बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रयोगशालामा बन्यो कोरोनाभाइरसः खोप पत्ता लगाउने दिशामा नयाँ फड्को

वैज्ञानिकहरु भन्छन्ः कोरोनाभाइरस खतरनाक, तर इबोला वा सार्स जत्तिको चाहिँ छैन !
बिहीबार, १६ माघ २०७६, ०३ : ४९
बिहीबार, १६ माघ २०७६

 

चीनको वुहानबाट शुरु भएको कोरोनाभाइरसको महामारीले संसारभरि नै आतंक छाइरहेको बेला अस्ट्रेलियाका वैज्ञानिकहरुले पहिलो पटक प्रयोगशालामा नै उक्त कोरोनोभाइरस बनाएका छन् । अस्ट्रेलियाका वैज्ञानिकहरुको यो सफलताले उक्त खतरनाक भाइरसका विरुद्ध भ्याक्सिनको विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

चीनको वुहान शहरको मासुबजारबाट शुरु भएर फैलिएको भनिएको सो खतरनाक कोरोनोभाइरसले यो लेख्दासम्म १०६ जनाको ज्यान लिइसकेको छ, चीनका मुख्य शहरहरुमा समेत गरेर ४ हजार बढीमा यसको संक्रमण देखापरिसकेको छ । त्यति मात्र हैन, यो भाइरसको संक्रमणले चीनको सीमा नाघेर नेपाल, अमेरिका, अस्ट्रेलिया, जापान, भियतनाम, श्रीलंका, कम्बोडिया, क्यानडा लगायतका १७ देशहरुमा पुगिसकेको छ ।

महामारी रोक्नको लागि चीन सरकारले युद्धस्तरमा अभियान थालेको छ, १२ सय जना कोरोनाभाइरस संक्रमितहरुलाई उपचार गर्न सक्ने क्षमताको विशिष्ट अस्पताल एकै हप्तामा निर्माण गरेर सञ्चालनमा ल्याइसकेको छ । भाइरसको उत्पत्ति थलोमा आवातजावातमा पूर्णतः रोक लगाइएको छ । चीनका गाउँ गाउँमा बाहिरी मानिसहरुको प्रवेशमा स्वतःस्र्फूत रुपमा स्थानीय वासिन्दाहरुले बन्देज लगाइरहेका छन् । तर पनि कोरोनाभाइरसको महामारी नियन्त्रणमा आइसकेको छैन ।


त्यसो त यो भाइरसको महामारीका कारण अहिलेसम्म मृत्यु हुनेहरु चीनमा मात्रै रहेका छन् तर यो भाइरस मानिसबाट मानिसमा सर्ने खालको भएको पत्ता लागेको छ र त्यसले वैज्ञानिकहरुलाई चिन्तित तुल्याएको छ । हालसम्म कुनै औषधी वा खोप पनि उपलब्ध नरहेको यो भाइरसको  संक्रमणको फैलावट हेर्दा त्यसले चीन बाहिर पनि मृत्युको घटना नहोला भनेर ढुक्क हुन सक्ने स्थिति बनिसकेको छैन ।

यो स्थितिमा वैज्ञानिकहरु नोबोल कोरोना नाम दिइएको यो खतरनाक भाइरसका विरुद्ध औषधी तथा खोपहरुको निर्माण गर्ने कोशिशमा जुटेका छन् । त्यसै सिलसिलामा अस्ट्रेलियाका वैज्ञानिकहरुले विशेष सुरक्षायुक्त प्रयोगशालामा सो भाइरसको निर्माण गर्ने सफलता प्राप्त गरेका हुन् ।


मेलबर्नका पिटर डोहेर्टी इन्स्टिच्यूट फर इन्फेक्सन एण्ड इम्युनिटीका विशेषज्ञहरुले सो भाइरस संक्रमित रोगीबाट उक्त कोरोनाभाइरस विकास गरेका हुन् । उनीहरुले गत शुक्रबार अस्ट्रेलियामा संक्रमण देखापरेको पहिलो रोगीबाट भाइरसको नमूना लिएको थिए र अहोरात्र लागिपरेर गत शुक्रबार राति सो भाइरसलाई विकास गर्ने सफलता प्राप्त गरेका थिए । स्मरण रहोस्, अस्ट्रेलियामा अहिलेसम्म ५ जनामा सो संक्रमण देखिएको र सबैको हालत स्थिर रहेको जनाइएको छ ।

अब अस्ट्रेलियाका वैज्ञानिकहरुले सो भाइरसलाई विश्व स्वास्थ्य संगठनमा पठाउने छ । त्यहाँबाट सो भाइरसलाई पुनः संसारभरिकै मुख्य प्रयोगशालाहरुपमा पठाइनेछ । यस प्र्रक्रियाबाट आगामी दुई महिनाभित्रमा यस भाइरसका विरुद्ध खोप विकास गर्न सकिने अपेक्षा राखिएको छ ।

प्रयोगशालामा नै यो भाइरस विकास गर्न सकिएपछि वैज्ञानिकहरुमा यसका विरुद्ध खोप वा औषधी विकास गर्ने आशा पलाएको छ । तर अहिले नै त्यस दिशामा कहिले सफलता प्राप्त होला भनेर भन्न सकिने स्थिति भने छैन ।

डोहेर्टी इन्स्टिच्यूट यो भाइरस विकसित गर्ने दोस्रो ल्याब हो । यसअघि गत हप्ता चीनको एउटा ल्याबले सो भाइरसलाई ल्याबैमा बनाएको कुरा प्रकाशमा आएको थियो । तर चीनको उक्त ल्याबले पूरै भाइरसको विकास गरेका नभई त्यसको जिनोमको सिक्वेन्स मात्रै बनाएको थियो । सोहीकारण उक्त भाइरसको भौतिक नमूना उपलब्ध भइसकेको थिएन, जुन अहिले डोहेर्टी इन्स्टिच्युटको सफलतापछि प्राप्त भएको छ ।

प्रयोगशालामा भाइरस विकास गर्नुको अर्थ त्यसका विरुद्ध खोपको विकास गर्ने दिशामा एउटा फड्को हो । त्यसबाट अब वैज्ञानिकहरुले उक्त भाइरसले कसरी काम गर्छ भन्नेबारेमा ठोस एवं विस्तृत रुपमा अध्ययन गर्न पाउने छन् । त्यसबा अलावा, वैज्ञानिकहरुले भाइरसका विरुद्ध एन्टिबडी टेस्ट पनि गर्न पाउनेछन् जसको सहयोगबाट लक्षण नै नदेखिएका मानिसहरुमा पनि उक्त भाइरसको संक्रमण पत्ता लगाउन सम्भव हुनेछ ।

डोहेर्टी इन्स्टिच्यूटका मुख्य वैज्ञानिक जुलिआन ड्रुस (दायाँ) र कोडेपुटी डाइरेक्टर माइक काटन (बायाँ)

उक्त भाइरसको विकास गर्ने सफलता प्राप्त गरेपछि डोहेर्टी इन्स्टिच्यूटका कोडेपुटी डाइरेक्टर माइक काटनको प्रतिक्रिया थियो, ‘हामीले यसलाई पायौं, गज्जब !’

उनका अनुसार यो भाइरस ‘खतरनाक’ त हो तर त्यो २०१४ को पश्चिम अफ्रिकामा ११ हजार मानिसको ज्यान लिने इबोला र सन् २००२–२००४ मा करिब ८०० मानिसको ज्यान लिने सार्स भाइरसजस्तो ज्यानमारा खतरनाक चाहिँ छैन ।

‘हामीलाई थाहा छ, सार्सको मृत्यु दर करिब १० प्रतिशत थियो । अहिलेको कोरोनाभाइरसकोे मृत्युदर ३ प्रतिशत मात्रै देखिएको छ । मेरो व्यक्तिगत विचारमा त्यो अझ कम हुन सक्छ,’ डा. काटनले एबीसीन्यूजलाई भने ।

गत बुधबार आयोजित एक पत्रकार सम्मेलनमा डा काटनले ‘खोप पत्ता लगाउने दिशामा भाइरस विकसित गर्नु एउटा पहेलीको एउटा मुख्य टुक्रा’ भएको बताए । तर साथसाथै उनले भाइरसलाई निर्मुल पार्न लामो समय लाग्ने तर्फ पनि सचेत गराए । 

Source: https://www.dailymail.co.uk

Title Photo: https://www.abc.net.au, https://images.medicinenet.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप