शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रिपोर्टरको डायरी : रुकुम घटनामा युट्युबको खेती, डलरका लागि आँशुको व्यापार

शोकाकूल परिवारलाई दशा, युट्युबरलाई दशैँ
बुधबार, २१ जेठ २०७७, ०९ : ०८
बुधबार, २१ जेठ २०७७

‘सुन्नहोस् है, तपाईंहरुले जति पीडा, वेदना, रोदन र चित्कार छाड्नुहुन्छ उति नै छिटो न्याय पाउनु हुन्छ ।’

शोकाकूल परिवारका सदस्यहरुको मुहारमा क्यामेरा तेस्याउनुअघि  युट्युबरहरुले यसरी सम्झाउँछन् । आफन्त गुमाएका शोकाकूल परिवारको स्वतःस्र्फुत आँशु बग्छ । कोही नरोइ एकाग्र भावुक हुन्छन् ।

पीडा भएपनि रुदारुदा सकिएको आँशु युट्युबरका लागि भन्ने बित्तिकै कहाँ आउछ र ? मन रोएकै छ तर आँखामा आँशु निकाल्न बाध्य पार्छन् ।

रुकुम पश्चिम नरसंहार काण्डका भिडियो खिचेर युट्युबबाट पैसा कमाउन देशैभरका युट्युबर यतिबेला तँछाडमछाड गरिरहेका छन् । जसलाई पीडितहरुको दुःख बेदनामाथि कुनै मतलब छैन । उनीहरुको मात्र आँशु र संवेदनामाथि भिडियो बनाएर डलर झार्न उद्धत छन् ।

रुकुम र जाजरकोटको घटनास्थललाई अहिले युट्युबरले छपक्कै छोपेका छन् । त्यहाँको दृश्य हेर्दा लाग्छ शोकाकुल परिवारका लागि निम्तिएको यो दशाले युट्युबरलाई जेठमै दशैँ आएको छ ।

युट्युबरलाई अन्तरवार्ता दिएर आजित हैरान भएका रुकुम पश्चिम र जाजरकोटका स्थानीय अहिले कुनै रडियो, टेलिभिजन र पत्रिकाका सञ्चारकर्मी रिर्पोटिङ गर्न पुगे बोल्नै रुचाउँदैनन्  ।  जाजरकोटस्थित मृतक नवराजकी दिदी सरिता बिकसँग कुरा गर्न खोज्दा भनिन्–‘धेरै जना आएर भिडियो खिचेर गइसक्नुभएको छ, अब कति जनासँग बोल्ने हो ?’ भनेर झर्किइन् ।

पोष्टमार्टम गरेर नवराज विकको शव प्राप्त गरेपछि भेरी नदीमा जलाउन लगियो । शब जलिरहँदा पीडाले आहत भएका उनका बाबुलाई पनि युट्युबरको समूहले नबोली सुख दिएनन् ।

छोराको शब जल्दा तपाईंलाई कस्तो लागेको छ ? जस्ता विभिन्न प्रश्न सोध्दै क्यामेरा र बुम उनको अनुहारमा सोझाएर केरकार गरिरहे । मानौँ युट्युबर न्याय निसाफ दिन आएका कारिन्दा हुन्, जसलाई आफ्नो एकमात्र छोरा चितामा जलिरँहदा पनि एक शोकाकूल बाबुले अन्तरवार्ता नदिई धरै पाउदैनन् ।

नवराजका बुवा छोराको किरिया बसे । तर उनको पीडा र आँशुलाई व्यापार गर्न एक हुल जमात उनको घरमा लाइन लागेर बसेको थियो । दृश्य यस्तो थियो कि नवराजका बुवा छोराको किरिया बसेका होइनन् उनी युट्युबरको च्यानलको सब्सक्राइवर बढाउन, लाइक भ्यूज बढाउन र डलर झारिदिनका लागि अन्तरवार्ता दिन बसेका हुन् ।

पालैपालो उनीहरु क्यामेरा र बुम तेस्र्याएर उनको दुखेको घाउ कोट्याइरहन्थे । उनीहरुले अन्तरवार्ता लिन मृतकका आफन्त बालबच्चादेखि बृद्धसम्म कसैलाई छोडेनन् ।

अचेल नेपाली युट्युब च्यानल हेर्दा यस्तै लाग्छ, कतै घटना हुनुहुन्न त्यहाँ पीडामा बसेको मान्छेले अन्तरवार्ता नदिइ सुखै पाउँदैन् । अर्कोतिर पीडामा रहेका वा अन्यायमा रहेकाहरुले न्याय पाउने आसमा पनि युट्युबमा बोल्न खोज्छन् तर युट्युबर न प्रहरी हुन न अदालत नै । तर उनीहरु पुलिसले जस्तै केरकार गर्छन्, आफै न्यायाधिस बन्छन र फैसला पनि गरिदिन्छन्, पीडितको संवेदनामा खेल्छन् । भ्यूज नघटेसम्म पीडितहरुको घाउ कोट्याइरहन्छन् र भ्यूज घट्न थालेपछि आफ्नो बाटो लाग्छन् । 

नवराज विक र अन्य मृतकको परिवारले पनि आँशु खसाल्दै युट्युबरलाई पोख्नुसम्म पीडा पोखे । उनीहरुको यो बज्रपात युट्युबरका लागि बडादशैँ थियो । बिकको घरमा मलामी र आफन्तजन उम्काउनको भ्याइनभ्याइ नहुँदा समेत उनीहरुले पछ्याउन छोडेनन् ।

रुकुम र जाजरकोट पुगेका युट्युबरमात्र हैन घरको बन्द कोठामा बसेका युट्युबरले पनि घटना र पीडितको संवेदनामा खेलिरहेका छन् । एउटा च्यानलको शीर्षक थियो–‘बल्ल भयो रुकुम हत्या काण्डमा नयाँ खुलासा ।  प्रेमिका नबोल्नुको कारण यस्तो ।’

सुन्दै जाँदानयाँ खुलासा त यस्तो पो रहेछ, प्रहरी हिरासतमा भएका कारण उनी मिडियामा आउन नसकेकी रहिछन् । के त्यही हो नयाँ खुलासा ? मानिसलाई झुक्काउने, ठग्ने र बेवकुफ बनाउने ?

रुकुम घटनाको दोषी को हो भनेर काठमाडौँमा झाँक्रीसँग समेत अन्र्तवार्ता लिएको भेटियो । झाँक्रीले नै दोषी पत्ता लगाउने भए किन चाहियो प्रहरी, किन चाहियो अदालत ?

केही पहिले भएको शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा युट्युबरले भ्रमित पार्न उनको आँखाको नानीमा हत्याराको दृश्य देखाएका थिए । अहिले रुकुमको घटनामा पनि त्यस्तै गर्दैछन् ।  

भेरी नदिमा मृत फेला परेका लोकेन्द्र सुनारको शव दुबै हात डोरीले बाँधेको  अवस्थामा भनेर अर्कै नक्कली तस्वीर राखे । स्थानीय सञ्चारकर्मी भएकोले होला भनेर धेरैले पत्याएर शेयर पनि गरे ।

रुकुम जाजरकोट घटनाबारे एकजमात नेपाली युटुवरहरुले अलिकति पनि मानवीयता, सामाजिक उत्तरदायित्व  र संवेदनशिलता देखाएनन् । यो मात्र हैन उनीहरु हरेक घटनालाई यसरी नै लिन्छन् । जहाँ प्रहरीले अनुसन्धान गर्न थालेको हुँदैन, उनीहरु आफै पुलिस बनेर केरकार गर्छन्, न्यायाधीश बनेर युट्युबबाटै फैसला गर्छन, देश विदेशमा रहेका जनतालाई भ्रमित पारेर युट्युबबाट डलर झारेर बाटो लाग्छन् । यो अहिलेको यथार्थ कटु सत्य हो ।

युट्युबरले गरेका नक्कली पत्रकारिता

पत्रकार आचार संहिता २०७३ को पहिलो संसोधन २०७७ दफा ५ अन्र्तगत पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने कामको बारेमा स्पष्ट पारेको छ ।

जसअन्र्तगत उपदफा ४ को १ मा पत्रकार वा सञ्चारमाध्यमले विपत्ति वा शोकमा परेका, दुःख–पीडा भोगिरहेका ब्यक्ति वा उनका आफन्तजनमा थप पीडा पुग्नेगरी कुनै पनि विवरण, चित्र, संकेत लगायतका सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्न हुँदैन भनेर उल्लेख छ ।

तर रुकुम घटनामा युट्युबरहरुले मृतकको शब भाइरल गराए । साथै नवराज विककी प्रेमिका भनिएकी युवतीको नाम र तस्विर सार्वजनिक मात्र गरेनन्, उनको पेटमा बच्चा भएको समेत घोषणा गरे । जवकी उनी प्रहरी हिरासतमा छिन, न उनको मेडिकल टेष्ट नै भएको छ । के यो गंभीर विषय हैन ? घटना त घट्यो, पुलिस अनुसन्धान गर्दैछ, भोली अदालतमा यो विषमा व्यापक बहस हुन्छ र न्यायाधिसले फैसला गर्छन् । के यसरी युट्युबबाट फैसला गर्न मिल्छ ?

अचार संहिताको उपदफा ६ मा भनिएको छ, वीभत्स दृश्य र तस्विर प्रकाशन वा प्रशारण गर्न पाइदैन । जहाँ भनिएको छ, पत्रकार तथा सञ्चारमाध्यमले समाजमा हिंसा, निराशा, घृणा, सन्त्रास र उत्तेजना फैलाउने किसिमका साथै हत्या, आत्महत्या, बलात्कार, दुर्घटना जस्ता कारणबाट सिर्जित नग्न, क्षतविक्षत र बीभत्स दृश्य एवं तस्बिरहरु सम्प्रेशण गर्नुहुँदैन् ।

तपाईं आफै रुकुम घटना राखिएका युट्युब हेर्नुस, के त्यहाँ माथि उल्लेख गरिएका कुरा पालना गरिएको छ त ? पक्कै पनि छैन । शब जलाइरहेको ठाउँमा पुगेर पनि उनीहरुले मृतकमा बाबुसँग कुरा मात्र गरेका छैनन् शवको विभत्स तस्विर दृश्य समावेश गरेर सन्त्रास र उत्तेजना फैलाएका छन् ।


प्रहरीले अपराधमा संलग्न अपराधी नै हो भनेपनि अदालतबाट अपराध ठहर नभएसम्म पत्रकारसामु सार्वजनिक गर्दा अभियुक्तको मुख छोपेर सार्वजनिक गर्छ भने नवराजकी प्रेमिका भनिएकी युवतीलाई अदालतले दोषी करार गरिसकेको छैन तर युट्युबरहरुले उनको तस्विर र नाम भाइरल बनाइदिए ।

अहिले युट्युबरले अपराधको सम्पूर्ण दोष ती युवतीलाई लगाएका छन् । के ती युवतीको बाँकी जिवन छैन ? घटनामा त आवेश र आक्रोषका क्रममा उनका परिवार  र गाउँवासी सहभागी भन्ने कुरा छ । अनुसन्धानमा उनी निर्दोष हुन पनि सक्छिन् ।

पत्रकार महासंघकी केन्द्रीय सचिव लक्ष्मी पुन भन्छिन्, ‘सुष्मा अहिले थुनामा छिन्, सञ्चार सम्पर्कबाट बिच्छेद अवस्थामा । आफ्नो विषयको पैरवी गर्नका लागि अदालती प्रक्रिया बन्द भएका कारण उनी समर्थ छैनन् । तर, युट्युबरले उनको एकोहोरो बद्नाम गरिरहेको छ । उनको प्रोफाइललगायत छानिछानी तस्विर सार्वजनिक गरिएको छ ।’

 

‘प्रश्न गम्भीर छ, अब उनको तर्फबाट कसले बचाव गर्छ ? उनलाई अप्ठेरो परेको बेला ती युट्युबरहरु बचाउन त आउँदैनन्, तर उनको इज्जत लिलाममा चढाइदिने हकमा पनि ती युट्युबर छैनन् । थिएनन् । मुख्य प्रश्न हो, भोलि अनुसन्धान प्रक्रियाबाट सुष्मा निर्दोष ठहरिन् भने आज भएजति दोष सबै उनको थाप्लोमा हालेर रमाइरहेका युट्युबरहरु सजायको भागिदार हुने कि नहुने ?’

‘अझै पनि कति रुकुम घटनाको कति वटा र कति पटक नयाँ खुलासा भन्दै भिडियो बनाएर युट्युब खेती गर्ने ? खाली झुक्काउने र अतिरञ्जित पार्ने ? जातीय हिंसा भड्काउने अनि सामाजिक सद्भाव बिगार्ने छुट कसैलाई पनि छैन ।’

बुटवलबाट  संगिता गौतम अर्यालले फोन गरेर भनिन्, ‘रुकुमको नारावाजी र बाहुनहरुलाई गाली गरेको सुन्दा वाहुनकी छोरी हुँ भन्न पनि दुःख लाग्यो । मेरो घर गुल्मीको जुभुङ्ग हो । म ईस्मामा धेरै बर्ष बसेँ । त्यहाँ मेरी परिायर थरकी साथी थिईन । उनीसँग बर्षौ पछि पाल्पामा भेट हुँदा मेरो गह भरिएर आयो ।  काम गरि खाने र जन्मिदै सिप लिएर जन्मिने  दलित समुदालाई दलित भन्न मलाई मन लाग्दैन । आखिर बाहुन क्षेत्री यस्तो मन र समानताको पक्षधर पनि त छन । अनि सबै बाहुन र क्षेत्रीहरुलाई मुछ्ने ?’

जुन सुकै अपराधका घटनामा जो कोही समुदायका मानिस पर्न सक्छन् तर सिंङ्गो समुदायलाई मुछिएको छ । नवराजलाई साथ दिएर जानेहरु दलित मात्रै थिएनन् । बाहुन क्षेत्री र मगर समुदायका युवाहरुले चोट थापे र उनीहरुले पनि ज्यान गुमाएका छन् ।

अहिले केही युट्युबरहरुको जमात मिलेर दुई चारजनालाई भाइरल बनाउने र उनीहरुलाई जे कुरा मन लाग्छ त्यही कुरा बोल्न लगाउने, झैझगडा गराउने गरेका छन् । ‘ए पत्रकार भनेका त यस्ता पो हुदोरहेछन्’ भनेर सर्वसाधारणमा पत्रकारको बचेको शाख पनि माटोमा मिलाउने काम गरेका छन् ।

भूकम्पका बेला भारतीय मिडिया च्यानल आएर अतिरञ्जित सामग्री प्रशारण गरेपछि नेपालीहरुले ट्वीटरमा गो ब्याक इन्डियन मिडिया भन्ने ह्याजट्याग अभियान चलाएका थिए । अब नेपालमा पनि हत्या, अपहरण, बलात्कार जस्ता संवेदनशील र प्रहरीले अनुसन्धान गरिरहेको विषयमा अतिरञ्जित गर्ने, पीडितलाई थप पीडा गराउने युट्युबरलाई के गर्ने सरकार र आम नागरिकले सोच्नुपर्ने बेला आएको छ ।

नेपालका केही राम्रा ज्ञानबद्र्धक युट्युब च्यानल पनि छन् । केही सञ्चारगृहले चलाएका जिम्मेवार पत्रकारहरुले काम गरिरहेका च्यानलहरु पनि छन् । जसले निकै ओझिला, बोझिला र विश्वसनिय सामग्री  पस्किदै सामाजिक उत्तरदायित्वलाई जिम्मेवारीपूर्वक पालना गर्नुभएको छ । कतिपयले विपत्तिमा परेकाहरुलाई सहयोग रकम संकलन गरेर सहायता पनि पु-याउनुभएको छ । उहाँहरुलाई मेरो साधुवाद छ । 

तर एउटा युट्युबरको तप्का यस्तो छ जो आफूले आफैलाई पत्रकार घोषणा गरेर, आफैले प्रेस पास छापेर घटना दुर्घटना खोज्दै अतिरञ्जित गर्नतिर लागिरहेका छन् । घटना दुर्घटना भएको ठाउँमा पुगेर पीडितलाई थप पीडा दिने काम गरेका छन् । पत्रकारितालाई सजिलो पेशा ठानेर मनलाग्दी गर्नेहरुलाई अब राज्यले अनि नागरिक समाजले चिन्ने र नियमन गर्ने बेला अझै आएन र भन्या ? 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप