दुर्गानाथ शर्मा भन्थे – मृत्युको टिकटमा डेट मात्रै राख्न बाँकी हुन्छ
काठमाडौं । ‘मृत्यदेखि म डराउँदिनँ । मृत्यु ध्रुव सत्य हो । जन्मेपछि मर्नुपर्छ भन्ने निश्चित छ तर कहिले ? लानेको काम हो । त्यो जाने टिकट यमराजले पहिले नै थमाएको हुन्छ रे । खाली डेट राख्न मात्र बाँकी हुन्छ ।’
वरिष्ठ पत्रकार दुर्गानाथ शर्माले रातोपाटीको ‘मेरो जीवन स्तम्भ’ का लागि कुराकानीका क्रममा केही महिना पहिले भनेका थिए । उनै शर्माको बुधबार बिहान असामयिक निधन भएको छ । ७२ वर्षीय शर्माको मनमोहन कार्डियोथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको हो ।
उनको २४ वर्षअगाडि ओपन हार्ट सर्जरी गरिएको थियो । सोही सर्जरीमा ईजन्फेक्सनको समस्या भएपछि सुरुमा उनलाई गंगालाल अस्पताल भर्ना गरिएको थियो ।
गंगालालमा ५ दिन उपचार गरी उनलाई मंगलबार राति ८ बजेमात्र मनमोहन अस्पतालमा भर्ना गरिएको थियो ।
रातोपाटीको कुराकानीमा उनले ‘दुर्घटनामा मर्नु नपरोस्’ भन्ने आफ्नो चाहना रहेको बताएका थिए । उनले भनेजस्तै उनका लागि निधन सहज त भयो होला तर उनको निधनबाट नेपाली पत्रकारिता क्षेत्रका एक होनहार धरोहर भने सधैँका लागि यस संसारबाट बिदा भएका छन् ।
२००४ सालमा इलाममा जन्मिएका शर्माको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
शर्माले ०२८ साल अम्बिका शर्मासँग प्रेम विवाह गरेको थिए भने उनका दुई छोरा (पंकज र निरज) छन् ।
सिद्धहस्ता प्रस्तुतकर्ता
शर्मा अग्रणी पत्रकारिता क्षेत्रका एक परिचितथ अनुहार थिए । अहिलेको अवस्थामा नेपाल टेलिभिजनले जुन उचाइ बनाएको छ त्यो उचाइ बनाउन पिल्लरको रुपमा काम गर्ने मध्येका शर्मा पनि एक हुन् । उनी नेपाल टेलिभिजनका पूर्वमहाप्रवन्धक समेत हुन् ।
टेलिभिजनमा समाचारवाचन र विश्व घटना नामक कार्यक्रम सञ्चालन गरेर शर्माले ख्याति कमाएका थिए ।
नेपाल टेलिभिजन स्थापित हुनमा शर्माको ठूलो योगदान रहेको कलाकार तथा नेपाल टेलिभिजनका संस्थापक महाप्रन्धक नीर शाहले बताए ।
शाहले सिद्धहस्ता प्रस्तुतकर्ता र लेखनशैली राम्रो भएको पत्रकारको रुपमा समेत शर्मालाई सम्झिए ।
सुरुमा गोरखापत्रमा काम गरेका शर्मालाई नेपाल टेलिभिजन भित्र्याउने काम उनै नीर शाहले नै गरेका थिए ।
नव प्रतिभा रुचाउँथे
टेलिभिजन क्षेत्रमा शर्माको जति ठुलो नाम थियो त्यो भन्दा उँचो सोच उनमा थियो । नव प्रतिभालाई अवसर दिनुपर्ने विचारधाराका उनी थिए ।
नयाँलाई अवसर दिने, नयाँ–नयाँ प्रयोग गर्न रुचाउने उनले आफू टेलिभिजनमा हुँदा थुप्रै नव प्रतिभालाई अवसर दिएका थिए । नेपाल टेलिभिजनको राष्ट्रिय प्रशारणबाट नव प्रतिभालाई उचित अवसर दिन विभिन्न कठिनाई हुने भएका कारण उनले नेपाल टेलिभिजनको दोस्रो च्यानल एनटिभी–२ समेत स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
अहिले एनटिमी प्लस भनेर चिनिने सो च्यानल स्थापनामा शर्माको ठूलो योगदान रहेको वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाले बताए । बास्कोटा शो समय टेलिभिजन संचालक समिति सदस्यमा थिए ।
धेरै विदेश घुम्ने पत्रकार
शर्मा एक अध्ययनशील पत्रकारको रुपमा समेत परिचित थिए । ठूलाठूला मानिसको जीवनी र वौद्धिक खालका पुस्तक पढ्न उनलाई मनपथ्र्यो । ‘मैले गान्धीलाई किन मारेँ’ नाथुराम गोड्सेले लेखेको पुस्तक उनको मनपर्ने पुस्तक मध्यको एक थियो ।
घुमघामतिर पनि शर्माको विशेष रुचि थियो । केटाकेटी जीवनमा दार्जिलिङ, सिक्किम, कालिङपोङ घुमेका उनले टेलिभिजनको जागिरेको सिलसिलामा पनि धेरै राष्ट्र घुम्ने अवसर समेत पाएका थिए । नेपाल टेलिभिजनमा हुँदा उनी तत्कालीन राजा तथा प्रधानमन्त्री लगायत भीआईपीको भ्रमणमा विदेशसँगै जाने अवसर पाउने एक मात्र पत्रकार समेत थिए । यस्तै उनले नेपालका अधिकांश जिल्लाको भ्रमण समेत सोही क्रममा गर्न भ्याएका थिए ।
समाचार प्रेमी, कलाकारका साथी
आफ्नो जीवनको धेरै समय टेलिभिजनमा बिताएका उनी समाचार प्रेमी त थिए नै खोजमूलक तथा अनुसन्धानमूलक समाचारमा रुचि राख्थे । अंग्रेजीमा समेत राम्रो दख्खल भएका उनले टेलिभिजनमा केही फरक दिने उद्देश्यका साथ ‘विश्व घटना’ टेलिभिजन कार्यक्रम समेत संचालनमा ल्याएका थिए ।
धेरैलाई थहा नहुन सक्छ । शर्मा चलचित्रको रिभ्यु पनि लेख्थेँ । ‘परालको आगो’, ‘माइतीधर’लगायत धेरै फिल्मको रिभ्यू उनले लेखेका थिएँ । उनी संगीत प्रेमी पनि थिए । देशका राम्रा संगीतकार, गीतकार, गायक गायिकासँग उनको उठबस पनि थियो । नेपाल टेलिभिजनको स्थापना कालमा उनले गीतसंगीतको कार्यक्रम समेत संचालन गरेका थिए ।
‘मेरो टेलिभिजनको स्थापना समयमा गीतसंगीतको संगीत भन्ने कार्यक्रम थियो’ शम्भूजितले भने ‘जसको संचालन शर्माले नै गर्थे ।’ बाँस्कोटाले शर्मा आफ्नो मात्र नभएर गीतसंगीतमा लागेका धेरैको असल मित्र रहेको स्मरण गरे ।
शर्माका भाइ लक्ष्मीनाथ शर्माले पनि उनी कलाकारसंग नजिक भएको बताए । ‘दाजुले कलाकार रुचाउनु हुन्थ्यो । भेटघाट गर्नुहुन्थ्यो कलाका विषयमा कुरा गर्नुहुन्थ्यो’ लक्ष्मीनाथले भने ।
लोकदेखि आधुनिक संगीतसम्म मन पराउने उनी जीवनका लागि आनन्द दिने तथा सुखदुःखको साथी नै संगीत भएको बताउँथे । उनै पत्रकारका आदर्श, कलाकारका साथी र धेरैका प्रेरणाका स्रोत शर्मा अव सम्झनामा मात्रै सीमित भएका छन् ।
अल बिदा दुर्गानाथ शर्मा !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म