मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

टिपेक्स प्रकरण : बाबुरामको त्याग कि अपमान ?

सोमबार, २६ जेठ २०७७, १८ : ५७
सोमबार, २६ जेठ २०७७

काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल एकीकरणपछि बनेको जनता समाजवादी पार्टी नेपाल (जसपा) आइतबार निर्वाचन आयोगमा दर्ता भयो । 

तर दुई पार्टी मिलेर नयाँ पार्टी दर्ता भएको भन्दा धेरै चर्चा डा.बाबुराम भट्टराईको भयो। कारण थियो– पार्टी दर्ता गर्न जानुअघि तयार पारिएको कागजातमा डा. भट्टराई वरियताको दोस्रो नम्बरमा थिए । तर पछि उनको नाममा टिपेक्स लाग्यो र चौथो नम्बरमा राखियो । यस्तो कागजात सार्वजनिक हुनेवित्तिकै भटटराईको नाममा किन टिपेक्स लाग्यो ? भन्ने तर्कविर्तक सुरु भयो सामाजिक सञ्जालदेखि सञ्चारमाध्मसम्म । भट्टराईको नाम कसरी चार नम्बरमा पर्न पुग्यो भनि आइतबार नै रातोपाटीले एक समाचार प्रकाशित गरेकाे थियो ।

अझै पनि भट्टराइले त्याग गरेका हुन् ? वा उनलाई अपमान गरियो ? भन्ने जस्ता प्रश्न भइरहेका छन् ।

यसबारे दुवैथरी धारणा आइरहेका छन् । कतिपयले उनले त्याग गरेको भनि प्रसंशा गरिरहेका छन् भने कतिपयले उनलाई जसपा नेपालमा अपमान गरिएको टिप्पणी गरेका छन् । यी र यस्तै तर्कको खेती सेलाएको छैन समाजिक सञ्जालमा । बरु भाइरल भइरहेको छ टिपेक्स प्रकरण । 

यो प्रकरणका थप रहस्य विस्तारै खुल्दै जाला, तर अहिले चाही डेढ महिना अघिको घटनाक्रम बुझ्न उपयुक्त हुन्छ ।

यदि साँच्चै बाबुरामले त्याग गरेको हो भने झण्डै डेढ महिनादेखि किन नेतृत्वका लागि पार्टीमा विवाद चलिरहेको थियो ? राजपा नेपालले त सुरुदेखि नै दुवै पार्टीबाट बराबरको हैसियतमा एकएक जना राखेर पार्टी दर्ता गराउन प्रस्ताव गरेको थियो तर तत्कालिन समाजवादी पार्टीले त्यो प्रस्ताव स्वीकार गरेको थिएन ।

समाजवादी पार्टीले महन्ठ ठाकुर अध्यक्ष, डा.बाबुराम भट्टराई संघीय परिषद्को अध्यक्ष र उपेन्द्र यादव केन्द्रीय समितिको अध्यक्ष रहने प्रस्तावमा अडान लिएर बसेको थियो । त्यसमा तत्कालिन राजपा नेपालका नेताहरु खासगरि रोजेन्द्र महतोले समाजवादी पार्टीबाट दुईजना रहने हो भने राजपा नेपालबाट पनि दुईजना रहने अडान लिएका थिए । 

र, त्यहीँ लफडामा यत्रो समय लागेको थियो । अव प्रश्न उठ्छ त्यतिबेला चाहीँ बाबुरामले किन त्याग देखाएनन् ? महन्थ ठाकुर र उपेन्द्र यादवलाई अध्यक्ष राखेर अगाडि बढ्ने विषयमा छलफल भएकै हो । त्यतिबेला बाबुराम भट्टराई टसमस भएका थिएनन् । तत्कालिन समाजवादी पार्टीका एक नेताका अनुसार त्यतिबेला उनले तपाईँहरुलाई जे जे गर्नुछ गर्नुस् आफू संघीय परिषद् अध्यक्षमै ठीक रहेको धारणा राखेका थिए ।

कुराकानी र छलफलका क्रममा उनले आफू वरियताक्रमको दोस्रो नम्बरमा बस्ने स्वीकार गरिसकेका पनि थिए । दुई पक्षबीच पटक पटक बसेको बैठकमा उठेको यो कुराबारे दुवै दलका नेताहरुलाई थाहा नहुने कुरै भएन । बैशाख १० गते मध्यराति दुई दलको बीचमा एकीकरण हुँदा पनि महन्थ ठाकुर एक नम्बरमा र बाबुराम दोस्रो नम्बरमा रहने सहमति भएको थियो । यो कुरा त्यतिबेला सहमति गर्ने बैठकमा बसेका सबै नेताले भन्ने गरेका छन् । 

निर्वाचन आयोगमा दल दर्ता गराउन आइतबार दिनभर यसै विषयमा छलफल भयो । उनकै उपस्थितिमा निर्वाचन आयोगमा पेस गर्ने निवेदन पनि तयार भयो । केही नेताहरु दर्ताको प्रकृयाका लागि निर्वाचन आयोग पनि पुगिसकेका थिए । अरु शीर्ष नेताहरु पनि जाने तयारीमा थिए तर अचानक बाबुरामलाई किन संघीय परिषद्को अध्यक्ष पद त्याग गरेर वरिष्ठ नेतामै बस्ने विचार आयो ? धेरैले यो प्रश्न गर्न थालेका छन् । तीनै अध्यक्ष रहने, तीनैजनाको हैसियत बराबर रहने कुरामा सहमति भएको थियो नेताहरुले ताली बजाएर सहमतिको स्वागत गरेका थिए ।

तर अचानक डा.बाबुराम भट्टराईको मन कसरी परिवर्तन भयो, यो खोजी र अनुसन्धानको विषय बन्न सक्छ तर बाबुराम भट्टराईका सचिवालयले यो बाबुरामको त्याग नै हो भनेको छ । उनका निकटका नेताहरुले पनि बाबुरामलाई त्यागी भनेका छन् । उच्च सम्मान दिनुपर्ने भनेका छन् । 

नेकपाका नेता खिमलाल देवकोटाले समेत पार्टी एकताको मिसन सफल बनाउन त्याग गरेको धारणा राखेका छन् । विचार मिल्ने तर भागबण्डा नमिल्दा एकता भाडिएका थुप्रै उदाहरण भएका ठाउँमा नकारात्मक टिप्पणी गर्नुको अर्थ नरहने भन्दै उनले बाबुरामलाई बधाई पनि दिएका छन् । 

यसैगरी मधेश मामिलाका जानकार एवं पूर्व राजदूत विजयकान्त कर्णले पनि बाबुरामले ठूलो त्याग गरेको बताएका छन् । 

उनले आफ्नो फेसबुकमा लेखेका छन्,–म डाक्टर बाबुराम भट्टराईजीसँग लगभग ३८ वर्षदेखि परिचित छु । उहाँको सबै विचार र कार्यसँग सधैं सहमत हुन सकिएन र यो सम्भव पनि हुँदैन । बहुत नजिकबाट उहाँको राजनीतिक र सामाजिक गतिविधिहरु हेर्ने कोसिस गरिरहेको हुन्छु । हिजो जनता समाजवादी पार्टीको वरियता क्रममा उहाँको नाम चौथो देखेर धेरै प्रतिक्रिया र खासगरी एमाले र माओवादी नेता र कार्यकर्ताहरुको देखिएको छ। राजनीतिमा पदीय मर्यादाक्रम हुनु हुँदैन।’

मधेसी, दलित र जनजाति समुदायलाई एकै ठाउँमा ल्याएर नेपालमा सदियौंदेखिको विभेदलाई अन्त्य गर्दै सबै पछाडि पारिएका समुदायलाई राष्ट्रिय राजनीतिको केन्द्रमा ल्याउने प्रयास अत्यन्त महत्वपूर्ण ऐतिहासिक रहेको भन्दै उनले बाबुरामको प्रसंशा गरेका छन् ।

त्यस्तै, वरिष्ठ पत्रकार सीताराम आग्रहरीले पनि बाबुरामले पार्टीमा त्याग देखाएको धारणा राखेका छन् । उनले भनेका छन्, ‘बाबुरामको कमजोरीहरु छन्, सबभन्दा त संविधान निर्माणकै बेला हो। संविधान घोषणाको पूर्व सन्ध्यामा मेरे अगुवाईमा मधेशी बुद्धिजीवीहरुको प्रतिनिधिमण्डलको प्रश्नको उत्तरमा जे भन्नुभाको थियो, सुनेर हामी स्तब्ध भयौ । उहाँले भन्नुभो, पोल्टाको टिप्न जाँदा भूँईको पनि खस्नसक्छ।’ साँच्चिकै नयाँ हृदय लिएर नयाँ बाबुराम बनेर आएको उनले बताएका छन् । 

अर्का पत्रकार चन्द्रकिशोरले पनि बाबुरामको प्रसंशा गरेका छन् । उनले भनेका छन्, ‘डा. बाबुराम भट्टराईसँग असहमति हुनसक्छ, आलोचना गर्न सकिन्छ, तर उहाँले आँधीको गोलचक्करबाट जनता समाजवादी पार्टी निर्माणको क्रममा आफूलाई मुक्त राख्नु प्रसंशनीय हो ।’

नेकपा नेता रामकुमार शर्माले जसपा नेपालले बाबुरामलाई अपमान गरेको कारण अब बाबुराम र नेकपाका अध्यक्ष प्रचण्ड मिल्नुपर्ने सुझाव दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप