शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फेरि विवादमा ‘टुटल’ र ‘पठाओ’ : कहाँ हरायो नियमन गर्ने कुरा ?

यातायात व्यवस्था विभागका निर्देशक भन्छन्– टुटल र पठाओलाई चिन्दिनँ
शुक्रबार, ०६ मङ्सिर २०७६, ०८ : ४६
शुक्रबार, ०६ मङ्सिर २०७६

काठमाडौं । ‘राइड सेयरिङ्ग’का रुपमा पछिल्लो समय राजधानीमा लोकप्रिय बन्दै गएको ‘टुटल’ र ‘पठाओ’को वैधानिकताको विवाद फेरि उठेको छ । निजी सवारी साधनले व्यावसायिक यातायात सेवा सञ्चालन गरेको भन्दै यातायात व्यवस्था विभागले टुटल, पठाओ लगायतका पोर्टलहरुलाई तत्काल गतिविधि रोक्न निर्देश गरेसँगै यो मुद्दा फेरि उठेको हो । बुधबार एक सूचना जारी गर्दै विभागले निजी सवारी साधनमा सार्वजनिक यातायात सेवा सञ्चालन नगर्न निर्देशन जारी गरेको छ ।

केहि समय अघि पनि विभागले टुटल र पठाओलाई रोक्ने नीति लिएको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनपछि यो समस्या तत्कालका लागि टरेको थियो । त्यसपछि टुटल र पठाओजस्ता राइड सेयरिङ्गलाई नयाँ व्यवस्था गरेर नियमन गर्ने बताएको थियो । तर, त्यसलाई नियमन गर्नुको साटो करिब एक वर्षपछि पुनः यो मुद्दा जहाँको त्यहीँ पुगेको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा २ र दफा १२ अनुसार निजी सवारी साधनलाई यातायात सेवा संचालन गर्ने स्वीकृति नभएको भन्दै विभागले सेवा बन्द गर्न निर्देशन दिएको छ । यदि अटेर गरी सेवा सूचारु राखे कानुनअनुसार कडा कारबाही गरिने विभागले बताएको छ ।

‘टुटल र पठाओ को हुन्, म चिन्दिनँ । हामीले नियममा जे छ त्यो कार्यान्वयन गर्ने हो,’ यातायात व्यवस्था विभागका निर्देशक तथा प्रवक्ता तिर्थराज खनालले भने, ‘यस्तो गतिविधि सञ्चालन गर्ने जोकोहीलाई कारबाही हुन्छ ।’

खनालका अनुसार यातायात व्यवस्था ऐनमा रातो नम्बर प्लेटले यातायात सेवा संचालन गर्न नपाउने भए पनि अहिले टुटल र पठाओ जस्ता नाममा नियम विपरित गतिविधि संचालन भइरहेका छन् । यस्तो अवैधानिक गतिविधि रोक्न अहिले विभाग सक्रिय भएको छ ।


ऐनमा के छ व्यवस्था ?

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा २ मा यातायात व्यवस्था ऐनमा निजी सवारी यातायात सेवाको लागि प्रयोग पाइने छैन भन्ने उल्लेख छ । सोही ऐनको दफा १२ मा कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनको निम्ति प्रयोग गर्न नपाइने व्यवस्था छ । तर टुटल, पठाओले अहिले यो नियम विपरित यातायात सेवा सञ्चालन गरिरहेका छन् ।

यही नियम विपरित यातायात सेवा सञ्चालन गरिरहेको जनगुनासाका आधारमा सूचना जारी गरिएको विभागले जनाएको छ । ‘निजी मोटरसाइकलमा टुटल र पठाओका नाममा यात्रु बोक्ने कार्य हुन्छ भन्ने जानकारीसमेत मलाई थिएन । बल्ल थाहा पाएँ । यस्तो अवैधानिक गतिविधि संचालन गर्नु गलत हो,’ प्रवक्ता खनालले भने, ‘अब यस्तो कार्य कडाइका साथ रोक्छौं ।’

यो भन्दा पहिला के भयो के गरियो भन्दा पनि अब ऐन, नियम र यातायात व्यवस्था अनुरुप विभाग अघि बढ्ने उनको भनाइ छ । टुटल र पठाओ जस्तै गतिविधि चलाउने अरु सवारी पनि कारबाहीमा आउने उनले बताए ।

यदि ऐन नियममा नै व्यवस्था गरिए कुनै रोकतोक नहुने उनको भनाइ छ ।


के भन्छन् टुटल र पठाओका सञ्चालकहरु ?

हजारौँलाई रोजगारी प्रदान गर्ने र लाखौँ–लाखलाई सहज सेवा दिने सेयरिङ्ग अवधारणाको सेवालाई रोक्न नहुने टुटलका सञ्चालक शिक्षित भट्ट बताउँछन् । बरु ऐन–नियमलाई परिमार्जन गरेर जानुपर्ने उनको भनाइ छ ।

‘हामीले युवाहरुलाई देशमै रोजगारी दिइरहेका छौँ । लाखौँ सर्वसाधारणलाई न्यून भाडामा उत्कृष्ट सेवा दिइरहेका छौँ । यस्तो अवस्थामा हाम्रो सेवामाथि किन अङ्कुश लगाउने ?’ भट्टले भने, ‘बरु राज्यले ऐनमै व्यवस्था गरेर हामीलाई सहजिकरण गरिदिओस् ।’

भट्टका अनुसार यातायात व्यवस्था ऐनमै व्यवस्था गर्ने गरी सरकारसँग छलफल भएको थियो । तर अहिले विभागमै कतिपय निर्णय अड्किएको उनले बताए ।

यता, मन्त्रालयमा मन्त्री फेरिएसँगै यो प्रस्ताव थप अन्योलमा परेको भट्टको भनाइ छ । त्यसका लागि विभागसँग निरन्तर संवाद गर्ने उनले बताए । ऐनमा व्यवस्था भए राज्यलाई कर तिर्नसमेत तयार भएको उनको भनाइ छ ।

पठाओका सञ्चालक असिममान सिंह बस्नेत आधुनिक समयमा सङ्कुचित सोच राख्न नहुने बताउँछन् । राइड सेयरिङ्ग अवधारणामा निजी सवारी साधनकै प्रयोग हुने अन्तर्राष्ट्रिय प्रचलनमा सरकारले रोक्न नहुने उनको भनाइ छ ।

‘नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा समेत निजी सवारीमा राइड सेयरिङ्ग सेवा सञ्चालन हुन्छन् । यो सेवा सञ्चालन भएका एक दुई देशबाहेक सबैमा यसरी नै चलेका छन् । नेपालमा किन नहुने ?’ उनले भने, ‘बरु यसलाई व्यवस्थित गरेर जानुपर्छ ।’

अधिकांश मोटरसाइकल रातो र सेतो नम्बर प्लेटमा मात्र रहेकाले यिनैलाई व्यवस्थित गरेर जानु पर्ने उनको भनाइ छ ।

यो समयमा राइड सेयरिङ्गलाई रोक्न खोजिए भिजिट नेपाल २०२० लाईसमेत नकारात्मक प्रभाव पर्ने उनको भनाइ छ ।

‘भिजिट नेपाल २०२० नजिकिएको छ । हामीसँग हरियो नम्बर प्लेटका सवारी साधनहरु कमै छन् र सबै स्थानहरुमा सार्वजनिक सवारी साधनको पहुँच छैन,’ उनले भने, ‘यस्तो अवस्थामा सेयरिङ्ग राइडका साधनहरुनै उपयुक्त हुनसक्छन् ।’

बस्नेतका अनुसार सेवा रोकिएपछि पर्यटन व्यवसायलाई समेत कस्तो खालको असर पार्न सक्छ भनेर अहिले पर्यटन सम्बद्ध संघ÷संस्था, ट्राभल एजेन्सी लगायतका निकायहरुसँग छलफल भइरहको छ ।

विगत २–३ वर्षदेखि टुटल, पठाओजस्ता निजी क्षेत्रले रातो नम्बर प्लेटका मोटरसाइकल तथा स्कुटरबाट यातायात सेवा दिइरहेका छन् । पछिल्लो समयमा सरर भन्ने सेयरिङ्ग राइड पोर्टलसमेत बजारमा आइसकेको छ । तर यो त्यति प्रचारमा आइसकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप