बुढानीलकण्ठ दुर्घटना : के आरोपीलाई सर्वोच्चले सफाइ नै दिएको हो ?
यस साता सर्वोच्च अदालतका चर्चित दुई फैसला र आदेशले न्याय क्षेत्र र सामाजिक सञ्जाल तातिएको छ । पहिलो, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलाशले गरेका सजाय घटाउने फैसला र दोस्रो बुढानिलकण्ठ दुर्घटना प्रकरण ।
अब पहिलो प्रकरणतिर जाउँ ।
आफ्नी श्रीमतीको हत्या गरी प्रमाणसमेत लुकाउने प्रयास गरेको अभियोगमा जन्मकैद (२० वर्ष) कैद सजाय सुनाइएका सशस्त्र प्रहरीका तत्कालीन डीआइजी रञ्जनप्रसाद कोइरालाको कैद सजाय घटाएर ८ वर्ष ६ महिना कायम गरिनु ।
सर्वोच्च अदालतले रञ्जनलाई दिइएको सजाय चर्को पर्न जाने भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा आफै र तेजबहादुर केसी सम्मिलित संयुक्त इजलाशले सजाय घटाउदा पनि सजायको मकसद पूरा हुने भन्दै कोइरालालाई ८ वर्ष ६ महिना कैद सजाय गरे पुग्ने फैसला गरे । असार १५ गते भएको सोही फैसला बमोजिम कोइराला साउन ८ गते बिहीबार थुनामुक्त भइसकेका छन् ।
तर सर्वोच्च अदालतले गरेको संशोधित फैसला आम जनस्तर र सरकार आफैलाई पनि चित्त बुझेन । त्यसैकारण बिहीबार मात्रै सरकारले फैसला पुनरावलोकनका लागि निवेदन दिइसकेको छ भने सामाजिक सञ्जालमा पनि प्रधानन्यायाधीश र सर्वोच्च अदालतबारे टिप्पणी भएको छ ।
अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले अदालतमा न्याय किनबेच भएको र धनीले मात्रै न्याय पाउने अभिव्यक्त प्रकट भइरहेका छे । केहीले सजायको मकसद पूरा भएपनि न्यायको मकसद पूरा नभएको टिप्पणी गरेका छन् ।
अब दोस्रो प्रकरणतिर जाऔँ ।
असारको ३१ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्माको संयुक्त इजलाशले बुढानिलकण्ठ दुर्घटनाका आरोपी पृथ्वी मल्ललाई ५ लाख धरौटीमा रिहा गर्ने आदेश जारी गर्यो ।
मल्ल दमको रोगी रहेको र थुनामै राख्दा कोरोना संक्रमणको जोखिम पनि बढी नै रहेको भन्दै हाजिरीमा आउने गरी ५ लाख धरौटी लिएर थुनामुक्त गर्ने र मुद्दाको पुर्पक्ष गर्ने आदेश जारी भयो ।
जिल्ला अदालतले पुर्पक्षका लागि थुनामै पठाउने आदेश दिएपछि मल्ल थुना बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्न पाउँ भन्दै उच्च अदालत पाटन पुगेका थिए । तर उच्च अदालत पाटनले पनि मल्ललाई जिल्लाको आदेश सदर गर्दै पुर्पक्षका लागि थुनामै पठाउने आदेश दियो । त्यसपछि मल्ल २०७७ सा असारको २ गते थानाबाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्न पाउँ भन्दै सर्वोच्च अदालतमा निवेदन दिन पुगेका थिए ।
सर्वोच्च अदालतमा मल्लले पेश गरेको कागजातमा चिरायु अस्पतालको बिरामीको कागजात र लगनखेलस्थित मानसिक अस्पतालको कागजात पनि पेश गरिएको थियो ।
चिरायु अस्पतालबाट जारी कागजातमा मल्ल दमको रोगी भएको उल्लेख गरिएको थियो भने मानसिक अस्पतालबाट जारी भएको कागजातमा मल्ल सेभियर डिप्रेसनको रोगी रहेको मेडिकल रिपोर्ट संलग्न गरिएको थियो ।
त्यसबाहेक मल्ल ७ महिना थुनामै रही अनुसन्धानलाई सहयोग गरेको, निज भागेर जाने वा प्रमाण लुप्त हुने अवस्था पनि नदेखिएको तथा थुनामै राख्दा दमका रोगीलाई कोरोनाको संक्रमणको जोखिम उच्च रहेको भन्दै ५ लाख धरौटी लिएर थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो ।
सपना प्रधान मल्ल सम्मिलित इजलाशले अर्का मल्ल थरका अभियुक्तलाई धरौटीमा छाडेको भन्दै न्यायाधीश सपना प्रधान मल्ल र सर्वोच्च अदालतप्रति आम नागरिक खनिएका छन् ।
अब घटनाको चिरफार गरौं ।
काठमाडौंको गोठाटार स्थायी घर भएका २१ वर्षीय पृथ्वी मल्ल अध्ययनका लागि अमेरिका गएका थिए । तर केही समयको विदामा मल्ल २०७६ साल मंसिरको २३ गते नेपाल फर्किएका थिए । नेपाल फर्किएको चौथो दिन अर्थात् मंसिर २७ गते मल्ल घुमघाममा निस्किए । साथी करिश मास्केलाई साथमा लिएर मल्ल बा १४ च ६१२३ नम्बरको कार चलाएर घुम्न निस्किए । सुरुमा मल्ल र मास्के नक्साल नारायणचौरमा रहेको जिम हलमा पुगे । त्यहाँ केही समय जिम गरे । अनि साँझ ७ः३० बजेतिर बालुवाटारमा रहेको पाउलिन गार्डेन रेष्टुरेन्टमा गएर खाना खाए ।
साँझ ९ बजेतिर मल्ल र मास्के ठमेलमा रहेको केसिज रेष्टुरेन्टमा साथीहरु भेट्न पुगे । त्यहाँ उनीहरुले केही मदिरा पनि सेवन गरे । त्यसपछि उनीहरु रातको १ः३० बजेको समयमा ठमेलस्थित नाइट क्लब एलओडी पुगे । एलओडीमा मदिरा पिउँदै बसेका उनीहरु बिहान ४ बजे ठमेलमै रहेको सेनेट क्लबमा गए र त्यहाँ केटी साथीहरु परमिता राणा र मनिषा महर्जनलाई लिएर बुढानीलकण्ठस्थित रिसोर्टतिर लागे ।
मदिराले लठ्ठ भएकै अवस्थामा मल्ल आँफैले कार चलाएर अन्य ३ साथीसहित बुढानीलकण्ठस्थित ग्रिनभ्याली रिसोर्टमा पुगे । त्यहाँ पुगेर पनि उनीहरुले निरन्तर मदिरा सेवन गरे । बिहान केही नास्ता गरेपछि उनीहरु घरतर्फ फर्किए । तर मदिराले लठ्ठ बनेका मल्लले आफ्नो कारलाई नियन्त्रणमा राख्न सकेनन् र बुढानीलकण्ठमा विपरीत दिशाको फुटपाथमा हिँडिरहेकी लिला देवकोटालाई ठक्कर दियो । घटनामा गम्भीर घाइते बनेकी लिलाका उपचारकै क्रममा मृत्यु भयो ।
यता दुर्घटनाको साक्षी रहेकी परमिता राणा र उनकी साथी मनिषा महर्जन त्यहाँबाट भागे । पृथ्वी मल्ल र उनका साथी करिश मास्के त्यहीँ बसे । प्रहरी आएपछि उनीहरुलाई पक्राउ गरियो ।
मल्लसँग नेपाली लाइसेन्ससमेत थिएन । आफूसँग अमेरिकाकै अन्तर्राष्ट्रिय ड्राइभिङ लाइसेन्स भएको कारण कार चलाएको बयान मल्लले दिए । लाइसेन्स नभएको व्यक्तिलाई कार चलाउन दिने व्यक्तिलाई भने प्रतिवादी बनाइएन । यदि कार धनीलाई पनि प्रतिवादी बनाइएको भए उनलाई पनि २ वर्षसम्म कैद सजाय हुन सक्दथ्यो ।
सरकारवादी उक्त मुद्दामा १० वर्ष कैद सजायको मागदाबी गरिएको थियो । यतिबेला जिल्ला अदालत काठमाडौंमा मुद्दाको पुर्पक्ष भइरहेको छ र बुझ्ने काम भइरहेको छ ।
के छ दोषीलाई कारवाही गर्ने कानुनी व्यवस्था ?
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को संशोधन २०७५ को दफा १६१ मा ज्यान मरेमा हुने सजायबो उल्लेख गरेको छ ।
दफा १६१ मा यस्तो कुरा लेखिएको छ :
१६१. ज्यान मरेमा हुने सजायः
(१) कसैले सवारी चलाई कुनै मानिसलाई किची, ठक्कर दिई वा कुनै किसिमले सवारी दुर्घटना गराई सवारीमा रहेको सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणाम स्वरुप एक्काइस दिनभित्र मरेमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको भए त्यसरी सवारी चलाउने व्यक्तिलाई जन्मकैद हुनेछ । कसैले ज्यान मार्ने मनसाय लिई त्यस्तो कार्य गरेकोमा ज्यान मर्न पाएको रहेनछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई कसुरको मात्रा अनुसार पाँच वर्षदेखि बाह्र वर्षसम्म कैद हुनेछ ।
(२) कसैको ज्यान मर्न सक्छ भन्ने अवस्था देखिँदा देखिँदै पनि अपनाउनु पर्ने सतर्कता नअपनाई कसैले लापरबाही गरी कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागि वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणाम स्वरुप एक्काईस दिनभित्र मरेमा त्यसरी सवारी चलाउने व्यक्तिलाई कसूरको मात्रा अनुसार तीन वर्षदेखि दश वर्षसम्म कैद र तीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुनेछ ।
(३) कसैको ज्यान मर्न सक्छ भन्ने जस्तो नदेखिएको अवस्थामा कसैले कुनै सवारी चलाउँदा सवारी दुर्घटना हुन गई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिसको मृत्यु हुन गएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दुईहजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ ।
(४) चालक अनुमतिपत्र नभएका व्यक्तिले सवारी चलाई उपदफा (१) वा (२) बमोजिमको कसुर गरेमा निजलाई सोही उपदफा बमोजिम हुने सजायमा थप दुई हजार रुपैयाँ समेत जरिवाना हुनेछ ।
तर जन्मकैद हुनेमा त्यस्तो थप जरिवाना हुने छैन ।
(५) कुनै सवारीको धनी वा सवारीको जिम्मा लिएको व्यक्तिले चालक अनुमतिपत्र नभएको व्यक्तिलाई सवारी चलाउन दिई कुनै मानिसलाई किची, ठक्कर लागि वा दुर्घटना भई सो मानिस मर्न गएमा त्यस्तो सवारी चलाउन दिने व्यक्तिलाई दुई वर्षसम्म कैद हुनेछ ।
अब बुढानीलकण्ठ दुर्घटनालाई हेर्ने हो भने यहाँ मान्छे मार्ने नियतका साथ सवारीसाधन चलाएको नभइ लापरवाहीपूर्वक सवारी चलाएको चाहिँ प्रष्ट नै बुझिन्छ । यसरी हेर्दा बुढानीलकण्ठ दुर्घटनाका पीडक वा अभियुक्त पृथ्वी मल्ललाई ३ देखि १० वर्षसम्म कैद र ३० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने बुझिन्छ ।
तर मल्लसँग नेपाली सवारी चालक अनुमतिपत्र नभएको कारण निजलाई थप २ हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको छ । सरकारी वकिलले यही दफा प्रयोग गरेर मल्ललाई १० वर्ष कैद सजायको मागदाबी गर्दै जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो ।
अब फेरि धरौटीमा छाड्न सक्ने कानुनी व्यवस्था हेरौँ ।
मुलुकी फौजदारी कार्याविधि संहिता, २०७४ को दफा ६७ मा अभियुक्तलाई थुनामा राख्ने वा धरौटीमा छाड्ने बारे उल्लेख गरिएको छ ।
संहिताको दफा ६७ को उपदफा ३ मा यस्तो लेखिएको छ ।
(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि दश वर्षभन्दा बढी कैद सजाय हुन सक्ने कसूरमा बाहेक अभियुक्त बालबालिका वा शारीरिक वा मानसिक रोग लागी अशक्त भएको वा सात महिनाभन्दा बढीकी गर्भवती महिला वा पचहत्तर वर्ष माथिको वृद्ध भएमा त्यस्तो अभियुक्तलाई अदालतले धरौटी वा जमानत लिई तारिखमा छोड्न सक्नेछ ।
सर्वोच्च अदालतले यही उपदफामा टेकी अभयुक्तसँग ५ लाख धरौटी माग गरी तारेखमा छाडेको थियो । किनभने अभियुक्तले आफू मानसिक रोगी (सिभियर डिप्रेसनमा पुगेको) मेडिकल रिपोर्ट अदालतमा पेश गरेका थिए । त्यही कागजातको आधारमा सर्वोच्च अदालतले बुढानीलकण्ठ दुर्घटनाका अभियुक्त पृथ्वी मल्ललाई धरौटीमा हाजिरी वा तारेख धान्ने गरी थुनामुक्त गरेको हो । अर्थात् थुनाभन्दा बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्ने भनेको हो ।
बुढानीलकण्ठ दुर्घटना : हिट एण्ड रन कि हिट मात्रै ?
अहिले धेरैले बुढानीलकण्ठ दुर्घटनालाई हिट एण्ड रन भनेर व्याख्या गरेका छन् । यद्यपि बुढानीलकण्ठ दुर्घटना हिट एण्ड रन नभएर ‘हिट’ मात्रै हो । किनभने अभियुक्त आफैले घाइतेलाई घटनास्थलबाट उठाएर अस्पतालसम्म पुराउन मद्दत गरेका छन् । अनि, उनी दुर्घटनास्थलबाट भागेका छैनन् र उनले लापरवाहीपूर्वक सवारीसाधन चलाएको स्वीकार पनि गरेका छन् ।
सर्वोच्चले दिएको आदेश कि फैसला ?
बुढानीलकण्ठ दुर्घटनाका सम्बन्धमा सर्वोच्च अदालतले दिएको फैसला नभएर आदेश मात्रै हो । आरोपीले थुनाभन्दा बाहिरै रहेर मुद्दाको पुर्पक्ष गरिपाउँ भनेर निवेदन दिएको हो र सर्वोच्चले पनि भागेर अन्त जाने सम्भावना नभएको, मानसिक रोग (डिप्रेसन) देखिएको र पर्याप्त क्षतिपूर्ति पनि तिरिसकेकाले मल्ललाई थुनाभन्दा बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्न पाउने व्यवस्था गरेको हो ।
यसको अर्थ अभियुक्तले जम्मा ७ महिना जेल सजाय काटेर सजायबाट उन्मुक्ति पाएको भन्ने होइन । अहिले थुनछेक बहस मात्रै भएको हो र अभियुक्तले अब जेलभन्दा बाहिर बाटै मुद्दा लड्न पाउने व्यवस्था गरेको हो । तर फैसला गर्ने काम तत्कालका लागि सर्वोच्च अदालतको अधिकारक्षेत्र होइन । किनभने यो मुद्दा जिल्ला अदालतमा चलिरहेको छ र फैसला पनि जिल्ला अदालतबाटै हुनेछ । तर सामाजिक सञ्जाल र आम जनमानसमा अभियुक्तलाई सजाय नदिई ७ महिनामै उन्मुक्ति दिइएको बुझाइ पुगेको छ, जसमा कुनै सत्यता छैन ।
सर्वोच्चको आदेशले फैसलामा असर गर्ला ?
लापरवाहीपूर्वक सवारीसाधन चलाएर ज्यान लिएको घटनाका आरोपी सवारीचालक पृथ्वी मल्ललाई सर्वोच्च अदालतले थुनाभन्दा बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्ने व्यवस्था मिलाएपनि फैसला गर्ने काम भने जिल्ला अदालतकै अधिकारक्षेत्रमा पर्छ । दोषी करार गर्ने कि नगर्ने, कति समय जेल सजाय तोक्ने र कति जरिवाना तोक्ने भन्ने विषय जिल्ला अदालतकै फैसला कुर्नुपर्ने हुन्छ ।
त्यसकारण थुनछेक बहसमा थुनामै राख्ने वा धरौटीमा छाड्ने भन्ने सर्वोच्चको आदेशले जिल्लामा हुने फैसलामा कुनै सरोकार राख्दैन र असर पनि गर्दैन । त्यसकारण जिल्ला अदालतले नै यसबारेमा पछि फैसला गरेबमोजिम हुनेछ । मल्ल कति समय जेल बस्नुपर्ने हो, त्यो जिल्ला अदालतले फैसला गरेबमोजिम नै हुनेछ र हाल जेल बसेको अवधि घटाएर बाँकी समय जेलमै बिताउनु पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा
-
गढीमाई मेलामा दिइने पशुबली निरुत्साहन गर्न ध्यानाकर्षण
-
रक्षामन्त्रीसँग भारतीय स्थल सेना अध्यक्षको शिष्टाचार भेटघाट
-
नेपाल कबड्डी लिगको लोगो सार्वजनिक
-
कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी
-
स्वास्थ्य क्षेत्रको अनुसन्धानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै