बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

डा. सुरेन्द्र यादव प्रकरणका अनुत्तरित प्रश्न

लकडाउन छिचोल्दै ‘देश र जनताको हितमा’ जनकपुर पुगेका थिए सर्वेन्द्र ?
बिहीबार, ११ वैशाख २०७७, २२ : १०
बिहीबार, ११ वैशाख २०७७

काठमाडौँ । गत २८ माघमा प्रहरी महानिरीक्षक (आईजीपी) बाट अवकाश पाएका सर्वेन्द्र खनालको नाम बुधबार एउटा गम्भीर आरोपमा मुछियो । खनालमाथि समाजवादी पार्टी नेपालका सांसद डा. सुरेन्द्र यादवको कथितरुपमा अपहरण गरेर पार्टी फुटाउन प्रयास गरेको आरोप लागेको छ ।

सांसद यादवको कथित ‘अपहरण’ मा खनालको मात्र नभएर देशको कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओली र उनकै विश्वासपात्र सांसद महेश बस्नेतलगायतको पनि नाम मुछिएको छ ।

कसरी जोडियो पूर्व आईजीपी खनालको नाम ?

बुधबार साँझ समाजवादी पार्टीका सूचना तथा प्रचार विभाग उपप्रमुख विश्वदिप पाण्डेले पूर्वस्वास्थ्य राज्यमन्त्री एवम् पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवको अपहरण भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गरे ।

लगत्तै पाण्डेको स्टाटसलाई आधार बनाएर राष्ट्रिय मिडियामा ‘सांसद यादवको अपहरण भएको’ भन्दै हेडलाइन बन्यो । त्यतिमात्र होइन, पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा काठमाडौँबाट गएको प्रहरी टोलीले डा. यादवलाई जनकपुरबाट अपहरण गरेको दाबी गरे ।

सांसद जस्तो व्यक्तिलाई प्रधानमन्त्री ओलीको ठाडो निर्देशनमा अपहरण गरिएको भनेर पार्टीकै एक जिम्मेवार व्यक्तिले भनेपछि सांसद यादवको परिवारदेखि महोत्तरीका सिडिओ, प्रहरीसँग घटनाबारे बुझ्न थालियो ।

सांसद यादवकै परिवारका सदस्यहरुले अपहरणको हल्ला गलत भएको बताए । सांसद डा. यादवकी श्रीमतीले भनिन्, ‘डाक्टर साब १२ बजे घरबाट जनकपुर घरमा निस्कनुभएको हो, उहाँले निस्किदा आज घर नआउन सक्छु भन्नुभएको छ, उहाँ अपहरणमा पर्नुभएको हो जस्तो लाग्दैन ।’

परिवारले सांसद यादव घरमै रहेको दावी गरिरहँदा सिडिओ र जिल्ला प्रहरी प्रमुखले सांसद यादवबारे बेखबर रहेको बताएपछि घटना झनै रहस्यमय भयो ।

सांसद नै अपहरणमा परेको खबर भाइरल भएपछि रातोपाटीले प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई घटनाबारे बुझ्न फोन सम्पर्क गरेको थियो ।

रातोपाटीसँगको कुराकानीको क्रममा मन्त्री यादवले सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ, पूर्व आईजीपी सर्वेन्द्र खनाल र महोत्तरीका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीको मिलेमतोमा डा. यादवको अपहरण भएको दावी गरे । पूर्व आईजीपी खनालको नाम मन्त्री यादवले लिएसँगै रातोपाटीमा समाचार प्रकाशित भएको थियो ।

अनुत्तरित प्रश्नहरु

देशमा भइरहेको राजनीतिक हलचलका बीच सांसद सुरेन्द्र यादव एकाएक सम्पर्कबिहीन बनेपछि त्यसबारे प्रश्न उठ्नु स्वाभाविक हो । यादवका परिवारले राति अबेरसम्म पनि उनी घरमै रहेको र मोबाइल स्वीच अफ भएको बताइरहेका थिए । तर, यादवसँग सम्पर्क गराउन माग गरेपछि उनको परिवार पनि सम्पर्कविहीन बने । त्यतिबेला यादव घरमा नरहेको र काठमाडौँ आएको अहिले खुलिसकेको छ । यदि सांसद यादव घरमै थिएनन् भने परिवारले किन झुट बोल्यो ?  

बुधबार राति नै सांसद महेश बस्नेतले यादवलाई लिएर काठमाडौँ आएको खुलासा भइसकेको थियो । यस विषयमा रातोपाटीले सोही बेला नै बस्नेतलाई सम्पर्क गरेको थियो । तर, उनले आफू काभ्रेस्थित ससुरालीमा रहेको प्रतिक्रिया दिएका थिए । कुनै गलत मनसायका साथ डा. यादवलाई काठमाडौँ ल्याइएको थिएन भने बस्नेतले किन झुट बोल्नुपर्ने आवश्यकता किन प¥यो ? प्रश्न अनुत्तरित छ ।

लगभग १२ घण्टापछि मिडियाको सम्पर्कमा आएका डा. यादवले भनेका छन्, ‘मलाई अपहरण गरिएको होइन, प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएपछि आएको हुँ ।’ तर, साथसाथै उनले आफूलाई काठमाडौँ जान मन नरहेको र ‘दबाब’ का कारणमात्र आएको पनि स्पष्ट पारेका छन् ।

यता, पूर्व आइजीपी खनालले आफू ‘देश र जनताको हितको लागि काम गर्ने’ क्रममा जनकपुर पुगेको र सोही क्रममा लकडाउनको बेला यादवको ‘उद्धार’ गरेर काठमाडौँ ल्याएको स्पष्टिकरण फेसबुकमार्फत दिएका छन् । बदनामीका योजनाहरु विगतमा जस्तै पानीको फोका साबित हुने उनको दाबी छ ।

यस स्पष्टिकरणका बावजुद घटनाका कडीहरुलाई जोड्दा तीन भाइको जनकपुर यात्रा नै शंकास्पद छ । किनभने लकडाउनमा एउटा सांसदलाई उद्धार गर्न पूर्व आइजिपीदेखि लिएर सांसदद्वय नै काठमाडौँबाट जनकपुरसम्म जानुपर्ने त्यस्तो गम्भीर अवस्था प्रकाशमा आएको छैन ।

त्यसमा पनि डा. यादव कुनै सामान्य हैसियत भएका व्यक्ति थिएनन् । उनी देशका सांसद थिए । उनले चाहेको भए आफै पनि काठमाडौँ आउन सक्थे । यादवले पनि प्रष्टरुपमा आफूलाई प्रधानमन्त्रीको दबाबमा काठमाडौँ ल्याइएको स्पष्ट पारिसकेका छन् ।

यदि उनीहरुको नियतमा खोट थिएन भने अपहरणको समाचार भाइरल भइसक्दा र स्वयम् सञ्चारमाध्यमले सम्पर्क गर्दा पनि उनीहरुले यादवलाई मिडियाको सम्पर्कमा आउन किन दिएनन् ?

यसअघि ‘मिडिया फ्रेन्डली’ प्रहरी अधिकृतको परिचय बनाएका खनालले राति नै आफ्ना पहुँचमा रहेका पत्रकाहरुमार्फत् यस विषयको खण्डन गर्न सक्थे । तर, लामो समयपछि घटनामा संलग्नहरुले एउटा सचेत ‘कथ्य’ निर्माण गरेरमात्र मिडियाको सम्पर्कमा आएको देखिन्छ ।

अख्तियारको आयुक्त बन्न खनालको अराजनीतिक खेल !

राजनीतिक खिचातानीमा महेश बस्नेत र किसान श्रेष्ठको नाम मुछिनुलाई सामान्य मानिए पनि प्रहरी संगठनको नेतृत्व गरेर हालसालै अवकाश पाएका व्यक्तिले राजनीतिक षड्यन्त्रमा प्रत्यक्ष सहभागी हुनुलाई आश्चर्यका रुपमा हेरिएको छ । जबकि खनालले अवकाश पाएको ३ महिना पनि पूरा भएको छैन ।

स्रोत भन्छ, खनाल पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आयुक्त पदमा नियुक्त हुन लविङमा रहेका छन् ।' प्रधानमन्त्री ओलीलाई खुसी पारेर आयुक्त हुनैका लागि खनाल अराजनीतिक काममा लागेको स्रोतको दाबी छ ।

सरकारले ल्याएको विवादास्पद संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधनले पनि अख्तियारमा खनालको नियुक्तिको बाटोलाई सहज बनाएको थियो । उनले फेसबुकमा लेखेका छन्, ‘प्रहरी सेवाको समय सकिए पनि जीवन सकिएको छैन , फेरी पनि कुनै न कुनै रुपमा देश र जनताको हित हुने काममा लागी रहनेछु ।’ 

एकले अर्कालाई दोषी देखाएर प्रहरी अधिकृतहरु पन्छिन खोजे पनि यो मामिला जटिल देखिन्छ । पूर्वप्रधानमन्त्री र बहालवाला प्रदेश गृहमन्त्रीले लगाएको आरोप गम्भीर रहेकाले सबैमाथि अनुसन्धान हुनुपर्ने सुरक्षाविद्हरुको भनाइ छ ।

यस प्रकरणमा अध्यक्ष उपेन्द्र यादव मौन रहे पनि लकडाउनका बेला पार्टी फुटाउन सांसदलाई जनकपुरबाट काठमाडौँ ल्याउन भूमिका खेलेको भन्दै खनाललाई कारवाही गर्न पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले माग समेत गरेका छन् ।

यसो त आईजीपीबाट अवकाश पाउँदा खनालको कार्यकाल विवादरहित बन्न सकेको थिएन ।

निर्मला हत्याकाण्ड, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या प्रहरीबाटै हुनुदेखि प्रहरी संगठनका भ्रष्टाचारको छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यालयमै छापा मारेर कागजात नियन्त्रणमा लिएको जस्ता घटनाले खनालको कार्यकाल बदनाम बनेको थियो ।

अवकाश पाएसँगै केही समय गुमनाम खनालको नाम ‘सांसद अपहरण’ जस्तो गम्भीर विषयमा जोडिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप