बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘दुर्गमका जनताले उत्सव मनाए, तर काठमाडौंका पत्रकार धुरुधुरु रोए !’

म देश बनाउन हिँडेको धन कमाउन होइन
बिहीबार, १५ फागुन २०७६, १९ : २३
बिहीबार, १५ फागुन २०७६

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्माओलीले सञ्चारमाध्यमहरुले सरकारले दुर्गमका जनताका पक्षमा गरेको काम नदेखेको गुनासो गरेका छन् ।  पार्टीको बाग्मती प्रदेशस्तरीय प्रशिक्षणलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले दुर्गममा खानेपानी, बिजुली, सडक र बैंक पुगेको नदेख्ने पत्रकारहरुले ‘केक काटेको र भात कतिको खाए ?’ भनेर हिसाब गरेर बसेको मात्र देखेको भन्दै पत्रकारहरुको आलोचना गरेका हुन् । 

सरकारले विकास गर्दा दुर्गमका जनता खुसी भएपनि त्यसमा काठमाडौंका पत्रकारहरु भने धुरु–धूरु रोएर बसेको उनको टिप्पणी छ ।  ‘पाँचथरको सुख्खाग्रस्त क्षेत्र यासोक र रानीमा घरघरमा धारा पुर्याएको खुशीयालीमा त्यहाँका जनता नाँचे, खुशीयालीमा रमाए, खाना खाए र उत्सव मनाए तर बिचरा पत्रकारहरु धुरुधुरु रोए’, सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘आफ्नो गाउँमा जन्मेको मनिस प्रधानमन्त्री भएर गाउँमा विकास लिएर पुग्दा खुशी हुनु, नाँचगान गर्नु र बाजा बजाउनु स्वभाविक हो ।’ 

त्यस्तै ओलीले विरोध गर्ने विषय नपाएकाहरुले आफ्नो जन्मोत्सव र केक काटेको विषयलाई मुद्दा बनाएको भन्दै आलोचना गर्नेहरुलाई ‘केक राष्ट्रवाद’ को संज्ञा दिए ।  उनले मोदी र ओवामाहरुले समेत जन्मोत्सव मनाएको युट्युवहरुमा हेर्न सकिने भन्दै मन परेको चिजको आकारमा केक बनाएर ल्याएको भएपनि आफुले त्यो नहेरेको जवाफ दिए । 

‘कतिवटा केक ल्याए मैले त त्यो पनि हेरिनँ, अण्डा र माछाका डाला ल्याए, छोइदिएँ, मेरो फोटो बनाएर ल्याउँछन्, काट्छन् । तर म त काटिएको छैन, केक पो काटिएको हो !’ उनले नेपालको नक्सा आकारको केक काटिएको भन्दै विरोध गर्नेहरुलाई यस्तो जवाफ फर्काए । 

देश बनाउन हिँडेको धन कमाउन होइन
प्रधानमन्त्री ओलीले आफु धन कमाउन नभई देश बनाउन हिँडेको दाबी पनि गरे । ‘म देश बनाउन हिँडेको हो, धन कमाउन होइन । म मरेपनि पछिल्ला पुस्ताले मेरो आदर्श बोकेर हिँडुन् भन्ने हो । त्यसैले म भन्ने गर्छु म आफु पनि भ्रष्टाचार गर्दिन अरुलाई पनि गर्न दिन्न्’, ओलीले प्रधानमन्त्री आफै भ्रष्टाचारमा संलग्न भएको भन्ने आरोपको खण्डन गरे । 

विकास र सम्मृद्धिका काम गरिरहेको भन्दै दुई वर्षमा ३ हजार किलोमिटर सडक कालोपत्रे गरेको र त्यो इतिहासमै धेरै काम भएको प्रधानमन्त्रीको दावी थियो । कोही पनि एकैचोटी धनी हुन नसक्ने भन्दै उनले तीव्र विकासको बाटोमा लागेका १० देशभित्र नेपाल तेस्रो देशमा पर्न सफल भएकोमा गर्व गर्नुपर्ने सुनाए ।

साक्षरता दर बढाएको र सडक मानवमुक्त बनाएको भन्दै यस्ता सकारात्मक कामलाई ओझेलमा पार्ने प्रयास गरिएको ओलीले दावी गरे । नेकपा र सरकार दुवै सही नीति लिएर अघि बढेको भन्दै ओलीले देश चलाउन विचारमा दृढता चाहिने सेमत जनाए । ‘पार्टीका बैचारिक नीति सही छन्, संगठन सुदृढ र गतिशिल छन् । तर केही कमजोरी पनि छन् । त्यो कमजोरी भनेको पार्टीका सञ्चारमाध्यम छैनन्, पार्टी कमिटीका नेताहरुका सञ्चारमाध्यम छन् तर लेख्ने वेला पार्टी र सरकारकै विरोध गर्छन्’ ओलीको गुनासो थियो । 

कुलमाथि मुद्दा लागेको छैन 

करिब एकघण्टा सम्बोधन गरेका ओलीले पूर्व सुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथि भ्रष्टाचारको आरोप मात्र लागेको र मुद्दा नलागेको दावी गरे । ‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको अडियो टेप प्रकरण सार्वजनिक भएपछि गोकुल बाँस्कोटाले राजीनामा दिनुभएको हो । आरोप लागेको छैन, मुद्दा लागेको छैन । भ्रष्टाचार भएको प्रमाणित भए कारवाही हुन्छ । दोष रहेछ भने सजाय भोग्नुपर्छ । तर दोषी नभए दोष लगाउनेलाई कारवाही हुन्छ’, प्रधानमन्त्री ओलीको चेतावनी थियो ।  

बाँस्कोटा स्वंयले अडियो आफ्नो नभएको र न्याय खोज्छु भनेको भन्दै उनले आन्दोलनलाई बद्नाम गर्ने र नेताहरुको चरित्रहत्या गर्ने षड्यन्त्र भइरहेको दावी गरे ।  ‘डील फ्रेन्च र जर्मनसँग भइरहेका बेला स्वीससँगको अडियो कसरी आयो ? मैले वाँस्कोटाको डिफेन्ड गर्न खोजेको होइन,’ उनको दावी थियो । त्यस्तै उनले केही समयअघि चिकित्सा शिक्षा आयोगका उपाअध्यक्ष श्रीकृष्ण गिरीलगायतले २० करोड घुस मागेको प्रसंग कोट्याउँदै सरकारले भ्रष्टाचारीहरु खोजीखोजी कारवाहीको दायरामा ल्याउँदा केहीलाई त्यो कुरा नपचेको बताए । ‘मझेरी र ओडारमा सुन लुकाउनेहरु धमाधम कारबाहीमा परिरहेका छन्’ ओलीको भनाई छ । 

मिडियाका कुरा विश्वास नगर्नुस्
ओलीभन्दा अगाडि सम्बोधन गरेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले पार्टीमा दुई लाइन संघर्ष जारी रहेको र त्यो सामान्य रहेको बताए । पछिल्लो पटक पार्टीभित्र गम्भीर खालको समस्या देखा परेको टिप्पणी भइरहेका बेला प्रचण्डले विवादरहित भएको दिन पार्टी नै नरहने धारणा राखे ।

‘जुन दिन विवादरहित, शान्त र एकजुट हुन्छ त्यसदिन पार्टी नै चहिँदैन । तर साम्यवादसम्म नपुग्दासम्म विवाद, ठक्कर खाइन्छ’ प्रचण्डको भनाई थियो । उनले विचार नीति सिद्धान्त र पद्धति मुख्य विषय भएको भन्दै त्यसैका आधारमा दुई कम्युनिस्ट पाटी एकता सम्भव भएको समेत बताए । विगतमा ततकालीन एमाले र माओवादीमा उन्माद आएको र हैसियत तल झरेको उदाहरण दिँदै प्रचण्डले पार्टी एकता भैसकेकाले एकले अर्कोलाई शंकाले हेर्न नहुने धारणा राखे । 

उनले नेतृत्वमा गम्भीर खालको कुनै विवाद नरहेको भन्दै ढुक्क रहन नेता कार्यकर्तालाई आग्रह समेत गरे । ‘पार्टीको विवादबारे मिडियामा आएको कुरालाई विश्वास नगर्नुस्, ढुक्क हुनुस् पार्टी केही हँुदैन’, प्रचण्डको भनाई थियो । 

विघटनमा जान दिँदैनौ 

कार्यक्रममा बरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई विसर्जन र विघटनमा जान नदिने प्रतिबद्धता जनाए । ‘पार्टीमा धेरै उत्तरचढाव आउछन् । जान्छन् । यो देखेर विचलित हुनुपर्दैन । हामी कुनै हालतमा पार्टी विघटन हुन दिँदैनौ’ नेपालको भनाई थियो । उनले पार्टी एकता घोषणा भएको लामो समयसम्म पनि पूर्णता नपाएकोमा असन्तुष्टि पनि जनाए  ‘एकीकरणमा विलम्व भएको छ । यसलाई छिटो सम्पन्न गर्नुपर्छ ।

एकताका क्रममा भएका त्रुटिहरुलाई महशुस गर्नुपर्छ । गल्ती दोहोरिन दिनुहुँदैन’, नेपालको भनाई छ । उनले कसैले पनि विधि, पद्धति र प्रकृया मिच्ने काम कसैबाट पनि हुनु नहुने भन्दै बहस र विवाद पार्टी कमिटीभित्रै गर्नुपर्ने बताए । 

अपडेट नभए समाप्त हुन्छौ 
स्थायी समिति सदस्य ईश्वर पोखरेलले नेता कार्यकर्ताहरु समयअनुसार अपडेट हुँदै जान सके मात्र सफल भइने बताए । ‘नत्र समाप्त हुन्छ । पुराना आचरणलाई निरन्तरता दिन जरुरी छैन’ पोखरेलले अझैपनि पूर्व एमाले र माओवादी व्यवहार र आचरण देखाउने गरेकोमा असन्तुष्टि जनाए ।

उनले एकताले अलिअलि अप्ठेरो भइरहेको भन्दै त्यो सबैले स्वीकार गर्नुपर्ने बताए । ‘एकताले अलिअलि अप्ठेरो भएको छ । त्यो सबैले स्वीकार गर्नुपर्छ । तर यो संक्रमणकालिन अवस्था हो । यस्तो बेला अप्ठेरो महशुस हुनु अनौठो होइन’ पोखरलेको भनाई थियो । उनले दुवै अध्यक्षलाई देखाउँदै भागबण्डाका आधारमा पार्टी नचलाउन सुझाव समेत दिए ।

‘अब ६०/४० को कुरा नगर्नुहोला बरु एकताको मपदण्ड बनाउनुुस्’, पोखरेलले सदस्यता नवीकरणका क्रममा सोलोडोलो नहुने भन्दै त्यसको केही न केही प्रमाणका आधामा सदस्यता नवीकरण गर्नुपर्ने धारणा राखे । उनले युवा पुस्तामा नेतृत्व हस्तानतरणका लागि तलैबाट पार्टी कमिटीमा युवाहरुलाई स्थान दिनुपर्ने पनि बताए ।  कार्यक्रममा वागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री ओलीप्रति लक्षित गर्दै केक काटेर जन्मदिन मनाउने संस्कृति कहाँको भन्दै प्रश्न गरेकी थिइन् । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप