बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सर्वसाधारणमा कोरोना त्रास : ‘विदेशमै रोकथाम गर्न सकेको छैन, नेपालमा फैलियो भने के होला ?’ (भिडियो)

शनिबार, १७ फागुन २०७६, १८ : २३
शनिबार, १७ फागुन २०७६

ललितपुर बखुण्डोलमा सैलुन सञ्चालन गर्ने रविन ठाकुर कोरोना भाइरस प्रति सचेत छन् । केही दिन पहिले उनको सैलुनमा कपाल काट्न चिनियाँ नागरिक आएका थिए । सँगै एकजना नेपाली पनि आएकाले उनीहरुलाई केही भएको त छैन भनेर उनले सोधे । चीनबाट कोरोना भाइरस सुरु हुनुभन्दा पहिले नै नेपाल आएको बताएपछि उनले मास्क लगाएर कपाल काटे । 

यो भाइरसका बारेमा आएका समाचारमा पनि उनी चनाखो हुने गरेका छन् । पत्रिकामा त्रिभुवन विमानस्थलमा उच्च सुरक्षा सतर्कता नअपनाइएको समाचार आएपछि आफूलाई डर लागेको उनले सुनाए । दैनिक धेरै मानिसहरुको संसर्गमा रहनुपर्ने भएकाले अचेल मास्क लगाएर मात्र कपाल काट्ने गरेको उनले सुनाए । 

प्रकाश सिंह तामाङ काठमाडौंमा ट्याक्सी चलाउँछन् । तर उनले आफूलाई कोरोना भाइरसका बारेमा केही थाहा नभएको र त्यसबारे केही सावधानी नअपनाएको बताए । अर्का सर्वसाधारण अजय लामाले पनि आफूलाई केही थाहा नभएको बताए । 


लिटिल एजेल्स स्कूलमा कक्षा ६ मा पढ्दै गरेका आशिष जेबुलाई भने चीनबाट कोरोना भाइरस फैलिएको बारे थाहा छ । उनले कोरोना भाइरस घातक रहेको र चीनमा धेरै मान्छे मरेको थाहा भएको सुनाए । उनले यो भाइरस बारेमा आफै सर्तक रहनुपर्ने र मास्क लगाउनुपर्ने बताए । 

अशोक थामी अचेल हरेक दिन मास्कले पुरै मुख ढाकेर बस्ने गरेका छन् । सडकको धूलो तथा रोगको संक्रमणबाट जोगिन उनले मास्क प्रयोग गर्न थालेका छन् । नेपालमा कोरोना भाइरसको संक्रमण बढ्यो भने विकराल अवस्था हुने उनको आंशका छ । उनले भने–‘विदेशमा त रोकथाम गर्न सकेको छैन, औषधी नै बनेको छैन भन्छन् । नेपालका फैलियो भने के होला ?’ 


सरकारलाई सावधानी अपनाउन आग्रह 
नेपाल ल क्याम्पसकी विद्यार्थी जेरिना महर्जन नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण नफैलिएकोमा ढुक्क छिन् । पत्रपत्रिका तथा मिडियाबाट भाइरसको प्रकोपबारे उनले पनि बुझिरहेकी छिन् । नेपालमा संक्रमण फैलिन नदिनका लागि विदेशमा कसरी रोकथाम भएको छ त्यहाँबाट सरकारले पनि सिकेर काम गर्नुपर्ने उनको सुझाव छ । 

कपिलवस्तुका विक्रम त्रिपाठी कोरोना भाइरसको बारेमा सचेत छन् । हालसम्म औषधी पनि नबनेको र विश्वका धेरै देशमा संक्रमण फैलिएकोले सरकार बेलैमा सचेत हुनुपर्ने उनले बताए । संक्रमण फैलिएको देशबाट नेपाल आएका नागरिकलाई बिना जाँच प्रवेश गर्न दिएको भन्दै संक्रमणको जोखिम बढेको उनले बताए । 

उनले भने, ‘संक्रमण फैलिन नदिन जुन जुन देश प्रभावित छन्, त्यहाँबाट आउने पर्यटकलाई बिना जाँच नेपालका प्रवेश गराउनु हुँदैन । चीन, कोरिया, जापान, इरान, इराकमा पनि फैलिइसकेको छ, त्यहाँबाट आउने पर्यटकलाई कम्तीमा हामी नभित्र्याउँ, यदि भित्र्याउने हो भने पनि उनीहरु त्यहाँबाट जाँच गराएर आएका छन् कि नगरी आएका छन् त्यो हेरेर मात्र भित्र्याउँ ।’ 

कोरोना भाइसरको संक्रमण फैलन नदिन सरकारको मुख्य भूमिका भएको सीता लामाको धारणा छ । उनले चीनबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने मात्र नभइ एयरर्पोटमा जाँच गर्ने मेसिनलाई भरपर्दो बनाउनुपर्र्ने बताइन् । यस्तै पूर्वशिक्षिका सुनिता खड्काले खतरनाक भाइरस भएकोले गरिब देशमा एउटालाई स¥यो भने छिट्टै धेरैलाई सर्ने भएकोले नेपाल प्रवेश गर्ने नाका नाकामा कडाइ गर्नुपर्ने सुझाव दिइन् । 


विश्वमा ८३ हजारमा संक्रमण, २८ सयको मृत्यु
कोभिड १९ नाम दिइएको र झण्डै २ महिना अघिदेखि चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका ५० भन्दा बढी देशमा देखिएको छ । यो भाइरसको संक्रमणबाट हालसम्म २८ सय ५२ जनाको मृत्यु भएको र ८३ हजार मानिसको भाइरस प्रमाणित भएको बताइएको छ । 

चीनको बुहानबाट सुरु भएको कोरोना भाइरसको प्रकोप पछिल्लो समय दक्षिण कोरिया र इरानमा देखिएको छ । इरानका स्वास्थ्य उपमन्त्रीलाई समेत यसको संक्रमण भएको छ भने कम्तिमा २ सय १० जनाको मृत्यु भएको छ । त्यहाँको मस्जिद तथा खुला क्षेत्रहरुमा भीडभाड गर्न रोक लगाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । त्यहाँ ३ सय ८८ जनालाई संक्रमण भएको जनाइएको छ । 

यता दक्षिण कोरियामा १६ जनाको मृत्यु भएको छ भने झन्डै ३ हजार जनामा संक्रमण फैलिएको छ । शुक्रबार मात्रै ६ सय जनामा संक्रमण फैलिएको छ ।  

यता जापानमा १३ जनालाई कोरोना भाइरस संक्रमण भएपछि जापानी प्रधानमन्त्री सिञ्जो आवेले १ महिनासम्म सार्वजनिक विद्यालय बन्द गर्न निर्देशन दिएका छन् । उता अष्ट्रेलियाले उच्च सर्तकता अपनाउँदै चीनबाट आउने यात्रुलाई प्रवेश निषेध गरेको छ । 

चीनबाहिर तीब्र गतिमा कोरोना भाइरसको संक्रमण फैलिरहेको भन्दै विश्व स्वास्थ संगठनले चिन्ता व्यक्त गरेको छ । विश्वका धेरै देशमा यो भाइरसको संक्रमण फैलन नदिनका लागि उच्च सर्तकता अपनाइरहेको बेला नेपालमा पर्याप्त ध्यान नदिइएको भन्दै आलोचना भइरहेको छ । 

नेपालमा पनि एकजनामा उक्त संक्रमण देखिएपनि निको भएर अस्पतालबाट फर्किएका छन् । यस्तै कोरोना भाइरस प्रभावित चीनका विभिन्न स्थानमा अध्ययन गरिरहेका  १ सय ७५ विद्यार्थीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको दुई साता भएको छ । उनीहरुको जाँच गरेर छिट्टै छोड्ने तयारी भएको छ । 

सरकारले नेपालमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेक्स राखेको छ । विमानस्थलमा राखिएको थर्मल स्क्यानरले विभिन्न देशबाट नेपाल प्रवेश गर्ने यात्रुको शरिरको तापक्रम नाप्ने गर्छ । 

तापक्रम बढी भएको यात्रु भेटिए उसको जाँच गरेर अस्पताल पठाउने व्यवस्था गरिएको छ । भारइस नेपाल भित्रिन रोक्ने यो मात्र प्रभावकारी विधि नभएको विज्ञहरु बताउँछन् । 

त्रिभुवन विमानस्थलमा प्रभावकारी जाँच नहुने हो र भारततर्फ पनि खुला सिमानामा सर्तकता नअपनाउने हो भने नेपाल कोरोना भाइरसको संक्रमण विकराल बन्न सक्ने धेरैको चिन्ता छ । 

काठमाडौका सर्वसाधारण के भन्छन् ? हेर्नुहोस् भिडियो 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप