शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रञ्जनका छोरा भन्छन्, ‘मेरो बुवा निर्दोष हुन्’ (भिडियोसहित)

हामी दाजुभाइ सबैभन्दा पीडित हौँ : आयूष कोइराला
शुक्रबार, ०९ साउन २०७७, १७ : ४१
शुक्रबार, ०९ साउन २०७७

श्रीमती गीता ढकालको हत्या आरोपमा ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरी बिहीबारमात्रै पूर्व डिआइजी रञ्जन कोइराला थुनामुक्त भए । रञ्जनलाई रिसिभ गर्नका लागि रञ्जनका छोराहरु आयुष र आर्यन डिल्लीबजार कारागार गएनन् । बरु उनलाई लिन प्रेमिका तारा रेग्मी कारागार पुगिन् ।

रञ्जन भन्थे, ‘सबैभन्दा धेरै माया छोराहरुको लाग्छ ।’ त्यसो त रञ्जनका छोराहरुले पनि बुवालाई अत्याधिक माया गर्ने कुरा आएको थियो । तर बिहीबार बुवा जेलमुक्त हुँदा छोराहरु लिन नजानुले धेरैले शंकासमेत गरेका थिए ।

बुवा र छोराहरुबीचको सम्बन्ध, आगामी दिन र बुवालाई हेर्ने नजरबारे धेरैले विभिन्न टिकाटिप्पणी पनि गरेका थिए । यही सिलसिलामा रहेर रातोपाटीले रञ्जन कोइरालाका जेठा छोरा आयुष कोइरालासँग कुराकानी गरेको छ । उनीसँग गरिएको कुराकानीको मुख्य मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

‘मेरो बुवा निर्दोष हुन् ’

कुराकानीको सुरुवातमै रञ्जन कोइरालाका जेठा छोरा आयूष कोइरालाले आफ्ना बुवा निर्दोष भएको दाबी गरे । हाल बीबीएस अन्तिम वर्षमा अध्ययनरत २३ वर्षीय आयूषले ‘तत्कालीन  घटनाक्रमलाई कसरी हेर्नुहुन्छ’ भन्ने रातोपाटीको प्रश्नमा भने, ‘मेरो बुवा निर्दोष हुनुहुन्छ ।’

तर अदालतले त तपाइँको बुवालाई नै दोषी करार गरेकै हो नि भन्ने प्रश्नमा उनले अदालतले मिसिल नै नहेरेको बताए । उनले भने, ‘उक्त घटनामा मेरो बुवाको कुनै संलग्नता नै छैन । जुन दिन घटना भयो भनिएको छ, त्यस दिन म बुवासँग नै छु । त्यसकारण उक्त घटनामा बुवाको संलग्नता छ भन्नु सरासर गलत हो । उक्त घटनामा मेरो बुवा निर्दोष नै हुनुहुन्छ ।’

त्यसो भए घटनाले कसले र किन गरायो त भन्ने प्रश्नमा भने उनी मौन देखिए ।

‘हामी दाजुभाइ सबैभन्दा पीडित’

गीता ढकाल हत्याकाण्डपछि कोही सबैभन्दा पीडित भएको छ भने त्यो आफू दाजुभाइ नै भएको आयूषले बताए । उनले भने, ‘बाहिर अरुले के–के भने भन्ने कुरामा मलाई कुनै मतलब वा सरोकार छैन । तर त्यो घटनापछि सबैभन्दा पीडित कोही छ भने त्यो आमी दाजुभाइ नै हौँ । घटना हुँदा म १४ वर्ष र भाइ ११ वर्षका थियौँ । बाबा जेल जानुभएपछि हाम्रो अवस्था कस्तो रह्यो भनेर कसैले कल्पनासमेत गरेन । यो घटनामा कोही पीडित छ भने, त्यो हामी नै हौँ ।’

स्कुल कलेजमा अपमानित हुनुपर्यो

रातोपाटीसँगको कुराकानीमा क्रममा उक्त घटनापछि आफूहरु विद्यालय र कलेजमा समेत अपमानित हुनुपरेको आयूषले बताए । उनले भने, ‘जतिबेला उक्त घटना भयो, त्यतिबेला म ९ कक्षामा पढ्थे । तर घटनालगत्तै म विद्यालयमा जान पनि सकिनँ र पहिलो वर्ष परीक्षा दिन समेत सकिनँ । त्यसपछि पनि विद्यालयमा जाँदा अपमानित महसुस गर्नुपर्यो । त्योक्रम कलेज पढ्दासमेत जारी नै रह्यो ।’


अब बाबालाई छाड्दैनौँ

कुराकानीको क्रममा आयूषले अब बाबालाई छोडेर कहीँ नजाने बताए ।  उनले भने, ‘८ वर्ष हामी कुन अवस्थामा हुर्कियौँ र बस्यौँ, त्यो हामीलाई मात्रै थाहा छ । अभिभावकविहीनताको अवस्था के हो हामीले धेरै भोगेका छौँ । त्यसकारण अब हामी बाबालाई छाडेर कहीँ जाँदैनौँ ।

हत्याको फाइल 'रिओपन' गरियोस्

आयूष आमा गीता ढकालको हत्याकाण्डको फाइल रिओपन गरियोस् भन्ने चाहन्छन् । उनी भन्छन्, ‘आमाको हत्या बाबाले गरेको होइन । त्यो कुरा मैले अदालतमा गरेको बयानमा पनि उल्लेख छ । तर हाम्रो कुरा कसैले सुनेनन् । म चाहन्छु कि त्यो फाइल फेरि खोलिओस् ।’

मैले ममी र हजुरबुवाबीच लेनदेनको कागज भेटेको छु

हत्याकाण्डका सम्बन्धमा मामाघरले फैलाएको ‘हौवा’को बारेमा आयूष सन्तुष्ट छैनन् । बरु ममी (गीता ढकाल) र हजुरबुवाबीच भएको लेनदेनको कारण नै घटनालाई मामाघरले बढी उचालेको आयूषको आरोप छ । आयूषले भने, ‘घटनाको ५ वर्षपछि म आफै उक्त घरमा पुगेको थिएँ । उक्त घर खानतलासी गर्ने क्रममा मैले एउटा लेनदेनको कागज भेटेँ । ममी र हजुरबुवाबीच भएको लेनदेनको कागजमा ममीले हजुरबुवालाई १ करोड रुपैयाँ दिनुभएको कुरा उल्लेख थियो । त्यो कागज अहिले पनि मसँग नै छ ।’

ममीलाई धेरै मिस गरिरहेछौँ

कुराकानीको क्रममा आयूषले आफ्नो ममी (गीता ढकाल)लाई धेरै मिस गरिरहेको बताए । उनले भने, ‘हामीले अहिले पनि ममीलाई धेरै मिस गरिरहेका छौँ । तर सकिएको कुरामा चिन्ता गरेर हुँदैन ।’

अब ममी (तारा रेग्मी) सँगै बस्छौँ

अब को को कसरी बस्नुहुन्छ त भन्ने रातोपाटीको प्रश्नमा आयूषले अब आफूहरु ममी –तारा रेग्मीसहित बुवा, भाइ र हजुरआमा अर्थात् ५ जनाको परिवार सँगै बस्ने बताए । उनले भने, ‘नाउ वी आर ह्याप्पी फेमिली ।’

रातोपाटीसँगको कुराकानीको पूरा अंश यहाँ हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप