बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी हुँदैछ प्रदेश नम्बर ५ मा राजधानी र नामका लागि सुझाव सङ्कलन

सोमबार, १३ फागुन २०७५, ०९ : ३७
सोमबार, १३ फागुन २०७५

प्रदेश ५ को नाम र स्थायी राजधानी तोक्न सुझाव सङ्कलन सुरु भएको छ । रुकुमपूर्वको सदरमुकामबाट सुझाव सङ्कलन गर्न थालिएको हो ।

रुकुममा प्रदेश ५ को सुझाव सङ्कलन समितिका तर्फबाट सदस्यहरू वीरबहादुर राना र दिनेश पन्थी सहभागी छन् । उनीहरूले स्थानीय बुद्धिजीवी, जनप्रतिनिधि, राजनीतिज्ञ, शिक्षक व्यावसायीलगायतबाट सुझाव सङ्कलन गर्न थालेका हुन् ।

प्रदेशसभा सचिवालयका अधिकृत मनोजकुमार पाण्डेकाअनुसार सुझाव सङ्कलनका क्रममा विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी व्यवस्था मिलाइएको छ । त्यसक्रममा सहभागीहरूलाई समितिका सदस्यहरूले सोधेका प्रश्नमा लिखित रूपमै जवाफ दिएको अधिकृत पाण्डेले बताए । गत साउन २९ गते प्रदेश सभाको दोस्रो अधिवेशनको अन्तिम दिन सुझाव सङ्कलन समिति गठन गरिएको थियो ।

सुरूमा ३ महिनाभित्र जिल्ला–जिल्ला गएर सुझाव लिने भनिए पनि समितिले संयोजक नै तोक्न सकेको थिएन । त्यसपछि समितिमा सबै जिल्लाको प्रतिनिधित्व नभएको विभिन्न फोरमहरूमा आवाज उठेपछि संसदबाटै समितिमा केही सदस्यहरू हेरफेर गरिएको थियो ।

हेरफेरपछि एउटा टोलीले २ वटा जिल्लाबाट सुझाव सङ्कलन गर्नेगरी  प्रदेशका १२ वटै जिल्ला तोकिएको छ । प्युठानको खलङ्गामा आइतबारबाट सुझाव सङ्कलन थालिएको प्रदेश सभा सदस्य निर्मला क्षेत्रीले रातोपाटीलाई बताइन् ।

यस्ता  प्रश्नहरू सोधिन्छन्

–तपाईंको विचारमा प्रदेशको राजधानी कुन स्थानमा उपयुक्त होला ?

–प्रदेश राजधानीका लागि प्रशासनिक सुगमता कस्तो हुनुपर्ला ?

–प्रदेशको राजधानीका लागि भूमि व्यवस्थापन कसरी गर्ने ?

–प्रदेश राजधानी क्षेत्रको जनघनत्व र वातावरणीय अनुकूलता कस्तो हुनुपर्ने ?

–प्रदेशको राजधानीका लागि भूमि संकेन्द्रण (ल्यान्ड पुलिङ) नीति कस्तो हुनुपर्ने ?

–प्रदेश राजधानीका लागि सामरिक सुरक्षा व्यवस्था कस्तो हुनुपर्ने ?

–प्रदेशको राजधानी कस्तो भौगोलिक अनुकूलतामा हुनुपर्छ ?

– तपाईंको केही सुझाव छ कि ?

नामकरणका लागि सोधिने प्रश्नहरू

–ऐतिहासिक आधार

–सामाजिक सांस्कृतिक आधार

–भौगोलिक आधार (३ प्रश्नमा ५–५ वटा गरी १५ वटा आधारहरू दिनुपर्नेछ ।)

यी प्रश्नहरू जिल्लाका राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, पत्रकार, अधिकारकर्मी र जिल्लामा क्रियाशील सङ्घसंस्थाका प्रतिनिधिसमक्ष राखिने राजधानी र नामकरण विशेष समितिका संयोजक दीपेन्द्रकुमार पुनः मगरले जानकारी दिए ।

सुझाव सङ्कलनका लागि ६ वटा टोली बनाइएको छ । एउटा टोलीमा २ जना रहनेछन् । टोलीमा कम्तीमा २ र बढीमा ३ जना रहेर २–२ वटा जिल्लाको सुझाव लिनेछन् ।

कुन जिल्लामा क-कसको टोली ?

–रुकुम (पूर्व) र रोल्पामा वीरबहादुर राना र दिनेश पन्थी 

– रूपन्देही र नवलपरासी पश्चिममा सरस्वती गौतम र तेजबहादुर वली

–कपिलवस्तु र अर्घाखाँचीमा तारा जिसी र वैजनाथ कलवार

–दाङ र प्युठानमा निर्मला क्षेत्री, नारायण आचार्य र कल्पना पाण्डे

–बाँके र बर्दियामा विष्णु पन्थी र तुलसी चौधरी

–गुल्मी र पाल्पामा बाबुराम गौतम, सहसराम यादव र भुवनेश्वर चौधरी

जति  ढिलाइ उति फेरबदल

तीन महिनासम्म केही काम नगरी बसेको समितिको ढिलाइसँगै सदस्यहरूमा हेरफेर गर्दा सांसदहरू समावेश भएका छन् ।

रुपन्देहीका अष्टभुजा पाठकको ठाउँमा नवलपरासीका बैजनाथ कलवार, अर्घाखाँचीका चेतनारायण आचार्यको ठाउँमा बाँकेका बाबुराम गौतमलाई र बर्दियाका दिपेश थारुको ठाउँमा रुकुमका तेजबहादुर वलीलाई राखिएको थियो ।

सबै जिल्लाबाट आएका सुझावलाई समेटेर तयार गरिने प्रतिवेदनलाई भूगोलविद्, सुरक्षाविद् र मौसमविद्बाट रायसुझाव लिएर अन्तिम प्रतिवेदन बनाई प्रदेश सभामा पेश गरिने बताइएको छ ।

समितिका सदस्य विष्णु पन्थीले समयभित्र आफूहरू सुझाव सङ्कलन गरिने बताए ।

‘हामीलाई ९ दिनको समय छ । त्यसभित्र नै सबै जिल्लामा गएर सुझाव सङ्कलन गरी ल्याउँछौँ । अब यो विषय अगाडि बढ्यो,’ पन्थीले भने ।

संवैधानिक व्यवस्थाअनुसार भए सहमति र नभए प्रदेश सभाको दुईतिहाई बहुमतले प्रदेशको स्थायी राजधानी र नामकरण गर्न सक्नेछ । 

प्रदेश सभामा सत्तारूढ दलको दुईतिहाई बहुमत छ । तर संसदमा मतदान हुँदा बुटवल क्षेत्रका सांसदहरूले बुटवललाई नै राजधानी हुनुपर्छ भन्ने र पश्चिम क्षेत्रका सांसदहरूले दाङ वा बाँके हुनुपर्छ भनेर मतदान गर्न सक्ने भएकाले दुईतिहाईले पनि काम नगर्ने सरकारको कतिपयको बुझाइ छ ।

तर प्रदेश राजधानी र नामकरणको विषय टुङ्गो लगाउन मुख्यमन्त्री शङ्कर पोखरेलले चासो दिएका छैनन् । आफ्नो निर्वाचन क्षेत्र दाङतिरै राजधानी बनाउने उनको इच्छा रहेको बताइएको छ । जसले गर्दा प्रदेशको राजधानी कहाँ र के नाम रहन्छ भन्ने टुङ्गो छैन । अहिले प्रदेशको राजधानी बुटवल र दाङ कहाँ हुने चर्चा छ । यस्तै नेपालगञ्जको नाम पनि मधुरो रूपमा आएको छ ।

यस्तो छ प्रदेश सदस्यहरूको अङ्क गणित

जम्मा सांसद – ८७

नेकपा – ६१ (सभामुखसहित)

काँग्रेस – १९

सङ्घीय समाजवादी फोरम – ५

राष्ट्रिय जनमोर्चा – १

राष्ट्रिय जनता पार्टी – १

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप