आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

धरान उपनिर्वाचन : के करकै कारण कम्युनिस्टको गढ भत्किएको हो ?

बिहीबार, १९ मङ्सिर २०७६, १० : १२
बिहीबार, १९ मङ्सिर २०७६

काठमाडौं । सरकारले नागरिकमाथि अनावश्यक कर थुपारेको प्रतिपक्षीको आरोपमाथि प्रतिवाद गर्दै आएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले धरान उपमहानगरपालिकामा बेहोरेको हारपछि त्यसलाई ‘रियलाइज’ गर्न पुगेको छ ।

मङ्सिर १४ गते भएको उपनिर्वाचनमा लामो समयदेखि कम्युनिस्टहरुको किल्ला मानिँदै आएको धरानमा उपमहानगरपालिकाको मेयर पद गुमाउनु परेपछि नेकपाले करको दर घटाउन निर्देशन दिएको हो ।

मङ्गलबार बसेको नेकपा उपमहानगर निर्वाचन परिचालन कमिटी बैठकले उपमहानगरमा करका दर पुनरावलोकन गर्न पार्टी संसदीय दललाई निर्देशन दिएको हो ।

‘जनताको घरदैलोमा जाँदा विभिन्न तहबाट लागू गरिएका करहरूप्रति जनताको व्यापक गुनासा र असन्तुष्टि पाइएकोले जनताको अभिमत तथा सुझावको उच्च सम्मान गर्दै उपमहानगरबाट आर्थिक वर्ष २०७६/७७ का लागि लागू गरिएका करका दर पुनरावलोकन गरी तत्काल करका दर घटाउने कार्य सुरू गर्न नेकपा धरान उपमहानगर संसदीय दललाई निर्देशन दिने निर्णय गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।


उपनिर्वाचनमा करको विषयलाई काँग्रेसका चुनावी एजेण्डा बन्यो । धरानमा काँग्रेस उम्मेदवारदेखि प्रचारमा खटेका केन्द्रीय नेताहरुले करको विषय चुनावी हतियार बनाएका थिए । तर, उपचुनावसम्म प्रतिवादमा उत्रिएको नेकपाले यतिबेला करको दायरा घटाउन निर्देशन दिनुपर्ने अवस्थामा पुगेको छ ।

करको विषयमा नेकपालाई धरानले दिएको ‘झड्का’बाट सरकार जनगुनासो सुनेर र सच्चिने बाटोमा लागेको काँग्रेसको बुझाइ छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘हामीले उपनिर्वाचनमा भनेका थियो । सरकारलाई सच्याउन हामीलाई मतदान गर्नुहोस् । त्यसको सुरुवात धरानबाट भएको छ ।’

यता, धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर तिलक राईले पनि कर समायोजन प्रस्तावमा हस्ताक्षर गर्दै बुधबार पदभार ग्रहण गरे ।

धरान उपमहानगरपालिकका समग्र राजस्वका प्रणाली तथा करको दर र दायराको पुनरावलोकनका लागि पेश गरिएको निर्णयार्थ प्रस्तावमा आफूले हस्ताक्षर गदैं पदभार ग्रहण गरेको मेयर राईले रातोपाटीलाई जानकारी दिए । पाचौँ नगरसभाले पारित गरी लागु गरेको आर्थिक ऐन २०७६ अनुसारको करको दररेटलाई पुनरावलोकन गरेर घटाउनका लागि पेश भएको प्रस्तावमा आफूले हस्ताक्षर गरेको मयेर राईले बताए ।

उनका अनुसार कर घटाउने उक्त प्रस्ताव अब बस्ने नगरसभामा लगिने छ । उनले भने, ‘अनावश्यक कर वृद्धिविरुद्ध हामी चुनावी एजेण्डाका साथ जनतामाथि पुगेका थियौँ । हाम्रो एजेण्डालाई मतदाताले अनुमोदन गरेपछि मेरो पहिलो प्राथमिकता कर समायोजन बन्न पुग्यो । कर निर्धारण प्रकृया र दर रेट अध्ययन गरी आर्थिक वर्ष ०७६/०७७ को वित्तीय क्षेत्रको बजेटमा आउने गरी शुल्क पुनरावलोकन गर्न विषेशज्ञ सम्मिलित कार्यदल गठन गरिने तयारी भएको छ ।’


करबारे दोहोरी

यसअघि कर वृद्धिको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा वाद–प्रतिवादमा नै उत्रिएका थिए । 

गत चैत २८ गते पोखरामा भएको काँग्रेसका जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय सम्मेलनको उद्घाटनमा देउवाले प्रधानमन्त्रीलाई करप्रसाद ओलीको संज्ञा दिएका थिए । ‘सरकारले यति धेरै कर लगायो कि अब प्रधानमन्त्री ओलीको नाम नै करप्रसाद ओलीभन्दा हुन्छ । करप्रसाद ओलीबाट एउटा जिल्लाबाट अर्काे जिल्लामा कुखुरा लैजाँदा पनि कर लगाउने काम भएको  छ । जोतिषले केपी ओलीको नाम करप्रसाद ओली नै राख्नुपर्ने हो ?,’ देउवाको भनाई थियो ।

देउवाको शब्द सापटी लिँदै भदौ १२ गतेको संसद बैठकमा काँग्रेस सांसद उमाकान्त चौधरीले प्रधानमन्त्री ओलीलाई कर प्रासद ओलीको संज्ञा दिए ।

‘जथाभावी कर निर्धारण गरेर करप्रसाद ओलीको उपनाम पाएका सम्माननीय प्रधानमन्त्रीज्यूको सरकारको कामकारवाही हेर्दा उहाँले सधै झुटको आश्वासन दिने, झुटको खेती गर्ने भएकाले अब उहाँलाई झुटप्रसाद ओली उपनाम दिँदा केही फरक पर्नेवाला छैन,’ चौधरीको भनाइ थियो ।

चौधरीको अभिव्यक्तिमाथि नियम आपत्ति जनाउँदै नेकपा सांसद झपट रावलले शेरबहादुर देउवालाई छेरबहादुर देउवाको संज्ञा दिएका थिए ।

त्यसको प्रतिवादमा सांसद रावलले भनेका थिए, ‘प्रतिपक्षी दलका मानीय सांसदले जसरी प्रधानमन्त्रीको नाम बंग्याएर करप्रसाद र झुटप्रसाद भन्नुभयो, त्यसैगरी हामीले पनि प्रतिपक्षी दलका नेताज्यू शेरबहादुर देउवालाई छेरबहादुर भन्न बाध्य भयौ भने के हुन्छ ?’

त्यसपछि प्रधानमन्त्री ओलीले पनि देउवा र चौधरीको अभिव्यक्तिप्रति जवाफ फर्काएका थिए ।

‘मलाई केपी ओली होइन कर प्रसाद ओली भनेर प्रचारको अफवाह चलाइएको छ, करको विषय लोकतन्त्रका विरुद्ध प्रयोग गर्ने हतियार बनाइएको छ । म करको विषयमा एउटा सार्थक बहस सुरु होस भन्ने आग्रह गर्न चाहन्छु र जवाफ चाहन्छु कर लगाउन पाइदैन भनेर कुन अर्थशास्त्रमा लेखिएको छ ?,’ प्रधानमन्त्री ओलीको भनाइ थियो ।

पार्टीभन्दा माथि उठेर काम गर्छु : मेयर राई

नवनिर्वाचित मेयर तिलक राईले पार्टी र व्यक्तिगत एजेण्डा नभएर समग्र नगरवासीको एजेण्डा लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पदभार ग्रहण गर्नु अघि उनले धरान–१६ स्थित गणेशमान चोक पुगी गणेशमान सिंहको प्रतिमामा माल्यार्पण गरेका थिए । त्यसपछि धरान–१९ स्थित हरियाली सामुदायिक वनभित्र रहेको स्वर्गीय मेयर तारा सुब्बाको शालिकमा माल्यार्पण गरेका थिए ।

मेयर पद कुनै पार्टी विशेषका लागि नभएर धरानका जनताको साझा अभिभावक भएकाले बताउँदै मेयर राईले भने, ‘स्थानीय तहमा कुनै पक्ष र विपक्ष हुँदैनन् । जनताले अवसर दिनुभएको छ । मैले दलगत एजेण्डाभन्दा माथि उठेर जनताको काम गर्ने छु । विकास निर्माण र अधुरा योजना पूरा गर्न सबै राजनीतिक दलसँग कार्यगत एकता गरेर अगाडि बढ्ने छु ।’

आफू आजै कर्मचारी महाशाखा प्रमुखलगायतसँग बैठक गरेर जनताको काममा ढिलासुस्ती नगर्न निर्देशन दिएको जानकारी दिए ।

गत स्थानीय तहको चुनावमा तत्कालीन नेकपा एमालेका उम्मेदवार स्व.तारा सुब्वासँग पराजित भएका राईले उपनिर्वाचनमा नेकपाका प्रकाशलाई पराजित गर्दै मेयर बन्न सफल भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप