बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

७ लाख लिएर विशेष समितिका सदस्यहरुको दिल्लीमा मस्ती

समितिको म्याद सकिनै लाग्दा खर्च गर्दै घुम्दै
आइतबार, २२ मङ्सिर २०७६, १६ : १०
आइतबार, २२ मङ्सिर २०७६

बुटवल । प्रदेश ५ को राजधानी र नामकरणका लागि सकस परिरहेको समयमा प्रदेशसभाद्वारा गठित विशेष समितिका सदस्यहरू भने अहिले भारतको राजधानी नयाँ दिल्लीको भ्रमणमा छन् । 

मङ्सिर २१ देखि समितिका ११ सदस्य र ४ जना कर्मचारी गरी १५ जनाको टोली दिल्लीमा घुमिरहेको छ । टोलीका सदस्यहरू दिल्लीका विभिन्न स्थानमा पुगेर खिचेका आफ्ना तस्बिर फेसबुकमा धमाधम ‘पोस्ट’ गरिरहेका छन् तर प्रदेशको नामकरणका लागि गठित समितिले काममा ढिलाइ गर्नुका साथै अनावश्यक खर्च गरिरहेको भन्दै प्रदेशभित्र आलोचना भइरहेको छ ।

समितिको म्याद यही मङ्सिर मसान्तभित्र सकिँदै छ । बुटवलका लेखक ऋषि आजादले फेसबुकमा लेखका छन्, ‘नामकरण र राजधानीको निर्धारणका लागि भनेर ७ लाख लिएर भारत भ्रमणतिर गए रे । हे बरै हाम्रो प्रदेश सरकार ।’

बुटवल बहुमुखी क्यापसमा पूर्व क्यापस प्रमुख तथा राजनीतिशास्त्रका प्राध्यापक डा. माधव पन्थीले महत्त्वपूर्ण दायित्व बोकेको समिति जनताको चाहना विपरीत काम गर्दै हिँडेको बताए । उनले रातोपाटीसँग भने, ‘समितिकै समय सकिन लाग्दासमेत खर्च गर्दै घुम्न हिँड्ने काम जनताले पटक्कै मन पराएका छैनन् ।’

प्रदेश ५ को राजधानी र नामकरणका लागि प्रदेश सभाबाट ०७५ साउनमा गठन भएको विशेष समितिले अहिलेसम्म प्रतिवेदन बनाउन सकेको छैन । प्रदेश सभाले यसबीचमा तीन पटकसम्म समितिको म्याद थपिसकेको छ । अन्तिम म्याद यही मङ्सिर मसान्तमा सकिँदैछ । 

प्रतिवेदन बुझाउने सुरसार नगरेको समितिको टोली छिमेकी मुलुक भारत भ्रमणमा रमाइरहेको छ । भारतको दिल्ली हुँदै चन्डीगढ सहरको अवलोकन गरेर समितिले प्रदेशको राजधानीको विषय छिनोफानो लगाउने बताइएको छ । चन्डीगढ सहर दुई भारतीय राज्य हरियाणा र पञ्जावको साझा राजधानी हो । दुई राज्यको राजधानी कसरी व्यवस्थापन गरिएको छ भन्ने विषयमा जानकारी लिनका लागि समितिका टोली भ्रमणमा गएको समितिका सभापति दीपेन्द्रकुमार पुनको तर्क छ ।

समितिले अहिलेसम्म के काम गरेको छ ? 
प्रदेशको राजधानी बुटवल कि दाङ भन्ने विषयमा विवाद पेचिलो बनेपछि प्रदेशसभाले २०७५ साउनमा राजधानी र नामकरणका लागि प्रदेशसभाले विशेष समिति गठन गरेको थियो । समितिले जिल्ला जिल्लामा पुगेर प्रदेशको राजधानी र नामकरण विषयमा सरोकारवालासँग  सुझाव सङ्कलन गरेका थियो ।

त्यसपछि विज्ञहरू समेत राखेर आवश्यक निष्कर्षमा पुग्ने निर्णय गरियो । भूगोलविद्, जनसङ्ख्याविद् आदिलाई समेत समितिमा राखिएको छ । विज्ञलाई समेत राखेर सुझाव लिएको समितिले अहिलेसम्म प्रतिवेदन लेख्न थालेको छैन । केही प्रदेशले निकै अघि राजधानी र नामकरण टुङ्गो लगाइसके पनि यहाँ मुख्यतः राजनीति मुद्दा बनाएका कारण समितिको नाममा अलमल्याउने काम भइरहेको प्रदेश सभा सदस्य वैजनाथ कलवारले रातोपाटीलाई बताए । 

उक्त समितिका सदस्यसमेत रहेका कलवारले भने, ‘समिति भनेको यस्तै हो घुम्ने– घुमाउने, मुख्य रूपमा राजनीतिक दलहरूको नेतृत्व प्रदेशको राजधानी बुटवल कि दाङमा बनाउने भन्नेमा आआफ्नै स्वाथ्र्यमा रहेको उनले बताए । यो समितिले औपचारिकता मात्र पूरा गर्ने उनको भनाइ छ ।

समिति भारतबाट फर्किएपछि एउटा निर्णयमा पुग्ने एक सदस्यले बताए । उनले भने, ‘किन भने तीन पटक म्याद थपिएको छ । यो मसान्तमा म्याद सकिन्छ, फेरि थप्दा झन् नराम्रो सन्देश जान्छ ।’ 

खर्चको भार थपिँदै
प्रदेशको राजधानी तोक्नका लागि गठन भएको विशेष समिति संयोजक दीपेन्द्रकुमार पुन रोल्पा–१ (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन् । प्रदेश सभामा नेकपाको बहुमत रहेकाले प्रभावशाली सदस्यहरू तथा नेतृत्वको निकट रहेकाहरूले लाभको पद हासिल गरे । यस्तैमा पुनले समितिको सभापति पद पाएको एक प्रदेश सभा सदस्य बताउँछन् । समितिको सभापतिले सुविधाबापत सवारी साधन पाउने गर्छ । यस अतिरिक्त भ्रमण भत्ता र अन्य सेवा सुविधा पनि पाउँछ ।

तीन महिनाका लागि गठन भएको सिफारिस समितिले नै विभिन्न शीर्षकमा करिब ५० लाख रुपैयाँ बजेट सकेको छ । भारत भ्रमणका लागि सात लाख बजेट विनियोजन भएको छ । यो अपुग भए सचिवालयसँग माग गर्ने विषयमा समितिमा छलफल भएको छ । प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले समिति सदस्यका लागि भारत भ्रमण तय गरेका हुन् ।

प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मङ्सिरभित्र प्रदेशको नाम र राजधानी तोकिने बताउँदै आएका छन् । प्रदेशको राजधानी बुटवल वा दाङ बनाउने भन्ने विषय भने पेचिलो बन्दै गएको छ । दुई स्थानलाई छाडेर मध्यमार्गी उपाय अवलम्बन गर्ने विषयमा छलफल भइरहेको समेत बताइन्छ । मध्यमार्गी स्थानका रूपमा कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रलाई लिइएको छ । तर राजनीतिक सहमति जुटाउन भन्दै नेताहरू भित्र–भित्रै आफ्नो स्वार्थ अनुकूलको निर्णयका लागि पहल गरिरहेका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला अस्थायी राजधानी बुटवल तोकिएकाले काँग्रेसका नेताहरू बुटवलबाट राजधानी अन्यत्र सार्न नदिने रणनीतिमा छन् । नेकपाका महासचिव विष्णु पौड्याल लगायत पनि बुटवल उपयुक्त भएको बताउँदै आएका छन् । मुख्यमन्त्री शङ्कर पोखरेल भने भावी पुस्ताले गर्व गर्ने ठाउँमा राजधानी बनाउनुपर्ने बताउँदै आएका छन् ।

यस्तो छ प्रदेश सदस्यहरूको अङ्क गणित
जम्मा सांसद – ८७
नेकपा – ६१ (सभामुखसहित)
काँग्रेस – १९
सङ्घीय समाजवादी – ५
राष्ट्रिय जनमोर्चा – १
राष्ट्रिय जनता पार्टी – १

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप