न सत्ताले विवेकको नेतृत्व गर्ने कि विवेकले सत्ताको नेतृत्व गर्ने भन्ने मुख्य प्रश्न हो ।’

अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टीको नाम जस्तै चरित्र पनि त्यस्तै हुनुपर्ने भन्दै कम्युनिस्ट पार्टीको नेतृत्वमा रहेको सरकार पनि त्यसैअनुसार चल्न सक्नुपर्ने बताए । 
उनले नेकपालाई कमजोर बनाउन विभिन्नखाले शक्तिहरु लागिरहेको भन्दै त्यसका विरुद्ध एकजुट हुनुको विकल्प नभएको बताए । ‘नवउदारवादी पुजीवादलाई अंगालो हालेर समाजवादको लक्ष्य पुरा हुदैन । अहिलेको सरकार समाजवादको बाटो छोडेर पुँजीवादी अराजकतातर्फ गइरहेको छ । त्यसैले पुँजीवादको बीउ रोपेर समाजवादको फल पाउन मुस्किल छ’, सरकार र पार्टी सञ्चालनप्रति असन्तुष्टि पोख्दै प्रचण्डले भने, ‘बदला लिने उद्धेश्य,निषेध र व्यक्तिवाद पार्टीमा हावी भएको छ । यो ठिक होइन, यसले राम्रो गर्दैन ।’ 


वरिष्ठ नेता झलनाथ खनालले नेकपा आन्तरिक चुनौतिबाट गुज्रदै अन्तरपार्टी संघर्षको अवस्थामा रहेको बताए । उनले कतिपयले नेकपाभित्रको संघर्षलाई पद प्राप्तिका लागि भनेर प्रचार गर्न पार्टीकै केही नेता र व्यक्तिहरु लागि परेको बताए । ‘व्यक्तिको, पदको र जुगाँको लडाई भनेर एकथरीले प्रचार गरिरहेका छन् । कुरा त्यसो होइन, यो रुपान्तरणको लडाई हो । त्यसमा पनि केपी ओलीको रुपान्तरणका लागि गरिएको हो’, वरिष्ठ नेता खनालले भने, ‘दुई पार्टी एकता घोषणा भएको लामो समयसम्म एकीकरणको प्रक्रिया पुरा हुन नसक्नु, पार्टीकै एक अध्यक्षले पार्टीलाई भन्दा गुटलाई महत्व दिएर देशभर गुटका भेला चलाउनेजस्ता क्रियाकलाप बढेकाले त्यस्तो गुटबन्दी र प्रवृतिकाविरुद्ध बहस गर्नुपरेको छ ।’

नेता खनालले यही अवस्था रहिरहे र पार्टी नेताहरु रुपान्तरणको दिशामा अघि नबढे विष्फोटन हुने चेतावनी दिए । अर्का वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली जनताले नेकपालाई आशा र भारोसाका रुपमा लिँदै जनमत दिएपनि त्यसअनुसार सरकारले जनताको भावना अनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाए । ‘जनताले कम्युनिस्ट पार्टीलाई ठुलो आशा, भरोसा र विश्वासका साथ मुलुक सम्हाल्ने जिम्मेवारी दिएका छन । तर,त्यो आशा,भरोसा र विश्वास अनुसार न सरकार चलेको छ न पार्टी ?’ नेता नेपालको भनाइ छ । 
उनले पार्टी विधि, पद्धति र घोषणापत्र अनुसार चल्न नसकेको भन्दै पार्टी कमिटिको बैठक नै नबस्ने र नरुचाउने प्रवृत्तिले नेकपा लठिभद्र र पार्टी एकता कागजमैमात्र सीमित हुन पुगेकोमा असन्तुष्टि जनाए । ‘पार्टी एकता घोषणा भएको वर्षौँ भइसक्यो तर मुलुभूत रुपमा एकता भएपनि केन्द्रमै कतिपय विभागहरु गठन हुन सकेका छैनन्, यसले पार्टीभित्र लठिभद्र छ भन्ने पुष्टि गर्छ’नेता नेपालको भनाइ छ । 


उनले पार्टी एकतालाई सुदृढ गर्दै संगठनात्मक सिद्धान्त र सामूहिक नेतृत्व प्रणाालीमा हुने भन्ने पार्टीविधानलाई अध्यक्ष केपी ओलीले मिचेको भन्दै ओली रुपान्तरण नभए बहुमतका आधारमा अघि बढ्नुको विकल्प नभएको प्रस्ट्याए । ‘पार्टी विधानमा संगठनात्मक सिद्धान्त र सामुहिक नेर्तत्व प्रणालीमा सञ्चालन हुनेछ भन्ने छ । विधानको धारा ६० पल्टाउदा बहुमतको निर्णय पार्टीको निर्णय भनेर प्रस्ट लेखिएको छ’, नेपालले भने, ‘रुपान्तरण नभए अन्तिममा यसमा जानुको विकल्प छैन ।’
प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीमा दुई प्रकारका विवाद रहेको भन्दै त्यो यथास्थिति वा रुपान्तरण भन्ने रहेको बताए । उनले सामाजिक न्यायसहितको सम्मृद्धिको लक्ष्य हासिल गर्न सैद्धान्तिक वैचारिक पक्षलाई आत्मसाथ गर्नसक्नुपर्ने बताए । ‘तर अहिले सांगठानिक, विधि पद्दति निष्कृय, अकर्मण्य बैचारिक स्खलन र भ्रष्टीकरणतर्फ गइरहेको छ । पार्टीभित्र पनि नकारात्मक प्रचार भइरहेका छन्’, प्रवक्ता श्रेष्ठको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप