काँग्रेसमा गुट अदल–बदलको प्रभाव : सिटौला क्याम्पमा ‘पहिरो’
काठमाडौं । नेपाली काँग्रेसमा गुट अदल–बदल सुरु भएको छ । मंसिर २६ यता काँग्रेसमा बहिस्कार र बहुमतको निर्णयले प्रशय पाउँदा गुट अदल–बदल प्रष्टिएको हो । यद्यपि यसअघि नै काँग्रेस वृत्तमा गुट अदल–बदलको चर्चा थियो ।
तर, पुस ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले बहुमतका आधारमा महाधिवेशनको कार्यतालिका घोषणा, क्रियाशील सदस्यतासम्बन्धी विधानका केही प्रावधान निलम्बन, विभागको संख्या बढाउने र तरुण दलको कार्यकाल थप ६ महिना बढाउने निर्णय लिएपछि यसले आकार लिएको छ ।
१३ औँ महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका डा. नारायण खड्का, आनन्दप्रसाद ढुंगाना र गोविन्द भट्टराईले यतिबेला सभापति शेरबहादुर देउवा ‘क्याम्प’ रोजेका छन् । गएको आम चुनावमा पार्टीले लज्जास्पद हार बेहोर्दा पनि देउवाले नैतिक जिम्मेवारी नलिएको भन्दै पौडेल क्याम्पबाट बसाइँ सरेका चीनकाजी श्रेष्ठ र नरहरि आचार्य पनि फेरि देउवा क्याम्प मै फर्किएका छन् ।
यता १३ औँ महाधिवेशनमा देउवा समूहबाट महामन्त्रीका उम्मेदवार अर्जुननरसिंह केसी र केन्द्रीय सदस्य लक्ष्मण घिमिरे भने पौडेल समूहमा पुगेका छन् । केसी र घिमिरेसँग सभापति उम्मेदवारी दिँदा प्रस्तावक बसेका कुलबहादुर गुरुङ र गोविन्दराज जोशीले पनि देउवा क्याम्पमा छाडेका छन् । यतिबेला गुरुङ र जोशी तथष्ट छन् । यता काँग्रेसको तेस्रो धार मानिने कृष्णप्रसाद सिटौला समूहमा पहिरो नै गएको छ ।
सिटौलाले नेतृत्त्व गरेको तेस्रो धारका २ जना केन्द्रीय सदस्य देउवा क्याम्पमा सरेका छन् । सिटौलालाई केन्द्रीय सदस्य गगन थापा, उमाकान्त चौधरी, प्रदीप पौडेल र शिव हुमागाईको बलियो साथ रहेकोमा यतिबेला चौधरी र हुमागाईले क्याम्प छाडेर देउवातिर प्रवेश गरेका हुन् । सिटौला समूहमा नयाँ कसैको ‘इन्ट्री’ भनेको भएको छैन । बरु थप पहिरोको जोखिम भएको नेताहरु बताउँछन् ।
चौधरीले १३ औं महाधिवेशनमा सिटौला समूहबाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए भने हुमागाई सोही समूहको कोटामा केन्द्रीय सदस्य पदमा मनोनित भएका थिए । यद्यपि सिटौला आफ्नो समूहको अस्तित्त्व जोगाउन प्रयासरत छन् ।
बिहीबार पार्टी कार्यालय सानेपामा बसेको देउवा पक्षीय केन्द्रीय समिति बैठक र महामन्त्री शशांक कोइराला निवास महाराजगन्जमा बसेको पौडेल पक्षीय गुटको बेलामा सिटौला देखिएनन् ।
गएको निर्वाचनपछि एजेण्डागत रुपमा पौडल पक्षसँगै नजिक देखिएको सिटौला समूह देउवा र पौडेल आन्तरिक रणनीतिमा जुटेपछि आफ्नो समूहको अस्तित्व जोगाउन कुनै पनि बैठकमा सहभागी नभएको बुझिएको छ ।
१३ औँ महाधिवेशनमा ‘किङमेकर’को भूमिकामा देखिएको सिटौला समूहमाथि १४ औँ महाधिवेशन नजिकिएसँगै अस्तित्त्व जोगाउन चुनौति देखिएको छ । सभापति देउवाले ४ वर्षे कार्यकाल सकिनै लाग्दा विभाग गठनको ‘अश्त्र’ फालेपछि सिटौलासँगै पौडेल समूहमाथि चिन्तित छ । उक्त कुरा पौडेल पक्षका नेताहरुले व्यक्त गर्दै आएका छन् । पौडेल–सिटौला क्याम्प छोडेका केन्द्रीय सदस्यहरुलाई विभिन्न विभाग प्रमुखको जिम्मेवारी दिने देउवाको तयारी छ ।
स्रोतका अनुसार देउवाले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, नेपाली जनसम्पर्क समिति समन्वय विभाग र स्वास्थ्य विभागको जिम्मेवारी क्रमशः खड्का, भट्टराई र चौधरीलाई दिने बचन दिएका छन् ।
विभाग गठनमा पौडेल पक्षसँग सहमतिको प्रयासमा रहेका देउवा सहमति नभए एकलौटी रुपमा निर्णय लिने तयारीमा रहेको बुझिएको छ । देउवाले एकलौटी रुपमा विभाग गठन गरे इतरपक्षका नेताहरुले क्याम्प फर्ने सम्भावना कति छ भन्ने प्रश्नमा पूर्वमहामन्त्री प्रकाशमान सिंहले भनेका थिए, ‘हामी निकटका मान्छे चोर्नका लागि नै कार्यकाल सकिन २ महिना बाँकी छँदा विभाग गठनको तयारी भएको छ । हामी हाम्रो मान्छे रोक्ने प्रयास गर्छौँ । पदका लागि कोही रोक्दारोक्दै जान्छ भने केही फरक पर्दैन । हिजो काँग्रेस छोडेर केही मान्छे पञ्चायतमा जाँदा काँग्रेस सक्किएको थियो र?’
सिटौला समूहमाथि चुनौती
विगतमा पनि काँग्रेसमा तेस्रो धारका रुपमा उदाएको समूह अर्को महाधिवेशन आउँदै गर्दा आफ्नो राजनीतिक भविष्यको सुनिश्चितताका लागि गुटमा लागेको इतिहास छ । जसका लागि धेरै पछाडि फर्किनु पर्दैन । गिरिजाप्रसाद कोइरालाको निधनपछि ०६७ मा भएको काँग्रेसको १२ औँ महाधिवेशन हेर्दा हुन्छ ।
१२ औँ महाधिवेशनमा पार्टीभित्र विधि विधानको लागू र वैचारिक रुपमा प्रष्टता नभएको भन्दै तेस्रो धार जन्मिको थियो । महाधिवेशनको मैदानमा रहेका सुशील कोइराला र शेरबहादुर देउवाको विकल्पमा विचार र सिद्धान्तको वकालत गर्ने बौद्धिक नेता भीमबहादुर तामाङ खडा भएका थिए ।
महामन्त्रीको उम्मेदवारी दिएका नरहरी आचार्यसँग चक्रप्रसाद बाँस्तोलादेखि सुप्रभा घिमिरसम्म तामाङको साथमा थिए । तर १२ औँ महाधिवेशनमा कोइरालाले बाजी मारेका थिए । महाधिवेशनबाट पराजित भएपछि यो समूह लाखापाखा लाग्यो । त्योसँग जोडिएका नेताहरु आफ्नो राजनीतिक भविष्यको सुनिश्चितताका कोइराला र देउवा क्याम्पमा बसाइँ सरेका थिए । यतिबेला १३ औँ महाधिवेशनबाट उदाएको सिटौला समूहमा नेताहरुले पनि क्याम्प छोड्न थालेका पाइन्छ ।
१३ औँ महाधिवेशनको प्रतिस्पर्धामा देखिएका शेरबहादुर देउवा र रामचन्द्र पौडेलका थिए । त्यसको विकल्पमा सिटौला समूह खडा भयो । सिटौलाले सभापतिमा उम्मेदवारी दिँदा गगन थापा महामन्त्रीको रुपमा खडा भएका थिए भने चौधरी कोषाध्यक्षमा ।
सिटौला पहिलो चरणमै ‘रिङ आउट’ भएपछि दोस्रो चरणमा भएको मतदानबाट देउवालेले बाजी मारे । आफू निकटका नेताहरु देउवा क्याम्पमा सरेपछि सिटौला अस्तित्त्व जोगाउन प्रयासरथ देखिन्छन् ।
अहिलेसम्म गगन र प्रदीपको साथ पाएका सिटौला पौडेल समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित डा. शेखर कोइलासँगको गठजोडका लागेको काँग्रेस वृतमा चर्चा छ ।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्यका अनुसार भ्रातृ संगठन र केही जिल्लामा पकड रहे पनि सिटौला समूहको अस्तित्त्व यथास्थितिमा १४ औँ महाधिवेशनसम्म कायमै रहने सम्भावना कम देखिन्छ ।
उनले भने, ‘कृष्ण सिटौलाजीसँग गगन र प्रदीप भएसम्म तेस्रो धार केही भए पनि देखिन्छ । तर यसले १४ औँ महाधिवेशनमा आफ्नौ हैसियतले पार्टीको नेतृत्व लिनसक्दैन । कुनै न कुन गुटसँग जोडिन पुग्छ ।’
यद्यपी आचार्यले पनि शेखर कोइराला र सिटौला समूहबीच जोठगड भए भने महाधिवेशनमा ठूलो अर्थ राख्ने दाबी गरे । उनले भने, ‘ शेखर कोइलाराले पनि युवालाई नेतृत्वमा ल्याउनुपर्ने कुरामा जोड दिएको पाइन्छ । गगनका कारण सिटौला समूहमा युवापंक्तिको आकषर्ण पनि देखिन्छ ।’