जब गौरिकाले आमाबुबालाई सोधिन्, ‘हामी नेपाली होइनौँ र ?’
आफ्ना आमाबुबालाई एक दिन गौरिका सिंहले प्रश्न गरिन्, ‘के हामी नेपाली होइनौँ र ?’
छोरीको प्रश्नले आमा गरिमा राणा र बुबा पारस सिंहको मन चसक्क भयो । नहोस् पनि कसरी, सामाजिक सञ्जालमा गौरिका र उनको परिवारका विषयमा उठेका सवालबारे उनलाई अत्तोपत्तो नहोस् भन्ने चाहँदा चाहँदै थाहा भइसकेको थियो ।
यो प्रश्नले गौरिका र उनको परिवारको मनोविज्ञानमा परेको प्रभावबारे बुझ्न हामी पहिले गौरिको बेलायतको स्विमिङ यात्रा र नेपाली स्विमिङ क्षेत्रमा उनको प्रवेशबारे जानौँ ।
बेलायतमा ७० स्वर्ण
२०५९ सालमा काठमाडौँको पाटन अस्पतालमा गौरिकाको जन्म भयो । त्यसको दुई वर्षपछि पारस डाक्टरी तालिमको सिलसिलामा बेलायत हानिए । पछि त्यतै काम गर्न थाले । परिवार पनि सँगै हुने भइहाल्यो ।
गौरिका बेलवर्न स्कुलमा भर्ना भइन् । एउटा उमेर पार गरेपछि बेलायतमा सबैले अनिवार्य स्विमिङ गर्नुपर्छ । त्यसका लागि स्कुलले नै प्रोत्सहन गर्छ । प्रतियोगिताका लागि भन्दा पनि स्किल बढाउनका लागि ।
गौरिका त्यस्तै सात वर्षकी थिइन् होला, उनले बार्नेट कपथल क्लब ज्वइन् गरिन् । ‘स्विमिङ गर्दा स्वास्थ्य र फिट्नेस पनि राम्रो हुन्छ । यही सोचेर हामीले उसलाई स्विमिङ क्लबमा भर्ना गरिदियौँ’ बुबा पारस सुनाउँछन् ।
गौरिकाको सानैदेखि खेलकुदमा रुचि थियो । उनी फुटबल र बास्केटबल पनि खेल्थिन् । उनले खेल्ने सबैखाले खेलकुदमा उनको प्रस्तुति राम्रो थियो । तर, एउटा उमेर पार गर्दासम्म उनमा भविष्यमा यो या त्यो विधाको खेलाडी बन्छु भन्ने मनसाय कहिल्यै आएन ।
Photo : Instagram
बेलायतमा स्विमिङ सिक्नेहरुको क्लबमा आन्तरिकरूपमा प्रतियोगितामार्फत प्रतिस्पर्धा हुने गर्छ । त्यहाँ राम्रो गर्नेहरु अन्तर क्लबस्तरीय प्रतियोगिताका लागि छनोट हुन्छन् । त्यसपछि काउन्टी, रिजनल हुँदै नेसनल च्याम्पियनसिपमा । हरेक उमेर समूहमा यस्ता प्रतियोगिता हुन्छन् । गौरिकाले यस्ता सबै प्रतियोगिता पार गरिसकेकी छन् ।
पारस भन्छन्, ‘उनी हरेक विधामा उत्कृष्ट १० भित्र नै पर्थिन् ।’ यसरी गौरिकाले बेलायतमा जितेका झन्डै चार सय मेडल उनीसँग अझै सुरक्षित छन् । त्यसमध्ये ७० वटा त स्वर्ण पदक नै ।
नेपालतर्फको यात्रा
नेपालमा गौरिकाको स्विमिङ यात्रा एउटा संयोगले जुराएको थियो । गौरिकाको परिवार छुट्टी मनाउन नेपाल आएको थियो । त्यतिबेला गौरिका ११ वर्षकी थिइन् । हुन त यसअघि पनि उनको परिवार बेलाबेला नेपाल आइरहन्थ्यो ।
‘हामी नेपाल कहिले जाने ?’ गौरिका आफ्ना आमाबुबालाई प्रश्न गरिरहन्थिन् । सानैदेखि उनको नेपालप्रतिको प्रेम गज्जबको थियो । बेलायतमा हुर्किएकी छोरीको राष्ट्र प्रेम देखेर पारस र गरिमा मख्ख पर्थे ।
कुरा पाँच वर्षअघिको हो । यस पटकको नेपाल यात्रा गौरिकाका लागि खास रह्यो । जुन यात्राले उनको भाग्यरेखा मात्र कोरिदिएन बाल मनोविज्ञानमा आफू नेपाली हुँ वा होइन भन्ने प्रश्नसमेत उब्जाइदियो ।
नेपालमा ‘ग्यालेक्सी कप पौडी प्रतियोगिता’ हुन लागेको थियो । त्यतिबेलासम्म स्विमिङ गौरिकाका लागि प्यासन बनिसकेको थियो । प्रतियोगिताबारे थाहा पाएपछि गौरिकाले बुबा पारससँग भनिन्, ‘ड्याडी म पनि भाग लिन्छु नि ।’
पासरले गौरिकाको चाहलाई नकार्न सकेनन् । अझ बेलायतका ठूला प्रतियोगिता जितेर राष्ट्रिय स्तरमा परिचय बनाउँदै गरेकी छोरीले आफ्नै देशमा भइरहेको प्रतियोगितामा भाग लिन्छु भनेको सुन्दा उनी झन् उत्साहित भए ।
पारसले गौरिकाको नाम दर्ता गराइदिए । उनले प्रतियोगितामा सहभागिता जनाइन् । ४ वटा विधामा राष्ट्रिय कीर्तिमान बनाउँदै सातवटा स्वर्ण जितिन् ।
अर्थात, ११ वर्षीया गौरिका नेपाली मिडियाको मुख्य हेडलाइन बनिन् ।
रियो ओलम्पिक र गौरिकाको राष्ट्रियतामाथि प्रश्न
सन् २०१६ को रियो आलम्पिकमा नेपालको प्रतिनिधित्व गर्दै गौरिकालाई पठाउने भएपछि गौरिकाको राष्ट्रियतामाथि प्रश्न उठाइयो । पौडी सङ्घकै एक गुटले उनको खेल जीवनलाई समाप्त पार्ने या भनौँ नेपालबाट उनलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नदिने उद्देश्यले सङ्घका अध्यक्षसामु एउटा ज्ञापनपत्र नै पेश गर्यो ।
जसमा उल्लेख थियो, ‘विदेश बस्ने नेपाली खेलाडीका लागि छुट्टै व्यवस्था हुनुपर्ने, उसले बनाएको रेकर्ड राष्ट्रिय रेकर्डमा समावेश गर्न नपाइने, राष्ट्रिय प्रतियोगितामा सहभागी हुनका लागि दुई वर्ष नेपालमै बसेको हुनुपर्ने र अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोट भएपछि नेपालमै बसेर तालिम लिनुपर्ने ।’ यी व्यवस्थालाई पौडी सङ्घको विधानमा राख्न दबाब दिइयो ।
यस्ता कुराले छोरीलाई नेपालको तर्फबाट प्रतियोगितामा सहभागी गराएर देशका लागि केही योगदान दिने अवसर सिर्जना गर्ने सोच बनाएका पारस र गरिमाको मन चसक्क भयो ।
सँगसँगै मिडिया र सामाजिक सञ्जालमा एउटा प्रश्न पनि उब्जियो, ‘गौरिका नेपाली होइनन् ?’
गौरिका आफ्ना आमाबुबासँग बेलायत बसेकी थिइन् । बेलायत बस्नु उनको रहर नभएर बाध्यता थियो । र, बेलायतमा बसेर उत्कृष्ट तालिम नपाएको भए उनले नेपालका लागि केही गर्न सक्ने अवस्था पनि हुँदैनथ्यो सायद ।
आमा गरिमाले हप्ताको १९ घण्टा छोरीलाई स्विमिङ क्लब लाने जिम्मेवारी सम्हालेकी थिइन् । अहिले पनि यो जिम्मेवारी निरन्तर छ । त्यसपछि उनलाई आवश्यक डाइट खुवाउने, फिजियो थेरापी, तालिम मिलाउने लगायतका हरेक गतिविधिमा गरिमाको सहभागिता छ । यसरी एकतर्फ उनले आफ्नो सम्पूर्ण समय छोरीलाई दिएकी छन् भने अर्कोतर्फ गौरिकाका लागि आवश्यक सबै खर्च उनकै परिवारले व्यहोरिरहेको छ । जसको बलमा गौरिका सबल पौडीबाज बनेकी छन् । देशका लागि केही गर्न खोजिरहेकी छन् ।
गौरिकाको राष्ट्रप्रेम
यति नै बेला गौरिकाले आफ्ना आमाबुबालाई आफूहरु नेपाली भए नभएको प्रश्न गरेकी थिइन् । अर्थात, उनको बाल मनोविज्ञानमा राष्ट्रियतामाथि उठेको प्रश्नले असर पुर्यायो । रियो ओलम्पिकमा उनले आशाअनुरूप प्रदर्शन गर्न नसक्नुको यो पनि एउटा कारण त होइन ? प्रश्न जायज छ ।
‘पढाइमा फोकस गराउने उमेरमा हामीले उसलाई देशका लागि खेल्न प्रोत्साहन गर्यौं तर हाम्रै राष्ट्रियतामाथि प्रश्न उठ्दा हामीलाई कस्तो भयो होला ?’ बुबा पारस प्रश्न गर्छन् ।
उनी गौरिकाको सफलतालाई बाबु भएर भन्दा पनि नेपाली नागरिक भएर हेर्छन् र गर्व गर्छन् । तर आफू नेपाली हुँ वा होइन भन्ने एकिन गर्न उनले आफ्नो नागरिकता हेर्नुपरेको छ । छोरीलाई आफ्नो नागरिकता देखाउनुपरेको छ ।
गौरिकालाई पनि नेपाली हुनुमा गर्व छ । रियो ओलम्पिकमा उनलाई बीबीसीले एउटा प्रश्न गरेको थियो, ‘तिमी बेलायतबाट किन नखेलेको ?’
गौरिकाले भनेकी थिइन्, ‘म नेपाली हो । किन अन्य देशबाट खेल्ने ?’
मनोवैज्ञानिक असर
राष्ट्रियतामाथि उठेका सवालमा ‘म नेपाली हुँ’ भनेर देखाउने प्रमाण त्यतिबेला गौरिकासँग थिएन । १२ वर्षमा नागरिकता बन्ने कुरा पनि भएन । गौरिका बुबाको नागरिकता र आफ्नो पासपोर्ट देखाएर खेलहरुमा सहभागी हुन्थिन् । उनीसँग थियो त केवल देशप्रेम ।
नेपालमा हुने राष्ट्रिय खेलकुद होस् या अन्य प्रतियोगिता कैयौँ पटक गौरिकालाई खेलमा सहभागी हुन नदिन विभिन्न प्रपञ्च रचिए । र, उनको परिवारले त्यस्ता षड्यन्त्रको पछि लागेर गौरिकालाई टिपेर बेलायत फर्काएन । बरु सङ्घर्ष गर्यो ।
यो सङ्घर्ष आफ्नै पहिचानसँग थियो । ‘हेर्नुस् त, हामी नेपाली हौँ भनेर चिनाउन सङ्घर्ष नै गर्नुपर्यो । मानिसहरु देशमै बसेर राष्ट्रियता बेचिरहेका छन्, हामीले त विदेशमा बसेर पनि राष्ट्रियताको चिन्ता गरेका छौँ । तपाईं आफै भन्नुस् न अब नेपाली को होइन ?’ पारसको यो प्रश्न आम नेपालीलाई हो ।
यता यस कुराले गौरिकाको मनोविज्ञानमा असर पारेको थियो । लन्डनको रोयल फ्री हस्पिटलमा न्युरोलोजिस्ट डाक्टर रहेका पारस भन्छन्, ‘खेलाडीको प्रदर्शनमा उसको मनोविज्ञानको पनि महत्त्वपूर्ण भूमिका रहन्छ । मनोवैज्ञानिकरूपमा परेको नकारात्मक असरले कुनै खेलाडीको खेल जीवन नै समाप्त पार्नसक्नेसम्म सामथ्र्य राख्छ ।’
त्यसैले पारस–गरिमा गौरिकालाई सकेसम्म यस्ताखाले प्रतिक्रियाबाट टाढै राख्थे । हाल पनि राख्न खोज्छन् ।
पछिल्लो समय सामाजिक सञ्जाल चलाउन थालेकाले उनले पनि यस्ता प्रतिक्रियाबारे चाल पाउन थालेकी छन् । आफ्नो विषय कति गहन गरी उठेको रहेछ, गौरिकाले अहिले बुझिसकेकी छन् ।
उनको मानसपटलबाट यस्ता कुरा अझैसम्म पनि मेटिएका छैनन् । १३औँ सागमा पहिलो स्वर्ण पदक जित्दा उनले ‘मलाई नेपाली होइन भन्छन् तर यो स्वर्ण नेपालका लागि हो’, भन्ने अभिव्यक्ति दिएकी थिइन् । उनको यो अभिव्यक्ति त्यसको प्रमाण थियो ।
बुबा पारस भन्छन्, ‘हामीले उसलाई सिकाएका थिएनौँ । यस विषयमा लामो समयदेखि कुरा पनि भएको थिएन । तर एक्कासि यसोभन्दा उसको मनोविज्ञानमा पहिलेको कुरा अझैसम्म पनि खेलिरहेको रहेछ भन्ने थाहा भयो ।’
गौरिकाले हामी नेपाली होइनौँ र भनेर पहिलो पटक प्रश्न गर्दा पारसले उनलाई मज्जाले सम्झाएका थिए ।
भन्छन्, ‘बझाङमा हाम्रो पुर्खौली घर अझै छ । महेन्द्रनगर र काठमाडौँमा पनि घर छ । कर तिर्छौँ । नेपालकै नागरिकता बोक्छौँ । छुट्टीमा नेपाल आइरहन्छौँ । राष्ट्रियताको विषयमा विवाद गर्नुपर्ने त कारण नै छैन नि ।’ फेरि उनी सधैँभरि विदेश बस्ने पनि होइनन् । एक दिन नेपालमै बस्नेगरी आउने छन् ।
गौरिकाले छोटो समयमै हासिल गरेको उचाइको डाहा गर्ने, खुट्टा तान्न खोज्ने र उनका कारण आफ्ना छोराछोरी छायाँमा परेको भन्ने नकारात्मक मानसिकता राख्ने व्यक्तिका कारण यस्ता कुराहरु उठेका हुन्, गौरिकाले यतिबेला बुझिसकेकी छन् ।
‘यस्ता कुरा दिमागमा धेरै खेलायो भने पर्फमेन्स, कन्सन्ट्रेन्टमा प्रभाव पर्छ । त्यसैले म यस्ता कुराहरुबाट टाढै रहन्छु’, गौरिका भन्छिन् ।
अब त नागरिकता छ
स्विमिङका हिसाबले बेलायत विश्वकै तेस्रो नम्बरमा पर्छ । विश्व च्याम्पियनहरु समेत बेलायतमा आएर तालिम लिन्छन् ।
त्यसैले गौरिका बेलायतमा तालिम लिएर नेपालका लागि खेल्न पाएकोमा आफूलाई भाग्यमानी ठान्छिन् ।
पारस भन्छन्, ‘यदि कुनै पौडीबाजलाई सरकारी वा व्यक्तिगत खर्चमा बेलायतमा तालिम लिन पठाइएको भए कति खर्च लाग्थ्यो होला ? हामी उतै बसिरहेकाले धेरै सहज भएको छ ।’
अहिले त गौरिकासँग नेपाली नागरिकता छ । १६ वर्ष पुगेपछि उनले नागरिकता बनाएकी हुन् ।
उनले चाहेको भए बेलायतको नागरिकता लिन सक्थिन् । तर उनलाई नेपाली हुनुमा गर्व छ, नेपालका लागि अझ धेरै गर्नु छ ।
‘म सधँै हिजोभन्दा आज कसरी राम्रो गर्न सकिन्छ भनेर सोच्ने गर्छु’, गौरिका भन्छिन्, ‘सबै नेपालीको साथ, सहयोग र हौसलाले मैले देशका लागि आगामी दिनमा अझ राम्रो गर्न सक्छु भन्ने लाग्छ ।’
गौरिका यतिबेला १७ वर्षकी भइन् । पौडीबाजले करियरकै राम्रो प्रदर्शन गर्ने भनेको २० देखि २५ वर्षको उमेरमा हो । त्यसैले उनले भविष्यमा देशका लागि अन्तर्राष्ट्रिय स्तरमा थुप्रै स्वर्णहरु ल्याउन सक्ने सम्भावना कायमै छ । खेल क्षेत्र देशकै गौरवको विषय भएकाले बाधा–अड्चन निम्त्याउने भन्दा पनि गौरिकाको हौसला बढाउनेतर्फ ध्यान दिनु आवश्यक छ ।
पारस भन्छन्, ‘स्विमिङजस्ता प्रतियोगितामा प्रतियोगीले मिलि सेकेन्डको फरकमा मात्र जित हासिल गर्छन् । त्यसैले परिवार र नागरिकको साथ भएमा मात्र त्यो सम्भव छ ।’
परिवार र नागरिकको साथ अर्थात, खेलाडीको मनोविज्ञान बलियो पार्ने आधार । जसले सकारात्मक ऊर्जाको विकास गरिदिन्छ र आत्मबल बढाइदिन्छ । गौरिका यही त चाहन्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य कसको मूल्य कति ?
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार
-
ला लिगामा बार्सिलोनालाई धक्का, सेल्टा भिगोले बराबरीमा रोक्यो
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे