केन्द्रीय संस्करण

अमेरिकाको सामाजिक र आर्थिक व्यवस्थापन (दोस्रो भाग)

पश्चिमी विरासतको स्फटिक

person explore access_timeअसार २०, २०७७ chat_bubble_outline0

महाशक्ति राष्ट्र अमेरिका
अमेरिका आजको एउटा महाशक्ति राष्ट्र घोषित छ । विकसित तथा हातहतियारयुक्त मात्र नभएर प्राविधिक विकासमा पनि अगाडि छ । तर महाशक्ति राष्ट्र केहीबेर बनिराख्नु ठूलो विषय होइन । लामो समय बनिराख्न आधारभूत वर्ग र सेवाको व्यवस्थापन महत्त्वपूर्ण हुन्छ । कुनै मुलुक महाशक्ति राष्ट्र बन्न सामान्यतया त्यहाँ बसोवास गर्ने जनताको अन्तर्विरोध व्यवस्थापन, जनचासो सम्बोधनको थिति, विदेश नीतिमा एकरूपता जरुरी हुन्छ ।

अमेरिकाले गरेका यस्ता कामको व्यवस्थापन एवं विश्लेषणमा आग्रह बढी र केही अतिरञ्जना पनि देखिन्छ । आलोचनात्मक व्याख्या विश्लेषण कमै देखिन्छ । यहाँ बस्न, पढ्न र कमाउन चाहने लाखौँ र सायद करोडौँ मानिसका आत्मकथाले धेरै मानिसका लागि अमेरिका सपनाको मुलुक भएको छ । विश्व शक्ति मुलुक मात्र हुनाले करोडौँ मानिसका लागि सपनाको देश हुन सक्छ त ? अवश्य नै सक्दैन ।

सामान्य मानिसलाई पनि अमेरिका पुग्नु वा अमेरिकी हुनुसँग किन यति धेरै आशक्ति ? जबकि उसलाई अमेरिकाको सैन्य शक्ति, अर्थतन्त्र, हातहतियारको स्थितिबारे विरलै मात्र जानकारी हुन्छ । संसार भ्रमण गर्न रुचि राख्नेहरूलाई समेत अमेरिका थप एउटा देशको भ्रमण मात्र नभएर आफैमा महाशक्ति मुलुकमा पाइला राख्न पाउने सौभाग्य अनुभूति हुने कुरा कम अर्थपूर्ण छैन ।

अमेरिका जान, बस्न चाहने र भ्रमण गर्न चाहनेका आफ्नै कारण तथा कथा होलान् । अमेरिकाले आफ्नो महाशक्ति राष्ट्रको छवि कायम गर्न गरेको सामाजिक व्यवस्थापनको पाटो भने विवेचनायुक्त छ । ३० करोड जनताको आन्तरिक व्यवस्थापन चुस्त नगरी यो छवि निर्माण हुँदैन भन्ने कुरा अमेरिकाले राम्ररी बुझेको हुनुपर्छ । हामीमध्ये राजनीतिमा रुचि राख्ने धेरैले अमेरिकाको बाह्य व्यवस्थापनका रूप र सार बुझेका छौँ । व्याख्या पनि गरेका छौँ ।
द्वन्द्वात्मक भौतिकवादी अवधारणाअनुसार सामान्य अवस्थामा भित्र नै मुख्य हो भन्ने जानकारी हुँदा–हुँदै अमेरिकाको आन्तरिक व्यवस्थापनलाई समालोचक दृष्टिकोणवाट व्याख्या कम भएको देखिन्छ । यही कारण घघडान अमेरिका विरोधीहरू पनि भित्रभित्र डीभी भर्ने र अमेरिका बसाइ सर्ने क्रम जारी नै छ । मैले यहाँ अमेरिकाले जनताको सामाजिक र आर्थिक व्यवस्थापनलाई सारभूत रूपमा केलाउने कोसिस गरेको छु । भ्रमणपछि नियमितभन्दा केही फरक अनुभूति तथा ज्ञान संश्लेषण गर्ने जमर्को गरेको छु ।

आन्तरिक व्यवस्थापन
कुनै एउटा संस्था वा देश व्यवस्थापनका अनुभव एकअर्काका पूरक मान्न सकिन्छ । किनकि यस्तै संस्था व्यवस्थापनको समग्र रूप नै देश व्यवस्थापन हो । व्यवस्थापनमा ८५. ९४ ः १०.५ ः ५.१ को अनुपातको ठूलो महत्त्व हुन्छ । संस्था वा देशमा न्यूनतम ८५ देखि अधिकतम ९४ प्रतिशत जनसङ्ख्या कामदार वर्ग हुन्छ । यसले उपल्लो तहले निर्धारण गरेका नीति–नियम र निर्देशन पालना गर्दै कार्यान्वयन तहका सबै काम गर्छ । यसमा निम्न र मध्यम वर्ग पर्दछन् । यसलाई यहाँ पहिलो वा प्राथमिक तह भनिएको छ ।

अर्काे, उच्चमध्यम वर्ग तथा यसैको वरिपरिको तह छ, न्यूनतम ५ देखि अधिकतम १५ प्रतिशतसम्मको जनसङ्ख्या । यसलाई दोस्रो तह वा माध्यमिक तह भनिएको छ । यसले सत्तामा हुने वर्गलाई रणनीतिक तवरले साथ दिने, प्रोपोगाण्डामा सहयोग गर्ने र सत्ताको तल्लो–मध्यम तहमा बसी प्रत्यक्ष सत्ता सञ्चालनमा सहभागी हुने गर्छ । सत्ताका नीति–निर्देशन पालना गराउनेमा यो वर्गको ठूलो हात हुन्छ । ठूला कम्पनीका मालिक, कर्मचारी, सेना, पुलिसका उच्च अधिकारी तथा विविध क्षेत्रका प्रभावशाली व्यक्तित्वहरू यसमा पर्छन् ।

जनसङ्ख्याको अन्तिम तह उच्च वर्ग छ । जसमा कूल जनसङ्ख्याको एकदेखि बढीमा ५ प्रतिशतसम्म हुन्छ । यो नै वास्तवमा सत्ताको मालिक हो । सत्तामा जोसुकै आए पनि विशेष अवस्थामा बाहेक यही वर्गकै प्रत्यक्ष सहभागिता वा इसारामा नीति निर्माण र सत्ता परिवर्तन हुने गर्छ ।

मैले व्यवस्थापनमा प्रतिनिधित्वको हिसाबले ८५. ९४ : १०.५ : ५.१ को सङ्ख्यात्मक विश्लेषण गरेको छु । यो अधिकतम र न्यूनतम अनुपात कुनै पनि संस्था वा देशले अङ्गीकार गरेको व्यवस्थापन सिद्धान्तमा भर पर्छ ।

समाजवादी वा लोकतान्त्रिक पद्धति अँगाल्ने र अन्य प्रकारका शासन व्यवस्थाका मुलुकमा यो अनुपात फरक हुन्छ । सरदर अनुपात यही नै हुन्छ । यहाँ यस्ता वर्गको व्यवस्थापनका केही पाटाहरूको थप विश्लेषण गरिएको छ ।

प्राथमिक वर्ग
उल्लेखित ८५ देखि ९४ प्रतिशत जनता जसलाई पहिलो वर्ग भनिएको छ । यो काम गर्ने वर्ग हो । यसले आफ्ना दैनन्दिन बाहेक देशबारे खासै सोच्नुपर्दैन । यो वर्ग के भयो भने सडकमा आउन्न ? के भए खुरुखुरु काम गर्छ ? कसरी उनीहरुको जीवन धानिन्छ ? यी विषयलाई अमेरिकाले निकै प्रभावकारी व्यवस्थापन गरेको छ ।

यो वर्ग रोजगारी चाहन्छ । धारो खोल्दा पानी आउनुपर्याे । जीवन चलाउन आवश्यक बिजुली हुनुपर्याे । सडकमा सहज यातायातका साथै गुड्दा खाल्टा–खुल्टी हुनु भएन । घरबाहिर बस्दा खानाको गुणस्तर एवं स्वास्थ्यवद्र्धक हुनुपर्याे । आफूले गर्ने काम दिलोज्यान लगाएर गरेपछि समयमै तलब पाउनुपर्याे । अनि, व्यक्तिगत र पारिवारिक सुरक्षाको अनुभूति हुनुपर्याे । छोराछोरीको एउटा तहसम्मको पढाइको चिन्ता हुनु भएन । आफ्नो आम्दानीस्तर अनुसार स्वास्थ्य सेवा पाउनुपर्याे । कम कमाउनेले पैसा नभएर अकालमा मर्नु नपरोस् । आवास व्यवस्थापनमा नियमन भई सहज हुनुपर्याे । 

खानेपानी, बिजुली, यातायात व्यवस्थापन र रोजगारी जस्ता कुरा सबै तह–तप्कालाई आवश्यक पर्छ । सुरक्षा जुनसुकै व्यवस्थामा पनि आन्तरिक व्यवस्थापनको प्रमुख सर्त हो, राज्यको अभिन्न अङ्ग । भलै यसको प्रभावकारिता र उपादेयता वर्गअनुसार फरक पर्न सक्छ ।

उपरोक्त पक्ष व्यवस्थापनपछि श्रमजीवी वर्ग चुपचाप काम गर्छ । यसलाई गोरु जसरी जोताएर काम गराउन माथिल्लो वर्गले लगामको रूपमा दुई चिज आफूसँग राखेको हुन्छ । ती ज्याला निर्धारण र सुरक्षा व्यवस्थापनको जिम्मेवारी हुन् । 

आधारभूत व्यवस्थापन अमेरिकामा चुस्त गरिएको छ । आम वर्गका अधिकांश मानिसमा देखिने गरी खासै गुनासा छैनन् । गोरु जसरी जोतिएर काम गर्न पर्याप्त व्यवस्थापन छ । यसो हुँदा यो वर्गको न विरोध गर्ने समय हुन्छ न त्यति सचेतना नै ।

माध्यमिक वर्ग
दोस्रो वा माध्यमिक वर्ग जो जनसङ्ख्याको ५ देखि १० प्रतिशत हाराहारी छ । यो तल्लो र माथिल्लो वर्गको पुलको रूपमा रहन्छ । आश्चर्य लाग्न सक्छ, वार्षिक एक लाख डलर आम्दानी गर्ने अमेरिकीको सङ्ख्या १० प्रतिशतभन्दा कम छ । जबकि एक लाख डलर प्रतिवर्ष आम्दानीले एउटा मध्यमवर्गीय जीवन आरामले मात्र चल्न सक्छ । यति आम्दानीले समेत रकम बचत गरेर उद्योगधन्दामा लगानी गर्ने सम्भावना न्यून रहन्छ । यो वर्गमा यस्ता व्यक्ति तथा परिवार पर्छन् जुन शिक्षित छन् । अत्यन्त मिहिनत गर्छन् ।

यी राज्य सञ्चालन गर्ने आवश्यक दिमाग (थिङ्क ट्याङ्क) हुन् । उच्च तहका कर्मचारी, वैज्ञानिक, मध्यमस्तरीय व्यापारी तथा मध्यम र तल्लो तहका राजनीतिज्ञका लागि यो वर्गबाट मानिस आपूर्ति हुन्छ भन्दा अत्युक्ति हुँदैन । तल्लो वर्गबाट मानिसहरू मरीतरी यो वर्गमा फड्कन चाहनेले अनगिन्ती चुनौती पार गर्नुपर्छ । राज्यले दिएका निम्नवर्गीय सुविधा च्वाट्टै कटौती हुन्छन् । करको भार बढ्छ । आवास कर, स्वास्थ्य, शिक्षा लगायतले यो वर्गको आम्दानीको धेरै भाग यहीँ खर्च हुन्छ ।

तल्लोबाट मध्यम वर्गमा आउन जति कठिनाइ हुन्छ त्यो भन्दा १०औँ गुणा यसैमा टिकिरहन गाह्रो हुन्छ । एक पटक वर्ग उत्थान भएपछि यसैमा रहन अत्यन्त मिहिनेत गर्नुपर्छ । यो पनि प्रयास, मिहिनेत र जीवन व्यवस्थापनका अनगिन्ती जञ्जालमा पर्छ । राज्य सञ्चालनमा आवश्यक पर्ने सङ्ख्या कायम गर्नेगरी आवश्यक नियन्त्रण प्रणाली यसरी बनेका छन् कि जसले एकातर्फ यो वर्गमा यथास्थितिमा नै रहिरहन अथक परिश्रम गर्नुपर्ने हुन्छ । अर्काेतर्फ यहाँबाट माथिल्लो वर्गमा जाने कुरा फलामको ढोका फोड्नु बराबर हुन्छ । 

यी नियन्त्रण प्रणाली यस्तो सूक्ष्म तरिकाले सशक्त रूपमा लागू गरिएको छ । तल्लोसहित यो वर्गलाई यी सबै नियन्त्रण प्रणाली स्वाभाविक र स्वचालित लाग्छन् । यो लगायत तल्लो वर्गलाई यथास्थितिमा रहने वा माथिल्लोमा जाने कुरालाई दबाबको रूपमा नलिई खुरुखुरु काम गर्न यहाँका सूक्ष्म प्रणालीले काम गरिरहेका हुन्छन् । यति हुँदाहँुदै पनि मध्यम वर्गीय आय ४१ हजारदेखि ८१ हजार डलर मात्र छ ।

उच्च वर्ग
राज्यले अँगालेको राजनीतिक वर्ग र शासन पद्धति हेरी देशमा यो वर्ग एकदेखि ५ प्रतिशतसम्म हुने गर्छ । अमेरिकाको पुँजीवादी अर्थतन्त्र र यहाँको चुनाव प्रणाली हेर्दा लाग्छ, अमेरिकाको सन्दर्भमा उच्च वर्ग एक प्रतिशत हाराहारी छ । राज्य सञ्चालनको चाबी लिएको यो वर्ग ठूला राजनीतिकर्मी तथा अर्बपति व्यापारी नै हुन् । ठूला कम्पनी, उद्योगपति जसको आय अर्बाैं छ । यो वर्ग नै अमेरिका एन्ड कम्पनीको वास्तविक सञ्चालक समिति हो भन्दा फरक पर्दैन । 

अमेरिकी सरकार र समग्र विश्व यहाँका ७ सय जनाभित्रका अर्बपतिले सञ्चालन गर्दछन् भन्दा सत्यको एकदमै नजिक हुन्छ । संसारका २ हजार १ सय ५३ अर्बपतिमध्ये अमेरिका करिब ७ सय ५ जना अर्बपति सहित संसारको सबभन्दा बढी अर्बपति हुने देश हो ।

अमेरिकामा एक प्रतिशतले ४० प्रतिशत सम्पत्ति ओगट्छन् भने ९० प्रतिशत जनसङ्ख्याले केवल २५ प्रतिशत सम्पत्ति मात्र ओगट्छन् । यो वर्गको जालो यस्तो सशक्त र प्रभावकारी छ कि यसमा नयाँ मान्छे छिर्ने र त्यहाँबाट फेरि रातारात तल झर्ने सम्भावना कमै हुन्छ । दुई–चार सङ्ख्या तलमाथि होला तर यसको मुख्य चरित्र नै सत्ताधारी वर्गको जस्तो हो ।

आधारभूत सेवा
अब अमेरिकामा केही आधारभूत कुराको व्यवस्थापनबारे चर्चा गरौँ । अमेरिकामा बास व्यवस्थापन चुस्त छ । सामान्यतया तपाईं जहाँ बस्नुहुन्छ आफ्ना छोराछोरी त्यही क्षेत्रमा तोकिएको स्कुलमा पढाउनुपर्छ । आफू बसेको क्षेत्रबाहेक अर्काे क्षेत्रको स्कुलमा पढाउन असम्भव प्रायः हुन्छ । स्वास्थ्य सेवा पनि तोकिएको क्षेत्र र अस्पतालमै लिनुपर्छ । स्कुल शिक्षा निःशुल्क छ ।

एकातर्फ आम्दानीअनुसार शिक्षा पाउने कुरा सर्वसाधारणलाई कम महसुस हुने गरी नियमन गरिन्छ । अर्काेतर्फ, नेपालमा जस्तो स्कुल तहको शिक्षामा देखिने गरी असमानता पनि हुँदैन । तर उच्च वर्गले प्राप्त गर्ने शिक्षाको गुणस्तर स्कुल तह सकेपछि स्पष्ट देखिन्छ । राम्रा स्कुल भएको ठाउँमा तल्लो वर्ग बस्नै सक्दैन । त्यहाँ आवास लगायत सेवा महँगो हुन्छ, घर किन्ने कुरा त झन् कठिन । धनीहरू बस्ने इलाकामा स्वतः शिक्षा, स्वास्थ्य लगायत सेवाको गुणस्तर फरक हुन्छ । किनकि उनीहरू बढी पैसा खर्च गर्न सक्छन् ।

घरभाडा तथा घरको आधारभूत मूल्य त्यहाँका मूल्याङ्कनकर्ताले शिक्षा, स्वास्थ्य, सुरक्षा लगायत सेवा–सुविधाको गुणस्तरका आधारमा मूल्याङ्कन गर्छन् । कुनै घरजग्गाको मूल्य तथा घरधनीको विवरण यस्तै वैज्ञानिक विधिअनुसार वेबसाइटमै स्पष्ट राखिएको हुन्छ । अभिकर्ताले पारदर्शी र कानुनी तवरले नियमन गरेकाले त्यही अनुसार मूल्य निर्धारण हुन्छ । जसले गर्दा घरजग्गा बजार सन्तुलित हुनुको साथै जग्गाको वैज्ञानिक व्यवस्थापन पनि हुन्छ । एउटा क्षेत्रबाट अर्काेमा गएर शिक्षा वा स्वास्थ्य सेवा लिनुपरे स्वतः महँगो हुन्छ । स्पष्ट कारणबिना यस्तो सेवा नपाइने भएपछि मानिस कि बसाइँ सर्छ कि आफ्नो आम्दानी अनुसारको क्षेत्रमा प्राप्त हुने सेवामा चित्त बुझाउँछ ।

अमेरिकी व्यवस्थापनको सबैभन्दा प्रभावकारी माध्यम यहाँको शिक्षा प्रणाली हो । शिक्षा यस्तो चिज हो जसले काँचो माटो जस्ता करोडौँ बालबालिकालाई चाहेको आकारमा ढाल्न सक्छ । भनाइ नै छ– कुनै देशलाई दीर्घकालमा ध्वस्त बनाउने हो भने बममा हैन त्यहाँको शिक्षा प्रणालीमा लगानी गर्नुपर्छ । हामीले देखेका छौँ– अङ्ग्रेजले दुई सय ५० वर्षअघि भारतमा तत्कालीन इष्ट इन्डिया कम्पनीको आवश्यकता परिपूर्ति गर्न सुरु गरेको कारिन्दा शिक्षा प्रणाली सारा दक्षिण एसियामा आजपर्यन्त जरा गाडेर बसेको छ ।

अमेरिकाको शिक्षामा साम्राज्यवादी मानसिकता हालिएको हुन्छ । यहाँका हरेका विद्यालयमा प्रोजेक्ट कार्यलाई महत्त्व दिइन्छ । यस्ता काम व्यक्तिगत र सामूहिक छलफल गरी समाधान निकालिन्छ । जसलाई मूल्याङ्कनको प्रमुख आधार बनाइन्छ । यस्ता परियोजना काम दिँदा अमेरिकन समस्यासम्बन्धी विषय अत्यन्तै कम दिइन्छ । विषयवस्तु सामान्यतया अमेरिका बाहिरका हुन्छन् ।

जस्तो कि अफ्रिकन मुलुकमा रोग फैलिएको होस् यसलाई कसरी समाधान गर्ने भन्नेमा एकोहो¥याइन्छ । वा एसियाको फलानो देशमा यस्तो प्राकृतिक स्रोत छ र त्यहाँको सरकारका समस्या यस्ता छन् । अब त्यसको उपयोग कसरी गर्ने ? यस्तै, समुन्द्र, अन्तरिक्ष, युरोप, दक्षिण अमेरिकाका समस्या र द्वन्द्वसम्बन्धी विषय नै परियोजनाका मुद्दा बनाइन्छन् ।

बालमस्तिष्कमा जति समस्या छन् ती अमेरिका बाहिर रहेछन् । हाम्रो देशमा समस्या रहेनछन् भन्ने आदर्शवादी र आत्मकेन्द्रित सोच विकास हुन्छ । यसले चेतनालाई प्रधान र वस्तु सहायक मानेर मुख्य कारणलाई विषयान्तर गरिदिन्छ । साथै, भित्रलाई सहायक र बाहिरलाई प्रधान मानेर अवस्तुवादी सोच हालिदिन्छ । यही शिक्षा प्रणालीबाट उत्पादित बच्चाहरू नै भोलि अमेरिकाका शासक हुन्छन्, हिजोका भए जस्तै । बाहिरका समस्यामा मात्र केन्द्रित भएपछि साम्राज्यवादी नीतिलाई निरन्तरता दिन सहज पनि हुन्छ ।

यहाँ १२ कक्षासम्मको शिक्षा निःशुल्क छ । यसपछि मानिसहरू समयको आधारमा (घण्टाको आधारमा) काम गर्न योग्य हुन्छन् । ज्यालादर राज्यले निर्धारण गर्छ । १८ वर्ष पुगेपछि एउटा व्यक्ति घरबाट स्वतन्त्र हुन सक्ने कानुन छ । अथवा घरको एउटा बच्चाप्रतिको जिम्मेवारी समेत कानुनी रूपमा समाप्त हुन्छ । यदि बुवा–आमाले आफ्नै स्रोतले पढाउन चाहे भने मात्र नत्र उसले ऋण लिएर अध्ययन अगाडि बढाउनुपर्छ ।

शैक्षिक ऋण पढाइको स्तरअनुसार सहजै पाइन्छ । पढाइ छोडेर काममा लाग्नेहरू ५ दिन काम, दुई दिन आराम र घरायसी व्यवस्थापनमा फस्छन् । ऋण लिएर पढ्नेहरू जवानीको निकै पछिसम्म ऋण र अन्य घरायसी दायित्वले किचिएका हुन्छन् । उच्च वर्गले आफ्नो पारिवारिक विरासत र सांस्कृतिक उत्तराधिकारी परिवारभित्रै उत्पादन गर्ने आधार बनाएका छन् । उच्च शिक्षा हासिल गर्ने धेरैजसो अमेरिकनहरू उच्च–मध्यम र उच्च वर्गका छन् ।

आर्थिक असमानता बढेसँगै धनी र गरिबको जीवन फरक दिशामा गइरहेको छ । अमेरिकी धनीहरूले कलेज अध्ययन पूरा गर्ने सम्भावना धेरै हुनाले सम्पत्ति वितरणमा असमानता बढिरहेको छ । आय परिचालनको समस्या अझ सुदृढ हुँदै गए एक उच्च परिवारको बच्चाले तल्लो परिवारको भन्दा कलेज अध्ययन पूरा गर्ने सम्भावना ४५ प्रतिशतले बढी हुने अध्ययनले देखाएको छ ।

यहाँको आम संस्कृति यस्तो छ कि, १८ वर्ष कटेपछि बच्चा घरमै बसिरहेको छ भने उसमा कमजोरी छ भन्ने आशङ्का गरिन्छ । १२ कक्षाभन्दा माथि पढाइ महँगो हुने हुँदा अधिकांश विद्यार्थीहरू काम गर्न थाल्छन् । उनीहरू घरबाट निस्कन्छन् र छुट्टै बस्छन् । अब यिनको दिनचर्या ५ दिन घोटिएर काम गर्ने बाँकी दिन व्यक्तिगत व्यवस्थापन र खर्च गर्ने हुन्छ । शिक्षा, स्वास्थ्य तथा रोजगारीको चिन्ता हुँदैन । निश्चित घण्टा मात्र काम गर्नुपर्ने वैधानिक व्यवस्थाले यो वर्गका प्रायःले बचत गर्नुपर्ने आवश्यकता महसुस गर्दैनन् । गर्नै परे सानो रकम गर्छन् ।

पुँजीवादी व्यवस्थाको आधारभूत सिद्धान्त व्यक्तिगत स्वतन्त्रता हो । अमेरिकाको पारिवारिक सम्बन्ध कानुनी दायित्वभित्र मात्र सीमित हुन्छ । उच्च वर्गबाहेक यहाँको आम सामाजिक पृष्ठभूमिमा संयुक्त परिवार त के १८ वर्षभन्दा माथि दुई पुस्ता पनि सँगै बस्ने सङ्ख्या अत्यन्तै न्यून देखिन्छ । यसैले पुस्तान्तरण ज्ञानको सीमितता हरेक घरमा छ । बच्चा हुर्काउनेदेखि दाम्पत्य जीवनको सफलताको स्वअनुभव र स्वअध्ययन नै प्रमुख हुन्छ ।
कानुनअनुसार एउटा व्यक्ति जन्मेको अठार वर्षपछि आधारभूत रूपमा स्वतन्त्र त हुन्छ । तर आवश्यकीय जीवनज्ञानका लागि निरन्तर सङ्घर्षरत रहन्छ । किनकि, एउटा व्यक्तिका लागि राज्यले ग्यारेन्टी गरेका सेवा–सुविधा बाहेक सम्पूर्ण जिम्मेवार ऊ स्वयं हुन्छ । परिवार हुँदैन । 

हाम्रो जस्तो पूर्वीय सभ्यताको समाजमा अहिलेसम्म धेरथोर संयुक्त परिवारिक प्रणाली छ । यसो हुँदा पारिवारिक दायित्व, पुस्तान्तरण ज्ञान लगायतमा निकै सजिलो हुन्छ ।
यहाँ प्रस्ट्याउन खोजिएको विषय के भने निम्न तथा अधिकांश मध्यम–वर्गलाई यस्तो व्यक्तिवादी संस्कृतिले दीर्घकालमा चक्रव्यूहमा फसाइदिन्छ । ऊ व्यक्तिगत पहलकदमीमा उपल्लो वर्गमा पुग्ने सम्भावना कम हुन्छ । हामीले देख्ने पश्चिमी सभ्यता र संस्कृतिको पारिवारिक मूल्य–मान्यता आम जनसमुदायको हो । त्यही वर्गबाट सोही वर्ग जन्मिरहने चक्र निरन्तर चलिरहन्छ ।

 


 

(क्रमश...)
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.