आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

यसरी लाग्यो बाबुरामको नाममा टिपेक्स, दोस्रोबाट कायम भयो चौथो वरियता !

आइतबार, २५ जेठ २०७७, २१ : ४०
आइतबार, २५ जेठ २०७७

काठमाडौँ–नवगठित जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्र पहिलो वरियता दावी गर्ने डा.बाबुराम भट्टराईले दोस्रो नम्बरमा चित्त बुझाएका थिए ।  तर निर्वाचन आयोग नेपालसम्म पुग्दा उनको दुई नम्बरमा रहेको नाममा टिपेक्स लागेर एकाएक चौथो वरियता हुन पुगेको छ । 

उनको नाममा कसरी टिपेस्ट लाग्यो र चौथो नम्बरमा पुगे भन्नेबारे अहिले सबैतिर चासोको विषय बनेको छ । उनको वरियतालाई लिएर सामाजिक सञ्जालमा पनि विभिन्न टिकाटिप्पणी हुन सुरु भइसकेको छ । माओवादी जनयुद्ध हाँकेका, प्रधानमन्त्री भइसकेका, एउटा सिंगै पार्टीका अध्यक्ष भइसकेका व्यक्तिले एकाएक किन चौथो वरियाताक्रमको वरिष्ठ नेतामा चित्त बुझाए भन्ने चासो सर्वत्र रहेको हो । 

केही दिनदेखि जसपाभित्रको लगातार छलफलपछि तीनजना (भट्टराईसहित महन्थ ठाकुर र उपेन्द्र यादव) अध्यक्ष रहने गरि सहमति भएको थियो । पहिलो वरियताक्रमको अध्यक्षमा महन्थ ठाकुर, दोस्रो वरियताक्रममा डा. भट्टराई (संघीय परिषद् अध्यक्ष), तेस्रो वरियताक्रमको केन्द्रीय समिति अध्यक्षमा उपेन्द्र यादव र वरिष्ठ नेताहरुमा अशोक राई र राजेन्द्र महतो रहने सहमति भएको थियो । राई र महतोको वरियता क्रमशः चौथो र पाँचौ रहने सहमति भएको थियो । 

यो सहमति अनुसार पार्टी दर्ता गराउन केही नेताहरु निर्वाचन आयोग पुगिसकेका थिए । तर भएको सहमतिमा डा.बाबुराम भट्टराईलाई चित्त बुझेको थिएन ।  दोस्रो तहका सबै नेत ४ः३० वजे नै निर्वाचन आयोग पुगिसकेको अवस्थामा ३ नेताबीच छलफल अझै सकिएको थिएन । अर्थात अध्यक्षका विषयमा अन्तिम सहमति जुटाउने प्रयास शीर्ष नेताबीच जारी रह्यो । 

छलफलका क्रममा तीन जना अध्यक्ष रहने हो भने वरियताक्रमको एक नम्बरमा आफ्नो नाम रहनुपर्छ भन्ने बाबुरामको अडान थियो । यस्तै महन्थ ठाकुरलाई संयोजक बनाएर आफू संघीय परिषद्को अध्यक्ष र उपेन्द्र यादव केन्द्रीय समितिको अध्यक्ष रहनुपर्छ भन्ने पनि बाबुरामको तर्क थियो । 

तर महन्थ ठाकुरले आफू बस्ने हो भने अध्यक्षमै बस्ने नत्र संयोजकमा नबस्ने अडान लिए । उपेन्द्र यादवले पनि महन्थ ठाकुरलाई संयोजकमै बस्न दवाव दिन थाले । पहिला पनि महन्थ ठाकुर पार्टीको संयोजक नै हुने सहमति भएकाले ‘तपाई संयोजकमा बस्दिनुस्’ भन्ने उपेन्द्र यादवको जोडबल थियो । 

तर महन्थ ठाकुर त्यसका लागि राजी भएनन् । आफू कुनै पनि हालतमा संयोजकमा नबस्ने, बरु कुनै पनि पदमा नबस्ने भन्दै महन्थ ठाकुर बैठक स्थलबाट जंगिँदै हिँड्न खोजे । अवस्था ‘तनावपूर्ण’ बन्ने देखिएपछि नेता राजेन्द्र महतोले महन्थलाई ‘कन्भिन्स’ गर्दै रोकेका थिए । पार्टीका दोस्रो तहका नेताहरु निर्वाचन आयोगमा रहकै बखत शीर्ष नेताहरुको बैठक भने तनावपूर्ण बनेपछि केही बेर माहोल स्तब्ध बनेको एक नेता बताउँछन् । 

यही बीचमा भट्टराईले ठाकुरले संयोजक बस्न नमान्ने हो भने आफू पनि वरिष्ठ नेतामा बस्ने बताएका थिए । अर्थात तीन जना अध्यक्ष आफूलाई अस्वीकार्य हुने र दोस्रो वरियतासहितको संघीय परिषद्को अध्यक्षमा आफू नबस्ने उनको अडान थियो । उनले खुसीसाथ नै तीन अध्यक्षसहित दोस्रो वरियताको संघीय परिषद अध्यक्ष हुनुभन्दा वरिष्ठ नेता ठीक रहेको बताएपछि सोही अनुसार निर्णय गरिएको बैठकमा सहभागी ती नेताको भनाइ छ । 

भट्टराईकै सहमति पछि दोस्रो नम्बरमा रहेको उनको नाममा टिपेक्स लगाएर वरिष्ठ नेतामा राखिएको हो । उनलाई वरिष्ठ नेतासहित तेस्रो नम्बरमा राख्न खोजिएको भएपनि राजेन्द्र महतोले आदिवासी जनजातिको प्रतिनिधित्व गर्ने अशोक राईलाई तेस्रो बरियतामा राख्नुपर्ने अडान लिएका थिए । 

त्यसपछि भट्टराईले बाध्य भएर चौथो वरियतामा चित्त बुझाएको पार्टी स्रोत बताउँछ । सो सहमतिपछि शीर्ष नेताहरु निर्वाचन आयोगमा पुगेलगत्तै पार्टी दर्ता भएको थियो । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप