शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रवि लामिछानेको चितवनको घटनाको उजुरी काठमाडौँमा लिन हुने, सुरेन्द्र यादवको किन नहुने ?

आइतबार, १४ वैशाख २०७७, २२ : १४
आइतबार, १४ वैशाख २०७७

काठमाडौँ । आइतबार महानगरीय प्रहरी परिसर टेकुले सांसद अपहरणसम्बन्धि उजुरी दर्ता गर्न अस्वीकार गरेको छ । घटना भएको नजिकको प्रहरी कार्यालयमा उजुरी दिन भन्दै परिसरले उजुरी लिन नमानेको हो ।

नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ किसान तथा पूर्वआइजिपी सर्वेन्द्र खनालले महोत्तरीबाट आफूलाई अपहरण गरी काठमाडौँ ल्याएको भन्दै पूर्वमन्त्रीसमेत रहेका डा. सुरेन्द्र यादव आइतबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वउप्रधानमन्त्री उपेन्द्र यादवसहित उजुरी दिन पुगेका थिए । तर, काठमाडौँ प्रहरीले उजुरी नै लिन लिन मानेन ।

परिसरले सांसद यादवको उजुरी लिन नमानेपछि सामाजिक सञ्जालमा अनेक टिकाटिप्पणी भएको छ । टेलिभिजन प्रस्तोता रवि लामिछानेले आफ्नो प्रसंग कोट्याउँदै सरकारप्रति ब्यङ्ग्य गरेका छन् । केही समयअघि पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका थिए लामिछाने । पुडासैनीले लामिछानेको कारण आत्महत्या गर्नुपरेको भन्दै एक भिडियो सन्देश छाडेका थिए । भिडियोकै आधारमा लामिछानेविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दाको उजुरी काठमाडौँ परिसरले लिएको थियो । जबकी त्यतिबेला घटना चितवनमा भएको थियो ।


‘तत्कालिन आईजीपी सर्वेन्द्र खनालकै निर्देशनमा चितवनमा भएको घटनाको अनुसन्धान गर्न भन्दै परिसरले उजुरी लिएको थियो । चितवनमा भएको घटनाको उजुरी काठमाडौँमा लिन मिल्ने, उहाँहरुको विरुद्धमा नमिल्ने भन्दै,’ लामिछानेले आक्रोश समेत पोखेका छन् ।

लामिछानेले ‘चितवनमा भएको घटनामा सर्वेन्द्र खनालकै निर्देशनमा मेरो र युवराजका विरुद्ध काठमाडौँमा उजुरी लिन मिल्ने, उहाँहरुको विरुद्धमा नमिल्ने ? उजुरी लिएर महोत्तरी पठाउन सकिन्छ तर उजुरी नै नलिन कसरी मिल्ला ? कानुन सानालाई मात्रै ? अराजकताको खाल्डो यति ठूलो नखन्नुस्, पुरिने तापाईंहरु आफै हो,’ सामाजित्र सञ्जालमा उनले लेखेका छन् ।

अदालतको अनुमति पनि नलिइकन रवि लामिछानेलाई सञ्चारगृहबाट गिरफ्तार गरेर चितवन लगिसके पछि काठमाडौं प्रहरीमा जाहेरी गर्न लगाएर चितवन पठाइएको थियो ।

सांसद यादवको उजुरी काठमाडौँ प्रहरीले लिनुपर्ने एक पूर्वआईजीपी बताउँछन् । उनी भन्छन्, ‘कसैका विरुद्ध पनि उजुरी लिन्न भन्न पाइन्न, तर मुद्दा चलाउने/नचलाउने सरकारी वकिलले निर्णय गर्छ ।’

रवि र सांसद यादवको प्रसंगलाई लिएर प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी निरज शाहीलाई सम्पर्क गर्दा फोन रिसिभ भएन ।

यादव राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादीका सांसद हुन् । उनी समाजवादी पार्टीबाट महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए । समाजवादी पार्टी फुटाउने प्रयोजनका लागि केही दिनअघि यादवलाई महोत्तरीबाट काठमाडौँ ल्याएको आरोप छ ।

आफूलाई अपहरण तथा शरीर बन्धकमा राख्न संलग्न रहेको भन्दै यादवले नेकपाका सांसदहरू बस्नेत, श्रेष्ठ र पूर्वआईजीपी खनालबिरूद्ध किटानी जाहेरी दिएका हुन् ।

किटानी जाहेरी दिन टेकुस्थित परिसरमा जनता समाजवादीका शीर्ष नेताहरू बाबुराम भट्टराई, उपेन्द्र यादव, शरदसिंह भण्डारी, राजेन्द्र महतो, अशोक राई, राजेन्द्रकुमार श्रेष्ठ, हिसिला यमीलगायत पुगेका थिए ।

उजुरी लिन नमानेपछि पत्रकारसँग कुरा गर्दै भट्टराईले प्रधानमन्त्री आफै अपहरणजस्ता काण्डमा मुछिएको पनि आरोप लगाए । ‘उहाँहरू आफै संलग्न भएर अपहरणजस्ता काण्डमा मुछिनुभएको छ । यसले सम्पूर्ण कर्मचारी, प्रहरी र प्रशासनलाई पनि आतंकित पारेको छ,’ भट्टराईले भने ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी महोत्तरीबाट सांसद यादवलाई उठाएर ल्याएको भए पनि यो घटनाले पूर्णता काठमाडौँमै पाएकाले जाहेरी दर्ता गर्न बाहिर जानु नपर्ने बताउँछन् ।

काठमाडौँ प्रहरीले डा. यादवको अपहरणको जाहेरी लिन नमान्नुले विधिको शासन र कानूनको अगाडी सबै समान हुन्छ भन्ने सिद्धान्तको धज्जी उडाएको अधिवक्ता त्रिपाठीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप