विज्ञहरुसँग प्रधानमन्त्रीको ५ घण्टा लामो छलफल : लकडाउन खुकुलो पार्न सुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न क्षेत्रका विज्ञहरुले लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाव दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार भएको छलफलमा जनस्वास्थ्यविद्, अर्थविद लगायतको टोलीले मोडालिटी परिवर्तन गरेर अघि बढ्न सुझाव दिएको जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितले रातोपाटीलाई जानकारी दिए ।
झन्डै ५ घण्टासम्म चलेको बैठकमा प्रधानमन्त्रीले सुरुमा विज्ञहरुलाई पालैपालो सुझाव दिन समय दिएका थिए । त्यसपछि आफ्नो विचार राख्दै प्रधानमन्त्रीले विज्ञ समूहको सुझावलाई ध्यानमा राख्दै लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे आवश्यक निर्णय लिने बताएका छन् ।
प्रधानमन्त्रीलाई विभिन्न क्षेत्रका झन्डै ३० जना विषयविज्ञहरूले आफ्नो सुझाव पेस गरेका थिए ।
प्रधानमन्त्रीले अहिले विभिन्नथरी विचार आएको भन्दै लकडाउन खुकुलो पार्ने कि नपार्ने ? पार्ने हो भने कसरी पार्न सकिन्छ भनेर सुझाव लिएका थिए ।
यस्तै क्वारेन्टाइनको व्यवस्थापन कसरी गर्ने ? विदेशबाट आएका नेपालीलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा पनि प्रधानमन्त्रीले राय संकलन गरेका छन् ।
प्रधानमन्त्रीसँगको छलफलमा रहेका अधिकांश विज्ञहरुले लकडाउन खुकुलो बनाउन सुझाव दिएका छन् ।
छलफलमा विज्ञहरुले सुरक्षा विधि अपनाउँदै अत्यावश्यक सेवाका साथै अन्य खुद्रा पसल, निजी सवारी सधान सञ्चालन गर्न पनि सुझाव दिएका छन् ।
चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरुले क्वारेन्टाइनको अवस्था सुधार गर्न, निजी अस्पतालमा पनि कोरोना परिक्षणको अनुमति दिन सुझाव दिएको डा. दीक्षितले जानकारी दिए ।
उनले भने,‘राज्यले पनि पर्याप्त परीक्षण नगर्ने, निजीलाई पनि नदिने हो भने समस्या जटिल भएर जान्छ । क्वारेन्टाइनहरुको अवस्था सुधार गरेर जानुपर्छ भनेर सुझाव दिएँ ।’
छलफलमा सहभागी अर्थविद्हरुले कोरोना संक्रमणका विच कसरी अर्थतन्त्रलाई चलायमान बनाएर जान सकिन्छ भनेर सुझाव दिएका थिए ।
प्रधानमन्त्रीले आफूले धेरै सुझाव पाएको भन्दै सुझावको फिल्टर गरेर आवश्यक छलफलपछि निर्णय गर्ने जानकारी गराएका छन् ।
अर्थविद्हरु रामेश्वर खनाल, पिताम्बर शर्मा, स्वर्णीम वाग्ले रअन्य ७ जना चिकित्सक लगायत झन्डै ३० जनाले प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् । पछिल्लो समय लकडाउनको विकल्प खोजिनु पर्ने भन्दै सरकारमाथि चौतर्फी दवाव बढ्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रौतहटका स्थानीय तहको बेरुजु ११ अरब नाघ्यो
-
पाथीभरा केबलकारबारे मुख्यमन्त्री र मन्त्रीबिच विवाद
-
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
-
ममता काफ्लेको हत्या प्रकरण : नरेश भट्टविरुद्धको न्याययात्रा निर्णायक मोडमा
-
एमाले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईका भूभागहरूमा तातो लहर चल्ने