शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुर्गानाथ शर्माको जीवन : घुस खाएर काठमाडौँमा घर ठड्याएको होइन

शनिबार, १६ चैत २०७५, १० : ३७
शनिबार, १६ चैत २०७५

नेपाल टेलिभिजन स्वदेशी मिडियामध्ये अहिलेको सबैको आकर्षणको केन्द्र मानिन्छ । यसमा आबद्ध हुन पाइयो भने नाम र दाम त छँदै छ भविष्य पनि सजिलै उज्ज्वल हुन्छ भन्ने कम छैनन् । अहिलेको अवस्थामा नेपाल टेलिभिजनले जुन उचाइ बनाएको छ । त्यो उचाइ बनाउन केही हस्तीले पिल्लरका रूपमा काम गरेका छन् । तीमध्येका एक हुन् दुर्गानाथ शर्मा
शर्मा वरिष्ठ पत्रकार तथा नेपाल टेलिभिजनका पूर्वमहाप्रवन्धक हुन् । उनले पछिल्लो समय साहित्यतिर पनि कलम चलाएका छन् । ‘छाल’ नामक पुस्तक केही पहिले बजारमा ल्याएका उनी अहिले अर्काे तयारीमा छन् ।

उनले केही अगाडि नेपाल टेलिभिजनमा चलाएको विश्वघटना कार्यक्रमले त धेरैको मानसपटलमा गहिरो छाप छोडेको छ । गोरखापत्र, रेडियो नेपाल हुँदै टेलिभिजनबाट चर्चित बनेका शर्माले टेलिभिजको समाचारका लागि नपुगेको देश सायदै होला । नेपाल टेलिभिजनको महाप्रवन्धक हुँदा सधैँ नयाँ कन्सेफ्ट र युवापुस्तालाई प्रोत्साहन गरेको शर्मासँग राटोपाटीको मेरो जीवन स्तम्भका लागि गरिएको कुराकानी ।

मेरो खाना
नेपाली खाना दालभात, तरकारीमा अचार मिसाएर खान मनपर्छ । मन नपर्ने भन्ने केही छैन । रुचि र मीठो लागेको खान्छु । रेस्टुरेन्ट पहिले पनि जान्थेँ, अहिले रेस्टुरेन्ट जानेगरेको छु । बेलाबेलामा परिवार लिएर रेस्टुरेन्ट गएर खाँदाको माहोल नै बेग्लै हुन्छ । पकाउन रुचि छैन ।


मेरो घरमा पकाउने मास्टर भनेकै श्रीमती हुन् । आमाबुबा कसैले पनि पकाउन सिकाएनन् । एक पटक दिल्लीको प्रेस इन्टिच्युटमा अध्ययनका लागि जाँदा राससका एक व्यक्ति पार्टनर थिए । त्यो समय उनी पकाउँथे । 

मेरो पोसाक
मनपर्ने पोसाक दौरासुरुवाल नै हो । स्कुले जीवनमा पनि दौरासुरुवाल प्रयोग गरियो । अफिस पनि सरकारी भएकाले दौरासुरुवालमै बिताएँ । पछिल्लो समय गणतन्त्र आएपछि दौरासुरुवालको चलन हराएको छ ।
मलाई लगाउन मनपर्ने, सुहाउने भनेको दौरासुरुवाल नै हो । त्यसमा सुहाउने कोट र टोपी पनि हुनुपर्छ । मनपर्र्ने कलर ब्लु हो । लाइट ब्लु पनि मनपर्छ । पहिरनमा ब्रान्ड पनि अरूले मन पराउने खालको रोज्छु । आफूले पहिरन लगाएपछि अरुले कति राम्रो सुहाएको भने मात्र त्यसको सार्थक हुन्छ ।

मेरो फिट्नेस
केही पहिलेसम्म नियमित योगा गर्थें । अहिले स्वास्थ्य त्यति ठीक नभएकाले केही समय भयो छाडेको । ३ महिना अमेरिका बसेर म हालसालै फर्किएको हुँ । अमेरिकामा पनि योगा गर्थें । मलाई अहिले सुगर र प्रेसरको रोग पनि छ । त्यसैले बिहान नियमित मनिङ वाक र योगा गर्छु । 

मेरो अध्ययन
म अध्ययन गर्न रुचाउने मानिस हुँ । नियमित ५, ६ वटा पत्रिका पढ्छु । अहिले शारदा शर्माले लेखेको ‘त्यो समय’ भन्ने पुस्तक पढ्दै छु । ठूलाठूला मानिसको जीवनी र बौद्धिक खालका पुस्तक पढ्न मनपर्छ । मन परेका पुस्तक नेपाली धेरै छन् ।

केही अगाडि अमेरिका जाँदा ‘मैले गान्धीलाई किन मारे’ नाथुराम गोड्सेले लेखेको पुस्तक पढेको थियो । यो पनि मन पर्यो । यसको विषयवस्तु, प्रस्तुति सबैले मन छोयो । त्यो ज्ञानवद्र्धक पुस्तक थियो । सबैले गान्धी गान्धी भन्थे । उसलाई पनि किन मार्नुपरेछ भन्ने जानकारी पुस्तक पढेपछि पाएँ ।

मेरो घुमफिर
सबैभन्दा बढी रुचिको विषय हो घुमफिर । मेरो पेसाले पनि यसमा हेल्प गर्यो । मेरो घर इलाममा थियो । केटाकेटीदेखि नै म घुम्न दार्जिलिङ, सिक्किम, कालिङपोङ जाने गर्दथे । म सानैदेखि विदेश घुम्ने इच्छा राख्थेँ । त्यसमा मेरो पेसाले साथ दियो ।

टेलिभिजन, रेडियो र गोरखापत्रमा काम गर्दा रिपोर्टिङका लागि विदेश जानुपथ्र्याे । खास गरेर टेलिभिजन भित्रिएपछि समाचार भन्ने, लेख्ने र खोज्ने म नै थिएँ । योभन्दा पहिले मैले निदरल्यान्डमा एउटा सानो मिडियासम्बन्धी प्रशिक्षण लिएको थिएँ ।

सोही कारणले टेलिभिजन आउने बित्तिकै काम गर्ने मौका मिल्यो । तत्कालीन राजा र प्रधानमन्त्री लगायत भीआईपीको भ्रमणमा विदेश सँगै  जाने अवसर पाउँथेँ ।

म अस्ट्रेलियाको ह्यामेन्टन आइल्याडसमेत पुगेको छु । आफ्नो पैसाले भने त्यो ठाउँमा कहिल्यै जान सक्दैन । अवसर पाएको हुनाले मैले धेरै देश घुमेको छु । देशको पूर्वी भाग धेरै र पश्चिम कम घुमेको छु । विदेशका कहाँ गइनँ भनेर गन्न सजिलो होला । 

मेरो फुर्सद
अहिले फुर्सदै फुर्सद छ । पहिले सरकारी सेवामा हुँदा फुर्सद हुँदैन थियो । एक समय गोरखापत्रमा काम गर्थें । त्यो काम दिनभरी थियो । त्यो बेला तलब थोरै हुन्थ्यो । मेरो काठमाडौँमा केही थिएनन्, बाहिरबाट आएर सङ्घर्ष गरेको मानिस । काठमाडौँ आएपछि विवाह गरेँ, पढेँ, छोराहरु जन्माएँ ।

सबैको आवश्यकता पूरा गर्न पैसा चाहिन्थ्यो । एउटा जागिरले पुग्दैन थियो । त्यसैले मैले बिहान ६ बजेदेखि राति ९ बजेसम्म काम गर्न थालेँ । सो समय मेरा छोराहरुसँग भेट हुँदैन थियो । म बिहान जाँदा उनीहरु उठेको हुँदैन थिए । बेलुका फर्कंदा सुतिसकेका हुन्थे ।

सो समय म रेडियो, गोरखापत्र र टीभीमा एकसाथ काम गर्थें । मैले २४ घण्टासम्म पनि काम गरेँ । अहिले पनि बिहान गोल्डेन गेट कलेज पढाउँछु । आफूसँग भएको ज्ञान सेयर गर्नुपर्छ भन्ने लागेर मास कम्युनिकेसन पढाउन थालेको हो । अरू समय पुर्सदै फुर्सद छ । फुर्सदको समयमा लेख्छु, पढ्छु । मेरो एउटा पुस्तक ‘छाल’ केही अगाडि निस्किएको छ । फेरि अर्काे ल्याउँदैछु । 

मेरो खेलकुद
खेलकुदमा खासै रुचि छैन । मलाई सानैदेखि यो च्याँसे कुद्न सक्दैन भन्थे । केही खेल खेल्न दिँदैन थिए । ब्याडमेन्टिन र टेबुलटेनिस कहिलेकाहीँ खेल्थेँ । अहिले पनि खेलकुदमा रुचि छैन ।

मेरो मोबाइल
अहिले मसँग एउटा आइफोन मोबाइल छ । फोन गर्ने, म्याजेस पठाउनेलगायत कामका लागि प्रयोग गर्छु । अहिले आएको सामाजिक सञ्जाल फेसबुक र ट्विटर केही चलाउँदिनँ । मन पनि लाग्दैन । यसमा रमाउन फुर्सद पनि छैन ।

मेरो टीभी
टीभीमा त आफैले काम गरेको पनि हो । घरमा बसेको बेला टीभी हेर्छु । टीभी हेर्ने मेरो नियमित रुटिङ छ । बिहान पौने ७ बजे बीबीसीको एउटा बुलेटी अनिवार्य हेर्छु । बीबीसी हेरिसकेपछि अन्तर्राष्ट्रिय के भइरहेको छ । थाहा हुन्छ ।
त्यसपछि नेपाली समाचारको हेडलाइन हेर्छु । अनि पछि अलजजिरा भन्ने हेर्छु । यो पछि एभिन्युजको समाचार हेर्छु । यसको खबरभित्रको खबरमा खोजमूलक, अनुसन्धानमूलक समाचार आउँछ । समाचार भनेको त्यो हो । खाली मन्त्रीको भाषण मात्र समाचार होइन ।

मेरो चलचित्र
पहिले चलचित्र हेर्थें । रिभ्यु पनि लेख्थेँ । गोरखापत्रमा धेरै रिम्यु लेखेको थिएँ । अहिले हेर्दिनँ । नेपाली चलचित्र नहेरेको धेरै भयो । पछिल्लो समय हेरेको फिल्म याद भएन अहिले । मैले चलचित्र ‘परालको आगो’, ‘माइतीधर’लगायत धेरैको रिब्यु लेखेको छु । पछिल्लो समयको नेपाली फिल्म त्यति मन पर्दैन । पत्रपत्रिकामा समाचार फलो गर्ने भएकाले कलाकार चिन्छु र फिल्मको बारेमा ज्ञान भने राख्छु । 

मेरो रोग
रोग धेरै छ । सुगर पारिवारिक रोग हो । बुबाआमालाई पनि थियो । यसका कारणले मुटुको समस्या पनि छ । यसका लागि दिल्लीमा अपरेसन पनि गराएको थिएँ । मुटुको पाइपास सर्जरी सामान्यतय १५, १६ वर्ष मात्र टिक्छ भन्ने गरिन्छ । तर मैले त्यो सत्यलाई च्यालेन्ज गरे जस्तो लाग्यो । किनभने सर्जरी गरेको २३ वर्ष मैले कटाइसकेँ । यसमा मलाई गर्व छ । यो हुनुको कारण राम्रो आहार बिहार, एक्सरसाइज र त्यो भन्दा ठूलो कुरो सकारात्मक सोचले नै हो । म जहिले पनि सकारात्मक मात्र सोच्छु ।  
मेरो भाषाशैली
नेपाली शुद्ध, प्रष्ट बोल्न र सुन्न मनपर्छ । म त पहाडको मानिस । चाकडी, चाप्लुसी गरेर आइस्यो, गइस्यो भनेको ठीक लाग्दैन ।

मेरो प्रेम
२०२८ सालमै मेलै प्रेम विवाह गरेको हुँ । मेरो दाजु तारानाथ शर्मा प्रोफेसर हुनुहुन्थ्यो । उहाँले जमलमा प्रोफेसर क्वाटर पाउनुभएको थियो । म पनि उहाँसँग बसेर आईएस्सी पढ्थेँ । त्यो बेला मेरी श्रीमतीको बुबा ढुन्डीराज भण्डारी पनि प्रोफेसर क्वाटरमा बस्नु हुन्थ्यो ।

हामी दुवैको क्वाटर सँगसँगै थियो । सोही सिलसिलामा चिनजान भयो । उनी बीए पढ्दै थिइन् । दुवै बीच लभ पर्यो । अनि हामीले परिवारका सदस्य प्रयोग गरेर एरेन्ज म्यारिज गर्यौँ । त्यो प्रेम अहिलेसम्म पनि चल्दैछ ।

मेरो मापसे 
पत्रकारले मापसे गर्दैन भनेर भन्यो भने ढाँटेको जस्तो हुन्छ । कहिलेकाहीँ गर्छु । पहिले पहिले टीभीमा हुँदा हरेक साँझ मापसे गरिन्थ्यो । सो समय विभिन्न भीआईपीसँग कार्यक्रममा सहभागी हुनुपथ्र्यो । मापसे गर्नु नै पथ्र्यो । मलाई अमेरिकामा बनेको ‘गेजरुज’ भन्ने भोड्का मनपर्छ । घरमा रक्सी सजाएर राख्ने चलन छैन । यो हाम्रो कल्चरमा पनि पर्दैन । 

मेरो सङ्गीत
सङ्गीत मनपर्छ । लोकगीत धेरै सुन्छु । बच्चु कैलाश, नारायणगोपाल लगायतका आधुनिक गीत मनपर्छ । नियमित सुन्ने गरेको छु । जीवनका लागि आनन्द दिने, सुखदुःखको साथी हो गीतसङ्गीत । 

मेरो खुसी 
खुसी मानिसको अनुभूति हो । आफूले गरेको काम सफल भयो भने खुसी भइन्छ । काम गर्दा नाम कमाइयो भने पनि त्यही खुसी । समाजका लागि केही गर्न सकियो भने त्यही खुसी । मैले नेपालमा टेलिभिजन स्थापनमा जुन योगदान दिएको छु । त्यो मेरो जीवनका लागि सबैभन्दा ठूलो खुसी हो । अबका पुस्ताले सम्झिएनन् भने पनि इतिहासमा चाहिँ लेखिन्छ ।
    
मेरो भूल
भूल त गरियो होला । आफूले गरेको भूल आफूले भन्दा पनि अर्काले थाहा पाउने हो । भूल नगरी सिक्न पनि सकिन्न । हिँड्दा लडियो भने मानिस अर्काे पटक सचेत भएर हिँड्छ । जीवनमा भूल त धेरै भए होलान् । तर के थियो अहिले याद छैन । जानेर नजानेर गरियो होला । भूल हो भनेर थाहा पाएपछि दोहोर्याएको छैन ।

मेरो घर
अहिले बस्दै आएको बानेश्वरको घर आफैले बनाएको हो । यो घर २०५१ सालमा बनाएको थिएँ । बानेश्वरमा मेरो एक नेपाली पढाउने टिचर हुनुहुन्थ्यो । उहाँ मेरो ससुराको साथी पनि थिए । त्यो नाताले मलाई ज्वाइँ भन्नुहुन्थ्यो ।


सो समय म रेडियो, गोरखापत्र र टीभीमा एकसाथ काम गर्थें । टीभीमा काम गर्दा केही चर्चित भएको थिएँ । उनले तपाईं जस्तो चर्चित मानिस अन्त बस्नु हुन्न । बानेश्वरमा जग्गा किनेर घर बनाएर बस्नुपर्छ भन्नुभयो ।
‘म अक्षर गनेर खाने मानिस । तपाईंको भीआईपी टोलमा कसरी घरबनाउन सक्छु ।’ मैले उहाँलाई भनेर टार्न खोजे । उहाँले सस्तोमा मिलाउनुभयो । ७ आना जग्गा लिएँ । रोपनीको ३ लाखको दरले किने ।
तत्कालीन राजाको भिजिटमा रिपोर्टिङ जाँदा डलर र भत्ता बेग्लाबेग्लै आउँथ्यो । घुम्ने, खाने, बस्ने सबै सरकारी पैसामा हुन्थ्यो । त्यो पैसा बचाएर बिस्तारै बिस्तरै घर बनाएँ । अहिले बल्ल पूरा भयो भनौँ ।
काठमाडौँमा घर ठड्याएको घुस खाएर होइन । मिहिनेत र परिश्रमले हो । अहिले पनि छततिर हेरेर सुत्यो भने सन्तोष मिल्छ । यो मेरो पसिनाको कमाइ हो । अहिले घुस खाएर घर ठड्याउने धेरैको कथा समाचारमा सुन्न मिल्छ । मेरो कथा योभन्दा फरक छ ।

मेरो राशि
राशि मेरो मीन हो । ग्रहदशा हेराउनु भनेको मन डराउनु हो भन्ने लाग्छ । । त्यसैले हेराउँदिनँ । 

मेरो सपना
छोराहरु राम्रोसँग सेटल भएका छन् । छोरी छैनन् ।  एउटा छोरा अमेरिकामा छ । अर्काे बैङ्कमा मेनेजर छ । पहिले मैले बरु गाडी चढेको थिइनँ । छोराहरु सुरुदेखि नै गाडी चढेर हिँड्छन् । मैले जे सपना देखेको थिएँ । त्यो पूरा भइसक्यो । देशको लागि पनि केही न केही गरेको जास्तो लाग्छ । आफ्ना लागि भन्ने हो भने मैले संसार घुमेँ । जति देश मैले घुमेँ त्यो मेरै पैसाले घुम्न सम्भव थिएन । अहिले मेरो केही सपना छैन । आरामसँग बस्ने, मिति पुगेपछि परलोक जाने हो । 

मेरो मृत्यु
मृत्यदेखि म डराउँदिनँ । मृत्यु ध्रुव सत्य हो । जन्मेपछि मर्नुपर्छ भन्ने निश्चित छ तर कहिले ? लानेको काम हो । त्यो जाने टिकट यमराजले पहिले नै थमाएको हुन्छ रे । खाली डेट राख्न बाँकी हुन्छ । त्यो डेट एक दिन अवश्य आउँछ । एउटा इच्छा यो हो कि दुर्घटनामा मर्नु नपरोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप