रञ्जन कोइरालाको सजाय कटौती : आफ्नै आमाको हत्यारालाई अभिभावक मान्नुपर्नेे ?
आफ्नै श्रीमतीको हत्या गरी सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका रञ्जनप्रसाद कोइराला यतिबेला डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका छन् । ‘श्रीमती गीता ढकाल कोइरालाको हत्यामा संलग्न रही प्रमाणसमेत नष्ट गर्न लागेको’ भन्ने अभियोगमा जिल्ला अदालत काठमाडौँले रञ्जनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।
जिल्ला अदालत काठमाडौँले २०७१ वैशाख ७ गते ‘रञ्जन कोइरालाले नै श्रीमती गीता ढकालको हत्या गरेको’ ठहर गर्दै उनलाई जन्मकैद (२० वर्ष) र उनको नाममा रहेको र भागमा पर्ने सम्पत्ति पनि जफत हुने फैसला सुनाएको थियो । तर, जिल्ला अदालत काठमाडौँको फैसलामा रञ्जन सन्तुष्ट भएनन् र उनले तत्कालीन पुनरावेदन अदालत पाटनमा मुद्दाको पुनरावेदन गरे । पुनरावेदन अदालत पाटनले पनि २०७२ मंसिर २३ गते काठमाडौं जिल्ला अदालतकै फैसला सदर गरिदियो ।
पुनरावेदन अदालतले पनि ‘न्याय’ नदिएपछि कोइराला सर्वोच्च अदालत गुहार्न पुगे । उनको पहिलो जिकिर ‘आफू निर्दोष रहेको’ भन्ने थियो भने दोस्रो जिकिर ‘आफूलाई दिइएको सजाय अत्यधिक रहेको’ भन्ने थियो ।
त्यसपछि सुरु भयो सर्वोच्च अदालतमा पेशी तारेख र बहसको शृङ्खला । विभिन्न मितिमा विभिन्न न्यायाधीशले हेर्दै अगाडि बढेको रञ्जन कोइरालाको पुनरावेदन रिटमा सर्वोच्च अदालतले अन्तिम फैसला ग¥यो– गएको असार १५ गते । सर्वोच्च अदालतको कजलिष्टमा सदर अर्थात् जिल्ला र उच्च अदालतको फैसला नै सदर गरेको देखिएपनि फैसलाको भित्री पाटोमा भने व्यापक परिवर्तन गरियो ।
असार १५ गते दैनिक सूचीमा समावेश गर्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफू र अर्का न्यायाधीश तेजशादुर केसीको संयुक्त इजलाशमा उक्त मुद्दाको पेशी तोके । अनि भएको फैसलामा पहिलेकै फैसलालाई ‘सदर’ त गरियो तर ‘अपराधी करार’ गरिएका व्यक्ति रञ्जनप्रसाद कोइरालाको कैद सजायमा व्यापक कटौती गर्दै न्यायाधीशको तजबिजी अधिकार प्रयोग गरेर ‘उपहार’ दिए ।
के थियो रञ्जनको अपराध ?
तत्कालीन समयमा सशस्त्र प्रहरी बलको डिआइजी अर्थात् उच्चपदस्थ अधिकारी रहेका रञ्जनप्रसाद कोइरालाले ‘आफ्नै श्रीमती गीता ढकालको हत्या गरी प्रमाणसमेत नष्ट गर्ने कोशिश गरेको’ आरोप लागेको थियो ।
नेपाल सरकारको उच्चपदस्थ अधिकारी कोइरालालाई सरकारले नेशन डिफेन्स कोर्स अध्ययनका लागि २०६८ साल भदौ महिनामा चीनमा पठाएको थियो । तर उनी चीनमै रहेको समयमा नेपाल सरकार र आफ्नो संगठन (सशस्त्र प्रहरी)लाई समेत कुनै जानकारी नदिइ २०६८ पुषको २१ गते नेपाल आउँछन् ।
नेपाल आएको पहिलो दिन कोइराला प्रेमिका तारा रेग्मीको फ्ल्याटमा गएर बस्छन् । ३ दिन रञ्जन र तारासँगै हुन्छन् । पुष २६ गते रञ्जनकी प्रेमिका तारा मलेसिया जान्छिन् । यता, पुषको २७ गते रञ्जन श्रीमती गीता ढकाल बस्ने गरेको बुढानिलकण्ठमा रहेको घरमा पुग्छन् ।
२०५० सालमा रञ्जन र गीताको मागी विवाह भएको थियो । विवाहपश्चात गीता र रञ्जनको दुई सन्तान पनि जन्मिएका थिए । तर पछि रञ्जन र गीताको सम्बन्धमा खटपट आएको थियो । खटपटपछि रञ्जन जेठा छोरा आयुषलाई लिएर नागार्जुन नगरपालिकामा रहेको घरमा बस्थे भने गीता बुढानिलकण्ठस्थित आफ्नै नाममा रहेको घरमा कान्छो छोरा आर्यनसँग बस्ने गरेकी थिइन् ।
रञ्जन चीनबाट फर्केपछि कान्छो छोरासँग कुराकानी भएपछि रञ्जनले २०६८ साल पुषको २७ गते कान्छो छोरा आर्यनलाई लिनका लागि बुढानिलकण्ठस्थित गीता बस्ने गरेको घरमा जान्छन् ।
गीता बस्ने गरेको घरमा रञ्जन आफ्ना ड्राइभर र जेठो छोरा आयुषसँगै गएको देखिन्छ । त्यसपछि आफूले चीनबाट ल्याइदिएको कपडा कान्छो छोरा आर्यनलाई दिइ केही समय बसी कान्छो छोरालाई लिएर फर्किएको देखिन्छ । त्यसपछि दुबै छोराहरुलाई टेनिस खेल्नका लागि हल्चोकमा छाडेर रञ्जन बाहिर निस्किन्छन् ।
रञ्जनको बयानलाई आधार मान्ने हो भने त्यही दिन दिउँसो गीताले रञ्जनलाई फोन गरी केही काम छ भनी बोलाइपछि गीता बस्ने गरेको घरमा गएको देखिन्छ । त्यहाँ गीताले ‘व्यापारका लागि भन्दै ५ लाख रकम मागेको र आफूले छैन भन्दा हात हालाहालको अवस्था आएको’ रञ्जनको दाबी छ । त्यही हात हालाहालाको अवस्थामा आफूले धकेल्दा गीताको टाउको भित्तामा ठोक्किएको थियो । त्यसपछि ‘उनी बेहोस भएको र करिब १० मिनेटसम्म पनि नउठेपछि हेर्दा गीताको मृत्यु भएको’ रञ्जनले अधिकारप्राप्त अधिकारीसमक्ष (सरकारी वकिल) समक्ष गरेको बयानमा उल्लेख छ ।
‘गीताको मृत्यु भएपछि आफू आत्तिएको र गीताको शवलाई नष्ट गराउने र प्रमाण नष्ट गराउने क्रममा मकवानपुरको टिष्टुङमा लागि शव नष्ट गर्ने प्रयास गरेको’ उनले बताएका छन् । सरकारी वकिलसमक्ष रञ्जनले गरेको बयानमा ‘गीताको योजनावद्ध हत्या नभई भवितव्य मृत्यु वा आवेशप्रेरित मृत्यु भएको’ बयान दिएका थिए ।
तर, गीताको हत्या ‘योजनाबद्ध’ नै थियो
रञ्जनले गीताको हत्या योजनावद्ध हत्या नभएर भवितव्य मृत्यु भएको भन्दै अधिकारप्राप्त अधिकारीसमक्ष बयान गरेको भएपनि गीताको हत्यामा रञ्जनको संलग्नता हेर्ने हो भने उक्त हत्या भवितव्य वा आवेशप्रेरित नभएर ‘योजनावद्ध हत्या (प्लान्ड मर्डर)’ नै भएको तथ्य प्रमाणहरु केलाउँदा देखिन आउँछ ।
किनभने रञ्जनले पुष २७ गते बिहानै डिजेल र पेट्रोल किन्नका लागि दुईवटा ग्यालिन खरिद गरेका छन् । उक्त ग्यालिनमा रञ्जनका बडिगार्ड तथा ड्राइभरले पेट्रोल र डिजल खरिद गरेका थिए ।
त्यसैगरी पुष २७ गते कान्छो छोरालाई गीता बस्ने घरबाट आफू बस्ने घरमा ल्याउनु पर्ने कारणले पनि रञ्जनले गीताको हत्याको योजना बनाएका थिए भन्ने बुझिन्छ ।
त्यसो त रञ्जनकी प्रेमिका तारा रेग्मीले पनि अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानमा ‘रञ्जनले आफूसँग भएको कुराकानीका क्रममा गीता ढकालको हत्या गरेको अपराध स्वीकार गरेको’ बताएकी छिन् । त्यति मात्रै होइन, रञ्जनले घटना हुनुभन्दा धेरै पहिले नै गीतासँग सम्बन्धबिच्छेदका लागि जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिसकेका थिए भने उनी तारा रेग्मीसँगै बस्न थालेका थिए ।
तर गीताले सम्बन्धबिच्छेद गर्न नमानी मानाचामलको मुद्दा दायर गरेकी थिइन् । यी विविध कारणहरुबाट पनि रञ्जन गीतालाई आफ्नो बाटोबाट हटाउन चाहन्थे भन्ने शंका गर्ने आधारहरु देखिन्छ । त्यसबाहेक गीताको माइतीले दिएको जग्गामा बनेको गीता बस्ने घर पनि हत्याउन चाहन्थे ।
रञ्जनले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानमा कसुर स्वीकार गरेको भएपनि अदालतमा गरेको बयानमा भने अपराध स्वीकार गरेनन् । यद्यपि जिल्ला अदालत काठमाडौँले प्राप्त प्रमाणका आधारमा कोइरालाले अपराध गरेको भन्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनायो । जिल्लाको फैसलाविरुद्ध पुनरावेदन गरेका रञ्जनलाई पुनरावेदन अदालत पाटनले पनि जिल्ला अदालतकै फैसला सदर गर्दै सजाय सुनायो ।
तर त्यसविरुद्ध रञ्जन सर्वोच्च अदालत पुगे । अदालतमा लामो समयदेखि पेशीमा चढ्दै आएको रञ्जनको मुद्दामा अन्ततः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र तेज बहादुर केसीको संयुक्त इजलाशबाट रञ्जनलाई ‘सजाय कटौतीको राहत’ मिल्यो ।
गएको असार १५ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र अर्का न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलाशबाट डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका पूर्व डिआइजी रञ्जन कोइरालाको सजायमा व्यापक कटौती गरिदिए ।
सजाय चर्को पर्न गएको जस्तो लागेमा न्यायाधीशले सजायमा कमी गर्न सक्ने कानूनी प्रावधान रहेको छ । फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यन्वयन) ऐन, २०७४ को दफा १७ क मा कम सजाय तोक्ने र राय पेश गर्नेबारे उल्लेख गरिएको छ ।
ऐनको दफा १७ क मा यस्तो लेखिएको छ :
१७ (क). कम सजाय तोक्ने र राय पेश गर्ने : (१) प्रचलित कानुन बमोजिम जन्मकैद गर्नु पर्ने मुद्दाको अभियुक्तले कसूर गरेको कुरामा अदालतमा साबित भएको र मिसिल संलग्न प्रमाणबाट त्यस्तो साबिती साँचो देखिएमा निजलाई जन्मकैदको सजाय दिंदा त्यस्तो कसूर गर्दाको परिस्थितिलाई विचार गर्दा न्यायको रोहमा बढी पर्ने भई न्यायाधीशले घटी सजाय गर्न उपयुक्त देखेमा सोको कारण खुलाई राय सहितको फैसला गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको कसूरदारलाई हुनु पर्ने सजायको प्रस्तावसहित पैँतीस दिनभित्र मिसील सहित पुनरावेदन सुन्ने अदालतमा राय पेश गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम राय पेश भएको विषयमा पुनरावेदन सुन्ने अदालतले पनि घटी सजाय गर्ने ठहर गरेकोमा सर्वोच्च अदालतमा राय पेश गर्नु पर्नेछ ।
तर कानुनको यो प्रावधान जिल्ला र उच्च अदालतमा मात्रै हो कि सर्वोच्च अदालतमा पनि हो भन्ने उल्लेख गरिएको छैन । तर सर्वोच्च अदालतमा संयुक्त इजलाश (२ जनाको) बाटै राय पेश नगरी सजाय कम गरिएको छ ।
अर्को कुरा सर्वोच्च अदालतबाटै सजाय कम गर्नु पर्ने अवस्थामा पूर्ण इजलाश वा बृहत पूर्ण इजलाशमा पनि राय पेश गर्न सकिने अवस्था रहन्छ ।
सजाय कम गर्नका लागि एउटा न्युनतम शर्त भनेको कसूरदारले अदालतमा आफ्नो अपराध कबुल गरेको हुनुपर्ने कुरा पनि उल्लेख गरेको छ । तर रञ्जनले अदालतको बयानमा कहिले पनि आफ्नो अपराध कबुल गरेका छैनन् ।
तैपनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई लाग्यो कि कोइरालालाई दिइएको सजाय बढी भयो । त्यसले रञ्जनको परिवारकै विचल्ली हुने ‘चित्तमा लागे’पछि उनले सजायमा व्यापक कटौती गरी ८ वर्ष ६ महिना कायम गरिदिए ।
रञ्जन कोइराला २०६८ माघ ८ गते पक्राउ परेकाले हुन आउने ८ वर्ष ६ महिना समय आगामी साउन ७ गते सकिँदैछ । यसको अर्थ उनी अब जेलमुक्त हुनेछन् ।
सर्वोच्च अदालतको २०७७ असार १५ गते बसेको संयुक्त इजलाशले रञ्जनको सजाय कटौती गर्दा फैसला खण्डको ८२ नम्बर बुँदामा यस्तो लेखिएको छ ।
‘पुनरावेदक प्रतिवादी रञ्जनप्रसाद कोइरालालाई जन्मकैदको सजाय गर्दा चर्को पर्न जाने हो कि भन्ने सम्बन्धमा विचार गर्दा मृतक गीता ढकाल (कोइराला) र पुनरावेदक प्रतिवादी रञ्जनप्रसाद कोइरालाबीच २०५० सालमा विवाह भै निजहरुबाट १४ वर्षका आयूष कोइराला र ११ वर्षका आर्यन कोइराला गरी दुई छोराहरुको जायजन्म भएपश्चात् निज छोराहरुको आमा गीता ढकाल (कोइराला) को मिति २०६८ पुष २७ मा पुनरावेदक प्रतिवादीको कर्तव्यबाट मृत्यु भएको देखियो । मिसिल संलग्न प्रमाण कागजहरुबाट मृतक र पुनरावेदक प्रतिवादीबाट दुई छोराहरुको जायजन्म भएपछि निजहरु बीचको दाम्पत्य जीवन सुमधुर हुन नसकी दुबै जना एक अर्काबाट लामो समयदेखि अलग अलग घरमा बस्दै आएको अवस्थामा मिति २०६८।९।२७ गतेका दिन मृतक बस्ने घरमा प्रतिवादी रञ्जनप्रसाद कोइराला जाँदा मृतक श्रीमती गीता ढकालले व्यापारको लागि पैसा मागेको कारणबाट उठेको विवादमा दुवै जना बीच झै–झगडा वादविवाद हुँदा सो अवस्थामा रीस उठी आवेगमा आई पुनरावेदक प्रतिवादी रञ्जनप्रसाद कोइरालाले गीता ढकाल कोइरालालाई धकेल्दा टाउको भित्तामा ठोकिई मृत्यु भएको, वारदात हुँदाको पृष्ठभूमिसहितको अवस्था र परिस्थितिलाई हेर्दा वारदात मृतककै कारण र जरियाबाट प्रतिवादी आवेशमा आइ उठेको रीसबाट भएको भन्नेसम्मको अवस्था देखिनुको साथै निजको मृत्युपश्चात नाबालक छोराहरुको हेरचाह, संरक्षण शिक्षा, दीक्षा लगायतका कार्यहरु अभिभावकविहीनताको कारणले अनिश्चय र अन्योलता हुन गई उनीहरुको हितमा समेत दुरगामी प्रभाव पर्न जाने कारणले उपरोक्त सजाय गर्दा चर्को पर्न जाने जस्तो चित्तमा लागेको हुँदा पुनरावेदक प्रतिवादीलाई साविक मुलुकी ऐन, अ.बं. १८८ नं. तथा हाल प्रचलित फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७ (क) बमोजिम ८ वर्ष ६ महिना कैद सजाय गर्दा पनि सजायको मकसद पूरा हुने देखिएकोले पुनरावेदक प्रतिवादी रञ्जनप्रसाद कोइरालालाई ८ वर्ष ६ महिना कैद हुने ठहर्छ । अरुमा तपसिल बमोजिम गर्नु ।’
सर्वोच्चको फैसलामा गीताको हत्या योजनाबद्ध नभई भवितव्य वा आवेगप्रेरित रहेको भन्ने ठहरमा पुगेको देखिन्छ ।
आफ्नै आमाको हत्यारालाई अभिभावक मान्नुपर्ने !
सर्वोच्च अदालतको यो फैसला आगामी दिनमा एक नजिरका रुपमा पनि रहनेछ । तर यस्तो नजिरले आगामी दिनको न्याय सम्पादनमा समान प्रकृतिको अभियुक्तले ‘कम सजाय पाउने’ बाटो खुल्न सक्ने देखिएको छ ।
फैसला खण्डको बुँदा नम्बर ८२ मा यस्तो लेखिएको छ :
‘निजको मृत्यु पश्चात् नाबालक छोराहरुको हेरचाह, संरक्षण शिक्षा, दीक्षा लगायतका कार्यहरु अभिभावक विहिनताको कारणले अनिश्चय र अन्योलता हुन गई उनीहरुको हितमा समेत दुरगामी प्रभाव पर्न जाने कारणले उपरोक्त सजाय गर्दा चर्को पर्न जाने जस्तो चित्तमा लागेको हुँदा पुनरावेदक प्रतिवादीलाई साविक मुलुकी ऐन, अ.बं. १८८ नं. तथा हाल प्रचलित फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७ (क) बमोजिम ८ वर्ष ६ महिना कैद सजाय गर्दा पनि सजायको मकसद पुरा हुने देखिएकोले पुनरावेदक प्रतिवादी रञ्जनप्रसाद कोइरालालाई ८ वर्ष ६ महिना कैद हुने ठहर्छ ।’
सर्वोच्च यो फैसलाअनुसार अब रञ्जन र गीताबाट जन्मेका सन्तानहरुले आफ्नै आमाको हत्यारालाई अभिभावक मानी बस्नुपर्ने भएको छ । सर्वोच्चको फैसलाको अन्तर्य हेर्दा रञ्जन जेलबाट नछुट्दा ‘नाबालक’ छोराहरुको हेरचाह, शिक्षादीक्षा आदिमा असर परेको कुरा उल्लेख गरेको छ । त्यति मात्रै होइन, रञ्जन जेलमा भएको कारणले बालकहरु अभिभावकविहीनताको अवस्थामा रहेको कुरा पनि फैसलामा उल्लेख गरिएको छ ।
सर्वोच्चको यो फैसलाले आफ्नै आमाको हत्यारालाई पनि बालकहरुले अभिभावक मानेर उनकै संरक्षणमा बस्नुपर्ने स्थिति पैदा भएको छ । यो फैसलाले गीताको हत्या प्रकरणबाट निजका सन्तानहरुको सुरक्षामा पैदा हुन सक्ने ‘सम्भावित जोखिमहरु’ का बारेमा भने केही बोलेको छैन । साथै, अभिभावकत्वविहीनताको मुद्दामा चिन्ता गर्ने सर्वोच्चका फैसलाले ‘आफ्नै आमाका हत्यारा’सँग बस्नुपर्दा ती सन्तानमा पर्न सक्ने मानसिक असरका बारेमा समेत हेक्का राखेको देखिएन ।
रञ्जनका छोराहरुको उमेर सधैँ एउटै ?
सर्वोच्च अदालतले फैसला गर्दा रञ्जनविरुद्ध मुद्दा दर्ता भएको अवस्थाको उमेरलाई आधार मानेर नै बालकहरुलाई अभिभावकविहीनताको अवस्था भनेको छ ।तर, रञ्जनका दुबै छोराहरु अहिले मुद्दा दर्ता हुँदाको उमेरमै छैनन् । रञ्जनको जेठो छोरा आयूष हाल २२ वर्षको भए भने उनी स्नातकको अन्तिम वर्षमा अध्ययन गरिरहेका छन् ।
त्यसैगरी रञ्जनका कान्छा छोरा आर्यन पनि अहिले एसइई दिने तयारीमा थिए । तत्कालीन समयमा ११ वर्ष मानिएको हो भने पनि उनको कान्छो छोराको उमेर अहिले कम्तिमा १८ वर्ष भइसकेको छ । एसइई दिने उमेरलाई आधार मान्ने हो भने पनि रञ्जनको कान्छो छोरा पनि करिब १७ वर्ष पुगिसकेका छन् ।
नेपालको कानुनले १८ वर्ष पुगेपछि बालिग मान्छ र बालिगलाई अभिभावकत्वको आवश्यकता पर्ने कानुनले कल्पना गरेको छैन । त्यसकारण सर्वोच्च अदालतको फैसलामा श्रीमानहरुले अभिभावकत्व दिनुपर्ने छोराहरुको उमेर नै जोडघटाउ गर्न बिर्सिएका छन् ।