शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटन वर्षलाई गिज्याउने भक्तपुर–नगरकोट सडक : धुलोले हुलिया नै ‘चेन्ज’ !

मन्त्री आउँदा पानी छ्यापेर धुलो छोपियो, भोलिपल्ट हालत उस्तै (भिडियो–ब्लग)
शुक्रबार, १८ पुस २०७६, ०८ : ५०
शुक्रबार, १८ पुस २०७६

काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सरकारले आफूले सक्दो तयारी गरेको दाबी गरिरहेको छ । भ्रमण वर्षलाई सफल बनाउन भनेर नै देशदेखि विदेशसम्म प्रचार प्रसारलाई तीव्र पारिएको छ । यहाँसम्म कि ट्रिपरसम्ममा भ्रमण वर्षको लोगो टाँस्न बाँकी छाडिएको छैन । पर्यटकलाइ आकर्षित गर्न भ्रमण वर्षको प्रचार प्रसारमा सरकारले दिल खोलेर खर्च गरिरहँदा पर्यटनलाई आवश्यक पूर्वाधार निर्माणमा भने सरकारले ध्यान दिइरहेको छैन । सरकारको तयारी कति फितलो छ भन्ने उदाहरण हेर्न धेरै टाढा जानै पनि पर्दैन । राजधानीबाट करिब २६ किलोमिटर टाढा रहेको पर्यटकीय गन्तव्य पुग्नै पर्यटकलाई सकस छ ।

अङ्ग्रेजी नयाँ वर्षको दिन बुधबार बिहान नगरकोटमा भव्य समारोह गरियो । बिहानी सूर्योदयसँगै नगरकोटबाट नेपाल भ्रमण वर्ष २०२० को स्वागत गर्न युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार नगरकोट पुगेका थिए । उनीसँगै सांसद, नेता, सरकारी कर्मचारी, पर्यटन व्यवसायीहरु लगायतको टोलीले नेपाल भ्रमण वर्षलाई त्यहाँबाट स्वागत गरेका थिए । नगरकोटको अग्लो डाँडामा आतिशबाजी गरियो, हेलिकोप्टरबाट फूल बर्साएर भव्य कार्यक्रम गरियो ।


नगरकोट काठमाडौँबाट नजिकै रहेको एउटा महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो । हिमशृङ्खलाको मनोरम दृश्य र बिहानी सूर्योदय हेर्नका लागि नगरकोट प्रख्यात छ । तर, अहिले नगरकोट अर्को कुराले पनि त्यतिकै चर्चित छ । त्यो चर्चित हुने अर्को विषय हो ठेक्का सम्झौता भएको वर्षौँ बित्दापनि सडक नबन्नु ।

भक्तपुरबाट नगरकोट जाने सडकको अवस्था कष्टकर छ । कारण २०७१ साल असार २ गते २ वर्ष भित्र अर्थात २०७३ असार ४ गते सडक बिस्तार तथा कालोपत्रे गरेर सरकारलाई हस्तान्तरण गर्नुपर्ने सडक ५ वर्ष बितिसक्दा पनि अझै उस्तै छ ।

पर्यटन वर्ष शुभारम्भ गर्न मन्त्री नेता नगरकोट जाने दिन त ठेकेदारले सडकमा अघिल्लो दिनदेखि नै पानी हालेर धुलो मारेका थिए । तर त्यसको भोलिपल्ट सो सडकको अवस्था कस्तो छ ? सर्वसाधारणले कस्तो सास्ती पाएका छन् ? यसबारे बुझ्न हामी आफैले सडक यात्रा गरेर अनुभव लिने प्रयास ग-यौँ । 

हामीले काठमाडौँबाट भक्तपुरको कमलविनायक हुँदै नगरकोटको भ्यू टावरसम्म मोटरसाइकलमा यात्रा गर्यौं । कमलविनायकबाट झन्डै २ किलोमिटर खाल्डाखुल्डीयुक्त धुलाम्मे बाटोको यात्रापछि सुरु हुन्छ ग्राभेल गरिएको बाटो । जहाँ बस्ती धेरै भएको ठाउँसम्म बिहान एकपटक पानी त हालिदो रहेछ तर दिउँसो घाम लागेपछि धुलोले कुइरीमण्डल बन्ने रहेछ । त्यो पानी पनि कहिलेकाँही मात्र हालिने गरेको स्थानीय गोपाल विश्वकर्माले बताए ।

भक्तपुरको कमलपोखरीदेखि नगरकोटसम्म झन्डै साढे १५ किलोमिटर सडक स्तरोन्नतीको क्रममा छ । २०७१ साल असार २ गते २ बर्षमा काम सक्नेगरी शैलुङ एआइपियल जेभीलीलाई  ठेक्का दिइएको थियो । तर सो कम्पनीले भनेको समयमा परै जाओस् काम थालेको ५ वर्ष बितिसक्दा पनि सडकको काम पूरा गरेको छैन ।


‘नेताहरु गोजी भर्छन्, देश बेच्छन् खान्छन्, हाम्रो यहाँ बिजोग छ । कमसेकम यो बाटो मात्रै हामीलाई बनाइदिए हुन्छ नी । कर भन्छन्, प्यान भन्छन्, भ्याट भन्छन्, त्यो उठाउन चाहीँ तिनीहरुलाई लाज शरम लाग्दैन । यो बाटोको धुलो चाहीँ तिनीहरुलाई खुवाउनुपर्ने हो । तिनीहरुलाई यहाँ ल्याएर बाँधेर गाँस हाल्नुपर्ने । म त उनीहरु अगाडि आएपनि भन्ने यही हो ।’


२०७३ असार ४ गते सडक हस्तान्तरण गर्न नसकेको सो निर्माण व्यवसायीलाई पछि पुनः म्याद थपेर २०७४ कार्तिक ४ गतेको भाका दिइएको थियो । फेरी कार्तिक १८ गतेसम्म समय बढाइएको थियो । सो समयमा पनि काम सम्पन्न गर्न नसकेपछि २०७५ जेठ ३० गतेसम्मका लागि म्याद थप गरिएको थियो । यो अवधीमा पनि काम नभएपछि शैलुङ एआइपियल जेभीलीलाई अन्तिम पटकका लागि २०७७ जेठ महिनासम्म म्याद थप गरिएको छ ।

बितेको झन्डै ६ वर्षमा वर्षामा हिलो र हिउँदमा धुलो र धुवाँले यहाँका स्थानीय हैरान बनेका छन् । 

भक्तपुरको चाँगुनारायण नगरपालिका, तेलकोट पुगेपछि हामीले केही स्थानीयसँग कुरा गर्यौैँ । सडकको छेउमा रहेको घरको आँगनमा थिइन् शोभा केसी । उनले आँगनमा एउटा कोक्रो कपडाले छोपेर राखेकी थिइन् । कोक्रोभित्र थिए उनका २ महिने शिशु । सडकको धुलो र धुवाले असर गरेका कारण कपडाले कोक्रो छोपेर राखेको र आफ्नो बच्चा धुलोका कारण बिरामी परिरहेको उनले बताइन् ।

उनले बच्चाको नाक बन्द हुने समस्या रहेको बताउँदै हप्तामा तीन चार पटक स्वास्थ्य केन्द्र लानुपर्ने भएको बताइन् ।  सडकमा घरछेउ हरेक दिन जसो बाइक पल्टने गरेको उनले सुनाइन् । नाकमा हाल्ने औषधी र खोकीको औषधी नियमित दिनुपरेको उनले सुनाइन् ।

उनले भनिन्, ‘नेताहरु गोजी भर्छन्, देश बेच्छन् खान्छन्, हाम्रो यहाँ बिजोग छ । कमसेकम यो बाटो मात्रै हामीलाई बनाइदिए हुन्छ नी । कर भन्छन्, प्यान भन्छन्, भ्याट भन्छन्, त्यो उठाउन चाहीँ तिनीहरुलाई लाज शरम लाग्दैन । यो बाटोको धुलो चाहीँ तिनीहरुलाई खुवाउनुपर्ने हो । तिनीहरुलाई यहाँ ल्याएर बाँधेर गाँस हाल्नुपर्ने । म त उनीहरु अगाडि आएपनि भन्ने यही हो ।’

तेलकोट बजारमा भेटिइन् जर्मन नागरिक मेडिना । २ हप्ताका लागि नेपाल घुम्न आएकी पर्यटक मेडिनाले एउटै सडकमा पनि कुनै खण्ड राम्रो कुनै भाग खराब देखेपछि अनौठो लागेको बताइन् ।

सोही ठाउँका दुईजना स्थानीय पूर्ण लामिछाने र गणेश विश्वकर्माले सडकको धुलोको कारण गाउँका धेरै मान्छे बिरामी परेको सुनाए । सडकको ठेकेदारलाई जति भने पनि सुनुवाइ नभएको बताए । धेरै मान्छे धुलोको कारण अस्पताल धाउनु परेको बताउँदै ६ वर्षदेखि सडक उस्तै रहेको बताए ।

सडक छेउमा घर भएका कारण घरभित्र धुलैधुलो जाने, धोएर कपडा सुकाउन समेत समस्या रहेको विश्वकर्माले सुनाए । उनले सडकमा धुलो हटाउन कहिलेकाहीँ पानी हाल्ने गरेपनि त्यो पर्याप्त नभएको बताए ।

ठेकेदार कस्तो हो ?

नगरकोटको सडकमा धुलो खाँदै यात्रा गरिरहेका बेला हामीले स्थानीय सीताराम लामिछाने र भैरव लामिछानेलाई भेट्यौं । सिताराम लामिछानेले धुलो धुँवाले आजित भएको बताउँदै भने–‘ऊ बेला देखि ठेकेदारलाई कराएकै छौँ । यो ठेकेदार प्रचण्डको घरबेटी रे ! ठेकेदार कस्तो हो, के हो ? ६ वर्ष भइसक्यो, हामीलाई यहाँ धुलो र धुँवाले मर्नु न बाँच्नु भइसक्यो । सासै फेर्न गाह्रो भइसक्यो । अन्नबालीमा पनि असर गर्यो, आलुको बोटभरी धुलो गएर बस्छ, न अन्न राम्रो आउने भयो, बिहान बेलुका बस्न साह्रै समस्या छ ।’

उनले नेता मन्त्री आउँदा सडकमा पानी हालेर धुलो मार्ने गरेपनि अघिपछि सडक धुलाम्मे हुने बताउदै पर्यटकलाई यात्रा गर्न पनि समस्या हुने बताए । अर्का स्थानीय भैरव लामिछानेले पनि धुलो र धुँवाबाट सास्ती खेप्नुपरेको बताए ।

कमलविनायक नगरकोट सडकको ठाउँ–ठाँउमा ग्राभेल पनि हालिएको छ भने कतै कतै गिट्टी थुपारेर पनि राखिएको छ तर कतै पनि कालोपत्रे गर्ने सुरसार देखिँदैन ।

पर्यटक धेरै हिड्ने गन्तव्यमा सडकमा धेरै छाप्रा पसल भए भनेर स्थानीय प्रशासनले दसैँ अघि नगरकोट जाने सडक छेउका छाप्रा पसलहरु हटाएको थियो । सडक छेउमा भत्काएका त्यस्ता कतिपय छाप्राहरुको भग्नावशेष समेत हटाइएको छैन ।

नगरकोटको बजारबाट नगरकोट भ्यू टावरसम्म पुग्ने बाटोपनि ठाउँ–ठाउँमा कालोपत्रे उप्किएर खाल्डाखुल्डी परेको छ भने सडक निकै साँघुरो छ ।

सडक समयमा कालोपत्रे नभएका कारण स्थानीयले सो सडक खण्डमा पटक पटक विरोधका कार्यक्रम गरेका छन् । केही महिना पहिले स्थानीयले सो सडक निर्माण कम्पनी शैलुङ कन्सट्रक्सन कम्पनीका मालिका शारदाप्रसाद अधिकारी र बाँदरको फोटो मिलाएको फ्लेक्स बोर्ड बनाएर ठाउँ ठाउँमा टाँसेका थिए । गत साउनमा संसदको विकास तथा प्रविधि समितिले सो सडकखण्डको स्थलगत अवलोकन गरेर समयमा काम सम्पन्न गर्न ठेकेदार कम्पनी र सरकारलाई निर्देशन समेत दिएको थियो । सो निर्देशनको पनि अझै कुनै तातो लागेको सडकको अवस्थ हेर्दा थाहा हुन्छ । 

सरकारले करोडौँ खर्च गरेर नेपाल भ्रमण वर्ष २०२० को विशेष समारोह भव्य रुपमा गरेपनि पर्यटक जाने बाटोको हालत कस्तो छ भन्ने थाहा पाउन भक्तपुर नगरकोट सडकको यात्रा गर्दा थाहा पाउन सकिन्छ । पर्यटकलाई गन्तव्यसम्म पुग्ने पूर्वाधार विकासको कति महत्त्व हुन्छ भन्ने बुझ्न एकपटक मोटरसाइकल चढेर पर्यटन मन्त्री योगेश भट्टराई र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ भक्तपुरबाट नगरकोटसम्म यात्रा गर्ने की ?

हेर्नुहोस् भिडियो–ब्लग :

तस्विर : सुवास श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप