पूर्वआईजीपी सर्वेन्द्र खनालसहित सांसदद्वय बस्नेत श्रेष्ठविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसहित सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध प्रहरीमा उजुरी परेको छ ।
जनता समाजवादी पार्टी, नेपालका नेता डा बाबुराम भट्टराई, उपेन्द्रलगायतले आइतबार महानगरीय अपराध महाशाखामा पुगेर उनीहरुविरुद्ध उजुरी दिएका हुन् ।
खनालसहित बस्नेत र श्रेष्ठमाथि तत्कालीन समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई महोत्तरीबाट अपहरण गरेर काठमाडौं ल्याएको आरोप लागेको छ ।
गत बुधबार महोत्तरीस्थित घरमै रहेका यादवलाई उनीहरुले काठमाडौं ल्याएका थिए भने त्यसको भोलिपल्ट यादव होटल मेरियटबाट फुत्किएर पार्टीको सम्पर्कमा पुगेका थिए ।
यता पार्टी फुटका लागि सांसदनै अपहरणमा परेपछि बुधबार राति नै समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण गरेर जनता समाजवादी पार्टी, नेपाल गठन गरिएको थियो ।
सो प्रकरणमा पूर्वआईजीपी नै मुछिएपछि उनको अहिले चौतर्फी आलोचना भइरहेको छ ।