बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको कहर : भान्सादेखि राष्ट्रिय गौरवका आयोजनासमेत प्रभावित !

मङ्गलबार, १३ फागुन २०७६, १३ : ४५
मङ्गलबार, १३ फागुन २०७६

बुुटवल । विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) रूपन्देहीको भैरहवामा रहेको बिरिएल लाइट इन्डस्ट्रिजले एलईडी लाइट उत्पादन गर्छ । नेपालकै ठूलो एलईडी लाइट उत्पादन गर्ने उद्योगका रूपमा रहेकोे बिरिएलले आफ्नो उत्पादन झन्डै ७० प्रतिशत भारत लगायतका देशमा निर्यात गर्दै आएको छ । 

तर पछिल्लो २ महिनायता चीन हुँदै अन्य देशमा फैलिएको कोरोना भाइरसको असरले यो उद्योगले आफ्नो उत्पादन २५ प्रतिशतले कटौती गरेको छ । 

उद्योग व्यवस्थापक केशव भट्टराईका अनुसार उद्योगका लागि कच्चा पदार्थ लिन गएकोे कन्टेनर १५ दिनदेखि उतै रोकिएको छ । कच्चा पदार्थको कमीका कारण उत्पादन कटौती गर्नु परेको हो । कोरोना सन्त्रासले ठूलठूला उद्योगमा प्रयोग हुने कच्चा पदार्थदेखि सामान्य होटलमा प्रयोग हुने लसुनको समेत आयात रोकिएको छ । 

होटल तथा रेस्टुरेन्ट व्यावसायी सङ्घ रूपन्देहीका अध्यक्ष समुद्र जिसी चीनबाट आउने लसुनको मूल्य वृद्धिले व्यापारमै असर परेको बताउँछन् । ‘पहिलाको तुलनामा दोब्बर रकम तिरेर लसुन खरिद गर्नुपरेको छ’, उनको भनाइ छ । 

कोरोना भाइरसको असर भान्सामा प्रयोग हुने लसुनदेखि ठूला परियोजनासम्ममा परेको छ । पाँच नम्बर प्रदेशमा सञ्चालनमा रहेका दुई राष्ट्रिय गौरवका आयोजना पनि यो भाइरसका कारण प्रभावित बनेका छन् । 

उपकरणहरुको आयात रोकिनु र छुट्टी मनाउन गएका कामदार फर्कन नपाउँदा काम अघि बढ्न नसकेको ती आयोजनाहरुले जनाएका छन् । भैरहवामा निर्माणाधीन गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बुुटवल नारायणगढ सडकका चाइनिज प्राविधिक सहितका कामदार फर्किन नसक्दा पूूर्वाधार निर्माणको काम प्रभावित बनेको हो ।

गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुुख प्रवेश अधिकारीले कामदारहरु फर्किन नपाउँदा टर्मिनल भवनभित्रको कन्भेयर बेल्ट र धावनमार्गमा लाइट जडानको काम ठप्प भएको बताए । अन्य भौतिक संरचनाहरुको काम भइरहे पनि प्राविधिक क्षेत्रको काम ठप्प भएको उनको भनाइ छ । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१९ डिसेम्बर ३० मा निर्माण सम्पन्न गर्ने भनिए पनि सो समयमा काम नसकिँदा यसअघि नै विमानस्थल निर्माणको म्याद तीन महिना थपिएको छ । 

अहिलेकै अवस्था रहे थपिएको समयमा पनि विमानस्थल निर्माण पूूरा हुनेमा आशङ्का थपिएको छ । विमानस्थलको हालसम्म ८७ प्रतिशत काम सकिएको आयोजना प्रमुुख अधिकारीको दाबी छ । 
बुुटवल–नारायणगढ ६ लेन सडक विस्तारका कामलाई पनि कोराना भाइरसले समस्यामा पारेको छ ।

चाइनिज कामदारहरु फर्कन समस्या भएपछि नेपाली प्राविधिकसहितका कामदारले कामलाई अघि बढाएका छन् । सडक विस्तारको काम चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसन लिमिटेडले लिएको छ । सडक विस्तारको काम अन्तर्गत बुटवलदेखि पश्चिम नवलपरासीको दाउन्नेसम्मको ४८.५ किमि सडक एक खण्डको काम जारी छ । त्यसैगरी पूर्वी नवलपरासीको गैँडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किमि सडकलाई दोस्रो खण्डमा विभाजन गरी काम भइरहेको छ । 

आयोजनामा व्यवस्थापन र प्राविधिक गरी २० जनाको हाराहारीमा चिनियाँ कामदार कार्यरत आयोजनाको काममा मुख्य प्राविधिक र प्रशासनिक जिम्मेवारी चिनियाँकै छ । तर आधाभन्दा बढी कामदार चीन गएका छन् । रोगको सङ्क्रमण फैलिएपछि उनीहरु उतै रोकिएका हुन् ।

परियोजनका सूचना अधिकारी इन्जिनियर युवराज पाण्डेले नेपालमा आए पनि दुई हप्ता स्वास्थ्य क्याम्पमा बसेर परीक्षण सकिएपछि मात्र आउन भनेर प्राविधिकसहित अन्य कामदारलाई भनिएको बताए । उनले चाइनिज नआएपछि नेपालीहरुले नै कामलाई निरन्तरता दिएको बताए । गौरवको आयोजनाका रूपमा रहेको सडक गत चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै काम थालिएको थियो ।

अगस्त १, २०२२ सम्म सडक विस्तारको काम सम्पन्न गर्नुपर्ने सम्झौतामा छ । 

पर्यटक पनि घटे 


कोरोना भइरसले विकास निर्माण जस्तै पर्यटनमा पनि परेको छ । बौद्ध धर्मावलम्बीहरु आस्थाको केन्द्र मानिने लुम्बिनीमा पछिल्लो समय चिनियाँ पर्यटकको सङ्ख्या शून्य छ । लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतले चिनियाँ पर्यटकको सङ्ख्या शून्य रहेको रातोपाटीलाई बताए । उनले भने, ‘भाइरसका कारण चिनियाँहरु आएका छैनन् ।’ भारत, थाइल्यान्ड लगायत मुलुकका पर्यटकहरुको सङ्ख्या भने गत वर्षको जस्तै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप