शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लकडाउन खुकुलो बनेपछि आयात दोब्बर, जेठसम्म १० खर्बको व्यापार घाटा

आइतबार, १४ असार २०७७, १६ : ४४
आइतबार, १४ असार २०७७

काठमाडौं । नेपालको व्यापार घाटा १० खर्ब नाघेको छ । चालू आर्थिक वर्षको जेठ महिनासम्म नेपालको व्यापार घाटा १० खर्ब १२ अर्ब रुपैयाँ पुगेको भन्सार विभागले जनाएको छ । 

यो व्यापार घाटा अघिल्लो वर्षको सोही समयमा १२ खर्ब ११ अर्ब रुपैयाँ थियो । यो वर्षको जेठसम्म व्यापार घाटा १६ प्रतिशतले घटेर  सो सीमामा झरेको हो । यो हिसाबले आयात र निर्यातको अनुपात १२.५१ गुणा कायम भएको छ । 
११ महिनाको अवधिमा सबै भन्सार नाकाहरुबाट ११ खर्ब ८१ करोड रुपैयाँको मालवस्तु आयात हुँदा ८८ अर्ब रुपैयाँको मालवस्तु भन्सार नाकाबाट निकासी भएको विभागको तथ्यांक छ । 

नेपालको आयात अघिल्लो वर्षको सोही समयको तुलनामा १५ प्रतिशत कम हो भने निर्यात सोही समयको तुलनामा ०.१९ प्रतिशत बढी हो । आयात घटेको र निर्यात बढेको कारण यो वर्ष व्यापार घाटामा उल्लेख्य कमी आएको देखिएको छ । 

जेठ महिनामा मात्रै भन्सार नाकाबाट ७५ अर्ब ६७ करोड रुपैयाँ बराबरको आयात र ५ अर्ब ९५ करोड रुपैयाँको निर्यात हुँदा व्यापारघाटा ६९ अर्ब ७३ करोडमा सीमित हुन पुगेको छ । 

यस्तो छ व्यापारको अवस्था
यो अवधिमा सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थको भएको छ । ११ महिनामा १ अर्ब ७८ अर्ब ७२ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ ।

 यसमध्ये ७८ अर्ब २१ करोडको डिजेल, २७ अर्ब ९४ करोडको एलपी ग्यास, २६ अर्ब ५५ करोडको पेट्रोल आयात भएको छ । त्यस्तै, ९३ अर्ब ३२ करोड कराबरको फलाम तथा स्टिल, ९० अर्ब ६७ करोडको अन्य मेसिनरी सामानहरु, ७४ अर्ब ६६ करोडको इलेक्ट्रिक सामानहरु ६१ अर्ब ८५ करोड रुपैयाँको गाडी तथा त्यसका पाटपुर्जाहरु, ५१ अर्ब ४६ करोडको अन्न, ४५ अर्ब ८९ करोडको तेलहन आयात भएको छ । 

त्यस्तै, ४१ अर्ब ६४ करोडको प्लाष्टिकजन्य वस्तुहरु, २९ अर्ब ३३ करोडको तरकारी, २५ अर्ब ९२ करोडको औषधि, २४ अर्ब ३६ करोडको सुनचाँदी, गहना र पत्थर, २१ अर्ब ३४ करोडको हवाई सामानहरु, १९ अर्ब ८० करोडको फलफूल आयात भएका छन् । 

यसैगरी १७ अर्ब ९३ करोड रुपैयाँको रासायनिक मलखाद, १७ अर्ब ४८ करोडको तेलजन्य औद्योगिक कच्चा पदार्थ, १७ अर्ब २३ करोड रुपैयाँको फलाम र स्टिलका सामानहरु, १६ अर्ब ६५ करोडको कपडा, १६ अर्ब ३६ करोडको फोटोग्राफी र सल्यचिकित्सासँग सम्बन्धित अप्टिकल, १४ अर्ब १७ करोडको पशुदाना, १२ अर्ब २४ करोडको कागज तथा १० अर्ब ६७ करोडको आल्मुनियम तथा १० अर्ब ४९ करोडको मसला आयात भएका छन् । 


निकासीतर्फ २८ अर्ब ५८ करोडको पामआयल तथा अन्य तेलजन्य पदार्थहरु, ६ अर्ब ६७ करोडको धागो, ६ अर्ब ८ करोडको चिया र कफी, ५ अर्ब ८१ करोडको टेक्सटाइल, ४ अर्ब २३ करोडको कपडाका सामानहरु, तरकारी र ३ अर्ब १३ करोडको फलफुलजन्य वस्तुहरु २ अर्ब ७३ करोडको र्यान र अन्य फाइबरहरु तथा १ अर्ब ४१ करोड बराबर तरकारी तथा पशुजन्य अवशेषहरु निर्यात भएका छन् । 

यो अवधिमा आयात र निर्यात राजस्वस्वरुप सरकारले २ खर्ब ७१ अर्ब ९९ करोड रुपैयाँ राजश्व आम्दानी भएको छ । योमध्ये गाडीको आयातबाट मात्रै ५५ अर्ब तथा पेट्रोलियमको आयातबाट मात्रै ५३ अर्ब ५ करोड बराबरको आम्दानी भएको देखिएको छ । 

यो अवधिमा भएको कुल वैदेशिक व्यापारमध्ये भारतसँग ६१.७० प्रतिशत व्यापार छ । त्यस्तै चीनसँग २३.२९ प्रतिशत, इन्डोनिसियासँग १७.६० प्रतिशतको व्यापार छ । त्यसबाहेक इन्डोनेसिया, संयुक्त राज्य अमेरिका, संयुक्त अरब इमिरेट्स लगायत देशहरु नेपालसँग उच्च व्यापारिक कारोबार हुने मुलुकमा परेका छन् । 

यो अवधिमा वीरगञ्ज, भैरहवा, सुख्खा बन्दरगाह विराटनगर तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट मात्रै करिब ८५ प्रतिशतको सामान आयात भएको छ । बाँकी १५ प्रतिशत सामान अन्य नाका तथा छोटी भन्सारबाट आयात भएका छन् । निर्यातमा भने बीरगञ्ज, विराटनगर र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलपछि मेची भन्सार कार्यालय अगाडि आएको छ । 

खुकुलो लकडाउनपछि आयात दोब्बर, निर्यात आधा
वैशाख महिनाभन्दा जेठ महिनामा लकडाउन खुकुलो गरिएपछि आयात दोब्बर नजिक पुगेको छ । वैशाख महिनामा ४२ अर्ब रुपैयाँमा सीमित भएको आयात जेठ महिनामा ७८ अर्ब ८१ करोड रुपैयाँ पुगेको हो । लकडाउन खुकुलो भए पनि निर्यात भने निकै घटेको छ ।

वैशाख महिनामा ५ अर्ब ९३ करोडको निर्यात भएकोमा जेठ महिनाको निर्यात ३ अर्ब २४ करोडमा सीमित भएको हो । आयातमा भएको वृद्धि र निर्यातमा भएको कमीका कारण यो अवधिमा आयात निर्यात अनुपात समेत बढेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप