सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

टिपरले किचेर हत्या प्रकरणः दिलिपको मुचुल्काबिनै शव उठाउने इन्सपेक्टरमाथि ‘कारबाही’

आइतबार, २७ पुस २०७६, १६ : ०९
आइतबार, २७ पुस २०७६

काठमाडौँ । टिपरले किचेर हत्या गरिएका धनुषका दिलिप कुमार महतोको शव मुचुल्काबिनै उठाएपछि विवादमा तानिएका इलाका प्रहरी कार्यालय, धनुषा ढल्केबर इन्सपेक्टर रामकुमार यादवलाई कारबाहीस्वरुप जिल्ला तानिएको छ ।

शुक्रबार विहान अवैध उत्खननको विरोध गर्दा कुटपिटपछि टिपरले किचेर जनकपुर मिथिला नगरपालिका–५ श्रीपुर घर भएका २४ वर्षीय महतोको हत्या भएको थियो । महतोलाई टिपरले किच्नुअघि नै हत्या गरिएको आशंका छ।

इन्स्पेक्टर यादवमाथि स्थानीयले ठेकेदार र बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीनकुमार महतोसँग मिलेर मुचुल्काविनै शव उठाउने काम गरेको आरोप लगाएका थिए । 

महतोको शव मुचुल्काविनै उठाएपछि इन्सपेक्टर यादव विवादमा तानिएका थिए । त्यसपछि विवादित बनेका इन्सपेक्टर यादवलाई आइतबार जिल्ला तानिएको हो । उनमाथि थप छानबिन गरेर विभागीय कारबाही हुन सक्ने प्रहरी स्रोतले जनाएको छ । 

यता, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी रमेश बस्नेतले भने उनलाई आन्तरिक कारणले जिल्ला तानिएको बताए । 

प्रहरीले महतोको हत्यामा संलग्न रहेको आरोपमा धनुषाका मिथिला नगरपालिका–५ का २७ वर्षीय क्रसर सञ्चालक विपीनकुमार महतो, वडा नम्बर–९ का ३४ वर्षीय टिपर चालक मुनिन्द्र महतो, महोत्तरी बर्दिवास नगरपालिका वडा नम्बर–२ का लोडर चालक जितेन्द्रकुमार महतो र मिथिला वडा नम्बर ५ का रोशन यादवलाई पक्राउ गरिसकेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप