शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कार्यसमिति सच्याउने दबाबपछि ‘सञ्चो छैन’ भन्दै बैठकबाट उठे महन्थ

शुक्रबार, ३० जेठ २०७७, १४ : ५१
शुक्रबार, ३० जेठ २०७७

काठमाडौँ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भइ बनेको जनता समाजवादी पार्टी नेपाल असन्तुष्टिको भूमरीमा फँसेको छ । दुवै पार्टीले जसपा नेपाल दर्ताका लागि जेठ २५ गते निर्वाचन आयोगमा निवेदन दर्ता गराएको थियो । ५१ सदस्यी कार्यसमितिसहित दर्ताका लागि निवेदन दिएपछि पार्टीमा असन्तुष्टि चुलिएको हो ।

असन्तुष्टिहरु सतहमा आएपछि जसपा नेपालको पदाधिकारीको बैठक बसेको थियो । बिहीबार बसेको पदाधिकारी बैठकमा तत्कालिन राजपा नेपालका अधिकांश नेताहरुले असन्तुष्टि जनाएको विषयमा छलफल भएको थियो । पार्टी दार्ताका लागि तयार पारिएको कार्य समितिमा त्रुटी भएको पनि पदाधिकारी बैठकले निष्कर्ष निकालेको बैठकमा सहभागी एक वरिष्ठ नेताले बताए ।

केन्द्रीय कार्यसमितिमा राजपा नेपालको तर्फबाट राखिएको नामावलीमा सबभन्दा असन्तुष्टि देखिएको छ । त्यसमा जातीय क्लस्टरदेखि लिएर अन्य कुराहरु पनि नमिलेको गुनासो तत्कालिन समाजवादी पार्टीका नेताहरुले गरेका थिए । कार्यसमितिमा नाम राख्न राजपा नेपालका नेताहरुबाट त्रुटी भएकै हो भन्दै त्यसलाई सच्याउन तत्कालिन समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुझाव दिएका थिए । विशेष गरेर राजपा नेपालका अध्यक्षमण्डलका सदस्य रहेका अनिलकुमार झा र राजकिशोर यादवको टीमबाट एकजना नपर्नु त्रुटी भएको ठहर गर्दै महन्थ ठाकुरलाई त्यो सच्याउनका लागि यादवले सुझाव दिएका थिए ।

संघीय परिषद्को अध्यक्षमा डा. बाबुराम भट्टराईलाई नराखेको कारण पनि जनतामा नराम्रो सन्देश गएको समाजवादी पार्टीको ठहर छ । महन्थ ठाकुरकै कारणले संघीय परिषद्का अध्यक्ष स्वीकार गरिसकेका डा. बाबुराम भट्टराई वरिष्ठ नेतामा बस्नुपरेको पार्टीको बुझाइ छ । त्यसलाई पनि सच्याउनुपर्ने ती पार्टीका नेताहरुको माग रहेको छ ।

महन्थ ठाकुर र राजेन्द्र महतोले राजपा नेपालको तर्फबाट कार्यसमितिमा आ–आफ्नै निकट मान्छेहरुको नाम राखेका छन् । त्यसको आलोचना पनि पदाधिकारी बैठकमा भएको स्रोतले बताएको छ ।

पदाधिकारी बैठकमा अधिकांश समय उपेन्द्र यादव र डा.बाबुराम भट्टराईले नै बोलेका थिए । डा.भट्टराईले राजकिशोर यादव र अनिलकुमार झाप्रति अन्याय भएकै हो यसलाई सच्याउनुपर्ने धारणा राखेका थिए ।

निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिए पनि हालसम्म प्रमाणपत्र प्राप्त भएको छैन । निर्वाचन आयोगले पनि दर्ताका लागि पेस गरेको कागजातको अध्ययन गरिरहेको छ । जसपाका पदाधिकारी बैठकमा कुरा मिले कार्यसमितिलाई संशोधन गर्ने तयारी भएको छ ।

कार्यसमिति सच्याउने कुरा आएपछि महन्थ ठाकुरलाई आफ्नो धारणा राख्न भनिएको थियो । तर, महन्थ ठाकुरले आज आफूलाई सञ्चो छैन भन्दै बैठकबाट नै निस्केका थिए । उनी बैठकबाट निस्कएपछि कुनै निर्णय हुन सकेन ।


बैठक आज पुनः बस्ने भनिए पनि अहिलेसम्म बस्न सकेको छैन । स्रोतका अनुसार महन्थ ठाकुर कार्यसमिति सच्याउन पक्षमा छैनन् । कार्यसमिति सच्याउन तयार हुँदा डा.बाबुराम भट्टराईलाई पनि संघीय परिषद्मा ल्याउनुपर्ने हुन्छ । फेरि संघीय परिषद्मा भट्टराई पनि यही अवस्थामा आउने पक्षमा छैनन् । महन्थ ठाकुर संयोजक भएपछि मात्र उनको संघीय परिषद्को अध्यक्षमा आउन चाहना रहेको छ । यो कुरा महन्थ ठाकुरलाई स्वीकार्य छैन । त्यही कारणले महन्थ ठाकुर अहिले कार्य समितिलाई परिमार्जन गर्ने पक्षमा देखिएका छैनन् ।

यता, उपेन्द्र यादवले कार्य समितिप्रति असन्तुष्ट रहेका नेता अनिलकुमार झालाई पनि फोन सम्पर्क गरेका थिए । उपेन्द्र यादवले ‘तपाईंहरुमाथि अन्याय भएकै हो । त्यसका लागि आफूले के गर्न सकिन्छ गर्छु’ भन्दै आश्वस्त पार्ने प्रयास गरेका थिए । यादवले कार्यसमिति संशोधन गराएर केही व्यक्तिलाई समावेश गराउने प्रतिबद्धता जनाएको स्रोतले दावी गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप