शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद यादव ‘अपहरण’ प्रकरण : कसले दियो जाहेरी दर्ता नगर्न प्रहरीलाई दबाब ?

कानुनी परामर्शमा जसपा नेताहरु
सोमबार, १५ वैशाख २०७७, १२ : ५३
सोमबार, १५ वैशाख २०७७

काठमाडौँ । सामाजिक सञ्जालमा लेखेको विषयकै भरमा सर्वसाधारणलाई कारवाहीको दायरामा ल्याउने नेपाल प्रहरीले आइतबार ‘अपहरण’ सम्बन्धी गम्भीर आरोपको जाहेरी दर्ता गर्न ‘अस्वीकार’ गरेको छ ।

अपहरण जस्तो गम्भीर घटनामा प्रहरीले जाहेरी लिन नमानेपछि सामाजिक सञ्जालमा प्रहरी संगठन र सरकारको चर्को आलोचना भएको छ । प्रहरी संगठनको नेतृत्व र व्यवसायिकतामाथि नै प्रश्न उठेको छ ।

जाहेरीमा अपहरणको घटना महोत्तरी जिल्लामा भएको उल्लेख गरेको कारण देखाउँदै महानगरीय प्रहरी परिसर, काठमाडौँ उतैबाट दर्ता गर्न भन्दै पन्छिएको हो ।

पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठविरुद्ध अपहरण तथा शरीर बन्धकको जाहेरी दर्ता गर्न काठमाडौँ प्रहरीले अस्वीस्कार गरेको थियो ।

काठमाडौँ प्रहरीले जाहेरी लिन नमोपछि पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री आफै अपहरणजस्ता काण्डमा मुछिएको आरोप लगाए । ‘उहाँहरू आफै संलग्न भएर अपहरणजस्ता काण्डमा मुछिनुभएको छ । यसले सम्पूर्ण कर्मचारी, प्रहरी र प्रशासनलाई पनि आतंकित पारेको छ,’ भट्टराईले भने ।

यो मुद्दामा जाहेरी नदिँदा पनि राज्य आफैले अनुसन्धान गर्नुपर्ने विषय भएको उनले बताए । उनले भने, ‘प्रहरीलाई केही दोषारोपण गर्न चाहँदैनौँ, उहाँहरूको केही बाध्यता होला । तर, ओलीतन्त्रले राज्यको कानुन सबै लत्याएको छ र राज्यको अपराधीकरण गरेको छ । साथै, आफैँ अपहरणमा समेत मुछिएको छ ।’

डा. भट्टराईको भनाइको तात्पर्य – राजनीतिक दबाब (प्रधानमन्त्री)को कारण प्रहरीले जाहेरी दर्ता गर्न नमानेको’ हुनसक्छ । आखिर किन दबाब दिइयो त काठमाडौँ प्रहरीलाई सांसद यादवको जाहेरी दर्ता नगर्न ?

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पनि सांसद यादवको जाहेरी प्रहरीले दर्ता नगरेको भन्दै विरोध जनाएका छन् । ‘पूर्वसचिव भिम उपाध्ययामाथि साइबर क्राइमको मुद्दा दर्ता ! भष्ट्राचारी, बलात्कारी, अपहरणकारीलाई सम्मान ! यस्तो लोकतन्त्र हुनै सक्दैन, यो त सिमित व्यक्तिको लुटतन्त्र हो । नाम प्रजातन्त्र वा लोकतन्त्र जेहोस देश लुटिइरहेको छ । लोकतन्त्र विधिले चल्छ, आदेशले होइन,’ भण्डारीले ट्वीट गरेका छन् । भण्डारीको ट्वीटको तात्पर्य पनि राजनीतिक दबाबको कारण प्रहरीले सांसद यादवको जाहेरी दर्ता गर्न इन्कार गरेको हो ।

जाहेरी दर्ता गर्न किन पछि हटे आईजीपी ?

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) हुन् ठाकुर ज्ञवाली । आईजीपी ज्ञवालीले प्रहरी संगठनको नेतृत्व अब ७२ दिन मात्र सम्हाल्नेछन् ।०७७ असार २४ मा उमेर हदका कारण ज्ञवालीले अवकाश पाउँछन् ।

२०७६ माघ २८ मा नयाँ आईजीपी भएका ज्ञवालीलाई छोटो समयमा धेरै काम गर्नुपर्ने चुनौती काँधमा आएको थियो ।  पाँच महिनाको अवधि आफैंमा छोटो समय हो । उनले छोटो समयमा प्रहरी संगठनभित्रका काम गर्न सके अझै उत्कृष्ट ठहरिने थिए । तर, अडान लिन नसक्दा ज्ञवालीको कार्यक्षमता कमजोर रहेको सजिलै बुझ्न सकिन्छ ।

छोटो समयको लागि प्रहरी संगठनको नेतृत्व गर्ने मौका पाएका ज्ञवालीले किन सांसद यादवको अपहरण सम्बन्धी जाहेरी दर्ता गर्नबाट पछि हटे ? सर्वत्र चासोको विषय रहेको बेला आईजीपी ज्ञवालीले भने यस विषयमा कुनै प्रतिक्रिया नदिने भन्दै फोन काटे । 

राजनीतिक दबाबको कारण नै आईजीपी ज्ञवालीले सांसद यादवको जाहेरी दर्ता नगरेको प्रष्ट छ । सांसदद्वय बस्नेत र श्रेष्ठ प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेता हुन् । प्रधानमन्त्री ओलीको दवावको कारण आईजीपी ज्ञवालीले जाहेरी दर्ता नगर्न काठमाडौँ प्रहरी प्रमुखलाई निर्देशन दिएको आरोप छ ।

यस्तै पूर्वआईजीपी सर्वेन्द्र खनाल संवैधानिक पदको लोभमा प्रधानमन्त्री ओलीलाई फकाउने योजनमा सांसद अपहरण प्रकरणमा मुछिएका हुन् । अख्तियार आयुक्त बन्ने दौडमा खनाल फँसेको एक पूर्वडीआईजी बताउँछन्  ।

जहाँबाट पनि जाहेरी दर्ता गर्न मिल्छ : पूर्वडीआईजी मल्ल

कुनै पनि अपराधको घटना जुनसुकै जिल्लाको प्रहरी कार्यालयबाट दर्ता गर्न सकिने कानुनी व्यवस्था छ । तर, काठमाडौँ प्रहरीले घटना भएको नजिकको प्रहरी कार्यालयमा उजुरी दिन भन्दै सांसद यादवको उजुरी लिन मानेन ।

जुनसुकै जिललाको प्रहरी कार्यालयबाट सम्बन्धित अपराधको कानूनले तोकेको हद म्यादभित्र यथासक्य चाँडो जाहेरी दरखास्त दिनुपर्ने पूर्वडीआईजी हेमन्त मल्ल बताउँछन् । उनले भने, ‘अपराधको सूचना वा जाहेरी दरखास्त दिँदा लिखित, मौखिक जे जस्तो रुप वा ढाँचामा दिए पनि सम्बन्धित प्रहरी कार्यालयले बुझी लिनुपर्नेछ ।’

आइतबार पूर्वस्वास्थ्यमन्त्री डा. सुरेन्द्र यादव जनता समाजवादी पार्टीका शीर्ष नेताहरू पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव, राजेन्द्र महतो, हिसिला यमी, राजेन्द्र श्रेष्ठलगायतका नेताहरूसहित बस्नेत, श्रेष्ठ र खनालविरुद्ध जाहेरी दर्ता गर्न टेकु पुगेका थिए ।

तर, काठमाडौँ प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जाहेरी दर्ता गर्न ठाडै ‘अस्वीकार’ गरे । ज्ञवालीले जाहेरीमै घटनास्थल महोत्तरी देखाइएकाले उतैबाट अनुसन्धान गर्न बाटो खोलिदिएको प्रतिक्रिया दिए ।


के थियो घटना ?

समाजवादी फुटाउने उद्देश्यले गत १० वैशाखमा पूर्वआईजीपी खनाल तथा सांसदद्वय बस्नेत र श्रेष्ठले महोत्तरीस्थित घरबाटै सांसद सुरेन्द्र यादवलाई जबर्जस्ती गाडीमा राखेर काठमाडौँ ल्याएको आरोप छ ।

अपहरणका योजनाकारको रूपमा सत्तारुढ दलका दुई सांसद र पूर्वआईजीपीको नाम किटान गरिएको उजुरी काठमाडौँ प्रहरीले दर्ता गर्न अस्वीकार गरेको हो ।

यादवले अपहरण तथा शरीर बन्धकको अभियोगमा सांसदहरू बस्नेत, श्रेष्ठ र पूर्वआइजिपी खनालविरुद्ध किटानी जाहेरी दिन खोजेका थिए । तीनमध्ये दुईजना सांसद अर्थात् सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले साढे २४ वर्षसम्म कैद सजायको माग गरिएको छ ।

डा. यादवले ‘मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १७ को दफा २११ को १,२, को (क) (ख), २१२(१), (२) (३) र २१३, २१४(१) (२) (३), २१५, २१७ बमोजिम क्षतिपूर्तिसमेत भराई शरीर बन्धक लिई अपहरणको कसुर गरेकोले निजहरूलाई हदैसम्मको कानुनी कारबाहीसमेत गरिपाऊँ,’ भनी किटानी गरेका छन् ।

विभिन्न सञ्चारमाध्यमलाई दिएको अन्तरवार्तामा यादव आफैले आफ्नो इच्छा र चाहनाविपरीत जबरजस्ती काठमाडौँ ल्याइउको र राजनीतिक अपहरण भएको बताउँदै आएका छन् ।

यादवलाई जबर्जस्ती काठमाडौँ ल्याइएको घटना कानुनी रूपमा पनि पेचिलो बनेको छ ।

जाहेरी दर्ता लिन नमानेपछि कानुनी परामर्शमा जसपा नेताहरु

काठमाडौँ प्रहरीले जनता समाजवादी पार्टी नेपालका सांसद यादवको अपहरणसम्बन्धी जाहेरी नलिएपछि उक्त पार्टीका नेताहरू कानुनी परामर्शमा जुटेका छन् ।

पार्टीका नेता विश्वदीप पाण्डेले प्रहरीले जाहेरी लिन अस्वीकार गरेपछि सरकारी वकिल कार्यालयमार्फत वा अरू कुनै निकायबाट जाहेरी दिन सकिनेबारे कानुनी परामर्शमा रहेको बताए ।

समन्वयमा सुल्झिएका केही घटनाहरु

अनुसन्धानमा सहयोग गर्ने प्रवृति नेपाल प्रहरीमा हुनुपर्ने हो । एक अर्को जिल्लाको समन्वय भएका थुप्रै घटनाहरु पनि छन् । केही घटनाहरु तल हेरौँ ।

घटना नम्बर १

आत्महत्या दुरुत्साहनको आरोपमा टेलिभिजन प्रस्तोता रवि लामिछानेमाथि चितवन प्रहरीले अनुसन्धान गरिरहेको थियो । तर, कुनै उजुरीबिनै काठमाडौँ प्रहरीले २०७६ साउन २९ गते लामिछानेलाई पक्राउ गरेर चितवन पुर्याएको थियो ।

घटना नम्बर २

२०७६ असोजमा जनकपुरमा बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा सांसद प्रमोद यादव काठमाडौँबाट पक्राउ परे । काठमाडौँ प्रहरीले पक्राउ गरेर यादवलाई धनुषा प्रहरीका जिम्मा लगाइदिएको थियो ।

घटना नम्बर ३

२०६७ मंसिरमा तत्कालीन युवराज पारस शाहले रुवेल चौधरीमाथि ज्यान मार्ने नियतले गोली ताकेको आरोपमा पोखराबाट पक्राउ परे । घटना चितवनको टाइगर टप्स रेस्टुरेन्टमा भएपनि पारसलाई पोखराबाट पक्राउ गरेर चितवन पठाइएको थियो ।

घटना नम्बर ४

सिद्धबाबा भनिने कृष्णराज गिरीले आफ्नी अनुयायीलाई सुनसरीको चतरामा बलात्कार गरेको जाहेरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा दर्ता भएको थियो । सीआईबीले जाहेरी दर्ता गरेर सुनसरीमा पठाएको थियो । सोही आधारमा उनलाई पक्राउ गरी सुनसरी प्रहरीले कारबाही गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप