नेपालीले किने १५ अर्ब ७४ करोड रुपैयाँको मोबाइल, सरकारले कमायो साढे २ अर्ब
सूचना प्रविधिको विस्तार यतिसम्म भएको छ कि मोबाइल सेट नबोक्नेको संख्या न्यून भइसकेको छ । एक दशकअघि सम्म हुनेखाने वर्गको पहुँचमा मात्र रहेको मोवाइल फोन अहिले हुँदा खानेहरुसम्म पनि पुगिसकेको छ ।
हजार रुपैयाँदेखि लाखौं रुपैयाँसम्मको मोबाइल प्रयोगकर्ताहरु नेपाली समाजमा छन् । मोबाइलको आयातमा मात्र अर्बौँ नेपाली रुपैयाँ बाहिरिने गरेको तथ्यांक छ । कुनैबेला विलासितामा गनिने मोबाइल सेट अहिले अति आवश्यकतामा परेको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष (२०७६/७७) को एघार महिनामा (साउन देखि जेठसम्म) ४० लाख ७२ हजार ६ सय ९९ पिस मोबाइल सेट भित्रिएको छ । यसका लागि १५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार रुपैयाँको नेपाली रकम बाहिरिएको छ । उसो त लकडाउनकै एक महिनालाई हेर्ने हो भने पनि सो समय लाख भन्दा बढी मोवाइल सेट भित्रिएका छन् ।
नोकिया ११ सय मोडलदेखि एप्पलका मोबाइल, धेरैजसो विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइलका सेटहरु भित्रिएको भन्सार विभागका सूचना अधिकार विनोद घिमिरेले बताए । अष्ट्रेलिया, बहराइन, चीन, बंगलादेश, क्यानडा, साइप्रस, डेनमार्क जर्मनी, हङकङ, इण्डिया, जापान, कुवेत, मलेसिया, म्यानमार, कतार लगायतका देशबाट मोबाइल सेटहरु भित्रिएको हो । धेरैजसो नेपालीले चिनियाँ मोबाइल सेट प्रयोग गर्ने गरेको तथ्यांक छ ।
चीनबाट यो एघार महिनाको अवधिमा ३२ लाख १२ हजार १ सय ९३ सेट मोवाइल नेपाल भित्रिएको छ । यसमार्फत ८ अर्ब ४४ करोड नेपाली रुपैयाँ बराबरको रकम चीन पुगेको छ । यस्तै भारतबाट ६ लाख ५ हजार ६ सय ४७ सेट मोबाइल नेपाल भित्रिएको छ । विभिन्न देशबाट नेपालमा मोबाइल सेट आयात हुँदा सरकारको राजस्व खातामा २ अर्ब ४९ करोड ४१ लाख ९२ हजार रुपैयाँ जम्मा भएको छ । अर्थात मोबाइल सेट आयातबाट सरकारको आम्दानी झण्डै साढे २ अर्ब भएको छ ।
जेठ महिनामा १ लाख २१ हजार सेट मोवाइल फोन भित्रियो
कडा लकडाउन भोगेको जेठ महिनामा मात्र १ लाख २१ हजार ३ सय ९२ वटा सेट नेपाल भित्रिएको छ। बैशाख महिनासम्म ३९ लाख ५१ हजार ३ सय सात वटा मोबाइल सेट भित्रिएकोमा त्यसको सख्या बढेर जेठसम्ममा ४० लाख ७२ हजार ६ सय ९९ पिस मोवाइल भित्रिएको हो ।
मोबाइलबाट सो महिनामा मात्र सरकारले १६ करोड ७२ लाख ९२ हजार रुपैयाँ आम्दानी गरेको छ । वैशाखसम्ममा (साउन देखि वैशाख) २ अर्ब ३२ करोड ६९ लाख राजस्व उठेको थियो । १० महिनामा (वैशाखसम्म) मोबाइल फोनका लागि १४ अर्ब ६८ करोड ९० लाख २४ हजार रुपैयाँ बारिहरिएको थियो ।
ल्याण्डलाइन र कर्डलेस तथा अन्य फोन सेट
जेठमा ल्याण्डलाइन र कर्डलेस भित्रिएको छैन । वैशाखसम्म ल्याण्डलाइन र कर्डलेस ८५ हजार २ सय ८८ सेट भित्रिएको थियो । जेठको तथ्यांकमा पनि सोही परिणाम उल्लेख छ ।
हालसम्म यस्ताखालका फोनका लागि ५ करोड ३९ लाख ४४ हजार नेपाली रुपैयाँ बाहिरिएको छ । यसबाट सरकारको राजस्व ६९ लाख ५० हजार रुपैयाँ उठेको छ ।
अरु टेलिफोन सेट २७ हजार ३ सय ४३ वटा भित्रिएको छ । यसका लागि ३ करोड ३० लाख ८५ हजार रपैयाँ बाहिरिएको छ ।
यसबाट ४१ लाख १६ हजार राजस्व उठेको भन्सार विभागले जनाएको छ । बैशाखमा यस्तो फोन २६ हजार २ सय ३सेट भित्रिएको थियो । यसका लागि ३ करोड २० लाख ९९ हजार रुपैयाँ बाहिरिएको छ ।
बैशाखसम्ममा सरकारले अन्य टेलिफोन सेटबाट ३९ लाख ९१ हजार रुपैयाँ राजस्व उठाएको छ ।