बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीद्वारा कोरोना प्रशिक्षण !

आइतबार, ०४ जेठ २०७७, २१ : ५२
आइतबार, ०४ जेठ २०७७

काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकको मुख्य एजेण्डा मध्ये एउटा थियो–लकडाउनबारे निर्णय गर्ने । सो बैठकको सुरुमै प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनले मुलुकको अर्थतन्त्र ध्वस्त भएको भन्दै नागरिकलाई कोरोनाभाइरसबाट बचाउनतर्फ सरकार गम्भीर भएर क्रियाशिल हुनुपर्नेमा जोड दिए ।

उनले कोरोनाभाइरसबाट बचाउन लकडाउन सधै सम्भव नहुने भन्दै रोगप्रतिरोधात्मक क्षमता बढाउनेतिर लाग्नुपर्नेमा जोड दिएका थिए । एक मन्त्रीका अनुसार आजको बैठकमा प्रधानमन्त्री ओलीले लामो समय आफ्नो कुरा राखेका थिए भने कोरोनाबाट बच्न रोगप्रतिरोधात्मक क्षमता बढाउनु पर्ने जोड दिएका थिए ।

त्यसका लागि घरेलु विधि प्रभावकारी हुने भन्दै ओलीले अदुवा, बेसार पानी, लसुनका साथै विभिन्न जडिबुटी मिलाएर खाँदा स्वास्थ्यलाई फाइदाजनक हुने भन्दै यसतर्फ नागरिकलाई प्रेरित गर्ने बताएका थिए । 

उनले नेपालीको रोगप्रतिरोधात्मक क्षमता यसैपनि बलियो रहेको भन्दै यस्तो कुरामा जोड दिन सकिए कोरोनाबाट बच्न धेरै हदसम्म सहयोगी हुने बताएका थिए । 

उनले बैठकमा मन्त्रीहरुलाई समेत जडिबुटी समेत गरेर रोग प्रतिरोधात्मक क्षमता बढाउन सुझाएका थिए । बैठकपछि ती मन्त्रीले भने, ‘प्रधानमन्त्रीले प्रशिक्षणात्मक शैलीमा कोरोनाबाट बच्ने उपायबारे आफ्नो धारणा राख्नुभयो । हामीले सुन्यो ।’ 

उनका अनुसार बैठकमा लामो समय ओलीले कोरोनाको जोखिम, सरकारले गरेको कामकारबाही र नागरिकलाई कसरी जोगाउने भन्नेबारे आफ्नो विचार प्रस्तुत गरेका थिए । 

उनले जटिबुटी र आयुर्वेदका औषधि निकै फाइदाजनक हुने पटक पटक दोहोर्याउँदै यसको प्रयोगमा नागरिकलाई प्रेरित गर्नुपर्ने बताएका थिए । बैठकपछि सरकारका प्रवक्ता डा युवराज खतिवडाले पनि नागरिकको रोग प्रतिरोधात्मक क्षमता बढाउने विषयमा छलफल भएको पुष्टि गरे । 

‘क्वारेन्टाइनमा रहँदा होस् या बाहिर रहँदा होस् हामी सबै नागरिकहरुको रोग प्रतिरोधात्मक क्षमताहरु बढाउनु पर्छ भन्ने विषयमा छलफल भएको छ’, उनले भने, ‘प्रतिरोधात्मक क्षमता बढाउनका लागि हाम्रा जडिबुटीजन्य अथवा औषधिजन्य जतिपनि बस्तुहरु छन्, त्यसमा  अलिकति हामीले जनचेतना बढाउने, उपभोग गर्ने बानी पनि विकास गर्ने, व्यायाम गर्ने बानी विकास गर्ने । सरकारी निकाय जसले यस्ता औषधि उत्पादन गर्नुहुन्छ उहाँहरुलाई पनि प्रोत्साहन गर्ने ।’ 

उनले नागरिकको जीवनशैलीलाई परिवर्तन गर्नलाई जनचेतना फैलाउने तथा यो सबै काम गर्नका लागि जनप्रतिनिधिदेखि नागरिकसमाजका प्रतिनिधिसम्म लाग्नुपर्ने निष्कर्ष निकालिएको बताए । 


यसअघि पनि प्रम ओलीले कोरोना भगाउन तातोपानीले बाफ लिने, तातोपानी खाने, चिसो पदार्थमा जोड नदिने सुझाव दिएका थिए । उनले  ‘बोसिय र फ्याटिय तत्त्व’ भन्दै कोरोनाबारे दिएको अभिव्यक्तिबारे सामाजिक सञ्चालमा निकै टिकाटिप्पणी समेत भएको थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप